नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे चर्चा गुन नबिर्सिने नेताका रूपमा हुने गर्छ । जब आफूमाथि नै ‘धोका’ हुन्छ उनी बदला लिन पनि पछि पर्दैनन् भन्ने साेमबार मध्यरात बनेकाे नयाँ राजनीतिक समीकरणले पुष्टि गरिदिएको छ ।
धेरै पर जानै पर्दैन, २०७८ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जब आफूले मार्गप्रशस्त गरेको भनी राष्ट्रपतिसमक्ष सिफारिस गरे, त्यतिबेला देउवा प्रधानमन्त्री बन्न एमालेकै असन्तुष्ट समूह र माओवादी केन्द्रकाे साथ लिएर राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरे । त्यतिबेला साथ दिएका माधवकुमार नेपाललाई २०७८ भदौमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजनमा सघाएर गुन तिरे । त्यति मात्र होइन, २०७९ को आमचुनावमा पार्टीभित्र तीव्र विवाद हुँदाहुँदै पनि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई साथमै लिएर चुनावी गठबन्धन बनाए । उनीहरूको मागअनुसारकै सिट बाँडफाँट पनि गरे । भलै, त्यसमा गठबन्धनकाे प्रस्ट बहुमत ल्याएर पाँचै वर्ष सरकार चलाउने देउवाकाे आकांक्षा लुकेकाे थियाे ।
आमचुनावपछि भने चाहेजसरी राजनीति अघि बढेन । पहिले काे प्रधानमन्त्री बन्ने भन्नेमा प्रचण्ड र देउवाबीच कुरा मिलेन । अन्ततः १० पुस २०७९ मा एमाले अध्यक्ष ओलीनिवास बालकोट पुगेर प्रचण्डले नयाँ समीकरण बनाएर आफू प्रधानमन्त्री बने । संसदको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षीमा खुम्चिन बाध्य भयो ।
देउवाले यसलाई प्रचण्डले दिएको ‘धोका’ भन्दा पनि आफ्नै गल्तीका रूपमा लिए । प्रचण्डको प्रधानमन्त्री बन्ने तीव्र महात्त्वाकांक्षालाई पूर्ति गर्न नसकेकोमा कांग्रेसले गल्ती गरेको रूपमा बुझ्यो । देउवा त्यसैअनुसार २६ पुसमा विश्वासकाे मत दिएर ‘गल्ती सुधार’ गर्ने प्रयासमा लागे । उनले ‘गल्ती स्वीकार’ गरेपछि प्रचण्ड राष्ट्रपति चुनावमा फेरि कांग्रेससँगै गठबन्धनमा फर्किए । चुनावताकाको गठबन्धन पुनः ब्युँतियो, राजनीतिक कोर्स करेक्सन भयो । प्रचण्डले त्यो बेला एमालेलाई भने ‘धोका’ दिएका थिए ।
एक वर्षसम्म निर्वाध रूपमा सरकार चलाएका प्रचण्डलाई फेरि ‘धोका’ दिने र उथलपुथल गर्ने चाह जागेपछि २१ फागुन २०८० मा नयाँ राजनीतिक समीकरण सतहमा आयो । प्रचण्डकै भाषाअनुसार उनले कांग्रेसलाई 'लात' हानिदिए ।
वचनका पक्का देउवाका लागि २१ फागुनको घटना सानोतिनो झट्का थिएन । २०७४ वैशाखमा सहमतिअनुसार प्रचण्डले सत्ता हस्तान्तरण गरेकाे भन्दै प्रशंसा गरेका देउवा यसपटक भने चिढिए । सातै प्रदेशमा सरकारमा रहेको कांग्रेस प्रतिपक्षी बेन्चमा पुगेको थियो । उत्साहित हुँदै प्रचण्डले आफू बाँचुञ्जेल उथलपुथल भइरहन्छ भन्न भ्याए पनि देउवालाई भने यो घटनाले निकै पिरोलेको थियो । त्यसैले कांग्रेसले प्रचण्डले विश्वासको मतको प्रस्ताव राखेकै दिन २४ फागुनमा संसदमा ‘धोका पाएकाहरू एक ठाउँ आए के हुन्छ’ भन्दै प्रचण्डलाई स्पष्ट रूपमा ‘बदला’ लिने चेतावनी दिइसकेको थियो । त्यस दिन कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भनेका थिए, ‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल होइन । यो शोभनीय हुँदैन ।’
लेखकले संसदमा बोलेको चार महिनापछि ‘धोका’ पाएकाहरू एक ठाउँ भएका छन्, प्रचण्ड बालुवाटारबाट खुमलटार सर्ने स्थितिमा पुगेका छन् । यसबीचमा कांग्रेसका अन्य नेताहरूले प्रचण्डको तीव्र आलोचना गरे पनि परिपक्व व्यवहार देखाउने देउवा भने साइलेन्ट थिए । उनले सार्वजनिक रूपमा न ओलीको आलोचना गरे, न त प्रचण्डको । तर, एमालेसँग मिलेर प्रचण्डसँग ‘बदला’ लिने रणनीतिमा भने सक्रिय भए । अन्ततः साेमबार मध्यरात देउवाले प्रचण्डसँग राजनीतिक बदला लिइछाडे ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १४:२०