२०७९ को निर्वाचनमा पश्चिम तराईबाट उदय भएको नागरिक उन्मुक्ति पार्टीको विवाद अहिले उत्कर्षमा पुगेको छ । संरक्षक नेता रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको कलह छताछुल्ल हुँदा १९ चैत सोमबार पार्टी बैठकमै हातपात हुन पुग्यो । एमाले–माओवादी नेतृत्वको गठबन्धनमा रहने कि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सघाएर सुदूरपश्चिम सरकार जोगाउने भन्ने विवाद सतहमा देखिए पनि रेशम–रञ्जिताबीच असमझदारी बढेको महिनौँ भइसकेको छ । टीकापुर घटनाका मुख्य योजनाकारका रूपमा न्यायालयले जन्मकैदको सजाय दिएका चौधरी १५ जेठ २०८० मा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएदेखि नै पार्टीमा एकपछि अर्को विवाद आइरहेका छन् । अहिलेको विवादले सो पार्टी विभाजनको मोडमा पुगेको विश्लेषण भइरहेका बेला शिलापत्रले अध्यक्ष रञ्जिता श्रेष्ठसँग संक्षिप्त संवाद गरेको छ । प्रस्तुत छ, संवादको सम्पादित अंशः
नागरिक उन्मुक्ति पार्टीको बैठकमा आज के भएको हो ?
मैले आज बिहान ८ बजे पार्टीको बैठक बोलाएको थिएँ । केही कामले म बाहिरै थिएँ । म पुग्नुअघि त्यहाँ अनधिकृत व्यक्ति आएर पार्टीका संस्थापक सदस्यमाथि हातपात भएछ ।
हातपातकै स्थिति कसरी आयो ?
पार्टीमा अनपेक्षित विवाद भइरहेको छ । विवाद सुल्झाउन मैले १४ चैतमा बैठक बोलाएर निर्णय पनि गराएँ । आजको बैठक पनि विवाद समाधानकै लागि बोलाएको थिएँ । संरक्षक रेशम (चौधरी)जीलाई पनि राखेर छलफल गर्न खोजेका थियौँ । तर, कमिटीभन्दा बाहिरबाट मान्छे आएर हातपात गरियो । ममाथि धावा बोलियो । हातपातमा पर्नुभएका साथीहरूले प्रेस मिट गरेर घटनाको यथार्थ भनिसक्नुभएको छ । मैले बोलाएको बैठकमा उहाँहरू कुटिनुपर्यो । अध्यक्षको हैसियतले मैले माफी मागेको छु ।
रेशम चौधरीसँग तपाईंको कुरा केमा नमिलेको हो ?
रेशमजी कारागारमा हुँदै हामीले यो पार्टीलाई अघि बढाएका हौँ । स्थानीय चुनाव होस् वा प्रदेश र संघीय चुनाव । हाम्रो एउटै माग थियो– राजबन्दीलाई बाहिर निकाल्ने । जेठ १५ मा उहाँ बाहिर आएपछि पार्टी अझ धेरै फैलिनेछ भन्ने ठानेका थियौँ । तर खै, मैले उहाँलाई बुझिनँ कि उहाँले मलाई बुझ्नु भएन ।
उहाँ जेलबाट निस्केपछि एकपछि अर्को विवाद बढ्दै गयो नि ।
त्यही त म पनि अचम्ममा छु । रेशमजी कारागारमै हुनुहुन्थ्यो, मेरो नेतृत्वमा पार्टी उदाएकै हो । स्थानीय चुनाव हुँदा पार्टी गठन भएकै सय दिन पनि पुगेको थिएन । तर, हामीले चुनाव जित्यौँ । हाम्रो पार्टीबाट ९९ जनप्रतिनिधि निर्वाचित हुनुभयो । म गाउँगाउँ पुगेर पार्टीको पक्षमा माहाैल बनाएँ । रेशमजीलाई छुटाउन पनि जनताले हामीलाई भोट दिए । जनमतकै बलमा उहाँ कारागारबाट छुटिसक्नुभयो । इमोसनले मात्र सधैँ पार्टी चल्दैन । एउटा बलियो र सुदृढ पार्टी बनाउँ भन्ने मेरो कुरा हो ।
महाधिवेशनबाट नेतृत्व हस्तान्तरण भइसकेको थियो । एकाएक कसरी अविश्वास सिर्जना भयो ?
मैले त महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेकै हो नि । निर्वाचन आयोगले त्यो कमिटीलाई वैधानिकता दिएन र पुरानै कमिटीलाई काम गर्न भनेको हो नि । यस्तोमा सहयोग गर्नुको सट्टा अनेक विवाद निकालियो । हिजो चुनाव जिताएको नेतृत्व पनि त रञ्जिताकै थियो । किन अविश्वास गर्नुपर्यो, किन विवाद निकाल्नुपर्यो ।
भनेपछि विवादको कारक संरक्षक रेशम चौधरी नै हो ?
१५ जेठमा उहाँ छुटेपछि पार्टी यसरी बिग्रने हैन, फैलिएर जानुपर्थ्यो नि । किन विवाद आइरहेका छन् ? किन अनधिकृत व्यक्ति बैठकमा आएर हातपात गर्ने स्थिति आयो ? हिजो उहाँ भित्र हुँदा त यस्तो कहिल्यै भएन । उहाँ बाहिर आएको एक वर्ष नहुँदै किन यस्तो भयो ? त्यसले नै देखाउँछ नि रेशमजीमा केही न केही कमजोरी छ भनेर ।
अहिलेको विवादले पार्टी विभाजनको मोडमा पुगेको हो ?
होइन, नागरिक उन्मुक्ति पार्टी फुट्दैन । २१ सदस्यीय संस्थापक केन्द्रीय समिति पार्टीमा उत्पन्न विवाद समाधान गरेर अघि बढ्ने योजनामै छ । संघ भन्नुस् कि लुम्बिनी र सुदूरपश्चिमका हाम्रा सांसदहरू विचलित छैनन् । उनीहरू पार्टी निर्णयको लाइनमा उभिनेछन् ।
अर्को पक्षले २३ र २४ चैतमा बैठक राखेको छ । त्यसैले सबै निर्णय गर्ने भनिरहेको छ नि ।
पार्टीको अध्यक्ष म हुँ । मैले त बैठक बोलाएको छैन । त्यसरी बोलाएको बैठकको कुनै औचित्य हुँदैन, वैधानिक हुँदैन । अर्को कुरा पनि तपाईंलाई भनिदिऊँ, हाम्रो पार्टीको विधानले अध्यक्ष र सदस्यबाहेक बीचमा कुनै पदाधिकारीको व्यवस्था गरेको छैन । सचिव, महासचिव भन्ने संस्थापक कमिटीमा कोही छैन । पार्टीमै नभएका महासचिवले बोलाएको बैठक वैधानिक हुन्छ र ?
याे पनि :
रञ्जितालाई सम्बोधन गर्दै रेशमले भने- मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० २०:१४