सानो हुँदा सुनेकी थिएँ, भौगोलिक रूपमा विश्वकै ठूलाे देश रुसबारे । रुस पुग्नु मेरा लागि सपना थियो । कुनैबेला घाम नअस्ताउने भूगोलको देश भनेर चिनिने रसिया कति ठूलो होला भनेर बाल्यकालमै मलाई कौतुहल थियो ।
महान समाजवादी नेता, सर्वहाराका मुक्तिदाता, रुसी क्रान्तिका नायक, लेनिनवादी संगठनात्मक प्रणालीका प्रणेताजस्ता अनेक उपमा दिइएका नेता भ्लादिमिर लेनिनको इतिहास धेरथोर पढेकाले पनि मलाई त्यो देशमा पाइला टेक्ने रहर थियो । सिधै भन्दा जीवनमा एकपटक रसिया पुग्ने चाहना मनको कुनामा थियो ।
यसपटक त्यो अवसर जुर्यो । सगौरव आफ्नो देशको प्रतिनिधित्व गरेर रसिया पुग्ने अवसर मैले पाएँ । वर्षौंदेखि सुन्दै आएको त्यो विशाल देशमा विश्व युवा महोत्सव-२०२४ को भव्य माहौलमा सहभागी हुन म पुगेको थिएँ ।
अनेकतामा एकताको उद्देश्य लिएर आयोजना गरिएको विश्व युवा महोत्सव, २०२४ को मुख्य कार्यक्रम रसियाको राजधानी मस्कोभन्दा अलि परको शहर सोचीमा राखिएको थियो । जुन शहर राजधानी मस्कोदेखि चार घण्टा उडानपछि पुगिन्छ ।
सोची शहर र कार्यक्रमको भव्यता शब्दबाट उतार्न मुस्किल छ । मैले जसरी सोची शहरलाई महसुस गरे, अंगाल्न पाएँ अनि जसरी उक्त कार्यक्रमलाई देख्न र सहभागी हुन पाएँ, यी सबै अनुभूति मेरा लागि नयाँ थिए ।
हरेक व्यक्तिले आफ्नो यात्रामा केही न केही नयाँ देखेको हुन्छ । मैले पनि यस पटकको १० दिने यात्रामा बिल्कुल फरक देखेकी छु । एकदमै फरक अनुभव गरेकी छु । ती अनुभूतिलाई शब्दमा व्याख्या गर्ने कोशिस गरेकी छु ।
साँच्चै सोचीलाई प्रकृतिले नै सिंगारेको छ । मनै लोभ्याउने त प्रकृतिले बनाएको हो । त्यसमाथि विकास हेर्दा लाग्छ, सबथोक छ त्यहाँ । त्यहाँका मानिशहरू प्रकृतिलाई एकदमै माया गर्छन् । कुनै प्राकृतिक हानीबिनै विकास गरेका छन् । सामाजिक विकास उस्तै छ । भौतिक पूर्वाधार उस्तै छ । सडकहरू लोभलाग्दा छन् । सुरुङ मार्गहरू उत्तिकै निर्माण गरिएका छन् । भवनहरू पनि भव्य छन् । यो शहर आफ्नै विशेषताले भरिपूर्ण छ ।
झलक्क हेर्दा हाम्रो पोखराको झल्को दिने सोची प्राकृतिक र ऐतिहासिक सांस्कृतिक दुवै प्रकारका आकर्षणहरूका लागि प्रसिद्ध रहेछ । प्रसिद्ध व्यक्तिहरूको कुटीरहरू र संग्रहालयहरू रहेको सोची पहाड, भूमिगत गुफाहरू, अवशेष वन र प्राकृतिक भण्डारहरूले चर्चित छ । सोची ओलम्पिक पार्कले झन् फूलमा सुगन्ध थपेकोजस्तो लाग्छ ।
जतिबेला बादलले घुम्टो ओडाउँछ, त्यतिबेला सोची मख्ख पर्छ । पारी शिलालेखजस्ता साना-साना टलक्क टल्किएका हिमाल, त्यसको काखमा सोची शहर, आँगनमा ओलम्पिक पार्क अनि डिलमा कालो सागर । सागरको तटमा सोची पुगेका पाहुनाहरू दुःख बिसाउन जान्छन । खुसी साट्न जान्छन । सागरको निश्चल छालसँगै दिल खोलेर रमाउँछन् ।
कार्यक्रमको उद्घाटन र समापन सत्र पूरै डिजिटलमय भयो । लाग्थ्यो, महिनौं लगाएर तयार गरेको फोटो र भिडियो एउटा टीभी स्कृनमा देखाइरहेका छन् । मैले यति डिजिटल भव्यताको कार्यक्रम पहिलो पटक देखेँ ।

म मात्रै होइन, त्यहाँ ओलम्पिक हाउसको हलमा गएका १ सय ७८ देशका करिब २० हजार युवाहरू रसियाको प्रविधिको अगाडि फिदा देखिन्थे । उद्घाटन सत्रमा देखाइएको डिजिटल, जसले मेरो मानसपटल अहिले पनि घुमाउँछ । वाह, लागिरहन्छ ।
डिजिटलको संसार अलि भिन्न त हुन्छ नै । तर, यसरी डिजिटलको एउटा छुट्टै संसार निर्माण गर्न रसियाली सरकारलाई कति वर्ष लाग्यो होला ? मेरो देशमा यत्तिको बन्न कति वर्ष लाग्ला ? यस्ता प्रश्न हलभित्र नउब्जिएका भने पक्कै होइनन् । जहाँ एकछिनमा त्यही मञ्च भव्य महल बनेको छ, एकछिनमा त्यही मञ्च झुपडी बनेको छ ।
टीभी स्कृनको जस्तो देखिने उक्त एआई मञ्चमा कुनै समय एकैपटक सयौँ जना मानिसको उपस्थिति हुन्थ्यो भने कुनै समय शून्यता । मञ्च भव्य महल बने पनि झुपडी बने पनि कार्यक्रमले पृथ्वीलाई मानवीय क्रियाकलापले पारेको असरबारे देखाउन खोजिएको प्रष्ट हुन्थ्यो । अन्तिममा मानिसले प्रकृतिलाई के छोडेर जान्छ भन्ने विषयमा पनि देखाउन खोजिएको भान हुन्थ्यो ।

समापन सत्रको मुख्य आकर्षक भनेको नै सबैका लागि भ्लादिमिर पुटिन थिए । समापनमा 'विश्वले चुनावको मात्रै कुरा गर्छ, हामी विश्वको भविष्य निर्माण गर्ने कुरा गर्दछौँ' भनेका पुटिनलाई विश्वभरिका प्रतिनिधिहरूले दिएको हुटिङको सम्मान थेग्न नै मुश्किल थियो । पुटिन यति सजिलै कार्यक्रममा देखिए, जहाँ कार्यक्रम संचालकको कुनै ठूलाे आवाज थिएन, पटकपटक नाम उचारण थिएन । अथवा भनौँ, कुनै चाकडीका शब्द खर्चिनु परेको थिएन । एउटा फूलको थुंगा पनि थिएन । पुटिन मञ्चसम्म सजिलै आए, छोटो मन्तव्य राखे र सजिलै गए ।
सात दिनको कार्यक्रम अवधिभर विश्वका थरीथरीका कला साहित्य र संस्कृति देख्न पाइन्थ्यो । कुनै दिन प्रतिनिधिहरू आफ्नै देशको राष्ट्रिय पोशाकसहित उपस्थित भएका हुन्थे भने कुनै दिन आफ्नो कला साहित्य देखाउँथे । यी सबै देख्दा लाथ्यो, विश्व युवा महोत्सव विश्वको खुल्ला विश्वविद्यालय हो, जहाँ एउटै भूगोलबाट विश्व अध्ययन गर्न सकिन्छ । म एक्लैलाई यति धेरै देशको भाषा र संस्कृति खोज्न निक्लेँ भने वर्षौं वर्ष खर्चिनुपर्छ होला सायद । खुल्ला संवाद र विचार आदानप्रदान गर्ने महत्त्वपूर्ण थलोका रूपमा मैले विश्व युवा महोत्सवलाई लिएकी छु, जहाँ मेराे विश्वका हजारौँ नयाँ साथी थपिए । त्यहीँबाट मैले आजसम्म किताबका पानाहरूमा नपढेकाे देशको विषयमा पढ्न पाएँ ।
कार्यक्रम अवधिभर मसँग जति नयाँ साथीहरू जोडिए, सबैलाई मेरो पहिलो प्रश्न हुन्थ्यो, यू नो नेपाल ?
प्रायः जसोको जवाफ हुन्थ्यो- या ।
कार्यक्रमको पाँचौ दिन हामी नेपाली आ-आफ्नो सांस्कृतिक पोशाकमा सजिएका थियौँ । हेर्दैमा आकर्षक देखिने हाम्रो पोशाकमा फोटो खिच्ने देशबाहिरका साथीहरूको पनि लाइन थियो । त्यसैमा मैले पनि सेतो रङको साइटमा ढाकाले बुनेको साडी लगाएकी थिएँ । त्यही समयमा दुईजना भिक्टोरिया र एन्जेलिना रसियन साथीहरू 'दिस इज नेसनल ड्रेस अफ योर कन्ट्री' भन्दै मेरो नजिक आइपुगे ।
मैले या भन्न नपाउँदै उनीहरूले फोटो खिचम् न भने । मैले फोटो खिच्दै गर्दा भिक्टोरियालाई 'यू नो नेपाल ?' भनेर सोधेँ ।
उसको जवाफ थियोः या । 'माउन्ट एभरेस्ट इज इन योर कन्ट्री । आइ वान्ट गो टु योर काठमाडौं सिटी ।'
मैले उससँग आफ्नो देशको अरु सुन्दरताको विषयमा पनि प्रफुल्ल भएर बोलेँ । ऊ पनि नेपालको बारेमा सुन्न पाउँदा खुसी देखिन्थी र रसियाको बारेमा पनि खुलेर बोली ।

कार्यक्रमको तेस्रो दिन, म मेरो देशको झण्डा फहराउँदै विश्वका सबै देशको झण्डा राखेको ठाउँमा फोटो खिच्दै थिएँ । श्रीलंकाको एकजना साथीले 'आर यू नेपलिज' भन्दै प्रश्न तेर्स्याए ।
हाम्रो टिमले हो भनेर जवाफ दिइसकेपछिको उनको वाक्य थियो: आइ वान्ट गो टु द बर्थ प्लेस अफ बुद्ध, आइ वान्ट टु द्याट प्लेस विथ माइ हर्ट ।'
अनि हामीले 'वेलकम टु नेपाल' भनेर संवाद टुङ्ग्यायौँ ।
ओहो ! हाम्रो देशप्रतिको माया र मोह विदेशीहरूलाई पनि खुब रहेछ । यी मेरा दुई जना साथी त प्रतिनिधि मात्रै हुन । नेपाल नाम सुन्नेबित्तिकै वाउ नेपाल भनेर अनुहारको चमक नै फेर्ने हजारौँ थिए ।

विदेशीहरूको सपना छ, मेरो देश नेपालमा एकपल्ट पुगाैँ । साँच्चिकै हामीले सडक चिल्ला बनाउन सके, रिजोर्टहरू राम्रा-राम्रा बनाउन, हाम्रो मौलिकता, ऐतिहासिक विशेषताको विश्वभर प्रचार गर्न सके त पर्यटकको लाइन लाग्थ्यो होला । मन र मस्तिष्कको क्यान्भासमा यिनै कुरा खेले ।
हामी करिब १६ घण्टा लामो यात्राका कारण गलेको शरीर लिएर रसियाको सोची पुगेका थियौँ । त्यहाँ पुग्दाको संसार अर्कै थियो । गलेको शरीरमा पनि त्यसै-त्यसै फुर्ति आउँथ्यो । जसको एउटै कारण हो- हामीलाई सहजीकरण गर्ने स्वयंसेवकको जोश ।
सोची शहरमा पुग्ने जो कसैले अनुमान गर्न सक्थ्यो, यहाँ विश्व युवा महोत्सव हुँदै छ भनेर । शहर पूरै महोत्सवको ब्यानरले रङ्गिएको थियो । अनि ठाउँठाउँमा खटिएका थिए स्वयंसेवक ।

यिनीहरू पनि दिनभरिको थकाइले पक्कै गल्थे होलान् । तर आफू गलेको देखाउन चाहँदैन थिए अथवा यिनीहरूलाई थाकेको देखाउने छुट थिएन । मेरो हजुरबुबा/आमा देखि मेरो पुस्तासम्मका सबै स्वयंसेवक त्यहाँ थिए । जसको अनुहारमा दिनमा होस् वा रातमा जतिबेला पनि मुस्कान मात्रै देखिन्थ्यो । उनीहरू त्यहाँ भएका तीनवटा स्टेडियमका चारैतिरदेखि विश्वका २० हजार प्रतिनिधि राखेका ठाउँसम्म अनि सडक सडक मा भेटिन्थे, एक्लै रमाइरहेका हुन्थे ।
बिहान भन्थे प्रिवियद !
अनि बेलुका, स्पासिवा ।
उनीहरूको भाषामा प्रिवियद भनेको नमस्कार र स्पासिवा भनेको धन्यवाद !
त्यहाँ देखिन्थ्यो स्वयंसेवकको मुस्कान नै उनीहरूको विश्व युवा महोत्सवभरिको सम्पत्ति हो । उनीहरूको जोश र जाँगरको सिको विश्वले गरोस् ।

दश दिनको यो यात्राले मलाई अनेक कुरा सिकायो । मैले उक्त कार्यक्रम अवधिभर मसँग जोडिएका विश्वभरका साथीहरूलाई केही न केही चिनो छोडेकी छु । कसैलाई हाम्रो देशको झण्डा, कसैलाई नेपाली टोपी, कसैलाई नेपालको नक्सा राखिएको गौतम बुद्धको तस्वीर, कसैलाई सगरमाथा र पोखराले सजिएको तस्वीर त कसैलाई सिक्का, जसले नेपाललाई मनमा साँचोस् ।

विश्व युवा महोत्सवले मलाई पनि धेरै महत्त्वपूर्ण कुरा दिएको छ । विश्वभरिबाट साथीहरू दिएको छ । विश्वका विभिन्न देशको विषयमा केही ज्ञान छोडेको छ । जे दिएको छ, दिल र दिमागमा ठाउँ ओगट्ने गरी दिएको छ । युद्धको जर्जर भूमि भनेर चिनेको रसियाले शान्ति पनि दिएर पठाएको छ । प्रेम दिएर पठाएको छ । विश्व युवा महोत्सवले दिएको यी सबै कोसेली मन र मस्तिष्कको क्यानभासमा बोकेर म आफ्नै जन्मभूमि फर्किएकी छु ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० ०८:५०