मुनलाल नेपाली जसका एक्ला छोरा थिए, नवराज विक । जो कथित् माथिल्लो जातकी किशोरीसँग प्रेम गरेकै कारण १० जेठ २०७७ मा अत्यन्त अमानवीय ढंगले मारिएका थिए । उनीसँगै ६ युवालाई लखेटी–लेखेटी भेरीमा बगाइएको थियो ।
त्यो कहालीलाग्दो घटनाका तीन वर्ष मुनलालले न्यायका लागि धेरै दौडधुप गरे । भेरी तरेर पेसी थाम्न रुकुम धाए । अदालतको इजलासमा उभिएर बयान दिए । साक्षी प्रमाण जुटाए । सिंगो संसारले छर्लङ्ग देखेको त्यो बर्बर हत्यामा न्याय पाउन भने उनी ढुक्क थिएनन् । ‘विपक्षी ठूला जातका थिए । उनीहरूको नेतामन्त्रीसँग पहुँच थियो,’ मुनलालले शिलापत्रसँग भने, ‘मारेको हैन, भेरीले बगाएको भनेर ठूलै नेताले संसदमै भनेका थिए । त्यसैले ढुक्क हुन सकेको थिइनँ ।’
भेरीपारि जाजरकोटमा भूकम्पबाट भत्किएको घरमा सुत्केरी श्रीमती छाडेर मुनलाल नेपाली मंगलबार जिल्ला अदालत रुकुमको फैसला सुन्न मुसिकोट पुगेका थिए । अदालतले पीडितको पक्षमा फैसला गर्यो । त्यो बेला उनलाई लाग्यो, समाजमा जतिसुकै भेदभाव सहनुपरे पनि अदालतले विभेद गरेन । भन्छन्, ‘छोराहरू त अब फर्केर आउन्नन् । तर, तिनको आत्माले शान्ति पाउने गरी अदालतले न्याय दियो ।’

एक्लो छोरा गुमाएपछि मुनलाल विक्षिप्त भए । बुढेसकालको सहारा गुमाएको ठाने । आफन्त र परिवारका सदस्यले अर्को सन्तान जन्माउन कर गर्न थाले । एक्लो छोरा नवराज गुमाएको साढे दुई वर्षपछि उनी फेरि बुवा बने । चार महिनाअघि मुनलाल दम्पतीले छोरा जन्माएका छन् ।
‘भूकम्पले घर भत्काएको छ, सुत्केरी श्रीमतीको स्याहार गर्नु छ,’ मुनलाल भने, ‘एउटा ठूलो पीडामा न्याय पायौँ । मनमा शान्ति मिल्यो । अब यता गएर बस्ने बास र खाने गाँसको व्यवस्थामा लाग्छु ।’
बिहे गर्ने भन्दै ठकुरी जातकी बुहारी ल्याउन गएको छोरा ज्युँदो नरहेपछि निःसन्तान रहने पिरमा थिए उनी । अर्को सन्तान जन्मिएपछि उनको परिवारलाई खुसी मिलेको छ । त्रिपालमुनिको बासमा रहेकी सुत्केरी श्रीमती र नाबालक छोराको स्वास्थ्यको चिन्ता मुनलालले बारम्बार गरिरहे ।
रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा साढे तीन वर्षअघि ६ जना युवाहरूले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोती गाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । अन्तरजातीय प्रेम विवाह गर्न खोजेका नवराजलाई किशोरीका आफन्त र छरछिमेकले लखेटेर आक्रमण गरेका थिए । सोही क्रममा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।
जाजरकोटको भेरी नगरपालिका– ४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका– ११ का लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिकाका गणेश बुढामगर र रुकुम पश्चिमको चौरजहारीका टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव घटनास्थलभन्दा तल भेरी नदी किनारमै भेटिएको थियो ।
रुकुम जिल्ला अदालतले अभियुक्त ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला सुनायो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त घटनामा संलग्न २४ जनालाई जन्मकैदको फैसला गरेको छ भने जातीय छुवाछुततर्फ थप दुई वर्ष कैद र ५० हजार जरिवानासमेत तोकेको छ ।
त्यसैगरी, मृतक नवराजकी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ । अदालतले दोषी ठहर भएकाहरूबाट जनही ४० हजार क्षतिपूर्ति असुल गरेर मृतकका परिवारलाई दामासाहीले उपलब्ध गराउनसमेत आदेश दिएको छ ।
उल्टिने र आममाफीको चिन्ता
जिल्ला अदालतको फैसलाले खुसी पीडित परिवार कानुनका नौ सिङ समाएर माथिल्ला अदालतबाट न्याय उल्टिने त हैन भन्ने चिन्ता भने गरिरहेका छन् । अर्को चिन्ता भनेको राजनीतिक पहुँच हुने अपराधीलाई राष्ट्रपतिबाट आममाफी दिलाउने प्रवृत्तिको छ । ‘हाम्रो पहुँच छैन । न्याय उल्ट्याउने हुन् कि माफी दिलाउने हुन् भन्ने पिर त छँदै छ,’ मुनलालले भने ।
पीडितलाई न्याय दिएको भन्दै बुधबार पीडित परिवारले रुकुम सदरमुकाममा अदालतलाई धन्यवाद र्याली निकाले । उनीहरूले अदालतको ढोकामा फूल चढाएर ढोगे । ‘छोरा मरे, न्याय मरेन’ भन्दै खुसी व्यक्त गरेर जाजरकोट घर फर्किएका छन् ।
तीन वर्षदेखि न्यायको संघर्ष गर्दै आएका आएकी भेरी नगरपालिका– ११, मटेलाका मृतक गोविन्द शाहीकी आमा भिमीकुमारीले अदालतको फैसलापछि न्यायको अनूभूति भएको बताइन् । अदालतको फैसलाबाट आफूहरू सन्तुष्ट रहेको उल्लेख गर्दै शाहीले भनिन्, ‘यति ठूलो अन्याय हुँदा पनि न्याय नपाइने हो कि भन्ने चिन्ता थियो । अदालतले न्याय दियो । त्यसैमा खुसी छौँ ।’ गोविन्द नवराजका साथी थिए ।

फैसलापछि बुधबार मुसिकोटमा पीडित परिवारले निकालेको र्यालीका सहभागीले जातकै कारण कोही–कसैले ज्यान गुमाउनु नपरोस् भन्दै कामना गरे । उनीहरूले ‘छोरा मरो, न्याय मरेन’, ‘सकियो अब भन्ने बात, अदालतलाई धन्यवाद’, ‘न्याय पाए आमाले, शान्ति पाए आत्माले’, ‘भाइ बगाउने भेरीहरू, नबगाउनु फेरि अरु’ जस्ता मार्मिक नारा लगाएका थिए ।
सो घटनामा ज्यान गुमाएका गणेश बुढाका बुवा पदमले न्यायको जित भएको बताए । तर, पुनरावेदन गर्दा विभिन्न बहानामा दोषीहरू छोडिने हो कि भन्दै चिन्ता व्यक्त गरे । ‘गणतन्त्र दिवस, संविधान दिवसलगायतमा आममाफी दिने प्रचलन छ, यसमा यिनै दोषीहरू पर्ने हुन् कि भन्ने चिन्ता लागेको छ,’ बुढाले भने ।
र, याे पनि
'छोरा मरे, न्याय मरेन' भन्दै अदालतको ढोकामा पीडितले चढाए फूल (फोटो/भिडियाे)
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १९:५४