बिहान उठ्नेबित्तिकै हिमाल हेरेर चित्त बुझाउने समयको लगभग अन्त्य भइसकेको छ । सधैँ हिमाल हेरेर मात्र चित्त बुझाइराख्न पेट टन्न अघाएको हुनुपर्ने रहेछ । पाखापखेराको गीत गाएरै मात्र बस्न बैंकमा टन्न ब्यालेन्स हुनुपर्ने रहेछ । भोको पेटले सधैँ राष्ट्रवादका गीत गाएर बस्न नसकिने रहेछ । त्यही भएर हिजो ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ भनेर गीत गाउने नेपालीहरू आज नेपालमा नरहन हरसम्भव प्रयास गर्न बाध्य भएका छन् ।
राजालाई मात्र दोष देखाएर हामी उम्किन त मिल्दैन तर युरोप र अमेरिकाले प्रगतिको जग बसालेको समयलाई नेपालसँग दाँजेर हेर्ने हो भने नेपालको राजतन्त्रकाल अन्धकारको युग थियो । पञ्चायतकालमा नेपालीहरूले खाली खुट्टा हिँडेरै भए पनि खोला र नालाका गीत गाएर चित्त बुझाए । यहाँका सीमित केही मानिसबाहेक अरु नेपालीले त्यति बेलासम्म पश्चिमा दुनियाँको भौतिक विकास देखेका थिएनन् । तर आजको अवस्था त्यस्तो होइन । आज दुनियाँ आफैँ देखिने गरी हाम्रो हातसम्म आइपुगेको छ ।
कुनै समय यस्तो पनि थियो कि लक्ष्मीप्रसाद देवकोटाको ‘गरिब’ कविता सुनेर नेपालीहरूलाई गरिब हुनु पनि आनन्दको कुरा रहेछजस्तो लाग्थ्यो । देवकोटाको ‘भिखारी’ कविता सुन्दा भिखारी हुनु पनि गज्जबको विषय रहेछजस्तो लाग्थ्यो । तर, आज नेपालीहरूले गरिब हुनु कुनै आनन्दको विषय होइन भन्ने राम्ररी बुझिसकेका छन् । आज हरेक नेपालीहरूले आफूलाई दुनियाँसँग दाँजेर हेर्न थालेका छन् । त्यही भएर पनि हो, आज अभावहरूको डिलमा बसेर कोही पनि ‘आनन्दी मनले साग र सिस्नु’ मात्र खाएर बस्न तयार छैन ।
पञ्चायतले ‘विकासको मूल फुटाउने’ गीतहरू घन्कायो । तर, विकासको जग निर्माण गरेन । शिक्षाको मूल नफुटाई विकासको मूल फुट्दैन भन्ने कुरा पञ्चायतलाई राम्रोसँग थाहा थियो । यदि २००७ सालको क्रान्ति नभएको भए नेपालले त्रिभुवन विश्वविद्यालय पाउनका लागि वर्षौं कुर्नुपर्ने हुन सक्थ्यो । भारतको स्वतन्त्रता संग्राम र चीनको जनवादी क्रान्तिको प्रभाव नेपालमा नपरोस् भनेर पनि महेन्द्रले केही सामान्य सुधारका योजनाहरू अगाडि सारे । तर, ती योजनाहरू देश विकासको भावनाबाट प्रेरित थिएनन् । किनकि राजा महेन्द्रले राम्रोसँग बुझेका थिए, जनता शिक्षित हुनु भनेको पञ्चायत समाप्त हुनु हो ।
त्यही भएर पञ्चायत अवधिलाई समग्रमा हेर्ने हो भने त्रिभुवन विश्वविद्यालय पञ्चायतलाई नै सहयोग गर्ने शैक्षिक संरचना मात्र थियो, जसको कुलपति स्वयम् राजा हुन्थे । राजा नै कुलपति भएको संस्थाले जति नै शैक्षिक कार्यक्रमहरू ल्याए पनि सारमा पञ्चायती राज्यलाई बलियो बनाउने वैचारिकी तयार पार्नुपर्थ्यो । त्यस प्रकारको शिक्षाले न सही तरिकाले नेपाली समाजका समस्याहरू बुझ्यो, न सामाधान नै खोज्यो । परिणामस्वरूप, नारामा मात्र सीमित विकासका गीतहरू गाउँदागाउँदै नेपाली समाजले यति लामो समय गुजार्यो कि आज नेपाल र समकालीन विश्वको बीचमा निकै ठूलो खाडल बनिसकेको छ ।
पञ्चायतले निर्माण गरेको यो खाडल गणतन्त्रले पुर्छ कि भनेर नेपालीहरूले जनयुद्धदेखि जनआन्दोलनसम्म ठूलाठूला संघर्ष गरे । त्याग र तपस्याको कीर्तिमान कायम गरेर ल्याएको गणतन्त्रले पनि विकासको खाका कोर्न नसक्दा आज अधिकांश नेपालीहरूलाई यो देशमा ‘केही पनि हुन्न’ भन्ने लाग्न थालिसकेको छ ।
हिजो नेताहरू संघर्षको भट्टीबाट उत्पादन हुन्छन् भन्ने बहस थियो । तर, अब नेताहरू विषयगत ज्ञानको भट्टीबाट पनि उत्पादन हुनु जरुरी छ । नेताहरू पनि विश्वविद्यालयका विभिन्न विभागहरूबाट उत्पादन हुँदा त्यसले राजनीतिमा विषयगत दक्षतासहितको नेता उत्पादन हुन्छ ।
‘यहाँ केही पनि हुन्न’ भन्ने भाष्य यति शक्तिशाली बन्दै छ कि आज उफ्रेर हुन्छ कि, घिस्रेर हुन्छ, तैरेर हुन्छ कि, जसरी भए पनि नेपालीहरू देश छोड्न मरिहत्ते गरिरहेका छन् । नेपालको गणतन्त्र बाल्यकालमै छ भनेर पन्छिन मिल्ने अवस्था अब छैन । किनकि सही तरिकाले हिँड्न सिक्ने पनि बाल्यकालमै हो । गणतन्त्रले आजैदेखि विकासको जग बसाल्ने गरी सही वैचारिकी निर्माण गरेन भने गणतन्त्रले पनि सुख पाउनेवाला छैन । त्यही भएर आजैदेखि देशको समग्र विकासका लागि खाका कोर्ने तयारीमा जुट्नुको विकल्प छैन ।


आज हामी युरोप र अमेरिकाको प्रगति देखेर विश्वभरि नै बहस गरिरहेका छौँ । हुन त पश्चिमा मुलुकहरूले रोजेको विकासको मोडलका पनि आफ्नै जटिलता होलान् तर त्यहाँको भौतिक विकास देखेर आज संसार नै आश्चर्यचकित छ । त्यहाँको चकाचौँधले भरिएको संसार एउटा पाटो होला तर हामीले छलफल गर्न बिर्सिरहेको अर्को पाटो पनि छ । युरोप र अमेरिकामा व्यवस्थित सडक, भवन र चिल्ला गाडीहरू मात्र छैनन्, त्यहाँ संसारकै उत्कृष्ट विश्वविद्यालयहरू पनि छन् । संसारका उत्कृष्ट सय विश्वविद्यालयको सूची हेर्ने हो भने कमसेकम ८० वटा विश्वविद्यालय युरोप र अमेरिकामा नै पर्छन् । हामीले बझ्नुपर्ने एउटा महत्त्वपूर्ण पाटो यो हो ।
भौतिक विकास जहिले पनि बौद्धिक विकासको जगमा उभिएको हुन्छ । बौद्धिक विकासबिना भौतिक विकास सम्भव छैन । युरोप र अमेरिकाजस्ता देशहरूमा भौतिक विकासका जराहरू खोतल्दै जाने हो भने त्यहाँको बौद्धिक विकासमा पुगिन्छ र बौद्धिक विकासका जराहरू खोतल्दै जाने हो भने विश्वविद्यालयहरूमा पुगिन्छ । त्यसरी नै नेपालमा चाहेको जस्तो भौतिक विकास हुन नसक्नुको प्रमुख कारण भनेको पनि नेपाली समाजको बौद्धिक विकास हुन नसक्नु नै हो । हाम्रो ‘अविकास’ का जराहरू पनि खोतल्दै जाने हो भने हामी हाम्रा विश्वविद्यालयहरूमा नै पुग्ने हो । विकासको यो सामान्य सिद्धान्त बुझ्न सकिएन भने हाम्रो विकासप्रतिको बुझाइ नै अपूर्ण हुन्छ । विश्वविद्यालयले प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा विकासमा सधैँ भूमिका खेलिरहेका हुन्छन् ।
विश्वविद्यालयहरूले विभिन्न क्षेत्रका लागि बौद्धिक व्यक्तित्व उत्पादन गरेर समग्र विकासमा योगदान पुर्याउने काम गर्छन् । हाम्रा विश्वविद्यालयहरूले त बौद्धिकहरू कम र प्रमाणपत्रधारी बुद्धिजीवी बढी उत्पादन गरिरहेको छ । कसैलाई अपमान गर्ने कुरा होइन तर सुन्दा उस्तै लागे पनि बौद्धिक र बुद्धिजीवीमा धेरै भिन्नता छ । बौद्धिकहरूले नयाँनयाँ ज्ञानहरू उत्पादन गर्छन् तर बुद्धिजीवीहरूले भएको ज्ञान वितरण गर्छन् र आफ्नो जीविकोपार्जन चलाउँछन् । हाम्रा विश्वविद्यालयहरूलाई बौद्धिकहरू उत्पादन गर्ने गरी विकास नगरेर केवल यान्त्रिक बुद्धिजीवीहरू उत्पादन गर्ने गरी विकास गरियो । त्यही भएर हाम्रा विश्वविद्यालयहरूले देशको समग्र विकासमा योगदान पुर्याउन सकेनन् ।
हामीले चर्चा गरिरहेका विश्वका विश्वविद्यालयहरूको तरिका यस्तो होइन । चार्ल्स डार्विनदेखि हरारीसम्म, अल्बर्ट आइन्सटाइनदेखि स्टेफेन हकिङसम्म, एडम स्मिथदेखि थोमस पिकेटीसम्म, सिग्मन्ड फ्रायडदेखि नोम चोम्स्कीसम्म, कार्ल मार्क्सदेखि मिसेल फुकोसम्म, हामी आज विश्वमै कहलिएका जोजो विद्वान्हरू सम्झिन्छौँ, ती सबै उत्कृष्ट विश्वविद्यालयका उत्पादन हुन् ।
आज संसारमा विकासको नाममा जेजे प्रगति भएको छ, त्यसको जग त्यहाँका बौद्धिकहरूले बनाएका हुन् र ती बौद्धिकहरू प्राय: उत्कृष्ट विश्वविद्यालयकै उत्पादन भएको देखिन्छ । राजनीतिक नेतृत्वले पनि त्यहाँका बौद्धिकहरूले उत्पादन गरेको ज्ञानको काँधमा चढेर विकास गर्ने हो । कतिपय देशहरूले ज्ञान आयात गरेर भए पनि विकास गरेका छन् तर हाम्रा शासकहरूले विश्वविद्यालय भनेको विकासका लागि ज्ञान उत्पादन गर्ने केन्द्र हो भनेर बुझ्नै सकेनन् । त्यस कारण, आज हामी वैचारिकीमा आधारित विकासभन्दा पनि धरातलविहीन विकासका हावादारी गफहरू सुन्न बाध्य छौँ ।
विश्वविद्यालयबाट बौद्धिक उत्पादन गर्ने विषय एउटा हो भने विश्वविद्यालयहरूमा बौद्धिकहरू कसरी उत्पादन गर्ने भन्ने विषय अर्को हो । बौद्धिकहरू कसरी उत्पादन गर्ने भन्ने विषय बुझ्नका लागि आज विश्वमा नाम चलेका विश्वविद्यालयहरू कसरी बने भन्ने विषयको संक्षिप्त चर्चा गर्नुपर्ने हुन्छ । आज हामीले उदाहरणको रूपमा जुनजुन विश्वविद्यालयहरूको नाम लिने गर्छौं, ती विश्वविद्यालयहरूप्रतिको आकर्षण बढाउन त्यहाँ अध्यापन गर्ने उत्कृष्ट प्राध्यापकहरूको पनि ठूलो भूमिका छ ।
विश्वविद्यालयहरूमा प्राय: उत्कृष्ट प्राध्यापकहरूलाई खोजीखोजी पढाउनका लागि बोलाउने गरिन्छ । कुनै विषयमा राम्रो ज्ञान राख्ने प्राध्यापकहरू यदि आफ्नो देशमा छैनन् भने त्यसका लागि विश्वविद्यालयले अन्य देशहरूबाट पनि प्राध्यापकहरूलाई बोलाउने गर्छ । राम्रा प्राध्यापकहरूलाई टिकाइराख्न विश्वविद्यालयहरूले धेरै सुविधाहरू दिने गर्छन् । नेपालका विश्वविद्यालयहरूमा यो अभ्यास नै छैन । हाम्रोमा त विश्वविद्यालयहरूमा जागिर खाने र खुवाउने तरिका विशुद्ध राजनीतिक स्वार्थहरूबाट प्रेरित छ । त्यसमा पनि ‘एकेडेमिक’ काममा मात्र सीमित क्षमतावान् प्राध्यापकहरू राजनीतिक दाउपेचमा परेर दिनदिनै पलायन हुने अवस्था छ ।
हार्वर्ड विश्वविद्यालय होस् या अक्सफोर्ड, क्याम्ब्रिज विश्वविद्यालय होस् या प्रिन्सटन, यी सबैले विश्वका जुनसुकै ठाउँबाट उत्कृष्ट प्राध्यापकहरू बोलाएर विश्वविद्यालयमा जोड्ने अभ्यास गरेको पाइन्छ ।
हामीले पनि आवश्यक पर्दा गैरनेपाली प्राध्यापकहरूलाई नेपाली विश्वविद्यालयहरूमा आकर्षित गर्ने गरी योजना किन नबनाउने ? विदेशी भन्नेबित्तिकै उर्लिने नेपालको महेन्द्रकालीन राष्ट्रवादबाट अब नेपाल बाहिर निस्किनुपर्छ । विश्वविद्यालयको करिब आधा आकर्षण भनेको त्यहाँका प्राध्यायकहरूको उचाइले निर्धारण गर्छ । उत्कृष्ट विद्यार्थी उत्पादन गर्न उत्कृष्ट प्राध्यापक चाहिन्छ । त्यसले बिस्तारै विश्वविद्यालयहरूमा बौद्धिक संस्कृतिको निर्माण गर्छ । त्यही बौद्धिक संस्कृतिले समग्रमा विकासको ‘ब्लुप्रिन्ट’ निर्माण गर्ने हो । कोही अर्थशास्त्री बनेर, कोही समाजशास्त्री बनेर, कोही योजनाकार बनेर, कोही वैज्ञानिक बनेर, कोही कूटनीतिज्ञ बनेर विकासमा सहयोग पुर्याउने हो ।
विश्वविद्यालयहरूमा सबैभन्दा आवश्यक अर्को पक्ष भनेको अनुसन्धान एवं अन्वेषण संस्कृति हो । प्राध्यापकहरूले कुनै जादुको छडी चलाएर उत्कृष्ट जनशक्ति उत्पादन गर्ने होइन । उनीहरूले विद्यार्थीहरूलाई अनुसन्धान एवं अन्वेषण गर्नका लागि मार्गनिर्देशन गर्ने हो । अनुसन्धान गर्ने संस्कृति नै विश्वविद्यालयको मुटु हो । अनुसन्धान मोडलका विश्वविद्यालयहरू सम्झिँदा हामीले सबैभन्दा बढी सम्झिने भनेको ‘एमआईटी’ विश्वविद्यालय हो । आज हाम्रा विश्वविद्यालयहरूमा सबैभन्दा काम नगरिरहेको अंग भनेको नै मुटु हो । मुटुले राम्रोसँग काम नगर्दा बाँकी सबै अंगहरूमा असर गरिरहेको छ ।
अनुसन्धानबिना नयाँ ज्ञान उत्पादन नै सम्भव छैन । यसो गहिरिएर हेर्ने हो भने विश्वका अधिकांश ठूला अनुसन्धानहरू प्राय: विश्वविद्यालयहरूमै भइरहेका हुन्छन् । कोभिड महामारीको समयमा विश्वका प्राय: ठूला विश्वविद्यालयहरू अनुसन्धान केन्द्रमै रूपान्तरण भए । ‘जिन एडिटिङ’को क्षेत्रमा क्रान्ति नै ल्याइरहेको ‘क्रिस्पर केस नाइन’ प्रविधिको आविष्कार नै क्यालिफोर्निया विश्वविद्यालयलगायतका केही विश्वविद्यालयहरूको प्रयोगशालामा भएको हो । एक अर्थमा विश्वविद्यालय भनेकै अनुसन्धान हो । हामी सबैभन्दा बढी चुकेको यहीँनेर हो ।
कुनै दिन नेताको रूपमा एउटा विशेष अवतार आउँछ र विकासमा चमत्कार गर्छ भनेर नेपाली समाज हुर्किरहेको देखिन्छ तर हनुमानले पहाड उचालेजसरी एउटा कुनै नेताले एकल बल गरेर विकास हुने कुरा सरासर गलत हो ।
हाम्रा विश्वविद्यालयहरू असफल हुनुको एउटा अर्को कारण पनि छ । नेपालमा हाम्रा कुनै पनि विश्वविद्यालयको आफ्नो छापाखाना छैन तर विश्वमा उत्कृष्ट मानिएका विश्वविद्यालयहरूका प्राय: आफ्नै प्रेस हुन्छन् । आज कुनै थेसिस रिसर्च गर्नुपर्यो भने सन्दर्भ सामग्रीको रूपमा प्राय: ‘अक्सफोर्ड युनिभर्सिटी प्रेस’ वा ‘क्याम्ब्रिज युनिभर्सिटी प्रेस’ जस्ता विश्वविद्यालयहरूबाट प्रकाशित किताबहरूको प्रयोग गर्ने गरिन्छ । विश्वविद्यालयहरूको स्वीकार्यता यस्ता किताबहरूले पनि बढाउने गर्छन् ।
विश्वविद्यालयहरूबाट उत्पादन भएका प्राय: ज्ञानहरू बाहिर आउने भनेकै लिखित सामग्रीहरूबाट हो । विश्वविद्यालयहरूले आफ्नो प्रेसबाट प्राय: गहिरो अनुसन्धान गरिएका किताबहरू प्रकाशन गर्ने गर्छन् । राज्यले कस्तो नीति बनाउने ? वा कुन नीति कति उपयोगी भयो ? जस्ता विषयका अनुसन्धान प्राय: विश्वविद्यालयहरूमा नै हुन्छन् । राम्रा विश्वविद्यालयहरूमा राम्रो अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरूले किताब कहाँ र कसरी प्रकाशन गर्ने भनेर चिन्ता लिनै पर्दैन ।
विश्वविद्यालयको प्रेसबाट प्रकाशित यस्ता किताबहरूले समग्रमा भौतिक विकासका लागि बौद्धिक धरातल निर्माण गर्छन् । आज हाम्रा विश्वविद्यालयहरूमा पाठ्यक्रमहरू प्राय: आयातित हुनुको एउटा कारण यो पनि हो । किनकि हामीसँग अनुसन्धान गरेर उत्पादन गरिएका हाम्रै प्राज्ञिक सामग्रीहरू कम छन् । विश्वविद्यालयको आफ्नै प्रेसबाट पाठ्यसामग्री तयार हुने र प्रकाशित किताबहरूमा आफैँले बहस चलाउने अभ्यासले समग्रमा विश्वविद्यालयमा बौद्धिकस्तरबाट बहस संस्कृतिको पनि निर्माण गर्छ । विश्वविद्यालयहरूको अध्ययन, अनुसन्धान, लेखन र बहस संस्कृतिहरू नै अन्तिममा विकासको वैचारिकी निर्माण गर्ने पक्षहरू हुन् ।
कनै पनि राजनीति गर्ने नेता भनेको समाजको औसत चेतनाको उत्पादन हो । कुनै पनि नेताले सबै विषय जान्ने कुरा सम्भव छैन । केही नेताहरू समकालीन समाजभन्दा धेरै परसम्म पनि देख्न सक्ने हुन्छन् तर सरदरमा समाजको औसत चेतना जस्तो हुन्छ, नेता पनि ठ्याक्कै त्यही धरातलमा उभिएको हुन्छ ।
आज हामीसँग विश्वविद्यालयहरूबाट भन्दा पनि संघर्षको मैदानबाट आएका नेताहरू बढी छन् । नेपाली जनता अब संघर्ष गर्दागर्दा थकित भइसकेका छन् । अब उनीहरूले परिणाम देखिने गरीका संघर्षका उपलब्धिहरू खोजिरहेका छन् । त्यो भनेको विकासको राजनीति एवं विकासमा राम्रो भिजन भएको नेताबाट मात्र सम्भव छ ।
हिजो नेताहरू संघर्षको भट्टीबाट उत्पादन हुन्छन् भन्ने बहस थियो । तर, अब नेताहरू विषयगत ज्ञानको भट्टीबाट पनि उत्पादन हुनु जरुरी छ । नेताहरू पनि विश्वविद्यालयका विभिन्न विभागहरूबाट उत्पादन हुँदा त्यसले राजनीतिमा विषयगत दक्षतासहितको नेता उत्पादन हुन्छ । राम्रा विश्वविद्यालयबाट उत्पादन भएका नेताहरूसँग समग्र विकासको भिजन राम्रो हुने सम्भावना अलि बढी हुन्छ । राम्रो अध्ययन गरेका नेताहरूले तुलनात्मक रूपमा समग्र बौद्धिकहरूको ज्ञानलाई विकासका लागि सदुपयोग गर्न सक्छन् । विकसित देश युरोप र अमेरिकातिर हेर्ने हो भने, राजनीतिको गुणस्तर विकासमा विश्वविद्यालयहरूले भूमिका खेलिरहेको पाउन सकिन्छ ।
कुनै दिन नेताको रूपमा एउटा विशेष अवतार आउँछ र विकासमा चमत्कार गर्छ भन्ने आसमा नेपाली समाज हुर्किरहेको देखिन्छ तर हनुमानले पहाड उचालेजसरी एउटा कुनै नेताले एकल बल गरेर विकास हुने कुरा सरासर गलत हो । विकास समाजको बौद्धिक धरातलबाट जन्मिने हो । बौद्धिक धरातल शिक्षा र त्यसमा पनि विश्वविद्यालयले निर्माण गर्ने हो । विकासतिर लम्किनु छ भने विश्वविद्यालयतिर फर्केर योजना बनाउन जरुरी छ । विश्वविद्यालयलाई राजनीतिक कुस्तीको अखाडा होइन, देशकै प्राज्ञिक धरातल बनाउने गरी विकास गर्न जरुरी छ । त्यसो गरिएन भने विकासको मूलबाट पानी खाने नेपालीहरूको प्यास फेरि पनि वर्षौंसम्म मेटिने सम्भावना देखिन्न ।
लेखक रेग्मी अखिल क्रान्तिकारीका नेता हुन् ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १९:२१