संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।
कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।
प्रतिनिधिसभामा दर्ता भई कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधिन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन कार्यदलले शीर्ष नेतालाई बुझाएको हो ।
कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए । मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरूको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले बताए । ६ वटा बैठकमा औपचारिक रूपले छलफल गरेर टुंग्याएको लेखकको भनाइ छ ।

मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषाको विषय, मेलमिलापका लागि स्वतन्त्र सहमति हुन नसकेको घटनाका सम्बन्धमा के गर्ने ? सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्तिहरू र मृत्यु भएका, घाइते तथा अपांग भएका सुरक्षाकर्मी वा निजका परिवारलाई कसरी सम्बोधन गर्ने ? संक्रमणकालीन न्यायको भावनाअनुसार घटी सजाय माग दाबी गर्दा के-के गर्ने भन्ने विषय थिए । उक्त चार विषयमा नै छलफल गरी निस्कर्षमा पगुेको लेखकको भनाइ छ ।
उनले सबै दलहरू मिलेर ऐतिहासिक उपलब्धि प्राप्त गरेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १२:०३