त्यो जमानामा अहिलेको जस्तो विज्ञान प्रविधिको जालो फिँजिएको हुन्थ्यो भने उनका लागि आफ्नी श्रीमतीको तस्वीर खिच्न न कुनै आइतबार चाहिन्थ्यो, न कुनै सोमबार नै । अहिलेको अहिल्यै मिलिक्कै तस्वीर । एकछिनमा एउटा कपडा लगाएको तस्वीर । एकछिनपछि अर्को कपडा लगाएको तस्वीर । जस्तो मन लाग्यो, त्यस्तै तस्वीर खिच्नका लागि उनको हातमा क्यामेरा हुन्थ्यो । आखिर के छ र नसकिने कुरा ! एउटा मेमोरी कार्ड फुल हुनलाई सयौँ तस्वीर खिच्दा पनि आदि खाली हुन्थ्यो । लौ मैया ! अब यतापट्टि फर्क भन्यो, एउटा तस्वीर लियो । उतापट्टि फर्क भन्यो, अर्को तस्वीर लियो । कारणवश तस्वीर बिग्रिहाल्यो भने ख्यास्स डिलिट हान्दियो, अर्को खिच्यो । अझ कस्तो खिच्ने तस्वीर ? खिस्स हाँस्ने कि ! ठुस्स ठुस्किने । नजर सिधा लगाउने कि बाङ्गो लगाउने ? जामा उचाल्ने कि, नाइटो देखाउने ? आफूले जस्तो चाह्यो त्यस्तै तस्वीर ।
त्यो जमानामा त कहाँ देख्नु तस्वीर ? पोखरीको डिलमा पुगेर पानीमुनि नहेरीकन तस्वीर कहाँ देखिन्थ्यो र ? तस्वीर हेर्नका लागि कहाँ खोज्नु पोखरी ? जहाँ पायो त्यहीँ पोखरी पनि त हुँदैनथ्यो ! डिलबाट पोखरीमा देखिएको आफ्नो तस्वीरको के अर्थ ? दैलोको निदारीमा झुण्ड्याउन पनि नमिल्ने । कोठाको भित्तोमा सजाउन पनि नमिल्ने । तर, उनलाई चाहिएको थियो भित्तामा सजाउन मिल्ने तस्वीर ।
त्यस जमानामा उनले आफ्नी श्रीमतीको तस्वीर एक चित्रकारको हातबाट कोराउन मन गरे । उनी अर्थात् जियोकोन्डा नामक शहरका एक जना धनी व्यापारी । अरु त कसले सक्थ्यो र त्यस जमानामा चित्रकारको खोजी गरेर चित्र कोराउन ? यो त राजा, महाराजा, पण्डित, पादरी, धनीमानी जो छन्, उनीहरूले मात्रै गर्न सक्थे । त्यसैले ती धनी व्यापारीले मन गरे आफ्नी साह्रै सुन्दरी श्रीमतीको तस्वीर कोराउन ।
सायद निकै समयपहिलेदेखि उनको मनमा यो इच्छा जागेको थियो होला । यति सुन्दर श्रीमतीको तस्वीर कोराएर भित्तामा राख्न पाए कति जाति हुने थियो । उनको मनमा अनेक तर्कना पनि घुमेका थिए होलान् । यति सुन्दरी श्रीमती छिन्, कालको चाल कसले बुझ्न सक्छ र ? राम्री देखेर बजिया काल पनि लोभिने पो हो कि ! केही गरी स्वाट्टै पारेर उनको प्राण कुदाइदियो भने मैले उनको मुहार कहाँ देख्नु ? कम्तीमा एउटा तस्वीर कोराउनु पाए, त्यही तस्वीर हेरेर दिन काट्दै काल पर्खनु त हुन्थ्यो भन्ने कुराले पनि उनलाई सताएको हुन सक्छ । उनी आफ्नी श्रीमतीको तस्वीर कोराइछाड्ने निष्कर्षमा पुगे ।
यतिखेर म एक जना महान् चित्रकारको जीवनी पढिरहेको छु । केही कुराहरू जीवनीकै खण्डबाट लिइरहेको छु । बढीजसो कुराहरू पढदै गर्दा मलाई अनुभूति भएका कुराहरूलाई व्यक्त गर्न लागिरहेको छु । यो लेख यिनै दुई कुराको समायोजन हो । जे होस्, पुस्तक पढ्दै गर्दा साह्रै रमाइलो अनुभूति भइरहेको छ । धेरैधेरै धन्यवाद लेखक लैनसिंह वाङ्देललाई, जसले निकै मिहिनेत गरेर विश्वका चर्चित छ जना कलाकारको जीवनी तयार गरे । अहिले भने म एक जना कलाकारको जीवनीमा केन्द्रित छु ।
ती धनी व्यापारीले आफ्नी श्रीमतीको तस्वीर कोराउन लगाएपछि उनको मनमा कति कौतुहलता मच्चियो होला ? यो कुरा कतै पढ्न पाइँदैन । सायद त्यसै दिनदेखि उनको निद्रामा केही समस्या परेको हुन सक्छ । कतिचोटि त्यो तस्वीर हेर्नलाई उनको छाती धड्कियो होला ? त्यसलाई छिट्टै हेर्न पाए हुन्थ्यो । तस्वीर कहिले तयार हुन्छ होला ? एक महिनामा तयार होला कि दुई महिना पो लाग्ने हो ? त्यहाँभन्दा ढिलो त पक्कै नहोला ।
उनी कतिचोटि कलाकारको घरमा धाए होलान् । कलाकारले कोर्दै गरेको आफ्नी श्रीमतीको अपूरो तस्वीर हेर्दै 'यति त तयार भएछ गाँठे' भन्दै मनभरि कति खुसी सँगाले होलान् । तर एक वर्ष, दुई वर्ष, तीन वर्षसम्म पनि तस्वीर तयार नहुँदा उनको मनमा कति दिग्दारीले सतायो होला ?
'ए धनी व्यापारी !' पुस्तकलाई पढ्दै गर्दा म तिम्रो यादमा पनि बडो उत्ताउलो पाराले छटपटिइरहेको छु । आखिर उनले तस्वीर बनाउन लगाएको चार वर्ष बितिसक्दा पनि आफ्नी श्रीमतीको तस्वीर पाएनन् । यही कुरा मलाई बडो गज्जब लाग्छ । आखिर यी कलाकारलाई यो तस्वीर बनाउन यथार्थ समयचाहिँ कति लाग्यो होला ? यो कुरा गर्भमै लुकेको छ ।
यहाँ पढ्दै गर्दा कलाकारको नियतिमै एउटा यस्तो बदमासी देखियो कि पक्कै पनि त्यो तस्वीर तयार हुँदै जाँदा तस्वीरप्रति ऊ आफैँ लोभियो र अब कुनै पनि हालतमा नदिने निष्कर्षमा पुग्यो । आखिर किन उसले तयार भइसकेको तस्वीर दिन मानेन त ? यस विषयमा कोही कसैले कतै लेखिएको कुरालाई मैले आजसम्म पढ्न पाएको छैन । यो कुनै साधारण तस्वीर होइन, यो त संसारभर ठूलै खैलाबैला मच्चाएको प्रसिद्ध तस्वीर हो ।
त्यो तस्वीर बन्दै छ भन्ने विषयमा चार वर्षसम्म के सानो हल्ला चल्यो होला त ? फेरि चित्रकारले त्यो तस्वीर आफैँले राख्न लागेको, जति नै पैसा दिए पनि दिन नमानेको अर्को हल्ला कति चल्यो होला ? कतिले त्यो धनी व्यापारीलाई खिसी टिउरी गरे होलान् ?
यो तस्वीर उसका लागि यतिसम्म प्रिय भएछ कि जब फ्रान्सका राजा उसको चित्रशालामा पसेर त्यो तस्वीरलाई जति पनि मूल्य चुकाउन तयार हुँदासमेत उसले आफ्नो जीवनकालभरि आफूसँगै राख्ने, आफू मरेपछि मात्रै राजाको हुने वचन दियो ।
तस्वीर कोर्ने ती कलाकार अरु कोही नभएर आजभन्दा ५७२ वर्षपहिले जन्मिएका लियानार्दो दा भिन्ची हुन् । वसन्तयाममा रुखहरूका नयाँनयाँ पालुवा हेर्दै उत्तरी इटालीको नदी किनारमा डुल्दै हिँड्ने १२ वर्षको ठिटो समयसँगै अगाडि बढ्दै गयो । कलाप्रति निरन्तर संघर्ष गर्दै जाँदा उसले संसारभर ठूलो प्रसिद्धि कमायो । तस्वीरमा सजिएकी ती स्त्री अरु कोही नभएर हामीले कति ठाउँमा पढ्दै र सुन्दै आएकी मोनालिसा हुन् । तर, उनको वास्तविक नाम भने मेडोना लिजा रहेछ ।
आखिर किन यति चर्चित भयो यो तस्वीर ? यो तस्वीरका बारेमा संसारभरि निकै खाले टिकाटिप्पणीहरू छन् । एकथरी टिप्पणी छ– आफ्नो मनमा जस्तो भावना लिएर हेर्यो, यो चित्र त्यस्तै देखिन्छ । अर्थात् खुसी मनले हेर्यो भने हाँसेजस्तो । दुःखी मनले हेर्यो भने रिसाएजस्तो । उदास मनले हेर्यो भने उदासजस्तो । मुस्कुराउँदै हेर्यो भने मुस्कुराएजस्तो । अहिलेसम्म जे जति टिप्पणी भए, यी कारणले मात्रै यो तस्वीर चर्चित भएको होला त ? दुनियाँले यिनै कारणलाई आधार बनाए पनि यो पुस्तक पढेपछि म चाहिँ यिनै कुरालाई मात्र आधार मान्न सक्दिनँ । पुस्तकमा नखोलिएका अरु पनि आधार छन् भन्ने विषयमा म अलिकति चर्चा गर्न गइरहेको छु ।
त्यस जमानामा कुनै चित्रकारद्वारा कुनै मानिसको तस्वीर कोर्नु चानचुने कुरा थिएन । त्यहाँमाथि झन् कुनै स्त्री मानिसको । अहिलेको समयमा त कतिपय अवस्थामा कतिपय मानिसहरूले स्त्री मानिसलाई अपहेलना गरेको पाइन्छ भने त्यस जमानामा त झन् कतिपय समाजमा स्त्री मानिसलाई नागरिकको दर्जा नै दिइँदैनथ्यो ।
त्यसबेलाको त्यस समाजका एक जना धनी व्यापारीले वरिपरिका सारा दुनियाँभरिका मान्छेका कानकानमा खबर पुर्याउने काम गरे । आफ्नी श्रीमतीको तस्वीर कोराउन चित्रकारकोमा लिएर गए । पहिलो कुरा त यही नौलो कुरा भयो । सबभन्दा नौलो काम गर्न लागेको ठानेर ऊ आफैँले पनि कति ठाउँमा गफ लडाए होलान्, 'हेर वाई ! मैले मेरी श्रीमतीको चित्र कोराउन दिएको छु । यस दुनियाँमा यस्तो काम गर्न सक्ने कोही छ ? पुग्छ कसैको यत्रो हिम्मत ?'
यसो भन्दै उनले कति ठाउँमा पुगेर छाती पिटे होलान् ? अनि सुन्नेजनले पनि कति आलोचना गरे होलान् । ठाउँठाउँमा गफाडीहरू झुण्ड बन्दै कति हाँसो मजाक उडाए होलान् ? उनीहरूले भने होलान्, 'ए बा ! किन बौलाएको त्यो पाजी ! यत्रो पैसा खर्च गरेर के कामले कोराउनुपरेको त्यो तस्वीर ? लाजको पगिलो, किन उल्लु बनेको ? श्रीमतीको तस्वीर कोराउनुको साटो बरु आफ्नै तस्वीर कोराएको भए हुन्थ्यो नि !'
त्यो तस्वीर बन्दै छ भन्ने विषयमा चार वर्षसम्म के सानो हल्ला चल्यो होला त ? फेरि चित्रकारले त्यो तस्वीर आफैँले राख्न लागेको, जति नै पैसा दिए पनि दिन नमानेको अर्को हल्ला कति चल्यो होला ? कतिले त्यो धनी व्यापारीलाई खिसी टिउरी गरे होलान् ?
खिसी टिउरी गर्नेहरूले यसै भने होलान्, 'खाइस्, स्वास्नीको तस्वीर बनाउन दिथिस् ? अब त तेरी स्वास्नीको अनुहार त्यही चित्रकारले हेर्ने भो । आफ्नी श्रीमती अर्कालाई देखाउन त खोजेको हो तैँले । अब के गर्छस् ? ढुङ्गो टिपेर आफ्नै छातीमा बजा ।'
मलाई लाग्छ यो तस्वीर यति धेरै चर्चामा आउनुमा धेरै कारणहरू छन् । कति कारणहरू इतिहासको पानामा गुमनाम छन् । जुन कारणले त्यो बेलामा निकै चर्चा कमाएको थियो । वास्तवमा यो तस्वीर चर्चामा आउनुको प्रारम्भिक क्षण भनेको त उनको आफ्नै सुन्दरता र उनले बाँचेको त्यो समाज नै हो ? खै हामीले मोनालिसाको जीवनीलाई पढ्न पाएको ? तस्वीर तयार भइसकेपछि उनले कति अप्ठेरो कुराको सामना गर्नुपर्यो होला ? उनका श्रीमान्को जुन महान् इच्छा थियो, त्यो इच्छा कति नमीठो गरी टुङ्गियो । त्यसपछि उनको के हालत भयो होला ? खै हामीले उनको यथार्थ भोगाइ पढ्न पाएको ?
प्रिय मित्रहरू ! तपाईं ज–जसले यो लेख पढ्दै हुनुहुन्छ, मैले आफ्नो मनमा लागेको थोरै अनुभूति बाँडेँ । लियोनार्दो दा भिन्ची विरलै जन्मिने मान्छेमध्ये एक हुन् । उनले आफ्नो जीवनकालमा थुप्रै चित्र कोरे । उनका अरु पनि वैज्ञानिक खोज अनुसन्धानका कुराहरू छन् । जीवनभर अविवाहित रहेका भिन्चीको बृहत् जीवन कहानी लेख्न र पढ्न थुप्रै बाँकी छ । उनले कोरेका चित्र, चित्रले बोकेको कथा व्यथा कति बाहिर आएका छन्, कति भित्रभित्रै लुकेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१ ०८:०४