तपाईंहरूले अस्पताल, स्वास्थ्य संस्था र मेडिकलहरूमा बालबालिकालाई रुवाउँदै सुई लगाएको देख्नुभएको होला । तर, बालबालिकालाई खुसी बनाएर कसरी उपचार गर्ने भन्ने कलाचाहिँ कमै डाक्टरहरूमा पाइन्छ । यस्तै, एक अद्भुत कला र क्षमताका धनी डाक्टर हुन्, इमरान पटेल । पटेल भारतको जुनागडमा सामान्य परिवारमा जन्मिएका हुन् ।
डा. पटेल बच्चालाई सुई लगाउँदा यत्ति चलाखीपूर्वक अलमल्याउँछन् कि बच्चाहरूले आफूलाई सुई लाइदिएको सुइँकोसमेत पाउँदैनन् ।
को कुन् त डा. पटेल ?
भरतीय डा. इमरान पटेल बालरोग विशेषज्ञ हुन् । गुजरातको जुनागढ जिल्लाको एउटा सानो शहरमा निकै सामान्य परिवारमा जन्मिएका पटेलले जुनागढमै प्रारम्भिक शिक्षा पूरा गरेका हुन् । उनी बालबालिकासँग समय बिताउन, उनीहरूसँग खेल्न औधी रूचाउँथे ।
बालबालिकाको दुःख देख्न नसक्ने स्वभाव भएका उनले बालबालिकालाई स्वस्थ बनाउन र उनीहरूको स्वास्थ्य समस्यालाई समाधान गर्ने हेतुले बाल चिकित्सक बन्ने लक्ष्यसहित उच्च शिक्षाका लागि मुम्बई पुगे ।
डा. डीवाई पाटिल कलेज, हस्पिटल एन्ड रिसर्च सेन्टर मुम्बईबाट उनले एमबीबीएस र एमडीसम्मको अध्ययन पूरा गरे । अध्ययनपछि उनी जागिर खोजेर मुम्बईमै सेटल हुन चाहन्थे । तर, केही समयपछि उनको मन त्यहाँ बस्नै मानेन र फेरि गुजरातको अहमदावाद फर्किए ।
अहमदावादमा उनले स्थानीय एक सरकारी अस्पतालमा जागिर सुरु गरे । त्यहीँ उनले १० वर्ष बिताए । त्यसपछि उनलाई अधिक बच्चाको उपचार गर्न र असहायलाई सहयोग गर्ने सोच आयो । अस्पतालमा जागिर गरेर मात्र उनको चाहना पूरा हुने अवस्था थिएन । त्यसैले आफ्नै घरबाट ‘एसियन चिल्ड्रेन’ नामबाट आफ्नै अस्पताल सुरु गरे । उपचारका लागि आउने हरेक बच्चालाई उनी आफ्नै बच्चासरह व्यवहार गर्थे ।
कुनै बच्चाको उपचारका क्रममा डा. पटेल स्वयम् बच्चाझैँ बन्छन् । लाग्छ कि उनी बच्चाको उपचार होइन, बच्चासँग खेल्दै छन् । बच्चालाई सुई दिनुपर्ने अवस्थामा डा. पटेल बच्चालाई चकलेट दिएर, गीत सुनाएर वा कमेडी गरेर चलाखीपूर्वक मन्त्रमुग्ध बनाउँछन् ।
यसरी उनी बच्चालाई खेलाइखेलाइ सुई दिन्छन् । उनको यही स्वभावका कारण धेरै अभिभावक उनीप्रति प्रभावित भए । अधिकांश अभिभावक आफ्नो बच्चाको उपचारका निम्ति इमरानकै क्लिनिकमा आउन थाले, जसले गर्दा उनको ख्याति बढ्दै गयो ।
डा. पटेल आफूले बच्चाको उपचार गरेको भिडियो बनाएर फेसबुक, युट्युब, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरूमा समेत पोस्ट गर्न थाले । त्यसपछि झनै उनको कामको प्रशंसा र प्रचार तीव्र हुन थाल्यो । उनको नाममा रहेको युट्युब च्यानलमा मात्रै करिब ४० लाखभन्दा धेरैले सब्सक्राइब गरेका छन् । त्यस्तै, फेसबुक तथा इन्स्टाग्राममा पनि लाखौँले उनलाई फलो गरेका छन् ।
डा. पटेलले पोस्ट गरेका भिडियोबाट प्रभावित भएर उनीसँगै आफ्ना बच्चाको उपचार गराउन आउने संख्या दैनिक बढ्दो छ । अझ भन्ने हो भने उनी सोसल मिडियाका माध्यमले पछिल्लो समय निकै लोकप्रिय बनिरहेका छन् ।
भिडियो:
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१ १६:५६