झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रामा निस्केको एमाले मध्य नेपाल आइपुगेको छ । आज गण्डकी प्रवेश गर्ने एमाले बागमती हुँदै २६ मंसिरमा कोशी प्रदेशमा प्रवेश गर्दैछ । मध्य पहाडी राजमार्गको एमाले यात्रा कोशीमा भने केही सकस हुने सम्भावना देखिँदैछ । हुन त, एमालेकाे पकड बलियाे भएकाे प्रदेश हो कोशी । तर, त्यही पकड क्षेत्रमै प्रतिकारकाे सामना गर्नुपर्ने संकेत देखिएकाे छ । प्रदेशको नामकरणमा देखिएको विवादले एमालेविरुद्ध केही पहिचान पक्षधर नेता तथा सामाजिक संघसंस्थाहरू विरोधमा छन् । र एमालेकाे कार्यक्रमसँग जुध्ने गरी उनीहरूले कार्यक्रम पनि तय गरेका छन् ।
संकल्प यात्रा सुरु गर्नु ठीकअघि १० मंसिरमा एमाले सचिव योगेश भट्टराईमाथि पहिचान पक्षधर आक्रमणमै उत्रिए । १० मंसिरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा नेकपा एमालेले चाडबाडको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । पार्टीको कार्यक्रमका लागि गृहजिल्ला पुगेका एमाले सचिव भट्टराईलाई कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले निसाना बनाए । कोशी नामकरणविरुद्धको आन्दोलनको विपक्षमा बोलेको भन्दै भट्टराईको कार्यक्रममा लफडा गर्दै आएको पहिचानवादी संगठनहरू ढुङ्गामुढामै उत्रिए ।
भट्टराई सवार गाडीमा पहिचानवादीहरूले ढुंगामुढा गरेका थिए । हुन त एमाले सचिव भट्टराई मात्र हैन, अध्यक्ष केपी ओलीसमेत केही समयअगाडि पहिचानवादीहरूको निसानामा परेका थिए । झापा, इलामलगायतका क्षेत्रमा ओलीलाई पहिचानवादीहरूले प्रतिरोध गरेका थिए ।
प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले कोशी नामकरणको पक्षमा मतदान गरेका ८२ सांसदहरूसँगै पहिचानवादी आन्दोलनको विपक्षमा अभिव्यक्ति दिनेहरूलाई प्रतिरोध गर्ने खुल्लमखुल्ला रूपमा भन्दै आएको छ । त्यसमा पनि एमाले बढ्ता तारोमा परेकाे छ । त्यसको दुईवटा कारण देखिन्छ । एक, एमाले पहिचानको मुद्दामा पहिलादेखि नै विपक्षमा उभिएको छ । दोस्रो, एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीको पहलमा प्रदेशसभाबाट कोशी प्रदेश नामाकरण भयो ।
यी दुई कारणले लामो समयदेखि पहिचानको पक्षमा लागेकाहरू एमालेसँग रुष्ट भइरहेका छन् । त्यसैले, एमालेमात्रै प्रतिरोधको सिकारमा पर्ने गरेको कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा बताउँछन् । ‘पहिचानको आन्दोलनको आवरणमा एमालेलक्षित मात्र आन्दोलन भएको देखिएको छ,’ खतिवडाले शिलापत्रसँग भने । व्यक्तिगत प्रतिरोध मात्र होइन, एमालेसँग संस्थागत पौँठेजोरीको स्थितिमा पहिचानवादी आन्दोलन देखिएको आरोप एमालेको छ ।
एमालेले संकल्प यात्रा सुदूरपश्चिमबाट आरम्भ गर्ने तयारी गरिरहेका बेला अर्थात् एमालेले अभियान घोषणा गरेको १५ दिनपछि ६ मंसिरमा कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको संघर्ष समितिले समेत त्यस्तै प्रकारको अभियान घोषणा गरेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिको ब्यानरमा १४ मंसिरदेखि ‘घुर्मी–चिवाभञ्याङ जनजागरण अभियान’ सुरु गर्ने सुनाएको थियो । समितिको निर्णय र स्थान जसरी तय भएको छ, त्यसले एमालेसँग आमनेसामने हुन खोजेका संकेत बुझिन्छ ।
यद्यपि, कोशी नामकरणविरुद्ध संघर्ष समितिका अध्यक्ष मण्डलका एक सदस्य समेत रहेका किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेन संघर्ष समितिले गर्ने लागेको अभियान कुनै दल विशेष विरुद्धको अभियान नरहेको बताउँछन् । कोशी नामकरणको विरुद्धमा आन्दोलनलाई थप निर्णायक बनाउन पहाडी क्षेत्रका गाउँ गाउँमा अभियान थालिएको उनको दाबी छ । शिलापत्रसँग उनले भनेका छन्, ‘आन्दोलनलाई थप सशक्त बनाउनको लागि अभियान सुरु गरेका हौँ, बाहिर हल्ला भएको जस्तो अमुक पार्टीविरुद्धको अभियान हैन ।’
एमालेभित्र पनि पहिचानको नाममा पार्टीविरुद्ध आक्रमण हुन थालेको बुझाइ देखिन्छ । हुन पनि, कोशी नामकरणपछि कांग्रेस, माओवादी केन्द्रले गाउँगाउँमा पार्टी अभियान चलाउँदा पहिचानवादीहरूले कुनै प्रतिरोध गरेनन् । तर, एमालेले शुभकामना आदानप्रदान कार्यक्रम गर्दा ढुङ्गा हान्ने अनि संकल्प अभियानको उही समय र स्थानमा पहिचान पक्षधरले कार्यक्रम राख्दा एमालेलाई तारो बनाएको देखिने खतिवडा बताउँछन् । शिलापत्रसँग उनले भनेका छन्, ‘नामकरणको पक्षमा भोट हाल्ने एमालेबाहेकका सांसद र पार्टीहरूले कार्यक्रम गरिरहेका छन् ।’
१ हजार ७ सय ५० किलोमिटर लामो मध्यपहाडी राजमार्ग केन्द्रित झुलाघाट- चिवाभञ्ज्याङ संकल्पयात्रा २६ पुसमा कोशी प्रदेशमा आइपुग्ने नेकपा एमालेको कार्ययोजना छ । मध्यपहाडी राजमार्गको पश्चिमी सिमाना झुलाघाटबाट सुरु भएको अभियान पाँचथरको चिवाभञ्ज्याङ पुगेर ३० पुसमा सम्पन्न हुने तालिका छ ।
एमालेको यो अभियानअन्तर्गत कोशी प्रदेशका तीन ठाउँमा जनसभा हुने जनाइएको छ। जस अनुसार २६ मंसिरमा उदयपुरको घुर्मी, २८ मंसिरमा तेह्रथुमको बसन्तपुर र ३० मंसिरमा पाँचथरको फिदिममा एमालेले जनसभा गर्ने तयारी गरेकाे छ ।
अभियान सुरु भएदेखि शान्तिपूर्ण तरिकाले चलिरहेको एमालेको संकल्प अभियान कोशी प्रदेशमा आएपछि भने केही नोकझोक हुने स्थिति देखिन्छ । कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेको 'प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समिति'ले निश्चित नेताहरूलाई प्रदेशमा निषेधाज्ञा लगाएको जनाएको छ भने कोशी नाम लेखिएको ब्यानर प्रयोग नगर्न चेतावनी पनि दिएकाे छ ।
संघर्ष समितिले संकल्प यात्राको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी ओलीसँगै योगेश भट्टराई र महेश बस्नेतलाई तीन भाइको संज्ञा दिँदै उनीहरूकै भाषामा प्रदेश प्रवेशमा 'निषेधाज्ञा' लगाएको जनाएको छ । संघर्ष समितिले प्रयोग गरेको 'निषेधाज्ञा' कोशी प्रदेशको पक्षमा प्रदेशसभामा हस्ताक्षर गर्ने सांसदहरूलाई समेत लागू हुने जनाइएको छ ।
नामकरणविरुद्ध आन्दोलन गरिरहेको संघर्ष समितिले निषेध गरे पनि आफ्नो कार्यक्रम गरेरै छोड्ने 'मुडमा' एमाले देखिन्छ । एमाले कोशी प्रदेश अध्यक्ष खतिवडाले कोही कसैले एमालेको अभियानलाई निषेध गर्न खोजे एमाले पनि पछि नहट्ने प्रतिक्रिया दिए । प्रतिकार गर्ने चेतावनीकाे विषय अनौपचारिक रूपमा मात्र हैन, सदनभित्र समेत प्रवेश गरेको छ । एमालेको अभियान कोशी प्रदेशनजिक पुग्दैगर्दा एमाले सांसदहरूले झुलाघाट–चिवाभञ्ज्याङ यात्राको विषयलाई सदनभित्र प्रवेश गराएका हुन् ।
एमाले सांसदहरूले पहिचानवादीहरूले लगाउँदै आएको निषेधाज्ञाको विषयमा समेत धारणा राखेका छन् । उनीहरूले पार्टीको कार्यक्रमलाई रोक्न खोजे प्रतिकार हुने बताए । मंगलबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा एमाले सांसद रमेश बस्नेतले एमालेको अभियानमा अवरोध भएमा प्रतिकार गर्ने चेतावनी दिए ।
‘नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रालाई अवरोध गर्न, असफल पार्ने प्रयास भएको छ', शून्य समयमा बस्नेतले भने 'कुनै शक्ति तथा समुदायलाई भ्रम फैलाउनेगरी भएको गतिविधि एमालेलाई मान्य हुँदैन, त्यस्ता भ्रम फैलाएर पार्टीलाई बदनाम गर्ने कामको एमालेले प्रतिकार गर्छ ।' बस्नेत मात्र हैन, कोशी नामकरणको पक्षमा मतदान गरेपछि आफूलाई निषेध हुँदा प्रदेशसभामा मुख नखोलेका माथिल्लो पहाडी जिल्ला सङ्खुवासभाका सांसद विदुर लिन्थेपले समेत पार्टीको अभियान कुनै धम्कीले नरोकिने जनाए ।
'बलिदानीपछि आएको व्यवस्थामा दलहरूले शान्तिपूर्ण कार्यक्रम गर्न पाइन्छ', लिन्थेपले भने, 'कोशी प्रदेशमा प्रवेश गर्न कुनै अमुक व्यक्तिको अनुमति/भिसा चाहिने अवस्था हो र ?’
प्राविधिक रूपले दोस्रो भए पनि जनमतको हिसाबले पहिलो पार्टी एमाले जनताको भावना बुझ्न पहाडी यात्रामा निस्किएकोले एमालेलाई प्रवेश निषेध भनेर गरिएका हल्लाहरूलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनले बताए । ‘शान्तिपूर्ण आन्दोलनलाई एमालेले साथ र सहयोग गर्छ', उनले भने, 'यात्रा कसैको धम्की, विज्ञप्ति, आग्रह या पूर्वाग्रहले रोकिनेवाला छैन ।'
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १०:४९