पहिचानवादीको विरोधका बाबजुद नेकपा (एमाले)को मध्यपहाडी लोकमार्ग संकल्प यात्रा मंगलबार कोशी प्रदेश प्रवेश गरेको छ । पहिचानवादीले ओलीको यात्रामा अवरोध गर्न प्रयास गरिरहेका छन् ।
कोशीमा मात्र होइन, एमालेको यो संकल्प यात्राको क्रममा कास्कीमा पनि विरोध र नाराबाजी भएको थियो । कास्की छोडेर लमजुङ जाने क्रममा गत २२ मंसिर बिहान ११ बजेतिर अध्यक्ष केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको थियो । यो घटनाबारे संकल्प यात्रामा सहभागी कास्कीका धेरै एमाले कार्यकर्तालाई जानकारी छैन ।
पोखरा महानगरपालिका–३१ बेगनास तालका युवाले ‘ओली बा मुर्दावाद’ भन्दै कालोझण्डा देखाएका थिए । ओलीविरुद्ध नाराबाजी गर्दै किन कालोझण्डा देखाइयो ? केही दिन पुरानो भए पनि घटनाबारे सुनेपछि हामीले मंगलबार कालाेझण्डा देखाउने सुरेश लामिछानेलाई सम्पर्क गरेका थियौं ।
शीर्ष नेतृत्वले पैदा गरेको नैरश्यता, गैरउत्पादनमूलक खर्चालु यात्रा र आफ्नो ठाउँको सडकको दुरावस्था देखेर असन्तुष्टि पोखेको उनले सुनाए । ‘खगराजजी यतै गाउँतिर बस्ने भएको भए २४ घण्टा यही बाटो हिँड्नपथ्र्यो,’ लामिछानेले भने, ‘केपी ओली आउने भएपछि बल्ल खाल्डो पुरियो । त्यो त राम्रो भएन नि । उहाँको आँखामा पट्टी बाँधेर लैजान खोजियो । राम्रो नलागेर नै विरोध गरियो । राम्रो भएको भए काँधमा हालेर जिल्ला कटाउन सक्थेँ ।’
कालो झण्डा देखाइएको ठाउँ एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीको वडा हो । शीर्ष नेताकै वडामा ओलीलाई कालोझण्डा देखाइयो यो एउटा विषय भयो । आश्चर्य के छ भने एमालेका कुनैबेलाका कट्टर कार्यकर्ता यो गतिविधिमा संलग्न थिए । पोखरा–३१ का सुरेश लामिछाने गत वर्ष ६ मंसिरसम्म नेकपा एमालेका सक्रिय कार्यकर्ता थिए । त्यसयता उनले आफ्नो ८ वर्ष पुरानो पार्टी सदस्यता परित्याग गरिसकेका छन् ।
लामिछानेले भनेको सडक बेगनासताल–भोर्लेटार सडकखण्ड हो । यो सडकको निर्माण कार्य अलपत्र छ । केपी ओली कास्की हुँदै लमजुङ जान यही सडकखण्ड प्रयोग गरेका थिए । ओलीले यात्रा गर्ने भएपछि यात्राको दुई दिनअघि खाल्डा पुरिएको थियो ।
केपी ओली कास्की हुँदै लमजुङ जानु तीन दिनअघि बाटोको खाल्डो पुरिँदै । लामिछाने एमालेको भातृ संगठन रिटर्नी फेडेरेसनको पोखरा महानगरपालिकाका संस्थापक अध्यक्ष हुन् । उनी पार्टीको वडा कमिटीमा पनि गोलबन्द थिए । लामिछाने होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका महासचिव पनि हुन् । उनी मलेसिया, दुबई र कतारमा ७ वर्षसम्म काम गरेर फर्किएका हुन् ।
बेगनास ताल बसपार्कबाट ३ सय मिटरमाथि लामिछानेको रेष्टुरेन्ट छ । ओलीलाई उनीसहितका युवाले त्यहीँ अगाडि उभिएर कालोझण्डा देखाएका थिए । त्यो देखेपछि ओली सवार गाडीभन्दा अघि हिँडेका युवा संघका युवाहरू कारबाट ओर्लिएका थिए । उनीहरूले सम्झाइबुझाइ गरे पनि विरोधमा उत्रिएकाहरू रोकिएनन् । ‘हामीले पनि हाम्रो कुरा राख्न पाउनुपर्छ । चित्त नबुझे विरोध गर्न पाइन्छ,’ विरोधमा उत्रिएकाहरूले भने, ‘समृद्धिको लागि यात्रा भनेर हिँड्नुभएको छ । खाल्डो समृद्धि हो ?’
यति सुनेपछि युवा संघका युवाहरू गाडीमा बसेर अघि बढेका थिए । त्यसपछि उनीहरूले केपी ओलीविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाए । कालोझण्डा देखाएको थाहा पाएपछि प्रहरी पुगेको थियो । प्रहरीले सम्झाएर छोड्यो । ‘ओलीले देख्नुभयो भएन थाहा भएन । उहाँको गाडीमा कालो सिसा थियो । अगाडिको गाडीमा हिँड्नेले थाहा पाएर सायद खबर गरिसकेका थिए,’ लामिछानेले भने, ‘प्रहरी पछि आएको थियो । गिरफ्तार त गरेन ।’
यही क्षेत्रबाट गत वर्ष मंसिरमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा (कास्की १ बाट) एमाले जिल्ला अध्यक्ष मनबहादुर गुरूङ विजयी भएका थिए । २२ मंसिरमा युवाहरूले कालोझण्डा देखाउँदा मनबहादुर रातो कार चलाएर अन्य गाडीभन्दा अघि हिँडेका थिए । युवाहरूले नाराबाजी गरेको भिडियो खिचेर उनी त्यहाँबाट अघि बढेका थिए । पोखरा–३१ कास्की १ (क) मा पर्छ जुन खगराज अधिकारी निर्वाचित क्षेत्र हो । एमालेको प्रभाव क्षेत्रको यो सडकको अवस्था ५ वर्षदेखि नाजुक छ ।
पोखराका सडकमा खाल्डै–खाल्डा, हैरान पोखरेली
पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलकाअनुसार खगराज अधिकारी संघीय सांसद हुँदा सांसद विकास कोषमार्फत यो बाटोलाई ५ करोड रूपैयाँ हालेका थिए । तर, ठेकेदारले काम नगरेपछि यो सडक अलपत्र बनेको हो । बेगनासतालदेखि भञ्ज्याङ भन्ने ठाउँसम्म सडकको अवस्था नाजुक रहेको वडाध्यक्ष कँडेलले सुनाए । यसको दुरी करिब साढे ३ किलोमिटर छ ।
संघ र प्रदेश सरकारका निकायसम्म पुगेर आफूले पटकपटक बजेट पारिदिन आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए । ‘ठेकेदारलाई भनेपछि अघिल्लो वर्ष अलिअलि काम गरेका थिए । टेण्डर परेको ठाउँमा हामीले काम गर्न पनि नपाइने रहेछ,’ उनले भने, ‘ठेकेदारले आफूले पैसा नपाएको भनेका छन् रे । काम गर्न त आउनुपर्ने हो ।’
बेगनासताल–भोर्लेटार जाने मोटर बाटोको ट्रयाक खुलेको ३६ वर्ष भइसकेको छ । तत्कालीन खाद्य संस्थानमार्फत खोलिएको ट्रयाक स्तरोन्नतिपछि २०६५ सालमा सडक डिभिजन कार्यालय पोखराले कालोपत्रे गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १८:४७