मिति : २९ फागुन, २०४४
स्थान : दशरथ रंगशाला
अनिल रूपाखेती जनकपुर चुरोट कारखाना (जचुका) का स्ट्राइकर । जति बेला उनी त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल खेल्न दिउँसो साढे १ बजे काठमाडौंको भोटेबहालस्थित ‘कालीगण्डकी होटल’ बाट दशरथ रंगशाला जाँदै थिए । उनको मनमा एउटै डरले डेरा जमाएको थियो- के हामीले बंगलादेशको मुक्तिजोद्धा क्लबलाई हराएर देशभरिबाट दशरथ रंगशालामा जम्मा भएका नेपाली समर्थकलाई उत्साहित पार्न सकौँला त ! १. अनिल रूपाखेतीसँग लेखकको अन्तर्वार्ता
मुक्तिजोद्धा बंगलादेशको ‘ए’ डिभिजन लिगमा तेस्रो स्थान ओगटेर काठमाडौंमा फुटबल खेल्न आएको थियो । उसले सेमिफाइनलमा ब्वाइज युनियनलाई १-० ले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । लिग चरणको खेलमा समूह ‘ए’ मा रहेको मुक्तिजोद्धा नेपालको अर्को क्लब शाही नेपाल वायु सेवा निगम (आरएनएसी) सँग अंकका आधारमा दोस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको थियो ।
समूह ‘बी’ बाट ब्वाइज युनियन पहिलो र जचुका दोस्रो हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा जचुकाले नेपालको अर्को जल्दोबल्दो क्लब आरएनएसीलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । फाइनल हेर्न काठमाडौंका रैथाने दर्शक मात्र होइन, जनकपुर, वीरगञ्ज, विराटनगरहुँदै बुटवलसम्मका करिब २७ हजार ‘फ्यान’ रंगशाला ओइरिएका थिए । आकाशमा बादल बिहानैदेखि चलायमान थियो । दुवै टोली दिउँसो २ बजे नै ‘वार्मअप’ का लागि मैदान प्रवेश गरिसकेका थिए ।
फिफा रेफ्री रोशन श्रेष्ठले ३ बजेर २५ मिनेटमा फाइनल खेल सुरु भएको जनाउ दिन जब सिटी फुके, अनिल आफ्ना कप्तान रामराज सिंहसँग बंगाली क्लबको सेखी झार्न फरवार्ड लाइनमा तैनाथ थिए । उनलाई मिडफिल्डमा सहयोग गरिरहेका थिए– गणेश पाण्डे, जीवन लामा र ललित थापाले । डिफेन्समा पुष्प केसी, इन्दु रसाइली, देवेन्द्र बस्नेत र राजेश थापाको सहयोग उत्तिकै थियो । तर, खेलको १७ मिनेटमा जचुकाका गोलकिपर सुनिल गिरीलाई लोप्पा ख्वाउँदै बंगाली क्लब मुक्तिजोद्धा क्लबले उत्तरपट्टि (टुँडिखेलतर्फ) ड्याङ्ङ गोल ठोक्यो । यतिबेला प्यारापिटमा बसेका सारा नेपाली समर्थक स्तब्ध भए । २. देवेन्द्र बस्नेतसँग लेखकको अन्तर्वार्ता
यो दिन दशरथ रंगशालाबाहिर ठूलो भिड थियो । थुप्रै समर्थक खेलको टिकट बोकेर दक्षिणी गेटबाट रंगशाला प्रवेश गर्न बल गर्दै थिए । गेटमा तैनाथ सुरक्षाकर्मी टिकट जाँच गर्दै दर्शकलाई रंगशालाभित्र पठाउँदै थिए । एक गोलले पछाडि पर्नुपरेको पीडाका बीच पनि अनिल आफ्ना साथीहरूलाई खेल मिलाउन हौस्याइरहेका थिए तर यसको ८ मिनेटपछि नै उनको सातोपुत्लो उड्यो । खेल भइरहेको २५ मिनेटमा उनी बंगलादेशको गोल पोस्टतर्फ उभिएर गोलको सम्भावित मौका कुरिरहेका थिए, त्यति नै बेला यति ठूलो हावाहुरी आयो कि उनी एकछिन त अलमलमै परे । उनले आर्मी हेडक्वार्टर (उत्तरपट्टि) बाट रूखका ठूलाठूला हाँगा आकाशमा उडेर आफूतर्फ आइरहेको देखे । अनिलले जीवनमा यति भयंकर हावाहुरीको सामना गरेका थिएनन् । रूखका हाँगाहरू लगातार उनीतर्फ आइरहे । यसपछि एक्कासि मुसलधारे पानी पर्यो, त्यो पनि असिनासहित । ज्यान जोगाउन उनीसहित सबै खेलाडी भीआईपी बसेको प्यारापिटमुनि ओत लाग्न दौडिए । त्यसपछि सबै खेलाडीले आवाज सुने- ल... मान्छे मर्यो । ३. अनिल रूपाखेतीसँग लेखकको अन्तर्वार्ता
ठूलै होहल्लाका बीच जचुकाका खेलाडीले दक्षिणतर्फ आँखा घुमाउँदा हावाहुरीले भागाभाग गर्ने क्रममा मान्छेमाथि मान्छे किचिएको देखे । हावाहुरी चलेपछि नेपाली खेलाडीको पछि लाग्दै बंगाली खेलाडी पनि प्यारापिटमुनि ओत लाग्न दौडिए ।
पुलिसको कडा सुरक्षा घेराबीच आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले हावाहुरी रोकिएपछि बंगाली खेलाडीलाई होटल पुर्याए । जचुकाका खेलाडी भने अन्तिमसम्म रंगशालामै बसे । उनीहरू डराइडराइ, आफ्नो जर्सी खोलेर भोटेबहालस्थित होटल फर्किए । त्यो घटनामा थुप्रै दर्शकले जचुकाका खेलाडीलाई सराप्न थालिसकेका थिए । केही दर्शकको आरोप थियो, जचुकाले गर्दा यो दुर्घटना निम्तियो । आफू मारिने डरले जचुकाका खेलाडीहरूले जर्सी नै लुकाउनुपर्यो । ४. जचुकाका डिफेन्डर राजेश थापासँग लेखकको अन्तर्वार्ता ।
राजेशले पछि राष्ट्रिय टोलीबाट पनि नेतृत्व गरे । खेलाडीले होटल पुगेपछि मात्र थाहा पाए, यो घटनामा थुप्रै फुटबलप्रेमीको निधन भयो । राति ‘रेडियो नेपाल’ ले समाचार फुक्यो– ‘हावाहुरीका कारण दशरथ रंगशालामा किचिएर ६९ जनाको निधन, सयौँ घाइते । यकिन तथ्यांक आउन बाँकी ।’
त्यो रात खेलाडीहरू आफ्नो गाउँठाउँका साथीभाइ घटनामा परे कि भनेर खोज्न वीर अस्पताल पुगेका थिए तर जर्सी लुकाएर । अस्पतालमा मृतकका आफन्तहरू शरीरलाई अंकमाल गर्दै चिच्याइरहेका थिए, ‘यिनीहरूले मेरो छोरा मारे ।’
यो दृश्यले जचुकाका खेलाडीहरूमा यति गहिरो असर पर्यो कि उनीहरू दुई दिनसम्म होटलको कोठाबाट बाहिर निस्किएनन् । घटनामा आफूलाई मुख्य दोषी मान्ने दर्शकको भिडले कुटपिट गर्छ कि भन्ने डरले उनीहरू होटलको कोठामै थुनिएर बसे । ५. पुष्प केसीसँग लेखकको अन्तर्वार्ता
एन्फाले हावाहुरीका कारण स्थगित भएको खेल पछि हुने घोषणा गर्यो तर घटनाले अर्कै मोड लियो । तीन दिनसम्म बंगाली खेलाडी होटलमै बसे । खेल नहुने छाँटकाँट देखेपछि उनीहरू पनि बंगलादेश फर्किए ।
घटनाको दिन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्ट ललितपुरस्थित लामाटार गाविसमा बनेको स्कुलको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै थिए । बीच बाटोमा पुगेपछि हावाहुरी आयो र उनी कार्यक्रममा सहभागी हुन सकेनन् । बाटोमा रूख ढलेका कारण उनलाई काठमाडौं फर्किन निकै गाह्रो परेको थियो । घर फर्किंदा ब्वाइज युनियन क्लबका अध्यक्ष बोधबहादुर राउत उनको घरमा थिए । त्यो दिन भीआईपी प्यारापिटमा बसेर बोधबहादुर पनि फुटबल हेरिरहेका थिए । हावाहुरी चलेपछि उनले त्रिपुरेश्वरतिरको प्यारापिटमा मानिसहरू बुरुक–बुरुक्क उफ्रिएको देखे । मन्त्री विष्टलाई रंगशालामा भएको घटनाको पहिलो जानकारी उनै बोधबहादुरले दिए । यसको केही घण्टापछि प्रधानमन्त्री कार्यालयबाट विष्टलाई फोन आयो । ६. तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टसँग लेखकको अन्तर्वार्ता
घटनाको दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रभावशाली सदस्यसचिव शरदचन्द्र शाह पनि दर्शनका लागि मनकामना मन्दिर गएका थिए । उनले पनि साँझ काठमाडौं फर्किएपछि मात्र घटनाको विस्तृत जानकारी पाए । ७. राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव स्वर्गीय शरदचन्द्र शाहसँग लेखकले नागरिक पत्रिकाका लागि गरेको अन्तर्वार्ता
राजा वीरेन्द्र र रानी ऐश्वर्या घटनास्थलको निरीक्षण गर्न राति नै दशरथ रंगशाला पुगे । घाइतेको अवस्था बुझ्न राजदम्पतीले वीर अस्पताल, शिक्षण अस्पताल (टिचिङ), टेकु अस्पताल र पाटन अस्पतालको निरीक्षण गरे । ८. वैकुण्ठ मानन्धरसँग लेखकको अन्तर्वार्ता
घटनाको निरीक्षणपछि राजारानीले मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गरे । यसअघि प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठले पनि दशरथ रंगशालालगायत अस्पतालको निरीक्षण गरेका थिए । सरकारले रंगशाला काण्डमा ज्यान गुमाउने व्यक्तिको परिवारलाई राहतस्वरूप तत्काल १० हजार रुपैयाँ तथा घाइतेको उपचारका लागि २ हजार रुपैयाँ आर्थिक सहायता गर्ने घोषणा गर्यो । यही दिन सरकारले मध्यमाञ्चल क्षेत्रीय अदालतका अतिरिक्त न्यायाधीश भैरवप्रसाद लम्सालको संयोजकत्वमा एक सदस्यीय छानबिन आयोग पनि गठन गर्यो । ९. ३० फागुन २०४४ को गोरखापत्रबाट

घटनाको सत्यतथ्य जाँच गर्न बनेको लम्साल आयोगलाई यथाशीघ्र सुझावसहित राय पेस गर्न भनिएको थियो । यसैले ‘रंगशाला काण्ड’ को छानबिन सुरु गर्दा न्यायाधीश लम्सालले घटनाको प्रवृत्ति, मुख्य कारण, आयोगको ठहर र राय सुझावमा काम गरेका थिए । सूचना विभागबाट फोटोग्राफर झिकाएर घटनाको सर्जिमिन गर्दा प्यारापिटमा प्वालै–प्वाल, राम्रोसँग फिनिसिङ नभएको देखिएको थियो । सुरक्षामा संवेदनशील मानिने रेलिङ पनि नभएको तथा दक्षिणपट्टिको ढोकाहरू लामो समयदेखि बन्द हुँदा जाम भएर खिया लागेको स्पष्ट देखिन्थ्यो । विभिन्न व्यक्तिसँग बयान लिने क्रममा प्यारापिटको दर्शक क्षमता २५ हजार हो कि २७ हजार यकिन नभएको पाइयो तर त्यो दिन क्षमताभन्दा बढी दर्शक रंगशालाभित्र प्रवेश गरेको देखिन्थ्यो । १०. काठमाडौं पोस्टका लागि पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालसँग पत्रकार प्रभास गौतमले लिएको अडियो अन्तर्वार्ता ।
आयोगले ११ चैतदेखि छानबिन सुरु गरेको थियो । आयोगले राखेप पदाधिकारी, एन्फा पदाधिकारी, विभिन्न अस्पतालका चिकित्सक, प्रहरी अधिकृत, जवान, मृतकका परिवार, हकवाला, घाइते, प्रत्यक्षदर्शी तथा अन्य व्यक्ति गरी कुल ४१२ जनासँग बयान लिएको थियो । जसमा मन्त्री विष्ट, सदस्यसचिव शाह, फुटबल संघका अध्यक्ष कमल थापालगायत ६ जनाको बयान लिखितमा गराइएको थियो ।
आयोग गठन भएको १ महिना २८ दिन भए पनि छुट्टीलगायत सबै बिदा कटाउँदा कुल १ महिना ८ दिनमा प्रतिवेदन तयार पारेर २७ वैशाख २०४५ मा सरकारसमक्ष पेस गरिएको थियो । प्रतिवेदन ४ जेठमा सार्वजनिक भयो । जसमा घटनाको दिन आँधी, हुरी, असिना, पानी आएको हुनाले कसैको पनि कर्तव्यपूर्ण हात नभएको उल्लेख थियो । यद्यपि रंगशालाको पूर्व तथा दक्षिण प्यारापिटतर्फका भर्याङ र ढोकाको मर्मत सुधारको उपयुक्त प्रबन्ध हुन नसकेको, आयोजकका तर्फबाट हुनुपर्ने सुरक्षा प्रबन्ध तथा तत्कालीन उद्धार कार्य सन्तोषजनक नभएको तथा वीर अस्पतालमा तत्कालीन उपचार व्यवस्था सन्तोषजनक नरहेको ठहर गर्यो । ११. लम्साल आयोगको प्रतिवेदन
घटनाको दिन दशरथ रंगशालाको ढोकाहरू ठीक अवस्थामा नराख्नु, आफ्ना सुरक्षा कर्मचारीबाट आपत्कालीन स्थितिमा उपयुक्त प्रबन्ध मिलाउन नसक्नु, ढोकाको सिँढीको बीचमा असुरक्षित तवरले खाली ठाउँ राख्नु, पूर्व तथा दक्षिणतर्फका ढोकाहरूमा निकै भिरालो पारी सिँढीहरू राखिनुजस्ता कार्यबाट राखेपले राष्ट्रिय खेलकुद परिषद् ऐन २०२१ को दफा (८) अनुसार रंगशालाको स्वामित्व संरक्षण र नियन्त्रणमा राखिनुपर्ने दायित्वको पूर्ण पालना गर्नुपर्ने जिम्मेवारी वहन गर्न नसकेको त्रुटि प्रतिवेदनले औँल्यायो ।
यसैगरी, खेल सञ्चालनको बेला रंगशालाको सुरक्षा व्यवस्था ढोका खोल्ने प्रबन्ध, आपत्कालीन अवस्थाका लागि गरिनुपर्ने पूर्वतयारी, मौकाको उद्धार कार्यसमेतमा आयोजक एन्फाको भूमिका उपयुक्त र सन्तोषप्रद नदेखिएको राय ठहर गर्यो ।
वीर अस्पतालमा अप्रत्याशित ठूलो संख्यामा मृतक र घाइतेहरू पुग्दा त्यसका लागि हुनुपर्ने सुविधा र व्यवस्था सन्तोषजनक नभएको तर त्रिवि शिक्षण अस्पताल, पाटन, टेकु र वीरेन्द्र प्रहरी अस्पतालमा घाइतेका लागि भएको सेवा र अवस्था सन्तोषजनक पाइएको आयोगको प्रतिवेदनले उल्लेख गर्यो । यसैगरी प्रहरीले लाठीचार्ज गरी दर्शकको बढी मृत्यु भएको वा घाइते भएका कुरा कतैबाट पुष्टि नभएको पनि प्रतिवेदनले ठहर गर्यो ।
अस्पतालको हकमा सबै औषधि उपकरणको यथोचित व्यवस्था तथा अप्रत्याशित ठूलो संख्यामा घाइते आउन सक्ने आपत्कालीन अवस्थामा पनि औषधोपचार तथा अन्य उपयुक्त सेवा र व्यवस्था तत्कालै पुर्याउन सक्ने क्षमता अस्पतालमा विकास गर्न सुझाव दिइएको थियो । घटनाको दिन मौकामा उपस्थित भई उद्धार कार्यमा जुटेर उल्लेखनीय कार्य गर्ने केही व्यक्तिको यथोचित कदर गर्नुपर्ने राय पनि लम्साल आयोगले व्यक्त गर्यो ।
रंगशाला काण्डको विषयमा यसअघि भारतका केही मिडियाले अन्धाधुन्ध समाचार बनाइरहेका थिए । लम्साल आयोगको प्रतिवेदन सार्वजनिक भएपछि भारतको चर्चित ‘नवभारत टाइम्स’ पत्रिकाले मुक्तकण्ठले प्रशंसा गर्यो । उसले आफ्नो सम्पादकीयमा ‘ठूलो घटनाबारे कसरी जाँचबुझ गर्न सकिन्छ, त्यो नेपालबाट सिक्न सकिन्छ’ भन्दै लम्साल आयोगको प्रतिवेदनको तारिफ गर्यो । १२. ८ जेठ २०४५ नवभारत टाइम्स
यही प्रतिवेदनका आधारमा प्रधानमन्त्री श्रेष्ठले सम्बन्धित मन्त्रालयका मन्त्री, राखेप तथा एन्फा पदाधिकारीलाई पदमुक्त गर्न राजा वीरेन्द्रसमक्ष पेस गरेको प्रस्ताव ७ जेठ २०४५ मा स्वीकृत भयो ।
यसपछि राखेपको सुरक्षा विभाग प्रमुख डोनस ग्य्रान्डन र वरिष्ठ सुरक्षा अधिकृत महेन्द्रजंग राणालाई सबैभन्दा पहिले हटाउने निर्णय भयो । यसपछि वीर अस्पतालका निर्देशक डा. बद्रीराज पाण्डेलाई पनि पदमुक्त गरियो । शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्ट ‘रंगशाला काण्ड’ भन्दा २ दिनअघि मात्र राज्यमन्त्रीबाट बढुवा भएका थिए । २६ फागुन २०४४ मा विष्ट शिक्षा तथा संस्कृतिमन्त्रीमा बढुवा भएका थिए । उनले घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै पदबाट राजीनामा गरे तर उनको राजीनामा लम्साल आयोगको प्रतिवेदन सार्वजनिक भएपछि ७ जेठ, २०४५ सालमा मात्र स्वीकृत भयो । १३. केशरबहादुर बिष्टसँग लेखकको अन्तर्वार्ता
उनको राजीनामापछि पञ्चायत तथा स्थानीय विकासमन्त्री पशुपतिशमशेर राणालाई शिक्षा तथा संस्कृति मन्त्रालयको पनि कार्यभार सुम्पियो । एन्फा अध्यक्ष कमल थापाले ३ चैत २०४४ सालमा पदबाट राजीनामा दिएका थिए । यो घटनाले सदस्यसचिव शाहमाथि पनि राजीनामाको दबाब बढ्यो । शाहका विरोधीहरूले घटनामा उनी मुख्य आरोपी भएको भन्दै दरबारमा अनेकौँ कुरा लगाए । प्रतियोगिताको फाइनलमा पुरस्कार बाँड्न आफू नआउँदासम्म दर्शकलाई नछोड्न शाहले आदेश दिएका कारण यति ठूलो घटना हुँदा पनि रंगशालाको ढोका नखोलिएको आरोप उनीमाथि लाग्यो । लम्साल आयोगको रिपोर्टले यसलाई खारेज गर्यो । १४. शरदचन्द्र शाहसँग नागरिक पत्रिकाका लागि लेखकले लिएको अन्तर्वार्ता
आयोगले घटनास्थलमा घाइतेको उद्धारमा सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिको कदर गर्नुपर्ने जुन सुझाव दिएको थियो, त्यो सुझावलाई मनन गर्दै सरकारले प्रतिव्यक्ति ५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गर्ने निर्णय गर्यो । पुरस्कृत हुनेमा एन्फा कार्य समितिकै उपाध्यक्ष पुरुषोत्तमप्रसाद श्रेष्ठ, पूर्वराष्ट्रिय खेलाडी अशोक केसी, सुरेश गुरुङ, ध्रुवतारा सिंह, गंगालाल श्रेष्ठ र प्रकाश थापा थिए । पुरुषोत्तम र अशोकले मानवीय कार्यमा के पैसा लिनु भन्दै सरकारले उपलब्ध गराएको पुरस्कृत रकम लिन मानेनन् । १५. पुरुषोत्तमप्रसाद श्रेष्ठसँग लेखकको अन्तर्वार्ता । नेपालले सन् १९९३ को ढाका साफ गेम्समा फुटबलतर्फ स्वर्ण जित्दा श्रेष्ठ एन्फा अध्यक्ष थिए ।
वास्तवमा घटनाको दिन प्रतिघण्टा ८० किलोमिटरको वेगमा आँधीहुरी चलेको थियो । जलवायु विज्ञान विभागले भारतको दक्षिणी दिल्ली र नेपालको दक्षिणी सीमामा लगातार १५ मिनेट हावाहुरी चलेको जानकारी दियो । १६. २९ फागुन २०४४ रासस
हावाहुरीले रत्नपार्क र ठमेल वरिपरि, शिक्षा तथा संस्कृति मन्त्रालयतिरका ठूल्ठूला रूख ढलेका थिए । काठमाडौंमा कतिपय स्थानीयको घरबाट जस्ताको पाता उडायो । ठाउँ ठाउँमा बिजुली र टेलिफोनका तार चुँडिएका थिए भने सडकमा गुडेका मोटर तथा बसका ऐना फुटेको देखिन्थ्यो । राजधानीदेखि १६ किलोमिटर दक्षिण पर्ने दक्षिणकाली छेउछाउमा बिहानैदेखि पानी परेको थियो ।
यो घटनालाई बूढापाकाले २०२१ सालको हावाहुरीसँग पनि दाँजेका थिए । २ वैशाख २०२१ सालको साँझ काठमाडौंमा यस्तै भयंकर हावाहुरी आएको थियो । जुन घटनामा लैनचौरमा ठूलो रूख ढल्दा बाटोमा हिँडिरहेकी १२ वर्षीया किशोरी र २५ वर्षीया युवतीको निधन भएको थियो । यतिबेला पनि राजधानी काठमाडौं र पाटनमा बत्ती निभेको थियो । साँझ ७ बजेदेखि ८ बजेर २० मिनेटसम्म करिब डेढ घण्टा चलेको हावाहुरीका कारण कैयौंको टिनको छाना उडाएर लगेको थियो भने रेडियो नेपालले आफ्नो कार्यक्रम स्थगित गर्नुपरेको थियो । १७. ३ जेठ २०२१ को गोरखापत्रबाट
२३ वर्षपछि पुनः काठमाडौंमा आएको हावाहुरीमा धेरै मानिसले ज्यान गुमाउनुको प्रमुख कारण रंगशालामा भएको भागाभाग थियो । घटना हुँदा दर्शक खेल हेर्न प्यारापिटको एउटा ढोकाबाट भित्र प्रवेश गर्ने क्रम जारी थियो । एक्कासि हावाहुरी आएपछि प्यारापिट तल बसेका मान्छे पनि सुरक्षा खोज्दै रंगशालाबाहिर निस्किन गेटमा जाने क्रम बढ्यो । दर्शक तल ओर्लिने र माथि जाने क्रममा धक्कामुक्की हुँदा लडेर एकअर्कामाथि खप्टिन पुगे । यसैमा च्यापिएर धेरैको मृत्यु भयो । प्यारापिटको भर्याङमा प्वाल पनि थियो । त्यो प्वालमा खुट्टा अड्किएर धेरै किचिएका थिए । यसअघि फुटबल प्रतियोगिता हुँदा टिकट नभएका मानिसहरू प्यारापिटभित्र प्रवेश गर्न नपाऊन् भनेर रंगशालामा भएका १५ वटा गेटमध्ये केहीलाई छोडेर सबै बन्द गर्ने चलन थियो । अझ यसमा दक्षिण र पूर्वतिर भएका ७ वटा ढोकामध्ये एक–दुईवटा मात्र खोलेर अरू सबैमा ताल्चा लगाउने चलन थियो । यी ढोकाहरू खेलको मध्यान्तर र खेल समाप्त भएपछि मात्र खुल्थे । जचुका र मुक्तिजोद्धाबीचको फाइनल खेलमा पनि प्यारापिटका प्रायः सबै ढोका बन्द थिए । हावाहुरीसँगै असिनापानी परेपछि दर्शक बाहिर निस्किन गेटतर्फ भागेका थिए । गेटमा ताल्चा लागेका कारण उनीहरू सहजै बाहिर निस्किन सकेनन् । यही च्याप्पिएर धेरैको निधन भयो । १८. पूर्व राष्ट्रिय डिफेन्डर श्रीराम रञ्जितकारसँग लेखकको अन्तर्वार्ता । रञ्जितकार यो प्रतियोगितामा एनआरटी क्लबबाट खेलेका थिए । उनी फाइनल खेल हेर्न दर्शकदीर्घामा बसेका थिए ।
त्रिपुरेश्वरका एक स्थानीय चन्द्रकर (सीबी) राउत आफ्नो साथी कालुप्रसाद शर्मासँग फाइनल हेर्न दक्षिणी प्यारापिटतर्फ बसेका थिए । त्रिपुरेश्वर चोककै पेट्रोलपम्पमा काम गर्ने कालुप्रसादले असिनापानी पर्न थालेपछि सीबीलाई रंगशाला बाहिर निस्किन आग्रह गरेका थिए तर सीबीले मानेनन् । उनले भागाभाग भइरहेका बेला चुप लागेर आफ्नो ठाउँमा बस्न कालुलाई आग्रह गरेका थिए तर कालुले साथीको आग्रह मानेनन् । भागाभाग गर्दा गेटबाट बाहिर निस्किन खोज्दा उनको पनि च्याप्पिएर निधन भयो । १९. सीबी राउतसँग लेखकको अन्तर्वार्ता
घटनाको दिन दशरथ रंगशालाको प्यारापिटमा यत्रतत्र रगतका टाटा देखिन्थे । थिचिएर लास बनेका व्यक्तिहरूले मर्नुअघि आफ्नो पाइन्टमा मलमूत्र त्यागेको प्रस्ट देखिन्थ्यो । यो घटनाले गर्दा वीर अस्पतालमा घाइतेको चाप अत्यधिक थियो । २०. पूर्व राष्ट्रिय खेलाडी विराटजंग शाहीसँग लेखकको अन्तर्वार्ता । शाहीले यो प्रतियोगिता मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएर खेलेका थिए ।
प्रहरीले मरेका मान्छेलाई सनाखतका लागि अस्पताल लैजान मिनी ट्रकको व्यवस्था गरेको थियो । थिचिएर अर्धचेतमा पुगेका मानिसलाई पनि मरेको सोचेर ट्रकमा कोचिएको थियो । मान्छेमाथि मान्छेको चाङ लागेपछि शरीर तातेर होला, केही मानिसहरूको पुनः चेत खुलेको थियो । यतिवेला घरको बार्दलीबाट घटना नियालिरहेका धेरैले ट्रकमा लासहरूले थिचिएका मानिसहरू बुर्लुक–बुर्लुक उफ्रिरहेको देखेका थिए । २१ स्थानीय हेलेना बस्नेतसँग अन्तर्वार्ता । उनी राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक धनबहादुर बस्नेतकी छोरी हुन् । यतिबेला उनको घर रंगशालाको पूर्वी गेट नजिकै थियो ।
लम्साल अयोगसमक्ष नेपाल एथलेटिक्स संघका पूर्वपदाधिकारी द्वारिकाराम भगत माथेमाले पनि यस कुराको बयान गरेका छन् । घटनाबाट आक्रोशित भिडले रंगशाला बाहिर रहेका तीनवटा सरकारी गाडी तोडफोड गरेको थियो ।
घटनाको जानकारी पाएका अस्पतालका केही स्वास्थ्यकर्मीहरू ड्युटीको समय सकिएर घर पुगिसकेको अवस्थामा पनि पुनः अस्पताल फर्किएका थिए । यतिबेला उनीहरूले अस्पतालमा यति धेरै घाइते एकैपल्ट देखेका थिए । एम्बुलेन्सले घाइतेहरू ओसारेको ओसार्यै थियो । चिकित्सकहरूले सुरुमा जिउँदो र मरेको शरीर छुट्याए । मृत शरीरलाई अर्को कोठामा राखिएको थियो, जहाँ लासको सनाखत गर्न मानिसहरूको ओइरो लागेको थियो । २२. वीर अस्पतालका तत्कालीन प्यारामेडिक राजेशकुमार कार्कीसँग लेखकको अन्तर्वार्ता
‘रंगशाला काण्ड’ को पहिलो दिन ६९ जनाले ज्यान गुमाए । वीर अस्पतालमा ३८, पाटनमा १६, टिचिङमा ९ र टेकुमा ६ जनाको निधन भएको अस्पताल प्रशासनले जानकारी दियो । पहिलो दिन मृतकबाहेक ९८ घाइते अस्पताल भर्ना भएका थिए । यी संख्यामध्ये ४३ जना ठीक भएर पहिलो दिनमै घर फर्किए । बाँकी ५५ मध्ये ३२ जना १ चैतमा स्वास्थ्यलाभ गरेर घर फर्किएका थिए । वीर अस्पतालमा उपचारार्थ काठमाडौंस्थित बौद्धका योङ गुरुङको भोलिपल्ट निधन भएको अस्पताल प्रशासनले पुष्टि गर्यो । उनी ‘रंगशाला काण्ड’ मा मारिने ७० औं अर्थात् अन्तिम व्यक्ति थिए । २३. ३ चैत २०४४ को गोरखापत्र

यो घटनामा ८ वर्षका तीन नाबालक ताहचलका अनुप सुवेदी, त्रिपुरेश्वरका अरबिन्द श्रेष्ठसँगै तनहुँकी कृष्णकुमारी वाग्लेको निधन भएको थियो । कृष्णकुमारीलाई काठमाडौंमा राम्रो स्कुलमा पढाउन एक दिनअघि मात्र बुवा हरिशरण वाग्लेले तनहुँबाट ल्याएका थिए ।
हरिशरण पर्यटन विभागमा कार्यरत थिए । उनका तीन छोरीमध्ये कृष्णकुमारी जेठी थिइन् । त्रिपुरेश्वरमै बिदुला मिश्रको घरमा भाडामा बसोबास गर्दै आइरहेका वाग्लेको कोठामा त्यो दिन पाहुना लाग्न कलंकीबाट बहिनी (सानिमाकी छोरी) र ज्वाइँ आएका थिए ।
यसैगरी जुम्लामा जागिरे सानिमाका अर्का छोरा (भाइ) जीवन लम्साल पनि ४–५ दिनअघि काठमाडौं आएका थिए । उनी दाजुलाई भेटेर तनहुँ घर फर्किने तयारीमा थिए । डेरामा चोरी हुने डरले उनले आफूसँग भएको १० हजार रुपैयाँ घरपेटी बिदुलालाई राख्न दिएका थिए । २४ वर्षका यी युवा ‘म त भिरबाट लडे पनि माथि उक्लिन सक्छु, आकाशबाट पनि निस्किन्छु’ भन्थे । त्यो दिन यही घरबाट पाँचजना फुटबल हेर्न रंगशाला छिरेका थिए । घटनामा हरिशरण, उनकी छोरी कृष्णकुमारी, जुम्लाबाट आएका सानिमाका छोरा जीवन र पाहुना लाग्न आएकी श्रीकला सिग्देलको निधन भयो । ज्वाइँ भने बाँचे । उनी रुँदै डेरा फर्किएका थिए । त्यतिवेला भन्दै थिए– हेर्दाहेर्दै घाँटी च्यापिएर मरी । प्यारापिटको ‘ग्याप’ मा खुट्टा अड्कियो । सबैले थिचे ।’ २४. त्रिपुरेश्वर निवासी बिदुला मिश्रसँग अन्तर्वार्ता
घटना हुनुभन्दा अगाडि काठमाडौं उपत्यकामा आफ्नो परिवारलाई राख्न हरिशरणले भक्तपुरमा जग्गा पनि किनेका थिए तर यो दुःखद घटनापछि परिवारले त्यो जग्गा बेच्नुपर्यो । यही दिन चट्याङ परेर काठमाडौं नः बहालका बाबुराजा महर्जनको आफ्नै टोलमा निधन भएको थियो । यही टोलका शान्तनारायण महर्जन भने फुटबल हेर्ने क्रममा रंगशालामा बिते ।
घटनाको भोलिपल्ट सरकारले सञ्चारमाध्यम टिभी र रेडियोमा मनोरञ्जनको कार्यक्रम बन्द गर्ने निर्णय गर्यो । शोक मनाउन एक साता अधिराज्यभर फुटबल गतिविधि स्थगित गर्न आदेश दियो ।
रंगशालाको प्यारापिटमा किचिएर मारिएका कारण मृतकको सनाखत गर्न गाह्रो परेको थियो । मारिएका आफन्तको दाहसंस्कार गर्न पशुपतिनाथस्थित आर्यघाटमा ठूलो भिड लागेको थियो । पशुपति विकास कोषले ‘रंगशाला–काण्ड’ मा मारिने व्यक्तिको काजक्रियाका लागि ब्राह्मण, चिता जलाउने सहयोगीलगायत आवश्यक सामान उपलब्ध गरायो भने इन्धन संस्थानले निःशुल्क दाउराको व्यवस्था गरेको थियो ।
घटनामा तीन प्रहरीले ज्यान गुमाए । प्रहरी प्रधान कार्यालयमा कार्यरत बलबहादुर अधिकारी, कालिमाटीस्थित वडा प्रहरी कार्यालयमा कार्यरत भरत राई र त्रिपुरेश्वरस्थित प्रहरी पहरा गणमा कार्यरत सन्तबहादुर पुनको परिवारलाई प्रहरी परिवार महिला संघका तर्फबाट जनही ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरियो । २५. ४ चैत, २०४४ सालको गोरखापत्र
मृतक प्रहरीको हकमा लम्साल आयोगको प्रतिवेदनले पनि बोलेको थियो । त्यसै कारण सरकारले कर्तव्यपालन गर्दा मारिएका तीनजना प्रहरीका परिवार र छोराछोरीको हकमा निजहरूका सेवासम्बन्धी नियमबाट पाउने सुविधाका अतिरिक्त, पारिवारिक भत्ता र शैक्षिक भत्ता दिने निर्णय गर्यो ।
‘रंगशाला–काण्ड’ एसियाको सबैभन्दा ठूलो घटना हो । विश्व खेल इतिहासमा यसलाई छैटौँ ठूलो दुर्घटनाको रूपमा व्याख्या गर्ने गरिन्छ । त्यसैले यो घटना भएपछि विश्वभरका नेताहरूले नेपालप्रति सहानुभूति जनाएका थिए ।
अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले घटनाप्रति दुःख प्रकट गर्दै भने, ‘अमेरिकी जनताका तर्फबाट ज्यान गुमाउनेहरूका परिवार, मित्रहरू तथा नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’ २६. ५ चैत २०४४ गोरखापत्र
चिनियाँ राष्ट्रपति ली सियान, भारतीय प्रधानमन्त्री राजीव गान्धी, श्रीलंकाली प्रधानमन्त्री आर प्रेमादासा, युगोस्लाभिया समाजवादी संघीय गणतन्त्रका राष्ट्रपति मण्डलका अध्यक्ष लाजार मोजसोभले पनि गहिरो समवेदना प्रकट गरेका थिए । बंगलादेशको ढाकामा अध्ययनरत विद्यार्थीहरूको संघले पनि विज्ञप्ति सार्वजनिक गर्दै दशरथ रंगशालामा भएको दुर्घटनाप्रति गहिरो दुःख र शोक प्रकट गर्यो । यसैगरी, नेपालस्थित दक्षिण कोरियाली राजदूत चाङ ग्वाङ सनले परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायलाई भेटेर समवेदना प्रकट गरेका थिए ।
‘रंगशाला काण्ड’ ले अन्तर्राष्ट्रिय खेल जगत्लाई पनि तरंगित तुल्यायो । सबैभन्दा पहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष डा. जोआसे हेभलेन्ज तथा महासचिव जोसेफ ब्लाटरले नेपालमा भएको ‘रंगशाला काण्ड’प्रति गहिरो दुःख व्यक्त गरे । नेपालमा भएको यो घटनापछि फिफाको जेनेभास्थित कार्यालयमा आकस्मिक बैठक बसेको थियो ।
बैठकले नेपाल र लिबियामा भएको घटना आफ्नो १५८ सदस्य राष्ट्रमा दोहोरिन नदिन सुरक्षा योजना तर्जुमा गर्ने निर्णय गर्यो । ‘रंगशाला काण्ड’ भन्दा तीन दिनअघि अर्थात् बिहीबार लिबियाको त्रिपोलीमा रंगशालाभित्र भागदौड हुँदा २० फुटबल समर्थकले ज्यान गुमाएका थिए । २७. लिबियाको न्युज एजेन्सी ‘जाना’ मा २७ फागुन २०४४ मा प्रकाशित समाचार
फिफाका तत्कालीन प्रवक्ताले बैठकमा भएको निर्णय सार्वजनिक गर्दै भनेका थिए, ‘आपत्कालीन अवस्थामा दर्शकलाई सुरक्षित कसरी बाहिर निकाल्ने भन्ने विषयमा एउटा बृहत् सुरक्षा योजना बनाउने निर्णय भएको छ ।’ उनले नेपाल र लिबियामा भएको दुःखद घटनापछि फिफाले आगामी प्रतियोगिताका लागि केही निर्देशन दिने बताएका थिए । २८. चिनियाँ न्युज एजेन्सी सिन्ह्वामा ४ चैत २०४४ सालमा प्रकाशित समाचार
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष हुवाँ आन्तानियो सामारान्च, ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष शेख फाहद अल अहमद अल सवाह र युरोपेली फुटबल महासंघ (युएफा) महासचिव हेन्स बेन्गरटरले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरे ।
नेपाललाई समवेदना दिने अन्तर्राष्ट्रिय खेल संघका पदाधिकारीहरूमा इटाली फुटबल संघका अध्यक्ष आन्तोनियो भेतारिज, भारतीय ओलम्पिक कमिटीका अध्यक्ष शिवान्थी आदित्यन, हङकङ ओलम्पिक कमिटी तथा अमेच्योर स्पोर्ट्स फेडरेसनका अध्यक्ष एडिओ सलेस, बंगलादेश फुटबल संघका अध्यक्ष अफिजुद्दिन, ओमन फुटबल संघका अध्यक्ष सइद वान नसीर, भारतीय फुटबल संघका महासचिव अशोक घोष र अन्तर्राष्ट्रिय हकी महासंघका महासचिव हुवाँ ए कालजाडो पनि थिए ।
‘रंगशाला काण्ड’ अघि एसिया कपअन्तर्गत समूह ‘ग’तर्फको छनोट खेल नेपालमा हुने पक्का भइसकेको थियो । (एसिया कप समूह ‘ग’ छनोट खेल दशरथ रंगशालामा १२–२२ जेठ २०४५ मा सम्पन्न भएको थियो)
छनोट खेलमा नेपाल, इरान, उत्तर कोरिया, सिरिया र हङकङ सहभागी थिए । प्रतियोगिताको तयारी बुझ्न एसियन फुटबल महासंघ (एएफसी) का महासचिव पिटर भेलापन नेपाल आएका थिए । उनले ३ वैशाखमा प्रधानमन्त्री मरीचमान सिंहलाई भेटेर ‘रंगशाला काण्ड’ प्रति गहिरो दुःख व्यक्त गरे । प्रधानमन्त्रीसँगको भेटमा फिफा र एएफसीका तर्फबाट समवेदना व्यक्त गर्दै उनले भने, ‘दशरथ रंगशालाको घटना सम्भवत: एसियाकै पहिलो हुनुपर्छ ।’ २९. ४ वैशाख २०४५ को गोरखापत्रबाट
७ वैशाखमा भएको पत्रकार सम्मेलनमा भेलापनले २७ हजार दर्शक अटाउने क्षमता भएको दशरथ रंगशालामा २० हजार दर्शक मात्र राख्न सल्लाह दिए । उनले गेट, शौचालय, सवारीसाधनको व्यवस्थामा उचित ध्यान दिन पनि आग्रह गरे ।
केशरबहादुर विष्टको राजीनामा स्वीकृत भएपछि शिक्षा तथा संस्कृतिमन्त्रीको कार्यभार सम्हालिरहेका पशुपति शमशेरले प्रतियोगिता सुरु हुनुभन्दा अगाडि रंगशालाको निरीक्षण गरे । त्यतिबेला उनीसँगै निरीक्षण टोलीमा शिक्षा तथा संस्कृति सहायकमन्त्री क्षेत्रप्रताप अधिकारी पनि उपस्थित थिए । ३०. पूर्वमन्त्री पशुपति शमशेरसँग लेखकले गरेको कुराकानी
‘रंगशाला–काण्ड’ पछि नेपालमा फुटबल प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने आशंका व्यापक बढेको थियो तर नेपाली फुटबललाई माया गर्ने भेलापन नै प्रतियोगिताको मुख्य अतिथि बनेर काठमाडौं आए । उनले पत्रकार सम्मेलनमा आफू नेपालको तयारीबाट सन्तुष्ट रहेको जानकारी दिए । उनको प्रतिक्रियापछि सबै आशंका समाप्त भयो ।
‘रंगशाला काण्ड’ को अढाइ महिनापछि दशरथ रंगशालामा १२ जेठ, २०४५ बाट नवौँ एसियाली फुटबल प्रतियोगिताको छनोट खेल आरम्भ भयो । यतिबेला सुरक्षालाई मध्यनजर राखेर प्यारापिटलाई १० ब्लकमा विभाजन गरिएको थियो । हरेक ब्लकमा १५ सयदेखि २ हजार दर्शक मात्र बस्न पाउने गरी सिट तोकियो । ढोकाको बीचमा धाँजा फाटेर परेका प्वाल सबै टाल्न लगाइएको थियो । दर्शक जुन ढोकाबाट प्रवेश गर्थे उनीहरूलाई त्यही ढोकाबाट मात्र निस्किन पाउने नियम बनाइएको थियो । एउटा ब्लकका दर्शकलाई अर्को ब्लकमा जान प्रतिबन्ध लगाइएको थियो ।
त्यतिबेला नेपालले युवा फुटबल वर्ष–१९८८ मनाइरहेको थियो । त्यसैले फुटबल संघले माध्यमिक विद्यालयका विधार्थीलाई सहुलियत दरमा टिकट उपलब्ध गराएको थियो भने विद्यार्थीका लागि ब्लक नम्बर ७ छुट्याइएको थियो । त्यो ब्लकमा विद्यार्थी मात्र बस्न पाउँथे । अन्यलाई प्रवेश निषेध गरिएको थियो । ३१. पुरुषोत्तमप्रसाद श्रेष्ठसँग अन्तर्वार्ता
लम्साल आयोगले दिएको सुझावको पालना गर्दै प्रतियोगिताअगाडि दशरथ रंगशालाको पुरानो ढोका झिक्न लगाइएको थियो र यसको ठाउँमा पहिलेभन्दा धेरै दर्शक ओहोरदोहोर गर्न सक्ने ढोका लगाइयो । लम्साल आयोगको प्रतिवेदनमा ‘रंगशाला–काण्ड’ पुनः दोहोरिन नदिन ढोका, भर्याङ, रेलिङ आदिको व्यवस्थामा उपयुक्त सुधार गर्न प्राविधिकहरूको एक टोली गठन गर्न सुझाव दिइएको थियो ।
वास्तवमा ‘रंगशाला काण्ड’ हुँदा जचुकाका नियमित कप्तान सुरेश बस्नेत सुनसरीमा थिए । उनको बिहे ७ फागुनमा तय थियो । वीरगञ्जमा शहीद तेजबहादुर अमात्य गोल्ड कप खेलेर त्रिभुवन च्यालेन्ज शिल्डका लागि जचुकाको टोली काठमाडौंतर्फ लागिरहेको अवस्थामा उनी ३ फागुनमा सुनसरी गएका थिए । जचुका त्रिभुवन च्यालेन्ज शिल्डको सेमिफाइनल पुगेपछि उनलाई तारम्तार खेल्ने निम्तो आइरहेको थियो तर भर्खर बिहे भएका कारण उनले काठमाडौं आउन असमर्थता जनाए । ३१. सुरेश बस्नेतसँग लेखकको अन्तर्वार्ता
‘रंगशाला काण्ड’को खबर उनले ‘रेडियो नेपाल’ ले प्रसारण गरेको कमेन्ट्रीबाट सुनेका थिए । फाइनल खेलको कमेन्ट्री ‘रेडियो नेपाल’ बाट भइरहेको थियो । त्यो काण्डको खबर सुनेपछि उनलाई लाग्यो– धन्न फाइनल खेल्न काठमाडौं गइएनछ ! उनले आफू बाँचेको महसुस गरे । सुरेश काठमाडौं नगएकै कारण जचुकाले त्रिभुवन च्यालेन्ज शिल्डका लागि रामराज सिंहलाई कप्तान तोकेको थियो ।
यो घटनाका कारण जचुकाका खेलाडीले यति ठूलो मानसिक यातना भोग्नुपर्यो, उनीहरूले केही समय आफूलाई अपराधी नै सोचे । केही खेलाडी त काठमाडौंबाट घर फर्केपछि पनि कोठाबाट बाहिर निस्किन डराइरहेका थिए । ३२. जचुकाका खेलाडी गणेश पाण्डेसँग लेखकको अन्तर्वार्ता
‘रंगशाला–काण्ड’ का कारण सरकारले एउटा ठूलो शिक्षा प्राप्त गर्यो । घटना हुँदा रंगशालाको चारैतर्फको ढोका खुला गर्न आयोजक असमर्थ भएका थिए । लामो समय रंगशालाका ढोका फलामको चेनले बाँधेर राख्दा ताल्चा जाम भएर खोल्न गाह्रो परेको थियो । ताल्चाको साँचो पनि पालेसँग हुने हुँदा तत्काल ढोका खोल्न आयोजकलाई हम्मेहम्मे परेको थियो ।
‘रंगशाला–काण्ड’ पछि सरकारले रंगशालाका लागि मात्र नभएर स्कुल र कलेजमा पनि लागू हुने गरी एउटा नीति बनायो । जुन नीतिअन्तर्गत दैवीप्रकोप हुँदा १० सेकेन्डभित्र स्कुल र कलेज खाली गर्न सक्ने गरी ढोका, झ्याल र आवश्यक मापदण्ड तयार पार्न लगाइयो । यही नीतिका कारण सरकारी स्कुलहरूका ढोका र झ्याल ठूलो–ठूलो बनाउन लगाइएको थियो । ३३. केशरबहादुर विष्टसँग अन्तर्वार्ता
(वरिष्ठ खेल पत्रकार अर्यालकाे याे आलेख क्रियटिभ बुक्सले प्रकाशन गरेकाे उनकाे पुस्तक नेपाली खेलकुदको वृत्तान्तबाट लिइएकाे हाे । - सम्पादक)
यो पनि...
गंगा र भूपेन्द्र दौडिएको नेपालको पहिलो ओलम्पिक अनुभव
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १२:५०