माइतीघर निषेध भएको १ सय ३८ दिन बित्न लाग्दा पनि सरकारबाट ४ मंसिरमा जारी ३० दिने निषेध अझै फुकुवा भएको छैन । गत मंसिर ७ मा व्यापारी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले पोलिटब्युराे सदस्य महेश बस्नेतबीचको लडाइँलाई बहाना बनाएर माइतीघरको आवाज ठप्प बनाइएकाे छ ।
त्यसयता माइतीघरमा न जनताका आवाज गुञ्जिएको छ, न त न्यायको सवाल उठेकाे छ । त्यहाँ केवल शासकका हतियारधारी रक्षक छन्, जो एक सुरले सरकारको ढाकछोप र पहरेदारी गरिरहेछन् । उनीहरूलाई देख्दा लाग्छ, उनीहरूकाे माैनताले भनिरहेकाे छः
ओ मनुवा हो !
शासकज्यू मिलाई बसिस्या छ शासन ।
गनगन गर्न नआऊ यता ।
नत्र ताकिएला तोप त्यता ।।
माइतीघर मण्डला शासकका लागि फलामे चिउरा भएकाले नै होला, आज माइतीघरबाट उठिबास भएका आरती साहको न्यायका लागि परिवार सामान्य आश्वासनमै भौँतारिइरहेको छ, काठमाडौंको रापतापमा । देशमा शिक्षा, स्वास्थ्यको गुणस्तर र भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने केही थान युवा खोजी हिँडेका छन् आवाज गुञ्जाउन पाइने सडक, जसलाई सधैँ लखेटिरहन्छन् शासक रक्षकहरू । जलवायु परिवर्तनका असर र वायु प्रदूषणका मुद्दामा सरकारको ध्यान खिच्न पठनपाठनका समयबीच क्रिएटिभ आर्टिभिज्म गर्ने पोलिटिकल युवाहरूले बिर्सिसकेका छैनन् शासकको दम्भ, पहिल्याउँदै छन् प्रो–स्ट्रिट र खोज्दै छन् जवाफ सरकारबाट– ‘ओ शासक, अब त अति भो ! माइतीघरमा सरकारको हस्तक्षेप भो ।’
०००
माइतीघर मण्डला आवाजविहीनको आवाज मात्रै नभएर सरकारको ऐना थियो । सरकारको रस्साकस्सीमा न्यायबाट वञ्चित भएकाहरूका लागि आशाको दियो थियो । भरोसाको कडी थियो । माइतीघर तब भासमा पस्यो, जब उसका सहयात्रीका आवाज दबाउन सरकारले 'गोरु जुधाइ'काे हवाला दियो । त्यसपछि माइतीघर बोलेकै छैन । त्यसपछि माइतीघर बोल्दाबोल्दै पनि पटकपटक लडेको छ, थुनुवा घरमा पसेको छ, शासन रक्षकहरूबाटै माइतीघर हस्पक्षेपमा परेको छ ।
माइतीघर जवाफदेहिताको पाठशाला थियो । सुशासनको पहरेदार थियो । माइतीघर लोकतन्त्रको बगैँचा थियो, जहाँ सयौँ फूलले आफ्नो क्रन्दनको सुवास छोड्थ्यो । तर, माइतीघर यतिबेला सुस्ताएको छ । शासकरक्षकको गोलीको नालमा माइतीघरले श्वास फेर्न पाएको छैन ।
'हामी यहाँ छौँ'
२०७८ जेठ ८ गते तत्कालीन नेकपाको विवादमा सरकारका कमान्डर तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद विघटन गरे । क्रमश: आन्दोलन चर्कियो । ती आन्दोलनहरू सबै माइतीघर नै केन्द्रित थिए । त्यसै बेला हो, बहालवाला अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार नेकपा एसका अध्यक्ष माधव नेपाल ‘हामी यहाँ छौँ’ पोस्टरसहित माइतीघर पुगेका थिए । आफू मात्रै पुगेनन्, कार्यकर्तादेखि आमनागरिकसम्मलाई माइतीघरमा ओराले । त्यसपछि सर्वोच्च अदालतको २८ असार २०७९ को फैसलाले सत्ताको बाटो प्रशस्त बनाएसँगै माइतीघरले लोकतन्त्र बचाउन सफल भएको विगुल सबैले फुके । तर, विगुल फुक्ने उनीहरूबाटै माइतीघरमाथिको अन्याय भने ढाकछोप भइरहेको छ ।
जुँगाको लडाइँले बन्दी बनेको माइतीघरमा उभिएका ती तमाम अनुहार सत्तामा रहिरहँदासमेत शासकको ३० दिने अल्टिमेटम भने अझै सकिएको छैन ।
माइतीघर जवाफदेहिताको पाठशाला थियो । सुशासनको पहरेदार थियो । माइतीघर लोकतन्त्रको बगैँचा थियो, जहाँ सयौँ फूलले आफ्नो क्रन्दनको सुवास छोड्थ्यो । तर, माइतीघर यतिबेला सुस्ताएको छ । शासकरक्षकको गोलीको नालमा माइतीघरले श्वास फेर्न पाएको छैन ।
माइतीघर निषेध हिजो वा आज कुनै न कुनै बेला हुने निश्चित थियो । खास कुरा के थियो भने, सिधा माइतीघरलाई घाँटी रेट्नुभन्दा 'स्लो पोइजन'मा मार्ने शासकको हिजैको स्कुलिङ थियो । त्यसैले त माइतीघरमा पोस्टर बोक्ने प्रधानमन्त्री, सरकारविरुद्ध विगुल फुक्ने कांग्रेस र अन्य भरदारहरू एकै शासकको एउटै बागडोर समाल्दा ‘माइतीघर’ घिटीघिटी भयो ।
माइतीघर सबैका लागि काँडा
२०७६ असार ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक पत्रकार सम्मेलनबीच माइतीघरलाई कोट गर्दै भनेका थिए, ‘मलाई घरमा यसो गरे भनेजस्तो गरेर माइतीघर गएझैँ जे पनि माइतीघरमा विरोध हुन थालेको छ ।’ उनले त्यति शब्दमा मात्र माइतीघरको कटाक्ष गरेका थिएनन् । उनले भनेका थिए, ‘माइतीघर त साँचै माइतीघर नै पो भएछ । यताउता केही पर्यो कि खुर्र कुदेर माइतीघर पुगिहाल्ने ।’
यो आशयबाट के बुझ्न सकिन्छ भने, वर्तमान शासनसत्तामा रहेको एमाले माइतीघरमा उठ्ने अन्याय र पीडाका आवाज सुन्न चाहँदैन । न उसलाई यी मुद्दा त्यति ठूलो नै लाग्छ । हुन त कुनै बेला मधेशका मुद्दा सम्बोधन गर्नुपर्छ भनेर उनै ओलीले ओकलेका थिए, ‘आँपको बोटबाट दुई/चार दाना पाकेर झर्दैमा के आत्तिनु ?’
प्रधानमन्त्री प्रचण्ड, जसले माइतीघरमाथिको निषेधलाई सफलता मानेका छन्, लाई थाहा छ– माइतीघर अहिले जति शान्त भइदियो, शासनको समय त्यति लम्बियो । उझ, शासनको कभरेजमा मिडियालाई गुमराहमा पार्दा माइतीघरको चिच्याहट शून्य भएको छ । यसले गर्दा नै सरकारले शान्त रूपमा शोषण गर्न पाएको छ ।
वर्तमान स्वास्थ्यमन्त्री तथा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई माइतीघर तगारो बनेकै थियो । कुनै बेला आरती साहका बुबाले माइतीघरमै भेट्टाएका यादवले पीएसओको बलमिच्याइँ खानुपर्यो । उता उपेन्द्र यादव भने कुलेलम ठोकेका थिए, यता भने सामाजिक सञ्जालमा उनको खरो टिप्पणी नै भएको थियो । मधेशका नेताले मधेशकै मुद्दा सुन्न नचाहँदा माइतीघर सघैँझैँ बोलिदिन्थ्यो र झस्काइरहन्थ्यो शासकलाई, देखाइरहन्थ्यो जनताका दुःख र बताइरहन्थ्यो मलमपट्टिका समाधान । तर, शासकले माइतीघरलाई बन्धक बनाएर राखेको छ । तेर्स्याइएको छ बन्दुकको नाल र भनिरहेको छ:
ओ मनुवा हो !
शासकज्यू मिलाई बसिस्या छ शासन ।
गनगन गर्न नआऊ यता ।
आए ताकिएला तोप त्यता ।।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १६:००