क्यानडामा खालिस्तानी नेता हरदीप सिंह निज्जरको र अमेरिकामा गुरपतवन्त सिंह पन्नुको हत्या षड्यन्त्रलाई लिएर शीतयुद्धकालको झल्को दिने गरी विश्व शक्ति राष्ट्र दुई ध्रुवमा विभाजित भएका छन् । क्यानडा र अमेरिकाले यो हत्यामा भारतको संलग्नता रहेको बताइरहेका बेला रुस त्यसको प्रतिवादमा उत्रिएको छ ।
क्यानडा प्रहरीले ३ मे, २०२४ मा खालिस्तान पक्षधर नेता हरदीप सिंह निज्जरको हत्या आरोपमा तीन जना भारतीयलाई एडमन्टन शहरबाट पक्राउ गर्यो । यो घटनाले निज्जरको हत्यामा भारतको संलग्नता रहेको भन्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको भनाइलाई पुष्टि गर्छ ।
ट्रुडोले १८ जुन, २०२३ मा भएको निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएका थिए । भारतले भने त्यसको प्रतिवाद गर्दै आएको थियो । अमेरिकाले पनि निज्जरको हत्यामा भारतको संलग्नता भएको संकेतसहित सतर्कतापूर्वक जवाफ दिएको छ । उसले यो घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने र घटनाको जाँचको अन्तिम रिपोर्ट पर्खिरहेको बताएको छ ।
अमेरिकाको यो प्रतिक्रियापछि रुसले भारतको बचाउ गर्दै निज्जरको हत्यामा भारतको संलग्नता नरहेको बताएको छ । रुस यतिमा मात्रै रोकिएन । उसले अमेरिकामा खालिस्तानी नेता गुरपतवन्त सिंह पन्नुको हत्याको षडयन्त्र भारतले गरेको भन्ने अमेरिकी आरोपमा कुनै सत्यता नरहेको दाबी गरेको छ । उसले अमेरिकाले भारतको निर्वाचनमा दखल दिने कोसिस गरिरहेको टिप्पणीसमेत गरेको छ ।
निज्जरको शंकास्पद हत्यामा भारतद्वारा परिचालित एजेन्ट संलग्न रहेको अमेरिकासहितका देशका गुप्तचर निकायको रिपोर्ट छ । यही घटनाले लामो समयदेखि सुमधुर रहेको भारत-क्यानडा सम्बन्धमा समेत चिसोपना आएको छ । यो घटनालाई शक्ति राष्ट्रले आफू अनुकूल व्याख्या गर्न थालेका छन् ।
शीतयुद्धका समयमा असंलग्न परराष्ट्र नीति अंगालेको भारत सोभियत युनियनको निकट मित्र थियो । अहिले युक्रेन युद्धसँगै पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले आफ्नो पुरानो मित्र भारतलाई आफूबाट अलग हुन नदिन निज्जर र पन्नु काण्डमा आफ्नो वक्तव्य दिएको अनुमान गर्न सकिन्छ । पश्चिमा प्रतिबन्धसँगै भारत र चीन रुसबाट सबैभन्दा बढी इन्धन किन्ने राष्ट्र हुन् ।
क्यानडाकी विदेशमन्त्री मेलोनी जोलीले भने निज्जरको भारतीय एजेन्टले क्यानडाको भूमिमा हत्या गरेको दोहोर्याएकी छन् । हत्याको घटनाबारे रोयल क्यानेडियन माउन्टेड प्रहरीले जाँच गरिरहेको बताउँदै उनले देशका नागरिकको रक्षा क्यानडा सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरेकी छन् ।
प्रधानमन्त्री ट्रुडोले तीन भारतीय पक्राउ परेलगत्तै क्यानडा कानुनी राज्य भएको देश भएको प्रतिक्रिया दिएका थिए । जसमा भारतले आपत्ति जनाउँदै आतंकवादीलाई संरक्षण दिएको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले क्यानडाले अभिव्यक्ति स्वतन्त्रताका नाममा कट्टरपन्थीलाई समर्थन दिन नहुने भन्दै क्यानडामा भइरहेको प्रदर्शनका पछि हिंस्रक सोच भएको आरोप लगाएका छन् ।
भारतको पञ्जाबलाई खालिस्तान राष्ट्र घोषणा गर्नुपर्ने माग गरेर लामो समयदेखि संघर्ष गरिरहेका शिखहरूलाई भारतले आतंकवादी भएको आरोप लगाउँदै आएको छ । भारतलाई ब्रिटिस उपनिवेशबाट स्वतन्त्र बनाउन तीन धार्मिक समुदाय हिन्दु, मुस्लिम र शिखको भूमिका मुख्य थियो । ब्रिटिस शासनबाट मुक्त हुँदा हिन्दु बहुल राष्ट्र भारत र मुस्लिम बहुल राष्ट्र पाकिस्तान बने । तर, शिखहरूले स्वतन्त्रतापछि आफ्नो ऐतिहासिक भूमि पाएनन् । बरु शिखहरूको भूमि पञ्जाब भारत र पाकिस्तानमा अलग-अलग विभाजित गरियो भने भारतभित्रै पनि पञ्जाबलाई टुक्र्याएर हिमाचल, चन्डीगढ र दिल्लीमा सामेल गरियो ।
यसबाट शिखहरू आक्रोशित भए र खालिस्तानी आन्दोलन चर्काउँदै आएका छन् । सन् १९८० को दशकमा चर्किएको खालिस्तानी आन्दोलन भारतले बलपूर्वक दबाएपछि उनीहरूले बेलायत, अमेरिका, क्यानडाजस्ता देशबाट खालिस्तानको पक्षमा संघर्ष गर्दै आएका छन् ।
यसरी विदेशी भूमिबाट खालिस्तानको पक्षमा आन्दोलन गर्नेहरू भारतको निशानामा पर्दै गएका छन् । ११ अक्टोबर, १९७७ मा जालन्धर जिल्लाको भार सिंह पुरामा जन्मिएका निज्जर सन् १९९५ मा खालिस्तान टाइगर फोर्सको सदस्य भएका थिए । सोही वर्ष उनी पञ्जाबमा पक्राउ परेका थिए ।
त्यसको दुई वर्षपछि सन् १९९७ मा उनी भारतीय सुरक्षा एजेन्सीको आँखा छलेर क्यानडा पुग्न सफल भएका थिए । सन् २०१५ मा क्यानडाको नागरिक बनेका उनको गत वर्ष १८ जुनमा सरे शहरको एक गुरुद्वाराबाट निस्किने क्रममा हतियारधारी व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १५:२५