याङवरक (पाँचथर)– गाँउको बजार ओयामबाट अगाडि गाडी जान सक्ने अवस्था थिएन । यही बजारमा पनि बाढी आउँदा भागाभागको अवस्था सिर्जना भएको थियो । जसोतसो पुष्पलाल (मध्यपहाडी) लोकमार्ग यहाँसम्म खुलाइएको छ । तर फेरि ठ्ूलो पानी पर्यो भने रोकिन सक्छ । यो बजारबासी अहिले डर त्रासमा छन् । यो बजार मात्र होइन, यो क्षेत्रका बासिन्दा बाढी र पहिरोले दिएको पीडा, सास्ती खेपिरहेका छन् । आगामी दिन के हुने हो भन्ने पिर पनि छ उनीहरूमा ।

असार २ मा अविरल बर्षका कारण आएको बाढी र पहिरोले यो क्षेत्रमा ठूलो क्षति भएको छ । मध्यपहाडी लोकमार्ग तहसनहस देखिन्छ । गाँउगाँउमा जताततै पहिरो देखिन्छ । साना खहरेहरूले ठूलो क्षति पुर्याएका छन् ।
लोकमार्ग अवरुद्ध हुँदा ओयाम, फलैचा र च्याङथापबासी थुनिएका छन् । ताप्लेजुङको सिदिङवा गाँउपालिका बासिन्दा पनि सडक नहुँदा थुनिएका छन् । सडक तहसनहस देखिन्छ भने हिँड्ने बाटो नहुँदा पहिरोमाथि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ओयाम बजारभन्दा केही अगाडि रहेको पहिरो तर्दै गरेका एक हुल युवाहरु फाक्लुङका थिए । उनीहरु वडामा काम गर्न पसिना बगाएर हिँड्दै थिए । यीमध्येका रजिन राईले भने, ‘बाटोको त कुरै नगरौँ । कतै रूखमा अडिएर, झुण्डिदै आएका हौँ । बाटो हेरी साध्ये छैन । झण्डै गाँउ नै बगायो ।’

रेजिनले भनेझै सडकमा पहिरो नै पहिरो छ । कतै सडक बगाएको छ भने कतै पुरिएको छ । ओयाम बजार छेउकै खोलको पुल बगाएको छ । बाढी पहिरोका कारण यहाँ बासिन्दा विस्थापित भएका छन् । यहाँ सडक, विजुली, खानेपानी अवरुद्ध छ । तत्काल बाटो खुल्ने अवस्था छैन । बाटो नखुले खाद्यान्नको अभाव हुँदै जाने देखिन्छ । वर्षा बढ्दै जाँदा राहत, उद्धारमा समस्या हुने देखिन्छ । स्थानीय सरकारले यो विपत्ति एक्लै सामना गर्न सक्ने अवस्थामा छैन । तर प्रदेश र केन्द्र सरकारले आफ्नो ध्यान त्यहाँ पुर्याएको छैन ।
‘यति धेरै क्षति गर्यो अझै विवरण संकलन जारी छ । सबै वडा छुने मध्यपहाडी लोकमार्गका पुल बगायो । अझै धेरै जोखिम छ,’ याङवरक गाँउपालिका अध्यक्ष भिमबहादुर योङया सुवासले भने, ‘हिँड्ने बाटोसमेत छैन । गाँउलेहरु आपत्विपद्मा पर्नुभएको छ । ५० परिवारभन्दा धेरैलाई सुरक्षित स्थानमा लगिएको छ । सडक, पुल तथा कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ ।’

‘मुल सडक अवरुद्ध भएपछि यातायात ठप्प भयो । खाद्यान्नको समस्या सुरु भएको छ । विरामीलाई कसरी लैजाने भन्ने समस्या छ’ उनले भने ‘यो हाम्रो गाँउपालिकाको आपतकालीन अवस्था हो । तत्काल हामीले समस्या समाधान गर्न सक्ने अवस्था छैन । प्रदेश र संघीय सरकारको सहयोग कुर्दै छौँ ।’
मध्यपहाडी लोकमार्ग तहसनहस भएपछि सो क्षेत्रको सडक सम्पर्क टुटेको छ । जताततै ठूला ठूला पहिरो गएको छ । यसले ओयाम, फलैचा, च्याङथापु र ताप्लेजुङको सिदिङबा गाँउपालीकाबासी समस्यामा छन् । वैकल्पिक बाटो नहुँदा समस्या छ ।
‘स्थलगत अनुगमन गर्दा ठूलो क्षति पुगेको देखिएको छ । दुईवटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । सडक खुलाउन समय लाग्ने देखिन्छ,’ मध्यपहाडी लोकमार्गका आयोजना निर्देशक थानेश्वर खत्रिले भने, ‘फिदिम कार्यालय र ठेकेदारलाई निर्देशन दिएको छु । सकेसम्म चाँडो पहिरो खुलाउने प्रयास हुनेछ । तर धेरै ठाँउ क्षति पुगेकाले समय लाग्छ ।’ ड्राइभर्सन बनाउने वा बेलीब्रिजका लागि प्रयास गर्ने उनले बताए । यति नै दिनमा सडक खुल्छ भन्न नसक्ने उनको भनाइ छ ।

स्थानीयका अनुसार यति ठूलो विनाश यो क्षेत्रमा कहिल्यै भएको थिएन । बिरामी हुँदा उपचार गर्न लैजान सक्ने अवस्था पनि छैन् । ‘घरमा आमा क्यान्सरको बिरामी हुनुहुन्छ । थर्पुसम्म हिँडेर औषधि लिएर आएको छु’, बाटोमा भेटिएका जहरमान बेघाले भने, ‘यो फलाम खोला तर्न निक्कै गाह्रो छ ।’
दैनिक जसो पानि परिरहेको छ । तत्काल सडक खुलाउन कठिन हुने देखिन्छ । दुईवटा पुल बगाएकाले सरकारले तत्काल बेलीब्रिजको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।

विद्युत् नहुँदा फोनमा पनि समस्या छ । विद्युत्मा कति क्षति भयो अझै विवरण संकलनको काम भइरहेको छ । विद्युत् कार्यालय पाँचथरका प्रमुख दीपक दाहालका अनुसार क्षतिको विवरण संकलनको काम भइरहेको छ । विद्युत् मर्मत गर्न अझै केही दिन लाग्ने दाहालको भनाइ छ ।

खेत, बारी, अलैचीमा कति क्षति भयो यकिन छैन । ‘आरीले घोप्ट्याए जसरी पानी पर्यो, एकैछिनमा सत्यनाश गर्यो । माथि गाँउगाँउमा हेरी साध्य छैन,’ स्थानीय बासुदेव चौहानले भने, ‘बर्खा भर्खर सुरु हुदैँ छ, अब के हुने हो, के हुने हो ?’




तस्वीरहरू : गिरिराज बाँस्कोटा/शिलापत्र
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ २०:३४