त्याग, बलिदान र संघर्षका कथाहरू, इतिहासमा स्वर्ण अक्षरले लेखिएको विद्यार्थी आन्दोलन, नेपालको सामाजिक, राजनीतिक र जागरणका आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ; जतिबेला जनताको वाक् स्वतन्त्रता र सर्वसाधारणले पढ्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाइएको थियो; जतिबेला विश्वव्यापी रूपमा स्वतन्त्रताको आन्दोलन र क्रान्तिको उभारसँगै भित्रिएको विद्यार्थी आन्दोलन विद्रोही चेतनासहित आयो । प्रजातन्त्रको स्थापनाका निम्ति मृत्युदण्ड रोज्ने गंगालाल श्रेष्ठ र दिल्ली सम्झौताका विरुद्ध आन्दोलनको मोर्चामा शहीद भएका चिनियाँ काजीहरूको रगतमा नेपाली विद्यार्थी आन्दोलन अगाडि बढेको थियोे, जसको इतिहास स्वर्ण अक्षरले लेखिएको छ ।
विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तनसँगै शैक्षिक तथा प्राज्ञिक आन्दोलन, राष्ट्रियता, जनजीविका र सामाजिक रूपन्तरणमा योगदान गरेको छ । विद्यार्थीकालमा राजनीति सुरु गरेकाहरू अहिले विभिन्न तह र तप्कामा पुगेर पार्टी र राज्यको नेतृत्व गरिरहेका छन् । शेरबहादुर देउवा, विप्लव, देव गुरुङ, शंकर पाेखरेल, गगन थापा, विश्वप्रकाश शर्मा, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेललगायत सबै नेताहरू अहिले पार्टी र राज्यको नेतृत्व गरिरहेको उदाहरण हाम्रैसामु छन् ।
यसरी हेर्दा यो आन्दोलनले राजनीतिक रूपमा महत्त्वाकांक्षा राख्नेहरूलाई पनि मैदान तयार गर्दै आएको देखिन्छ । आन्दोलनकाे माेर्चामा सडक बाघको रूपमा स्थापित विद्यार्थी संगठनका कारण विद्यार्थी नेताहरूको छवि समाज र शिक्षालयमा आजसम्म पनि सुपर हिरोको रूपमा रहेको छ । त्यस कारण विद्यार्थी राजनीतिमा अझैसम्म पनि आकर्षण हुनेहरूको संख्या बढिरहेको छ ।
समय फेरिँदै जाँदा दलहरूले राजनीतिक रूपले पुरानै व्यवस्थालाई स्वीकार्दै जाने, दार्शनिक रूपले नयाँ दर्शनको विकास गर्न नसक्ने र फरक राजनीतिक कार्यक्रमहरूको उठान गरे पनि सामान्य टालटुले सुधारलाई स्वीकारेर अगाडि बढ्दा विद्यार्थीहरू पनि सत्तामुखी, पार्टीमुखी र नेतामुखी बन्दै गएका छन् ।
विद्यार्थीसंगठनको चरित्रबाट विद्रोही, संघर्षशील र वर्ग पक्षधरतामा ह्रास हुँदै गएको छ । प्रतिपक्ष आन्दोलनको नामले स्थापित विद्यार्थी संगठनहरू अहिले पार्टी पक्ष, सरकार पक्ष, सत्ता पक्ष देखिँदै जाँदा गौरवशाली इतिहास बोकेको विद्यार्थी आन्दोलन कमजोर बन्दै गएको छ । यसका कार्यक्रम र व्यवहारहरू फितला र प्रतिक्रिया मात्र दिनेजस्ता बनेका छन् । अहिले विद्यार्थी नेता, संगठन र आन्दोलन कमजाेर ओज भएको र गर्व गर्न लायक नभएको जस्तो देखिएको छ ।
विद्यार्थीहरू आन्दोलनमा सक्रिय सहभागी हुन्छन् । केही सफल परिणाम पनि निकाल्छन् । तर, कार्यान्वयन हुँदैन । किनकि व्यवस्था पुरानै हुन्छ, अथवा त्यसको आधार पुरानै हुन्छ । उपरी संरचनामा आएको परिवर्तनलाई क्रान्ति या आमूल परिवर्तनको रूपमा वुझाइएकाले त्यही मनोविज्ञान र अपेक्षा निर्माण हुन्छ । तर, आधार पुरानै भएका कारण अपेक्षा गरेअनुरूपको परिणाम फेला पर्दैन ।
यो क्रम नेपालमा निरन्तर चलिरहेको छ । नेपालका धेरै आन्दोलनपश्चात् नयाँ र पुरानाबीचको गठजोडबाट नेपाली समाज अगाडि बढिरहेको छ । २००७ देखि २०४६, २०६२/६३ का जनआन्दोलन सबै प्रमुख आन्दोलन सम्झौतामै टुङ्गिए ।
जब देशमा उदार अर्थतन्त्रको प्रवेश भयो, तब शिक्षामा निजीकरण, व्यापारीकरण र माफियाकरण ह्वात्तै बढ्याे । कलकारखाना बन्द हुँदै गए । शिक्षा स्वास्थ्यजस्तो क्षेत्रमा निजी लगानी बढ्दै गयो, अथवा उद्योगपतिहरू शिक्षा क्षेत्रमा प्रवेश गरे ।
बिस्तारै राजनीतिक दलका नेताहरू, नोकरशाहहरू पनि यसमा प्रवेश गरे । अहिले त पार्टीका नेता र प्राध्यापक/कर्मचारीहरूका ठूला कलेज र विद्यार्थी संगठनका नेताहरूको कन्सल्टेन्सीजस्तो बन्दै गएको छ । विद्यार्थी नेता कलेजमा आफ्नो कन्सल्टेन्सी सञ्चालन गर्न र विद्यार्थी बेच्नका लागि प्रवेश गर्नेजस्तो भएको छ ।
आजको विद्यार्थी नेताले अहिलेको अवस्थाको विश्लेषण गर्ने र त्यसको समाधानका निम्ति ज्ञान निर्माणसहितको नेतृत्व गर्न सकिरहेको छैन । पहिला विद्यार्थी नेता ज्ञानको निर्माण र प्रसार गर्ने, नयाँ विषयको जानकारी राख्ने, समाज र शिक्षालयभित्रका समस्याहरूको पहिचान गर्ने र त्यसलाई हल गर्ने एउटा बहुप्रतिभावान् व्यक्तिजस्ता थिए । अहिले त्यो फेरिँदै गयो । विद्यार्थी नेता अपडेट भइरहेका छैनन् । हिजो पार्टीहरूमा पनि नयाँ विषयको खोजी गर्ने र त्यसलाई व्यवस्थित अध्ययन गराउने विधिहरू थिए । त्यसको प्रभाव विद्यार्थी नेतामा पर्थ्यो । देश, विश्व र आफ्नो क्षेत्रको ज्ञानमा निकै अगाडि थिए । अरु विद्यार्थीले उसलाई ज्ञानको हिसाबले पनि नेता स्वीकार गर्थे । अहिले सूचना प्रविधिको विकासले ज्ञानको क्षेत्र फराकिलो भएको छ । तर, पार्टीभित्र आन्तरिक अध्ययन गर्ने गराउने परम्परा हराउँदै गएको छ । त्यसले गर्दा पार्टीको सम्पर्कमा भएका नेतामा ज्ञान नहुने, बरु सामाजिक सञ्जाललाई राम्रो प्रयोग गर्ने विद्यार्थीमा तुलनात्मक रूपमा ज्ञान हुने हुँदा विद्यार्थी नेता विद्यार्थीभन्दा पछाडि परेका छन् । विद्यार्थीको वास्तविक नेता हुन सकिरहेको छैन ।
अहिले त्रिवि केन्द्रीय क्याम्पसमा करिब २ हजार विद्यार्थी छन् । २०६६/६७ सम्म करिब १७ हजार थिए । देशैभरि हेर्दा एउटै क्याम्पसमा ठूलो संख्यामा आवासीय रूपमा विद्यार्थी रहने क्याम्पस हराउँदै गएका छन् । झट्ट हेर्दा त यो केही होइन, तर यसलाई गहिरिएर हेर्ने हो भने यो विद्यार्थीलाई केन्द्रीकृत हुन नदिने योजना हो । आज उस्तै कोर्सहरूलाई एउटा किताब थपिदिएर नयाँ कोर्स बनाउने र त्यसलाई बिस्तारै निजीकरणतिर लैजाने काम भइरहेको छ । त्यसले विद्यार्थीलाई केन्द्रीकृत हुन नदिने र ठूलो प्रेसर समूहहरू बन्न नदिने गरी निर्माण गर्यो ।
अहिले नेपालका विश्वविद्यालयहरूमा दिनहुँ विद्यार्थी घट्ने क्रम बढिरहेको छ । मेडिकल, इन्जिनियरिङजस्ता विषयहरूमा समेत सिट खाली भइरहेको छ । विदेशमा गएपछि सबै ठीक हुन्छ भन्ने मनोविज्ञान, हाम्रो विश्वविद्यालयभित्रको बेथिति र साम्राज्यवादले योजनाबद्ध ढङ्गले भत्काएको हाम्रो मनोविज्ञानका कारण अहिले सबै विद्यार्थी विदेश जान चाहने, त्यो पनि नभएमा विदेशी सम्बन्धनप्राप्त कलेजमा पढ्न चाहन्छन् । २०७९ सालमा मात्र एनओसी लिने विद्यार्थीको संख्या १ लाख ११ हजार ८ सय छ । विकसित देशहरू यो संख्या अझै बढाउन चाहन्छन्, उनीहरूले फल पाक्नुअगाडि हरियो हुँदा नै डालोमा हालेर भित्र्याउने 'ग्रीन हार्वेस्टिङ' विधि यसमा प्रयोग गरिरहेको छ ।
साम्राज्यवादको चौतर्फी प्रहारलाई प्रतिरोध गर्न अबको विद्यार्थी आन्दोलन र त्यसका नेताले कुनै एक पक्षमा मात्र दख्खल राखेर पुग्दैन । अबका विद्यार्थी नेताले पुरानो ज्ञानको आधार र नयाँ ज्ञानको आलोकमा प्रज्वलित एकीकृत मान्छेको रूपमा उभिनुपर्नेछ ।
विदेशी सम्बन्धनप्राप्त कलेजमा पढ्ने विद्यार्थीको संख्या २५ हजार पुगिसकेको छ । पछिल्लो समय १० हजारभन्दा बढीले विदेशी विश्वविद्यालयबाट अनलाइन डिग्री लिइरहेको सूचना पनि छ । कमिसनको खेलमा सरकारले च्याउजसरी विदेशी सम्बन्धनप्राप्त कलेजलाई उम्रिन दिइरहेको छ । तीनवर्षे ब्याचलर, शतप्रतिशत पास, परीक्षा र नतिजा समयमा हुने हुँदा विद्यार्थीको आकर्षण पनि विदेशी सम्बन्धनप्राप्त कलेजमा नै बढिरहेको छ । यसरी हेर्दा नेपालको शैक्षिक अवस्था दयनीय छ ।
संसारलाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक हिसाबले कब्जा गरी आफ्नो साम्राज्यमार्फत सबै देशहरूलाई अनुत्पादक क्षेत्रमा बदलेर उत्पादन गर्न नदिने केवल उपभोग मात्र गर्न दिने साम्राज्यवादीहरूको नीति हो । त्यसले गर्दा आज गरिब देशहरूका उर्वर भूमिहरू बाँझो हुँदै गएका छन् भने त्यस्ता देशका युवाहरू विदेशिन बाध्य छन् । पुँजीवादले आफ्नै रक्षाका लागि धेरै उत्पादन गर्नुपर्ने हुन्छ । त्यसका लागि सस्तो श्रममा युवाहरूलाई आफ्नो देशमा भित्र्याउने र उत्पादन बढाउने उसको नीति हो । यही गर्न संसारका युवाहरूको मनोविज्ञानलाई कसरी भत्काउने, निराश बनाउने, सिर्जनशील हुन नदिने र बेरोजगार बनाउने भन्ने रणनीतिमा आजको सम्राज्यवाद देखिन्छ । त्यस कारण साम्राज्यवादी देशहरूले सबैभन्दा पहिले गरिब देशका विश्वविद्यालयहरूमाथि आक्रमण गरिरहेका छन् । पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणविधि वर्ल्ड बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंकहरूबाट पोषित शिक्षाविद्हरूले गरिरहेका छन् ।
त्यसरी निर्माण गरिएका पाठ्यक्रमहरू नेपाली भूमि, नेपाली माटोसुहाउँदो हुँदैन । यहाँका केही मान्छेहरूलाई खरिदबिक्री गरेर आफ्नो हिसाबले पाठ्यक्रम निर्माण गरिरहेका छन् । त्यो पाठ्यक्रमबाट पढेर उत्पादित जनशक्तिले नेपाली माटोमा केही पनि गर्न नसक्ने, उल्टो निराश बनाएर आफ्नै माटोप्रति थुक्न बाध्य पार्दै त्यस्ता साम्राज्यवादी देशहरूले थोरै रकम दिएर विदेशिन बाध्य बनाई लुटिरहेका छन् । पुजिवाद यसरी जीवित रहेको छ । त्यसको असर नेपाललगायतका देशहरूले अहिले भोगिरहेका छन् ।
नेपालका प्लस टु पढ्ने विद्यार्थीहरूको सर्वेक्षण गर्ने हो भने ९० प्रतिशतभन्दा बढी विद्यार्थीमा विदेश जाने सपना देख्ने र विदेशमा नै सबै कुरा ठीक हुन्छ भन्ने मनोविज्ञान छ । स्नातक पहिलो वर्षमा भर्ना हुने ८० प्रतिशत विद्यार्थीहरू चौथो वर्षमा पुग्दा ड्रप हुने र २० प्रतिशत मात्रै चौथो वर्षमा पुग्ने तथ्यांकले डरलाग्दो चित्रण गरिरहेको छ ।
अब के गर्ने ?
मुखले 'समान शिक्षा, सबैका लागि शिक्षा, अनिवार्य शिक्षा' जस्ता नारा दिने पुँजीवादले व्यवहारमा धनीका लागि शिक्षा, गरिबबिनाको शिक्षा र अझ भन्नुपर्दा धनी र गरिबले पढ्ने छुट्टै शिक्षाजस्तो भइरहेको छ । शिक्षामा अहिले झनै ठूलो खाडल निर्माण भइरहेको छ ।
२००७ सालदेखि २०६२/६३ को जनआन्दोलनसम्म आउँदा विद्रोहको मसाल बोक्ने र क्रान्तिको बिगुल फुक्ने कार्यमा विद्यार्थी संगठन नै अग्र भागमा थिए । त्यतिबेलाको चरित्र, आन्दोलनको घनत्वको हिसाबले अहिलेको विद्यार्थी आन्दोलन प्राण नभएको अस्थिपन्जरजस्तै देखिन्छ । विद्यार्थी त अनुसन्धान र खोज कार्यमा लागी देशकाे प्रगतिको बाटोमा लम्किरहेका हुन्छन् । यसरी हेर्दा विद्यार्थी समाजको ऐना पनि हुन् । विद्यार्थीमा आलोचना र चेतको विकास भइरहेको छ भने उसले प्रश्न गर्न सुरु गर्छ र त्यसले नयाँ चीजको आविष्कार पनि गर्न सक्छ । यसरी हेर्दा आजको विद्यार्थीमा देखिएको समस्या विचारविहीनता, दिशाहीनता, अक्रमण्यता नै हो ।
अहिलेको शिक्षा क्षेत्र र विद्यार्थी आन्दोलनको विषयमा सूक्ष्म विश्लेषण अझै पुगेको छैन । आन्दोलनलाई नयाँ ढङ्गले उठाउने हो भने यसको दार्शनिक, राजनीतिक र शैक्षिक पक्ष सबैमा शल्यक्रिया गर्नुपर्ने अवस्था छ । गंगालालले आफ्नो जीवन आहूति दिँदा त्यो समयमा उनको संघर्ष सबैभन्दा सही, उत्कृष्ट, साहसिक र गौरवान्वित थियो । त्यो नै सबैभन्दा मुख्य आन्दोलन गुण तत्त्व थियो । हिजो राष्ट्रघात हुँदै गर्दा विश्वनिकेतनमा पढ्ने चिनियाँकाजीहरू त्यसका विरुद्ध सडकमा आउनु त्यतिबेलाको समयमा सबैभन्दा राम्रो र साहसिलो मुख्य आन्दोलन थियो । आज शिक्षाका कैयौँ विषयहरू फेरिएका छन् । हिजो जनताका छोराछोरीहरूले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिकारी र प्रगतिशील नारा थियो । तर, अब त्यो नाराले नेपालको शिक्षालाई अगाडिको बाटोमा हिँडाउन सकिँदैन ।
हिजो सामन्तवादले शिक्षालाई आफ्नो मुट्ठीमा राखेको थियो । सामन्तहरूले जनताका छोराछोरीलाई शिक्षाबाट वञ्चित गराएका थिए । तर, अहिले पुँजीवाद र साम्राज्यवादले शिक्षामा नयाँनयाँ विकास गरेर नयाँ प्रकारका शोषण, अत्याचार र खाडलहरू निर्माण गरिरहेका छन् । त्यो खाडलविरुद्ध नयाँ प्रकारको बहस नयाँ ढंगले छेड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
समयअनुसार चल्दै नयाँ प्रकारको शोषणबाट टिकिरहेको साम्राज्यवादलाई ढाल्न हामीलाई नयाँ स्कुलकै खाँचो पर्छ । त्यसैले अब त्यस्तै नयाँ स्कुल हामीले निर्माण गर्नुपर्छ । यहाँनिर हामीले नयाँ एजेन्डा सेट गर्नुपर्ने देखिएको छ । आङ्गिक क्याम्पसको व्यवस्थापन, शिक्षा, मानविकी संकायको स्नातकको शुल्क ५०० वरिपरि र पब्लिक क्याम्पसको १ हजारदेखि १ हजार ५ सयको वरिपरि छ ।
अहिले विद्यार्थीले कोठामा बस्दा सबै किनेर खानुपर्ने हुँदा १५ हजारभन्दा बढी खर्च हुने र त्यो खर्चको भार परिवारले धान्न नसक्ने र आफूले पनि अर्थोपार्जन गर्न नसक्ने हुँदा विद्यार्थीहरूले पढाइ छाडिरहेका छन् । त्यस कारण अब जनजीविकाको विषयहरूलाई मुख्य बनाएर संघर्ष अगाडि बढाउनुपर्छ ।
विद्यार्थीलाई पुरानो स्कुलले राष्ट्रियता भनेको भूगोलको मात्र विषयजस्तो बनाएको छ । तर, अहिले साम्राज्यवादले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रबाट हस्तक्षेप गरिरहेको छ । उसले सूक्ष्म रूपमा हाम्रो जीवनमा प्रवेश गरेर उपनिवेश लादिरहेको छ । यो कुरा सहजै थाहा नै नपाउने गरी आएको छ । यसका लागि नयाँ स्कुलको निर्माण गर्दै विद्यार्थीहरूलाई प्रशिक्षित गर्ने कार्यभार विद्यार्थी सङ्गठनको हो । अन्यथा विदेश जाने, अङ्ग्रेजी बोल्ने र हिन्दी गीत गाउने मानिसलाई आफ्नो आइडल मान्ने र आफू सोही बाटोमा हिँड्ने प्रवृत्ति नेपाल र नेपालीका लागि घातक छ । यसाे गर्दा नयाँ पुस्ता राष्ट्रप्रति उदासीन बन्छ । यसले गर्दा हाम्रो राष्ट्रियता खतरामा छ । साम्राज्यवादको चौतर्फी प्रहारलाई प्रतिरोध गर्न अबको विद्यार्थी आन्दोलन र त्यसका नेताले कुनै एक पक्षमा मात्र दख्खल राखेर पुग्दैन । अबका विद्यार्थी नेताले पुरानो ज्ञानको आधार र नयाँ ज्ञानको आलोकमा प्रज्वलित एकीकृत मान्छेको रूपमा उभिनुपर्नेछ ।
संसारभरि भएका विद्यार्थी आन्दोलन जागरण र दबाबका आन्दोलन हुन् । यो लामो समय र दूरीको भन्दा पनि छोटो-छोटो र मुद्दा विशेषमा उठ्छ, जसरी २०३६ सालको जनमतसङ्ग्रह विद्यार्थी आन्दोलनको जगमा उठ्यो । अहिलेको व्यवस्थाप्रतिको जनतामा चरम निराशा र असन्तुष्टि रहँदारहँदै पनि संसदीय पार्टीहरूले यसैको संरक्षण गर्ने पश्चगामीहरूले पुरानो व्यवस्थाको कुरा गर्ने र क्रान्तिकारीहरूले लामो युद्धको मात्र कुरा गर्ने हुँदा उनीहरूको मनोविज्ञान सहज बाटोबाट छोटो समयमै र पूर्ण रूपान्तरणलाई समात्ने गरी कार्यक्रमहरू नबनेको हुँदा कुनै पनि विचारमा केन्द्रित भइरहेको अवस्था छैन । त्यस कारण यो मनोविज्ञानलाई नेतृत्व गर्ने गरी कार्यनीति र रणनीति निर्माण गर्नुपर्ने हुन्छ ।
लेखक अखिल समाजवादीका सचिव हुन् ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८० २०:२५