नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा शुक्रबारदेखि सुरू हुँदैछ । यो अधिवेशनबाट नेतृत्वमा पुग्न कास्कीका सुशन घिमिरे, सञ्जय पौडेल बैरागी, महेन्द्र उपाध्याय, अखिल प्रदेश संयोजक तनहुँका रमाकान्त (आर.के) पोखरेल र गोरखाका प्रबिन श्रेष्ठ कस्सिएका छन् ।
यो अधिवेशन केन्द्रीय सचिवसमेत रहेका आशीर्वाद र प्रकाश पौडेलको प्रतिष्ठाको विषय हो । आफू पक्षधर र आगामी महाधिवेशनमा आफू अनुकूल हुने गरी अध्यक्ष ल्याउनुपर्ने दबाबमा दुवै विद्यार्थी नेता छन् ।
पौडेल पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र सुवेदी स्थायी कमिटी सदस्य खगराज अधिकारीनिकट हुन् । दुई नेता पृथ्वीसुब्बा र खगराजले यसमा खासै चासो नदेखाए पनि विद्यार्थीहरू उनीहरूकै नाममा विभाजित भएर अधिवेशनमा होमिँदै छन् । दुवै केन्द्रीय सचिव केही विषयले दबाबमा छन् जसले गर्दा उनीहरू कसलाई समर्थन गर्ने भन्ने द्विविधामा छन् ।
प्रकाशले अध्यक्षमा गोरखाका प्रबिन श्रेष्ठलाई समर्थन गर्नुपर्ने दबाब छ । अर्का आकांक्षी रमाकान्तलाई कुनै पनि हालतमा अध्यक्ष नबनाउन केन्द्रीय महासचिव नरेश रोकायाको दबाबपछि उनले प्रबिनलाई समर्थन गर्नुपर्ने अवस्था आइपरेको हो । सचिव प्रकाश संगठनको २४औँ महाधिवेशनमा नरेशकै प्यानलबाट महासचिव लड्ने योजनामा छन् । त्यसैले उनी नरेशको इच्छाविपरीत जान नसक्ने अवस्थामा छन् । शिलापत्रसँगको कुराकानीमा प्रकाशले आफू कसैको दबाबमा नरहेको र संगठनभित्र छलफल गरेर योग्य पात्र छनोट गर्ने बताए ।
पृथ्वीसुब्बा समूहका रमाकान्तलाई छोडेर प्रबिनलाई रोज्दा भोलि नेताहरूको सहयोग नपाउने डर प्रकाशलाई छ । त्यसैले उनले प्रबिन र रमाकान्त दुवैलाई मिलाएर लैजानुपर्छ । ‘दुवैलाई म दुवैतिर छु भन्ने पार्ने तर कसैको पक्षमा स्पष्ट नखुल्ने देख्छु । यसरी मान्छे मिलाउन उहाँ माहिर हुनुहुन्छ,’ अखिलका एक नेता भन्छन् ।
प्रकाशलाई अर्को नैतिक दबाब रमाकान्तलाई व्यवस्थापन गर्नुपर्ने छ । अखिलको २३औँ महाधिवेशनमा रमाकान्त स्थायी कमिटी लड्ने योजनामा थिए । त्यतिबेला प्रकाशले प्रदेश कमिटी हाँक्न एक जना अनुभवी चाहिने भएकाले प्रबिनलाई छोड्न आग्रह गरेका थिए । त्यसपछि रमाकान्तले चुनाव लडेनन् । उनी प्रदेश कमिटी अध्यक्ष लड्ने तयारीमा जुटे । स्थायी कमिटी सदस्यमा पराजित प्रबिन फेरि प्रदेश कमिटी लड्न पोखरा आइपुगेका छन् ।
सर्वसम्मत नभएको हकमा खगराज समूहबाट अध्यक्षको उम्मेद्वार बन्न सक्ने पात्र कास्कीका सुशन घिमिरे र महेन्द्र उपाध्याय हुन् । अखिलको केन्द्रीय महाधिवेशनमा पोखराबाट हिँड्दा केन्द्रीय सदस्य लड्ने घोषणा गरेका महेन्द्र नेताहरूको निर्णयअनुसार अन्तिममा स्थायी कमिटी लडेका थिए । महेन्द्र स्थायी कमिटी र सुशन केन्द्रीय सदस्य पराजित भएका थिए । चुनाव नै हुने परिस्थितिमा खगराज समूहबाट दुईमध्ये एक जना अध्यक्षको उम्मेद्वार बन्ने छन् ।
अर्का आकांक्षी सञ्जय पौडेल बैरागी पनि अध्यक्षबाट पछि नहट्ने पक्षमा छन् । संगठनमा निरन्तर क्रियाशील रहे पनि कार्यकारी पदमा कहिल्यै अवसर नपाएकाले यसपटक पाए सर्वसम्मत, नभए चुनाव नै लड्ने उनी बताउँछन् । ‘म कास्कीको सहसचिव भएँ । त्यतिबेला मभन्दामाथिको साथी कोही थिएनन् । त्यतिबेला पनि मलाई जिल्लाको जिम्मेवारी दिइएन,’ उनी भन्छन्, ‘फागुनको केन्द्रीय अधिवेशनमा पनि प्रदेशमा मान्छे चाहिन्छ भनेर म लडिनँ । अब यो अखिलमा मेरो अन्तिम दाबेदारी हो । जित–हार जे भए पनि लड्ने हो ।’
अहिले अखिलमा एक जना मात्र अध्यक्ष हुन्छन् । एमाले र माओवादी केन्द्र एकता हुनुअघिसम्म अनेरास्ववियुमा स्कुल र क्याम्पस जिल्ला कमिटी गरेर दुवै वटा कमिटी हुन्थ्यो, अध्यक्ष पनि दुई जना हुन्थे ।
२०७० सालमा विवेक देवकोटा क्याम्पस जिल्ला कमिटी र शेखर गौतम स्कुल जिल्ला कमिटीको अध्यक्ष थिए । शेखरको कमिटीको सहसचिव सञ्जय पौडेल बैरागी थिए । उपाध्यक्ष लक्ष्मण तिमिल्सिना पोखराका तत्कालीन मेयरको सचिवालयमा र सचिव राजेन्द्र बसौला वैदेशिक रोजगारीमा थिए । सहसचिव भएकाले त्यतिबेला अध्यक्ष हुने लाइनमा बैरागी भए पनि हुन पाएनन् । पछि एमाले माओवादीसँग मिल्यो, विवेक नेतृत्वमा आए ।
अखिलको गत फागुनको महाधिवेशनसम्म बैरागी खगराज अधिकारीको समूहमा थिए । त्यतिबेला स्थायी कमिटी लड्न खोज्दा यो समूहले उनलाई टिममा राखेन । त्यसपछि खगराज समूहसँग रूष्ट भए पनि उनी पृथ्वीसुब्बा समूहतिर खुलिसकेका छैनन् ।
चुनाव हुन्छ कि हुँदैन भन्ने अर्को मुख्य प्रश्न छ । केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज आशीर्वाद सुवेदी सर्वसम्मत गर्ने र पार्टीको हस्तक्षेप नरहने दाबी गर्छन् ।
संगठनको अन्य भूमिकामा नरहेको र महाधिवेशनमा पनि प्रदेश अध्यक्ष बन्न पछि हटेकाले पृथ्वीसुब्बा रमाकान्तलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । पृथ्वीसुब्बा समूहनिकट केन्द्रीय सचिव प्रकाश पौडेल प्रबिनलाई अध्यक्ष बनाउनुपर्ने केन्द्रीय महासचिवको दबाब खेपिरहेका छन् । पार्टी नेताले भनेको मानेर रमाकान्तलाई नै सहयोग गर्ने वा संगठन महासचिवले भनेअनुसार गर्ने भन्नेमा उनी अनिर्णित छन् । सर्वसम्मत बनाए पनि रमाकान्त कि प्रबिन कसको पक्षमा उभिने भन्ने अर्को संकट प्रकाशलाई छ ।
रमाकान्त पृथ्वीसुब्बा समूहको एक नम्बर प्राथमिकतामा छन् । प्रकाशले प्रबिनलाई समर्थन गर्दा खगराजनिकट विद्यार्थी समूहसँग उम्मेद्वार कसलाई बनाउने भन्ने समस्या छ । त्यसैले यो समूहले कास्कीका महेन्द्रलाई प्रतिनिधि बनाएर ल्याएको छ ।
अनेरास्ववियुको कोशी, मधेश, बागमती, लुम्बिनीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । गण्डकीले त्यसैलाई निरन्तरता दिन्छ वा क्रमभंग गर्छ त्यो निश्चित छैन ।
उपाध्यक्ष र सचिवमा क–कसको उम्मेद्वारी पर्छ निश्चित छैन । प्रदेश कमिटी सहसंयोजक सुशन घिमिरे र सुरज सापकोटा चुनाव भएको खण्डमा एउटै पदमा लड्न सक्ने सम्भावना छ । सर्वसम्मत भएको अवस्थामा यी दुईमध्ये एक जना उपाध्यक्ष र एक जना सचिव बन्न सक्छन् ।
उपाध्यक्षमा स्वीकार पोखरेल, केशव भुषाल, दुर्गानाथ लामिछाने, सचिवमा विश्वदर्शन पराजुली, अनिल कुँवर, किशोर सुवेदी, कोषाध्यक्षमा विक्रम क्षेत्री र कृति भट्टराई, सहसचिवमा रश्मी रोका, मोहनविक्रम पौडेल, विष्णु पौडेललगायत आकांक्षी छन् ।
एक कार्यकाल सदस्य नभएको व्यक्ति पदाधिकारी बन्न पाउने–नपाउने भन्ने प्रश्न विद्यार्थीमाझ छ । तर, प्रथम अधिवेशन भएकाले एक कार्यकाल सदस्य हुनैपर्ने बाध्यता नराख्ने तयारी प्रदेशका विद्यार्थी नेताहरूको छ । अध्यक्ष, उपाध्यक्ष तीन जनासम्म, सचिव एक जना, सहसचिव तीन जना गरेर बढीमा ९ जना पदाधिकारी रहने छन् । ५१ जनासम्म सदस्य निर्वाचित हुनेछन् । कति जनाको कमिटी बनाउने भन्ने निर्णय पनि सम्भवतः बन्द सत्रपछि खुल्ने छ ।
सक्रियलाई पाखा
अनेरास्ववियुले कास्कीमा गर्ने सबै गतिविधिमा सक्रिय भएर खटिनेमध्येका एक हुन्, सुन्दर बराल धड्कन । उनी उपाध्यक्ष लड्ने बुझेपछि प्रतिनिधि बन्नै रोकिएको छ । सुन्दर एमालेको गत असोजको प्रदेश अधिवेशनदेखि पृथ्वीसुब्बा समूहतिर सक्रिय छन् । उनलाई प्रतिनिधि आउन पृथ्वीसुब्बा समूहसँगै खगराजनिकट विद्यार्थीले रोक लगाएका हुन् ।
पोखरा महानगर कमिटी अध्यक्ष दुर्गानाथ (डीएन) लामिछानेले सुन्दरलाई प्रतिनिधि नलैजान कमिटी बाहिरको व्यक्तिलाई प्रतिनिधि नपठाउने निधो गरे । त्यसपछि उनले पाँच जना कमिटीकै पदाधिकारी प्रतिनिधि पठाए । पृथ्वीसुब्बा समूहनिकट उनले सुन्दर प्रतिनिधि गएमा आफू पदाधिकारी बन्न नपाउने भएकाले रोकेको अखिल स्रोत बताउँछ । ‘दुई जना माधव नेपाल ब्याकग्राउण्डका हुन् । पृथ्वीनारायण क्याम्पस पढ्दा भित्रभित्रै प्रतिस्पर्धा हुन थाल्यो,’ ती नेता भन्छन्, ‘सुन्दर आफूभन्दा माथि जान्छ कि भनेर प्रतिनिधि नै जान दिइएन ।’
दुर्गानाथ आफैँ उपाध्यक्ष बन्न चाहेका छन् । महानगर कमिटीको कार्यकाल सकिन लागेको र सुन्दर प्रतिनिधि गएपछि आफूले अवसर नपाउने भएपछि उनले प्रतिनिधि बन्ने बाटो नै बन्द गरिदिएका हुन् । उनको यो निर्णयले पृथ्वीसुब्बा समूहभित्रै विद्यार्थी विभाजित बनेको देखाउँछ ।
सुन्दरलाई कास्की जिल्ला कमिटीबाट प्रतिनिधि बन्ने सम्भावना निकै कम थियो । कास्की जिल्ला अध्यक्ष खगराज अधिकारीनिकट सन्तोष पोखरेल छन् । त्यसैले उनले आफ्नै समूहका महेन्द्र उपाध्यायलाई प्रतिनिधि बनाएर पठाउँदा सुन्दरलाई छोडेका छन् ।
स्रोतकाअनुसार प्रतिनिधि पठाउन गत मंगलबार बसेको बैठकमा उपाध्यक्ष कुशल बराल र सचिव विजय भुजेलले सुन्दरलाई प्रतिनिधि पठाउनुपर्ने प्रस्ताव गरेका थिए । सचिव भुजेलले आफूल प्रतिनिधि नगए पनि बराललाई पठाउनुपर्ने बताएका थिए । तर, अध्यक्ष पोखरेलले बैठकमा पनि नआएको कारण देखाउँदै सुन्दरलाई प्रतिनिधि नबनाई आफूसहित पाँच जनाको नाम पठाउने निर्णय गरेका थिए ।
सुन्दरलाई प्रतिनिधि नल्याउन केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज आशीर्वाद सुवेदीले पोखरेललाई निर्देशन दिएका थिए । सुवेदीले सुन्दरलाई ‘तिमीले पहिला मलाई सहयोग गरेजस्तो लाग्दैन, पार्टीको प्रदेश अधिवेशनमा पनि अर्को पक्षतिर लाग्यौ’ भनेर प्रतिनिधि जान नदिने संकेतसहित फोन वार्ता गरेको स्रोत बताउँछ । कुनै हालतमा प्रतिनिधि बन्न नपाउने बुझेपछि उनी कास्की जिल्ला कमिटीको प्रतिनिधि छनोट गर्ने बैठकमा गएनन् ।
सुन्दर भने संगठनभित्रको विषय बाहिर बोल्न उपयुक्त नहुने बताउँछन् । ‘म संगठन भनेपछि सधैँ हिँडिरहेँ । अहिले साथीहरूले मूल्यांकन गर्नुपर्ने हो,’ उनले शिलापत्रसँग भने, ‘संगठनभित्र प्रतिस्पर्धा हुन्छ । मैले बाहिर बोल्दै हिँड्नु हुँदैन ।’
सक्रिय व्यक्तिलाई घेराबन्दी भएको भन्दै संगठनभित्र व्यापक असन्तुष्टि छ । स्थायी कमिटी सदस्य कास्कीकी स्मृति बरालले सुन्दरलाई प्रतिनिधि रोकेकोमा क्षमता भएकालाई खरानी बनाउने कोसिस भएको भन्दै असन्तुष्टि जनाएकी छन् । ‘अनेरास्ववियु गण्डकीलाई पार्टीको भट्टी बनाउन बन्द गरौँ । जहाँ क्षमता भएका मान्छेलाई जलाएर खरानी बनाउने कोसिस भैइरहेको छ । नेकपा एमालेको होइन, अनेरास्ववियुको अधिवेशन हो यो,’ उनले फेसबुकमा लेखेकी छन्, ‘यो कुरामा सबैजना स्पष्ट हुनुहोला ! आउँदो पुस्ताको भविष्य जोडिएको छ । यो अधिवेशनसँग म व्यक्तिगत रुपमा पतन नै हुन परेनी गलत पात्र बोक्नेसँग उभिन अब सक्दिनँ ।’
अधिवेशनको पोखरा बगरस्थित पृथ्वीनारायण क्याम्पसमा शुक्रबार उद्घाटन हुँदैछ । ११ जिल्लाबाट करिब ३ सय जना प्रतिनिधि अधिवेशनमा भाग लिन पोखरा आउँदै छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० २०:४५