कैलालीमा ठूलो संंख्यामा विद्युतीय ई–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्साहरू विस्थापित हुन थालेका छन् ।
विद्युतीय ई–रिक्सा र अटो रिक्सा सञ्चालनमा आएपछि वर्षौंदेखि सञ्चालनमा रहेका पाइडल रिक्साहरूलाई अहिले यात्रु पाउन हम्मेहम्मे पर्ने गरेको गुनासो गर्छन, पाइडल रिक्सा चालक सिताराम चौधरी ।
धनगढी बजारमा ३० बर्ष देखि रिक्सा चलाइरहेका चौरधी अब रिक्सा चलाउने पेसा छाड्ने सोचमा छन् ।
कमजोर आर्थिक अवस्थाका कारण २० बर्षको उमेरमै रिक्सा चलाउन सुरु गरेका थिए चौधरीले । पर्याप्त यात्रु नपाउँदा चौधरीको आम्दानी घटेको छ । घटेको आम्दानीले ९ जनाको परिवारलाई साँझ बिहानको छाट टार्नै पुग्दैन । चौधरी भन्छन, ‘२/४ वर्ष अगाडीसम्म त रिक्साको कमाई राम्रै थियो ।’
तर, जसै धनगढीमा नगरबस अटो रिक्सा चल्न थाले चौधरीको कमाई घट्दै गयो । यात्रुहरु सजिलो र छिटो सवारी साधन खोज्दै नगरबस र अटो रिक्सा चढ्न थाले ।
नगरबस र अटो रिक्सा आउनु अगाढी दैनिक हजार रुपैयाँसम्म कमाउँथे चौधरी । तर, अहिले मुस्कीलले दिनमा २ देखी ३ सय रुपैयाँ कमाउँछन् । धनगढी उप–महानगरपालीका–४ उत्तरबेहडीका गंगाराम चौधरी पनि पाइडल रिक्सा नै चलाउँछन ।

१५ वर्ष भयो गंगारामले रिक्सा चलाउन थालेको । बिहान सबेरै रिक्सा लिएर धनगढी बजार निस्कन्छन गंगाराम । साँझ अबेर घर फर्कन्छन् । तर, मुस्किलले भेटिन्छन पाइडल रिक्सा चढ्ने यात्रु । दिनभर यात्रुको पर्खाइमा बस्छन् । ७ जनाको परिवार छ गंगारामको । सबै परिवार गंगारममै आश्रीत छ । गंगाराम आश्रीत छन् रिक्सा । रिक्सा चढ्न यात्रु भेटिन छाडे । मतलब गंगारामको परिवार पनि आर्थिक संकटमा फस्दै जान थाल्यो ।
धनगढी बजारमा अहिले पाइडल रिक्सा मुस्किलले भेटिन्छन् । ई–रिक्सा र अटो रिक्सा आएपछि धेरैजसोले पाइडल रिक्स छाडे । ई–रिक्सा र अटो रिक्सा किने ।
तर, सिताराम र गंगारामले ई–रिक्सा, अटो रिक्सा किन्न सकेनन् । किनभने ई–रिक्सा र अटो रिक्साको न्यूनतम मूल्य ५ लाख रुपैयाँ पर्छ । ‘त्यत्रो पैसा कहाँबाट ल्याउनु’ सिताराम सुनाउँछन, ‘त्यति पैसा भएको भए त म अरु नै काम गर्थे ।’
समय फेरीयो । अवस्था फेरीयो तर, ३० बर्षसम्म रिक्सा चलाए पनी आफ्नो जीवन नेफेरिएको गुनासो गर्छन गंगाराम, ‘सक्नेले अटो रिक्सा किने, मैले सकिन् ।’
ई–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल मात्रै विस्थापित भएनन् । ई–रिक्सा र अटो रिक्सा किन्न नसक्नेहरुको आय आर्जन नै सुक्यो । विपन्न परिवारका मान्छेले ई–रिक्सा र अटो रिक्सा किन्न नसकेपछि उनीहरुले यो पेसा पनि छाडे ।
रिक्सा चलाएरै छोरा र छोरीको स्कुल फिस देखि घर खर्चको समेत व्यवस्थापन गर्दै आएका गंगारामले यात्रु पाउन छाडेपनि मजदुरीको काम पनि सुरु गरेकाछन् ।
‘यात्रु नपाएपछि आजभोली कहिलेकाहीँ सिमेन्ट बोक्न जान्छु ।’ गंगारम गुनासो गर्छन, ‘ई–रिक्सा र अटो रिक्साले हाम्रो गाँस बन्द गर्यो ।’ पाईडल रिक्सा चलाईरहेका कैलाली गोदावरीका ललिराम थारु पनि अब पाइडल रिक्सा थन्काएर गाउँमा मजदुरी गर्न जाने सोच बनाएको सुनाउँछन् ।
आफ्नो पाइडल रिक्सा चलाउनेलाई भन्दा अर्काको पाइडल रिक्सा चलाउनेलाई झन गाहे छ । किनभने रिक्सा मालिकलाइ दैनिक पैसा बुझाउनुपर्छ ।
‘कुनैै दिन त रिक्साको भाडा तिर्ने पैसा समेत उठ्दैन ।’ ललिराम थारु भन्छन् । ई–रिक्सा र अटो रिक्सा किन्न सक्ने आर्थिक क्षमता नभएकै कारण आफूले पेसा फेर्ने निर्णय गरेको बताउँछन ललिराम ।
केही वर्ष पहिले कैलालीमा करिब २ हजार जति पाइडल रिक्सा थिए । तर, अहिले मुस्किलले २ सय जति बाँकी छन् । यातायात व्यवस्था कार्यालय कैलालीको तथ्यांक अनुसार अहिले कैलालीमा ३ हजार ई–रिक्सा दर्ता भएकाछन् ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६ १३:५६