कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाललाई भेट्न आएकाहरू उनको कार्यकक्षबाहिर प्रतीक्षारत थिए । ‘मन्त्रीज्यू कति बेला आउनुहुन्छ ?,’ सचिवालयका कर्मचारीलाई सेवाग्राहीले सोध्दै थिए । यत्तिकैमा नजिकै कुकरमा सिट्टी लाग्यो । अर्थात् खाना पाक्दै थियो । मंसिर १७ गते बिहान ११ः३० को घटना हो यो । मन्त्रीको सचिवालयसँगै खाना पकाउने कोठा छ, जहाँ बिहान कार्यालय सुरु हुनासाथ खानेकुरा पाक्न सुरु हुन्छ ।
मन्त्रीको कार्यकक्ष रहेको पहिलो तलामा मात्र दुई भान्सा कोठा छन्, जहाँ हरेक दिन कार्यालय समयमा खानेकुरा पाक्छ । यही मन्त्रालयको दोस्रो तलामा सचिवको कार्यकक्ष छ । यो तलामा पनि दुई ठाउँमा भान्सा छन् । तेस्रो तलामा पनि खाना पाक्छ । यो मन्त्रालयमा दुई जना सचिव छन् । उनीहरूका लागि खाने कुरा पकाउन किचेनको व्यवस्था छ । त्यसैले अफिस समयमा पनि तलापिच्छे कुकरमा सिट्टी लागिरहेको हुन्छ । ‘झ्याइँय’ पारेको आवाज आइरहेको हुन्छ । खानेकुराको बास्ना त तलैपिच्छे आउने नै भयो ।
यो मन्त्रालयको भुईं तलाको पश्चिमतिर कुनामा चमेनागृह छ । यो चमेनागृह चालक र केही कर्मचारीहरूका लागि मात्र प्रयोगमा छ । मन्त्री, सचिव, सहसचिवहरूका लागि निजी किचेनकै व्यवस्था भएपछि किन यो चमेनागृह प्रयोग हुन्थ्यो र ? वर्गीय समानताका लागि संघर्ष गरेका कम्युनिस्ट नेताले सम्हालेको यो मन्त्रालयमा देखिएको चरम विभेदको नमुना मात्र हो यो । र, त्यही विभेदमा रमाएका उनी कम्युनिस्टबाट स्खलित भएको गतिलो उदाहरण पनि हो ।
‘नेतामा नैतिकता चाहिन्छ’ र ‘सदाचार’ हुनुपर्छ भनी निरन्तर फेसबुकमा लेख्ने र भाषण गर्ने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेतृत्व गरिरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको अवस्था झन् उदेकलाग्दो छ । मन्त्री, सचिव र सहसचिव सबैका निजी भान्सा कोठा छन् । सोधपुछ कक्षसहित एक सहसचिवको कार्यकक्ष रहेको भुईंतलाको उत्तरतिर एउटा भान्सा कोठा छ, जहाँ १० बज्न नपाउँदै खानेकुरा पाक्न सुरु हुन्छ । मन्त्रीको कार्यकक्ष रहेको पहिलो तलामा दुई भान्सा कोठा छन् । एक मन्त्रीको सचिवालय भित्र, अर्को सहसचिवको कार्यकक्ष नजिकै भवनको उत्तरतिर कुनामा ।
दोस्रो तलामा सचिवको कार्यकक्ष छ । यो तलामा पनि दुई भान्सा कोठा छन् । तेस्रो तलाको पनि हालत उस्तै छ । अर्थात् यो मन्त्रालय जति तलाको छ, हरेकमा भान्सा कोठा छन् । यही भवनमा वन मन्त्रालयले प्रयोग गरेको तलामा पनि छुट्टै भान्सा कोठा छ । भुईंदेखि माथिल्लो तलासम्म जताततै कार्यालय समयमा खानेकुरा पाकिरहेको हुन्छ । लाग्छ, यो मन्त्रालयमा पाकशाला अर्थात् खानेकुरा पकाउने प्रतिस्पर्धा भइरहेको छ । कुनै समय यस्तो पनि आउँछ, सबै तलामा एकैपटक कुकरमा सिट्टी लाग्छ, एकैपटक तरकारी भुटेको आवाज आउँछ ।
तर, ती खानेकुरा खाने मन्त्री, सचिव र सहसचिवहरूले मात्र हो । तलापिच्छे सिट्टी लगाएर खानेकुरा पाक्दा पनि चालकदेखि उपसचिवस्तरका कर्मचारीले त्यहाँ मुस्किलले खान पाउँछन् । मन्त्री, सचिव र सहसचिवको सचिवालयमा बसेकाहरूले भने यी भान्सामा पाकेको खान पाउने रहेछ्न । मन्त्री धनराज गुरुङको सदाचार र समानतालाई यी भान्सा कोठाहरूले गिज्याइरहेका छन् । र, प्रश्न उठ्छ तलापिच्छे भान्सा कोठा हुनुपर्ने कारण के हो ?
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भवन पाँच तलाको छ । यो मन्त्रालयमा पनि तलापिच्छे भान्सा कोठा छन् । मन्त्री, सचिव हुँदै हाकिमहरूका लागि तलापिच्छे सिट्टी लागिरहेकै हुन्छ । भुईंतलामा भएको क्यान्टिन चालक र अरु कर्मचारीका लागि मात्र हो । पाँचै तला रहेको वन तथा वातावरण मन्त्रालयमा पनि उस्तै हालत छ । हरेक तलामा भान्सा कोठा छ । पहिलो तलामा मन्त्रीको कार्यकक्ष छ, दोस्रोमा सचिवको । मन्त्रालयको पूर्वतिर चमेनागृह छ । तर, त्यो चमेनागृहले उनै तल्लो तहका कर्मचारीलाई सेवा दिइरहेको छ ।
भुईं तलासहित पाँचौँ तलामा सबैमा भान्सा भएको अर्को मन्त्रालय हो, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । यो मन्त्रालयको भुईं तलामा एउटा भान्सा कोठा छ । पहिलो तलामा मन्त्रीका लागि एक र हाकिमका लागि एक भान्सा कोठा छ । दोस्रो, तलामा सचिवका लागि एक र अर्का हाकिमलाई एक गरी दुई भान्सा कोठा छ । तेस्रो र चौथो तलामा पनि भान्सा कोठा छ । हरेकमा कार्यालय समयमा खाना पाक्छ ।


चर्चामा आइरहने, ‘केही गर्छु’ भनी गफ हाँक्ने सुदन किराँतीले नेतृत्व गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि वर्गीय विभेद संस्थागत छ । र, यो विभेदका संरक्षक उनै किराँती हुन । उनको कार्यकक्षबाहिर पनि कार्यालय समयमा कुकरमा सिट्टी लागिरहेको हुन्छ, खानेकुरा पाकिरहेको हुन्छ । उनी र राज्यमन्त्रीको कार्यकक्ष रहेको पहिलो तलाको भान्सा कोठामा पाकेको खाना साधारण कर्मचारीले खान पाउँदैनन् । मन्त्री, हाकिम र सचिवालयका कर्मचारीलाई हो, यसरी भान्सा कोठामा सिट्टी लगाएर खानेकुरा पाक्ने । दोस्रो तलामा सचिवको कार्यकक्ष छ । यो तलामा पनि दुई भान्सा कोठा छन् । हरेक तलामा एक भान्सा कोठा अनिवार्य नै छ, यो मन्त्रालयमा । भुईं तलामा रहेको चमेनागृह चालक, साधारण कर्मचारी र सेवाग्राहीका लागि हो ।
के मन्त्री, सचिव, सहसचिवहरू अरु कर्मचारी र कार्यकर्ताहरू भेटिने क्यान्टिनमा जान डराएका हुन् ? कि सँगै खाजा खाँदा स्तर, शासकीय शैलीमा परिवर्तन आउँछ, असर गर्छ, पदको इज्जत जान्छ ? के गोप्य कोठामा लुकेरै खानुपर्छ ?
भौतिक पूर्वाधार तथा खानेपानी मन्त्रालय रहेको भवनमा पनि तलापिच्छे भान्सा कोठा छन् । मन्त्री र सचिवको कार्यकक्षमा थप भान्सा कोठा रहेका छन् । हरेक तलामा यो भवनमा पनि खाना पाक्छ । मन्त्री र सचिव रहने तलामा थप भान्सा कोठा हुने हुँदा त्यहीअनुसार, थप सिट्टी लागिरहेको हुन्छ । यो भवनमा दुई मन्त्री र दुई सचिवको कार्यकक्ष छ । यो भवनको भुईं तलामा चमेनागृह छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि तलापिच्छे कुकरमा सिट्टी लाग्छ । अर्थात् सबै तलामा भान्सा कोठा छन् । भवनको पूर्वतिर बाहिर चमेनागृह छ । यो चमेनागृह पनि मन्त्री, सचिव, सहसचिवहरूका लागि होइन । शिक्षा, श्रम, युवा, महिला, रक्षा, ऊर्जा, उद्योगलगायत सिंहदरबारभित्र रहेका मन्त्रालयहरूका तलापिच्छे खानेकुरा पाक्छ, केवल मन्त्री र हाकिमहरूका लागि ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि प्रधानमन्त्री, सल्लाहकार, सचिवहरूको कार्यकक्षमा चिया पकाउने, चाउचाउ उमाल्ने, सामान्य खाजा पकाउने व्यवस्था छ । अर्थात् यहाँ पनि तला र कुनाहरूमा भान्साकक्ष छन् । अर्थ मन्त्रालयमा पनि उस्तै छ । मन्त्री, सचिव, महाशाखा प्रमुखहरूलाई चिया, फलफूल, सामान्य खाजा खुवाउने कक्षहरू छन् । परराष्ट्र र गृह मन्त्रालयमा पनि यो सुविधा छ, मन्त्री र हाकिमहरूका लागि ।
केही मन्त्रालयबाहेक हरेक मन्त्रालयका भुईं तलामा चमेनागृह छन्, अर्थ, ऊर्जा, सञ्चार र वन मन्त्रालयको भवनबाहिर चमेनागृह छन् । सेन्टर क्यान्टिनको रूपमा सञ्चार मन्त्रालय र महिला मन्त्रालयको बीचमा ठूलो चमेनागृह सञ्चालनमा छ । तर, पनि मन्त्रालयका तला र कोठामा किन खाना पाकिरहेको छ ?
के मन्त्री, सचिव, सहसचिवहरू अरु कर्मचारी र कार्यकर्ताहरू भेटिने क्यान्टिनमा जान डराएका हुन् ? कि सँगै खाजा खाँदा स्तर, शासकीय शैलीमा परिवर्तन आउँछ, असर गर्छ, पदको इज्जत जान्छ ? के गोप्य कोठामा लुकेरै खानुपर्छ ? मन्त्री हुनुअघि क्यान्टिनमा भेटिने, कार्यकर्तासँग घण्टौँ गफ दिने नेता मन्त्री हुनासाथ एकान्तमा बसेर खाजा खानुपर्ने अवस्थामा किन पुग्छन् ?
सबै सहसचिवले जिम्मेवारी पाउँदैनन् । तोकिएको मन्त्रालयमा गएपछि पनि कार्यकक्ष पाउन समय लाग्छ । कति त अतिरिक्तमा पनि पर्छन् । त्यो बेला ती सहसचिवहरू सेन्टर क्यान्टिन, मन्त्रालयका चमेनागृह, चिया खाने ठाउँहरूमा भेटिन्छन् । तर, तिनै सहसचिव कार्यकक्ष पाउनासाथ, सचिव हुनासाथ किन लुकेर खाजा जानुपर्ने, कार्यकक्षबाहिर भान्सा कोठा हुनुपर्ने अवस्थामा किन पुग्छन् ?
मन्त्रालयमा कुकरमा सिट्टी लागेको, तरकारी भुटेको, चाउचाउ उमालेको देखेर एक जना विदेशी साथीले एकपटक मसँग सोधेका पनि थिए, ‘किन यसरी जताततै खानेकुरा पाक्छ ? के भोकमरी छ र नेपालमा ?’ खाजा खान हुन्न भन्ने सवाल नै होइन । खानेकुरा कसरी खाइरहेका छन् हाम्रा प्रशासकहरूले भन्ने सवाल हो ।
हरेक तला र कुना काप्चामा भान्सा कोठा बनाउनु के जायज हो ? मन्त्री, सचिव र केही सहसचिवहरूका लागि त्यसरी छुट्टै भान्सा कोठा चाहिन्छ र ? अरु कर्मचारीहरू क्यान्टिनमा गएर खाजा खाएजसरी उनीहरूले खान मिल्दैन ? यसरी कुकरमा सिट्टी लाग्दा, तरकारी भुट्दा के कार्यकक्ष, कार्यकक्षजस्तो मात्र रहेको छ र ? मन्त्रालयहरूमा आउने खाना पाकेको बास्नाले के कामलाई सहज बनाएको छ र ? कि अरु कर्मचारीभन्दा विशेष दर्जा, शैलीका लागि यो स्तरमा भान्सा कोठाहरू निर्माण गरिएको हो ? हेर्दा सामान्य परिघटनाले समाजमा गहिरो विभेदको खाडल सिर्जना गरिरहेको पो छ कि ? यसतर्फ प्रशासकहरूले ध्यान दिनुपर्छ कि नाइँ ?
अन्तर्राष्ट्रिय मिसन, संस्थाहरूमा जागिर खान गएका सहसचिव, सचिवहरूले के त्यहाँ पनि यस्तै शैली अपनाउन पाउँछन् र ? त्यहाँ लाइन लागेर क्यान्टिनमा खाजा खाएको कुरा किन आफ्नो देश, आफ्नो कार्यकक्षमा बिर्सन्छन् ? खाजा, पानी, चिया खान पनि गोप्य कोठा, गोप्य भान्सा चाहिने अवस्था आउनु, ल्याउनु आफूलाई पनि प्रश्न उठ्ने अवस्था हो भनेर कहिले बुझ्छन् प्रशासकहरूले ?
वर्गीय समानताका लागि ‘जनयुद्ध’ लडेका कम्युनिस्ट मन्त्रीहरूले नै किन सिंहदरबारमा विभेदको बिउ रोपिरहेका छन् । किन विभेदलाई संस्थागत गरिरहेका छन् । बिहान कार्यालयमा आएपछि विभेदको बिउ रोप्नेहरूले कसरी समानताको नीति, कार्यक्रम र योजनाहरू बनाउँछन् होला । श्रेणीविहीन, ज्यालादारी, खरिदार, सुब्बा, अधिकृत, उपसचिवस्तरका कर्मचारीसँग बसेर खाजा खान पनि नहुने अवस्थामा पुग्ने मन्त्रीहरूले के जनताका लागि काम गर्छन् ? जनताले भोगेका विभेद, हेला, दुर्व्यवहार, हिंसालाई आत्मसात् गरेर कार्यक्रम, योजना बनाउन सक्छन् ? ‘मेरो कार्यकक्षमा छुट्टै भान्सा कोठा चाहिन्न, मन्त्रालयको क्यान्टिनमा सबैले खानुपर्छ,’ भन्ने कुनै मन्त्री र सचिव सुन्नुभएको छ ?
मन्त्रालय भनेको काम गर्ने थलो हो । खानका लागि एक क्यान्टिन भए हुन्छ । त्यही क्यान्टिनमा सबैले खान मिल्छ । के मन्त्री र सचिवको घरमा छुट्टाछुट्टै भान्सा छ त ? घरमा एक परिवार एक भान्सा हुन हुने हो भने मन्त्रालय पनि त एक परिवार हो । एउटा क्यान्टिन भएर नहुने हो ? कोठाकोठामा भान्सा चाहिने भनेको आफ्नो काम र टिमसँग विश्वास नभएको होइन ? परिवार ठानेको भए के एकैठाउँमा खान सकिँदैन ? के यो विभेद होइन ? रैती र शासक यस्तै घटनाहरूले होइन र निर्धारण गर्ने ? बेलैमा रोजौँ, विभेदकारी हुने कि जनताको सेवक हुने ? तलापिच्छे लाग्ने कुकरका सिट्टीहरूले मन्त्री, सचिवहरूलाई जनताका सेवक होइन, विभेदका मतियार बनाउन भूमिका खेलिरहेको छ । र, प्रश्न उठिरहेको छ सिंहदरबार कार्यालय हो कि भान्साघर ?
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० ०८:०१