पढेको, सुनेको र तस्वीरमा देखेको रारा कस्तो होला ?
गएको असोजमा रारा जाने कुरा भएपछि मनमा यही प्रश्न उब्जिएको थियो । रारा पुग्यौँ, फर्कियौँ । फर्किएको पाँच महिनापछि रारा यात्राका किस्सा शब्दमा उतारेकी छु ।
केही यादहरूले मनमा एउटा अलग स्थान ओगटेर बसेका हुन्छन्, जसलाई यादमै सीमित गराएर याद गरिरहनुले पनि विशेषानुभूति दिन्छ । कानुनमा स्नातक अध्ययन गरेको चार वर्षको अन्तरालमा सफल भएको हाम्रो पहिलो भ्रमण, साथीबीचको पहिलो जीवनभर रहने गहिरो सम्झना हो – रारा यात्रा ।
यात्रामा निस्कँदा केही नयाँ देख्ने, केही फरक संस्कार र फरक परिवेशमा जिउने उत्सुकता हुन्छ । उस्तै उमेर समूह र उस्तै ऊर्जा भएकाहरू साथमा हुँदा यात्रा त आधा सफल भइहाल्छ । कुन ठाउँमा बास बस्नेदेखि लिएर कहाँ खाना–खाजा खानेसम्मको सबै कुरा ‘प्री–प्लान्ड’ थियो । अनि त्यहीअनुसार हामी यात्रारत थियौँ ।
प्रशासनबाट आर्थिक सहयोग माग्नेदेखि लिएर आवश्यक निवेदन पेस गर्नेसम्म हरेक कामका लागि बहुत दौडधुप गरियो । अन्ततः २१ असोजदेखि हाम्रो पोखरा–राराको एक हप्ते यात्रा सुरू भयो । मध्यपहाडी लोकमार्ग छिचोल्दै बाग्लुङ कालिका मन्दिर दर्शन, बाग्लङ र पर्वत जोड्ने लामो पुलबाट कालीगण्डकी नदी हेरेपछि हामी अघि बढ्यौँ । पहिलो रात बास बस्न ९ घण्टा यात्रापछि हामी रूकुम पूर्व पुग्यौँ । बसको यात्रा मलाई सधैँ गाह्रो भइरहन्छ । रुकुम पुग्दासम्म पनि लगातार बान्ता भइरहेको थियो ।
दोस्रो दिन बिहानै हामी रूकुमकोटको कमल दह पुग्यौँ । यतिबेला हाम्रो गाडी बिग्रिएको थियो । दुई घण्टासम्म नबनेपछि हामी खाना खानतिर लाग्यौँ । खास हामी रूकुमकोट, जाजरकोट हुँदै दैलेख जानुपर्ने थियो । हामीले बाटो बिरायौँ । अन्तिममा जाजरकोट हुँदै सुर्खेत निस्कियौँ । जाजरकोटबाट सल्यानतिर झर्दा मलाई निकै गाह्रो हुन थालेको थियो । निरन्तरको बान्ताले मेरो शरीर कमजोर बनाएको थियो । सल्यानमा एक ठाउँमा खाजा खान बस रोक्दा मलाई सास फेर्न गाह्रो भयो ।
छिनछिनमा बान्ता हुन खोज्ने तर नहुने अनि सास नै नआउलाजस्तो हुन थाल्यो । मलाई के भइरहेको थियो ? मैले अन्दाज नै लगाउन सकिनँ । लामो सास फेरेर म छट्पटिरहँदा साथीहरू पनि आत्तिएका थिए । बाटोमा रोकिँदै बल्लतल्ल राति ११ बजे सुर्खेतको होटल पुग्यौँ । मलाई राति निकै गाह्रो भयो । त्यसपछि सँगै गएका साथीहरूले सुर्खेतको जिल्ला अस्पताल पुर्याए । स्लाइन चढाइयो, त्यसपछि फेरि होटल फर्कियौँ ।
सोचेअनुसार रूट गडबड भएपछि हाम्रो यात्रा केही ढिला भयो । तेस्रो दिन हामी सुर्खेतबाट बिहानै ७ बजे हिँड्यौँ । हामी जुम्ला पुग्नु थियो । जति बस उकालो लागिरहेको थियो त्यति मलाई पनि गाह्रो भइरहेको थियो । रारासँग अँगालिन म यति आतुर थिएँ कि मलाई आफ्नै स्थितिमाथि पनि दया लागेन । मलाई अझै याद छ, स्वास्थ्य नाजुक भएपछि साथीहरूले भनेका थिए– अब अघि नजाम्, फर्किम् ।
किन–किन राराप्रतिको प्रेमले मेरो मन बलियो बनाइरह्यो, मलाई उतै तानिरह्यो ! म अक्सर सोच्ने गर्छु कि मान्छे कुनै परिस्थितिमा कतिसम्म लाचार अनि विवश हुन सक्छ । आफ्नो शरीरले साथ दिन नसकेपछि केही कुराको डर लाग्ने रहेनछ । जेनतेन साथीहरूको आडमा म जुम्लासम्म पुगेँ । तेस्रो रात काट्न हामी जुम्ला सदरमुकाम खलङ्गा पुग्यौँ ।
जुम्लाले निकै आफ्नोपनको आभास दिलायो । समय खराब चलेको भए पनि त्यो प्रहरमा भेटिन पुगेका हरेक मान्छे स्वयं कृष्णजीका रूप हुन् जस्तो लागिरहन्छ । म अहिले स्मरण गर्छु, कसरी कोही व्यक्ति तपाईंको निकै प्रिय हुन सक्छ ? कि कसरी कोही साथी तपाईंको परिवार बन्न सक्छ ? हाम्रो टोलीमा ३७ जना थियौँ । हरेकले मेरो स्वास्थ्यबारे निकै चिन्ता लिइरहेका थिए ।
चौंथो दिन बिहान हामी चन्दननाथ मन्दिर दर्शन गर्न पुग्यौँ । त्यसपछि रारा पुग्ने योजनासहित त्यहाँबाट निस्कियौँ । बाटोमा प्रशस्त स्याउको बोट, सुख्खा पहाड, ढुंगामाटोका घर हेर्दै हामी नाग्मा पुग्यौँ । नाग्माबाट सिञ्जा र जुम्ला सदरमुकाम छुट्टिन्छ । खास नाग्मामा पनि बास बस्न पाइन्छ । जुम्ला सदरमुकाम र चन्दननाथ मन्दिर हेर्नका लागि हामी त्यहाँ बसेनौँ ।
खलङ्गाबाट नाग्मा फर्किन बस चढेपछि मलाई खोकी लाग्न थाल्यो । सास अड्किएजस्तो भएपछि म निकै गलेँ । बाटोमा छिनछिनमा बस रोक्ने, ओर्लिने, फेरि बस चढ्ने गर्यौँ । कसैलाई केही गाह्रो परे पनि ठीक गरिहालिन्छ नि भन्ने दृढता सबैको मनमा अडिग थियो । त्यसले पनि मलाई निकै हिम्मत दिएको थियो ।
हामी चौँथो दिन बिहानको खाना खान जुम्ला सिञ्जाको गोठीज्यूला रोकियौँ । त्यहाँ मैले जाउलो अनि खोकीको औषधी खाएँ । होटलवाला अंकलले थर्मसमा तातोपानी हालिदिनुभएको थियो । त्यो थर्मस पछि फर्कनेबेला हामीले फिर्ता गर्यौँ । सम्झना स्वरूप घर ल्याउन नपाएकोमा साथी प्राचीले आज पनि थकथक मानिरहन्छे ।
खाना खाएर हामी मुगुको सल्लेरीतिर उकालो लाग्यौँ । हामीसँगै माथि नै जाने भनेर चार जना स्थानीय पनि बस चढ्नुभयो । त्यो जङ्गलको यात्रामा मेरो स्थिति थप कठिन बन्दै थियो । हावापानी र खानपिनको असन्तुलनले अरू साथी पनि ज्वरो र रूघाले ग्रस्त भए । बाहिर रात चकमन्न थियो । मलाई गाह्रो भएर बाहिर निस्कन मन लाग्यो । वन भएकाले रोक्न नहुने चेतावनी हामीसँगै आएका स्थानीयले दिए । उनीहरूले झारफुक गर्दा ठीक हुने सुझाए ।
रारा पुगेर फर्किएको ५ महिना भइसक्यो । म एउटा कुरा आज पनि सम्झन्छु । ती बसमा हामीसँगै चढेका एक जना स्थानीयले भनेका थिए– यहाँको भूत लागेको हो, झाँक्री लगाउनुपर्छ । उनीहरूले चिनेको ठाउँमा धामीसँग फुक्न लगाउने कुरालाई हामीले बडो हिम्मत जुटाएर सहमति जनाएका थियौँ । बिरामी हुँदा पनि धामी मान्ने र ? जटिल परिस्थितिबीच हामीसँग त्यसलाई अपनाएर हेर्नुबाहेक अर्को विकल्प थिएन ।
झाँक्रीको घरभित्र तीन जनालाई मात्र जान दिइयो । झाँक्री बसेतिर आगो दन्किरहेको थियो । मेरो मन के हुन्छ होला भनेर आत्तिएको थियो । झाँक्रीले एक्कासि मेरो टाउको समाते । म आडैमा रहेको साथी विधानको अँगालोमा रून थालेँ । मेरो कानमा चारपटक फुकेर चामल खरानी खान दिएपछि उसको उपचार प्रक्रिया सकियो ।
प्राचीले मलाई झम्टिएर रोएपछि मैले आफ्नो थोरै बाँकी हिम्मत पनि गुमाएँ । म आज पनि कुरा गर्छु कि त्यो प्रहरमा मेरो लागि सबैभन्दा हिम्मतिलो काख विधानको थियो । मलाई ऊबाहेक अरूसँग साहसी हुन सक्छु जस्तो लाग्न छोडिसकेको थियो । मलाई मभन्दा बढी आत्तिएका मेरा प्रिय साथीहरूको हिम्मत पनि बन्नु थियो । केही हदसम्म माहोल शान्त भएपछि हामी सल्लेरीतिर लाग्यौँ । सल्लेरी पुगियो । रात परेकाले रारासम्म जान नपाइने भयो । रारा राष्ट्रिय निकुञ्जमा रात परेपछि आर्मीले हिँड्डुल गर्न दिँदैन । राति थोरै जाउलो र औषधि खाएँ । त्यसपछि हामी गफिन थाल्यौँ ।
मुगुको जिल्ला अस्पताल गएर सकेसम्म छिट्टै घर फर्किने कुरा चल्दै थियो । यति सहेर राराको काखमा आइसकेपछि फर्किन मन मानेन । मेरो जिद्दीले हामी रारा जाने भइयो । करिब एक घण्टा हिँडेर राराको सामिप्यमा समाहित हुन पुग्दा सबथोक ठीक भएको अनुभूति भएको थियो । त्यो पललाई सम्झँदा म आज पनि हलुका महसुस गर्छु ।
रारालाई आँखैमा राखेर हामी त्यही दिन फर्किने निस्कर्षमा पुगी हिँड्यौँ । म बिरामी भएकाले हामी सकेसम्म छिटो फर्किनुपर्ने थियो । त्यसैले रारालाई माथि डाँडाबाट हेर्ने धेरै साथीको रहर अधुरै रह्यो । हामी कोही पनि ‘मुर्मा टप’ गएनौँ ।

रारा पुगिरहँदा र स्वास्थ्य प्रतिकूल हुँदा मैले साथीहरूलाई भनेकी थिएँ– म अब घर फर्किन सक्दिनँ होला ।
अति मिल्ने पाँच जना साथीहरू पनि सुकसुक रून्थे । परिवारमा तनाव नदिने भनेर रारा पुगेर फर्किंदासम्म खबर गरिएको थिएन । म सकुशल फर्किन सकिनँ भने मेरो परिवारलाई साथीहरूले के जवाफ दिन्छन् भन्ने सोचले पनि मेरो मन पोलिरहेको थियो । यो कुरा सोचेर मैले आफैंलाई कमजोर बनाएकी थिएँ ।
सल्लेरी ओर्लिएपछि हामी फर्किने तरखरमा जुट्यौँ । मलाई झनै गाह्रो भएपछि प्लेन टिकट र एम्बुलेन्सको खोजी भयो । मुगुबाट नेपालगञ्ज आउने प्लेन टिकट पाउन सम्भव भएन । विकल्प खोज्दाखोज्दै म अर्धचेत भएँ । बेहोसजस्तै हालतमा पुगेपछि साथीहरूले जङ्गलको बीचमा बस रोके । हाम्रा सामानले भरिएका झोलाको ओछ्यान बनाएर म बाटोमै सुतेँ । मसँगै मेरा साथीहरुलाई पनि त्यो पल हाबी भइरहेको थियो ।
केही समयपछि एउटा गाडीको सहयोगमा विधान र म आधा घण्टा टाढाको आर्मी ब्यारेकसम्म गयौँ । त्यहाँका आर्मी अफिसरले हामीमा निकै हिम्मत भरिदिनुभयो । क्याम्पमै अरू साथी पनि बसेर एम्बुलेन्स आएपछि जुम्लातिर हिँडियो । बसमा भएका साथीहरू सिँजातिर बास बसे । बाँकी तीन जना एम्बुलेन्समा अर्को बाटोबाट कर्णाली मेडिकल कलेज पुग्यौँ । म अक्सिजनको सहारमा त्यहाँसम्म पुगेकी थिएँ । राति डेढ बजेतिर अस्पतालमा एक्सरे, बाफ लिएर होटल खोज्यौँ ।
मलाई औषधिले पनि खासै फरक पारेको थिएन । मलाई के भएको हो भन्ने स्वास्थ्यकर्मीले पनि मेसो पाएका थिएनन् । जुम्लाका स्वास्थ्यकर्मीले पनि जतिसक्दो छिटो सुर्खेत पुग्दा ठीक हुने सुझाए । बसमा भएका साथीहरूसँग नाग्मामा भेट हुने कुरा थियो । त्यसैले जुम्लाबाट बिहान हामी नाग्मातिर लाग्यौँ ।
नाग्मामा एम्बुलेन्स खोज्यौँ । त्यहाँबाट हामी सुर्खेततिर हिँड्यौँ । कालिकोट सदरमुकाम मान्मा आउँदा लेक लागेको असली अनुभूति भयो मलाई । रिंगटा चल्ने, बान्ता हुने गर्दै सास फेर्न निकै गाह्रो भयो । अक्सिजन लगाएर सुर्खेतसम्म पुग्दा रातिको २ बज्यो । घरमा आफ्नो खबर सुनाएपछि बुवा र दाइले नेपालगन्जबाट काठमाडौँका लागि प्लेन टिकट बुक गरिदिनुभयो । राति सुर्खेतमा बास बसेपछि बिहानै स्कर्पियो बुक गरेर हामी नेपालगन्ज पुग्यौाँ । बिहान ११ बजेको फ्लाइटमा मलाई छोडेर प्राची र विधान फर्किए । उनीहरुलाई फेरि देख्न पाउँछु कि पाउँदिनँ भन्ने अन्योलमा मेरा आँखा रसाइरहे । म काठमाडौँ उडेँ ।
शहीद राष्ट्रिय गंगालाल हृदय केन्द्रमा मुटुको एक्स रे भयो । मुटुमा कुनै खराबी देखिएन । डाक्टरले दम बढेर श्वासप्रश्वासमा समस्या भएको निष्कर्ष निकाले । यसरी राराको यात्राले काठमाडौंको अस्पतालसम्मको बाटो तय गर्यो । म रारामात्र पुगिनँ । जुम्ला, मुगुका नेपालीले स्वास्थ्य समस्या हुँदा कति कठिनाइ झेल्दा रहेछन् भन्ने आफैँ परेर भोगेँ । मौसम परिवर्तन भइरहने भएकाले जहाज उड्ने–नउड्ने ठेगान हुँदैन । केही गम्भीर अवस्था परे जिल्लाका अस्पतालमा उपचार हुँदैन । सुर्खेत झरेर उपचार गर्नु धेरैलाई कल्पना बाहिरको कुरा हो । निकै कष्टको जिन्दगी बाँचेका रहेछन् यी ठाउँले ।
दुई वटा एम्बुलेन्सलाई गरेर त्यतिबेला हामीले ४० हजार रूपैयाँ तिरेका थियौँ । बिरामी भएर एम्बुलेन्स चाहिएमा जुम्ला खलङ्गाबाट सुर्खेत झर्न ३० हजार रूपैयाँ घटीले चल्दो रैन्छ । त्यही पनि भनेको समयमा पाइँदैन । त्यसैले म त भन्छु – हुम्ला, जुम्लाका बासिन्दाले आफू गम्भीर बिरामी भए तत्काल उपचार पाउनु धेरै टाढाको कुरा हो । अनि कसैलाई किन अस्पताल पुग्ने र उपचार गर्ने लाख रूपैयाँ खर्चभन्दा गाउँठाउँकै ‘धामी–झाँक्री’को विश्वास नहोस् ?
थाहा छैन राराको यात्राले अरुलाई के दियो तर मलाई जे दियो बहुत कमाल दियो, अकल्पनीय अनि अविस्मरणीय दियो । राराले बग्रेल्ती कठिनाइको रूपमा जीवन जिउने नयाँ ऊर्जा र साहस दियो । भगवान्जस्ता साथी अनि सहयोगी मन भएका अञ्जानले पनि मलाई निकै साथ दिए । म मृत्युपर्यन्त पनि साथीहरूको त्यो प्रेम, सद्भाव र साथको ऋणी रहिरहनेछु ।

मेरो जीवनमा प्रेमिल व्यक्ति अनि सम्झनास्वरूप ती क्षणहरू थपिदिएकोमा तिमीलाई हृदयदेखि धन्यवाद, रारा । मैले पाएको ‘दोस्रो जीवन’को कुनै मोडमा तिमीलाई फेरि भेट्ने प्रयास गर्नेछु ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८० ०९:१०