नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पार्टी कार्यालय बनाउन एउटा भवन नै किन्ने तयारी गरेको छ । यसका लागि पार्टीको गत शुक्रबार बसेको प्रथम प्रदेश कमिटी बैठकमा यो विषय सबै सदस्यलाई प्रस्ताव राखेर जानकारी गराइएको छ ।
पोखरा-८, सिर्जनाचोकमा १० आना क्षेत्रफलमा ठडिएको पाँच तले घर किन्न लागिएको हो । यो भवनमा पहिला रेडियो स्टेसन र इन्टरनेटको अफिस थियो । दुवैले छोडेपछि र आर्थिक मन्दीको समयमा भवन किन्ने पाएपछि घरधनीले बेच्ने निधो गरेका हुन् ।
घरधनीले १५ लाख रुपैयाँ बैना रकम बुझिसकेको सचिव धनञ्जय दवाडीले जानकारी दिए । बाँकी रकम चैतभित्र तिर्ने भनिएको छ । एमालेको प्रदेश कमिटीको कार्यालय पोखरा-९, नयाँबजारमा छ । हाल भइरहेको ठाउँमा दुई तलाका ७ कोठालाई मासिक ४० हजार रुपैयाँ भाडा तिर्नुपर्छ । एमालेको १५५ सदस्यीय प्रदेश कमिटीको बैठक बस्न पनि पार्टी प्यालेसमा जानुपर्ने अवस्था छ । साँघुरो ठाउँ र पार्टी अनुकूल नभएपछि नयाँ ठाउँमा कार्यालय सार्न लागिएको एमाले गण्डकीले बताएको छ ।
एमालेले सबै सदस्यसँग पैसा उठाएर जग्गा किन्ने र त्यहीँ घर बनाउने योजना बनाएको थियो । त्यसका लागि पोखराको मालेपाटनमा पनि जग्गा हेरिएको थियो । तर, त्यसमा लामो समय खर्च हुने भएपछि केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज गोकर्ण विष्टको विशेष चाहनामा यसअघि बनिसकेको भवन नै किन्न लागिएको हो । अहिले किन्ने भनेको घर पहिला घरधनीले १० करोड रुपैयाँ भनेका थिए । पछि उनले ३५ लाख रुपैयाँ घटाएर दिएका हुन् ।
एमाले स्रोतकाअनुसार एमालेनिकट हाइड्रो व्यवसायी पुष्पज्योति ढुंगाना र नेता रामकृष्ण ज्ञवालीले यो घर खोजेका हुन् । घर हेरेपछि इन्चार्ज गोकर्ण विष्टले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई यसको जानकारी गराएका थिए । केन्द्रीय नेताले घरधनीसँग सहमति गरेपछि प्रदेशका पदाधिकारीलाई भवन किन्न लागिएको जानकारी दिइएको थियो ।
कसरी उठाइँदै छ पैसा ?
साँस्कृतिक कार्यक्रम, स्टेज, झण्डासहित सबै गरेर एमालेको प्रदेश कमिटीबाट झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रामा गण्डकीमा १४ लाख रुपैयाँ खर्च भएको छ । १५ लाख रुपैयाँ बैना दिएसँगै एमाले प्रदेश कमिटीसँग थप पैसा छैन ।
चार-पाँचवटा तरिकाले पैसा उठाउन सकिने विकल्पसहित आफूले योजना बनाइरहेको अध्यक्ष नवराज शर्माले बताए । गण्डकीमा एमालेका ६३ हजार ५४७ पार्टी सदस्य छन् । यिनै सदस्यबाट कसरी सहयोग जुटाउन सकिन्छ भन्ने खाका एमालेले तयार पारिरहेको छ । कुल सदस्यमध्ये २५ हजार जनाले १-१ हजार रुपैयाँ दिनसक्ने अनुमानित खाका छ । यसो हुँदा २ करोड ५० लाख रुपैयाँ उठ्छ ।
गण्डकीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र उनीहरूका स्वकीय, प्रदेश सांसद र स्वकीय, पालिका प्रमुख र उपप्रमुख, एमालेमा आस्था राख्ने कर्मचारी, शिक्षकसँग एक महिनाको पारिश्रमिक सहयोगबापत माग्ने योजना एमालेको छ । यसबाट एक करोड रुपैयाँ उठ्ने हिसाब छ ।
आर्थिक अवस्था राम्रो भएका ५ सय जना सदस्यबाट १-१ लाख उठाउने योजना छ । यसो हुँदा ५ करोड रुपैयाँ उठ्छ । त्यसबाहेक अझै सम्पन्नशाली १० जनाबाट १०-१० लाख गरेर एक करोड रुपैयाँ उठाउने योजना एमालेको छ । यो सबै हिसाब गर्दा १० करोड रुपैयाँ उठ्छ । १० लाख रुपैयाँभन्दा बढी दिन सक्ने आर्थिक अवस्था भएकालाई पनि आग्रह गर्ने योजना प्रदेश कमिटीको छ । पार्टी कार्यालय बनाउन लागेको थाहा पाएपछि प्रतिनिधिसभा सदस्य प्रभु ग्रुपका प्रमुख देवी भट्टचनले १० लाख रुपैयाँ दिइसकेका छन् ।
सिंगो घर किन्दा ९ करोड ६५ लाख रुपैयाँ मूल्य छ तर त्यसलाई पार्टी अनुकूल बनाउनुपर्ने अवस्था छ । बैठक हल, पदाधिकारीका कोठा, आवश्यकताअनुसार फर्निचर, रंगरोगन गर्दा ११ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको अध्यक्ष शर्माले बताए । उनकाअनुसार चैतभित्र चन्दा उठाएर घर पास गर्ने र नयाँ वर्ष २०८१ देखि नयाँ भवनमा सर्ने गरी तयारी भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८० १६:०५