गत जुलाईमा हेनरी किसिन्जर जहाज चढेर चीन पुगेका थिए । एक सय वर्षका किसिन्जरले बेइजिङमा सी चिनफिङलाई भेटे । त्यति वृद्ध उमेरमा त्यति लामो यात्रा गरेर चीन पुगेका कूटनीतिज्ञ किसिन्जरको भ्रमणले कूटनीतिमा उमेरको सीमा नहुँदो रहेछ भनेर विश्वलाई बुझाएको थियो । चीन र अमेरिकाको सम्बन्ध बिग्रिँदै गएको र महाशक्तिको दौडमा झन्डै युद्वको नजिक पुगिरहेका देशलाई भावनात्मक रूपमा जोड्न अमेरिकाले किसिन्जर कार्ड प्रयोग गरेकोमा कुनै शंका थिएन । सीले किसिन्जरलाई पुरानो साथीका रूपमा न्यानो स्वागत गरेका थिए ।
रुस र युक्रेन युद्वबारे पनि किसिन्जरले आफ्ना विचार राखेका थिए । युक्रेनलाई साथ दिएर युरोप र एसियाको बोर्डरमा एकखाले शक्ति सन्तुलन त बन्ला तर रुसको शक्ति क्षय हुनेबित्तिकै युरोपमा संकट आउने र त्यो गृहयुद्वमा रुपान्तरण हुने सम्भावनालाई नजरअन्दाज गर्न नहुने कुरा किसिन्जरले प्रस्ट्याएका थिए ।
उनै किसिन्जरको १०० वर्षको उमेरमा २९ नोभेम्बर २०२३ मा आफ्नै घर कनेक्टिकटमा उनको निधन भयो । उनको मृत्युपछि विश्वभर उनले पुर्याएको योगदानको स्मरण गरिएको छ । कूटनीतिज्ञहरूले विश्वले एक महान कूटनीतिज्ञ गुमाएको प्रतिक्रिया दिइरहेका छन् । अमेरिकी राजनीतिकर्मीहरूले त उनलाई अमेरिकी इतिहासकै महान र सफल कूटनीतिज्ञ भनिरहेका छन् ।
अमेरिका र चीनलाई नजिक ल्याए । एउटा देशमा गएर अर्को देशमा कूटनीतिक भूमिका निभाउने उनको शैलीलाई मानिसहरू ‘सटल डिप्लोमेसी’ भनेर जान्दछन् । कूटनीति क्षेत्रका हस्ती, सेलिब्रिटी हेनरी किसिन्जर अमेरिकी राजनीतिका बिर्सनै नसकिने व्यक्तित्व हुन् । उनलाई धेरैले अमेरिकी कूटनीतिको पर्यायसमेत मान्दछन् । उनको आँखामा सधैँ मोटो सिसावाल चस्मा हुन्थ्यो, जसबाट उनका तीखा आँखाहरू केही भनिरहेजस्तै लाग्थे ।
सोभियत संघको विघटनपछि नेटो विस्तारका नाममा पूर्वसोभियत राज्यहरूलाई ललिपप देखाउँदै अमेरिका युक्रेनमा छिरेको हो । अमेरिका युक्रेनको काँधमा बन्दुक राखेर रुसलाई कमजोर पार्न चाहन्थ्यो । कमजोर आकलन गरेको रुस अमेरिकाले सोचेजस्तो कमजोर देखिएन । एउटा मोर्चामा अमेरिका युक्रेनलाई रुसमा आक्रमण गर्न हौस्याउँदै थियो भने अर्को मोर्चामा ऊ ताइवानको नाडी समाएर चीनलाई जिस्क्याउँदै थियो ।
अमेरिकाले सभामुख न्यान्सी पोलिसीलाई ताइवान भ्रमण पठायो । यो घटनाले चीन अमेरिकासँग क्रूद्ध भयो । उसले चीन भ्रमणमा आएका अमेरिकी विदेशमन्त्रीलाई समेत खासै वास्ता गरेन । ताइवानको मामलामा जबसम्म प्रस्ट भनाइ आउँदैन तबसम्म अमेरिकासँग कुनै किसिमको कुरा नगर्ने अडान दोहोर्यायो । ताइवान मामला झन्-झन् बल्झिँदै गयो । अमेरिका र चीनबीचको द्वन्द्व तथा मनोमालिन्यले युद्वको रूप लिने खतरा बढ्न थाल्यो । अमेरिकाको यो नीति किसिन्जरलाई चित्त बुझिरहेको थिएन । उनले रुस र चीनको मामिलामा आफ्ना विचार राखे । अमेरिकाको लागि एकैपटक दुई मोर्चामा लड्नु आत्मघाती हुने उनको ठम्याइ थियो ।
कुनै बेला चीन-अमेरिका सम्बन्धलाई लिकमा ल्याएका किसिन्जरलाई अमेरिकाले फेरि एकपटक चीन-अमेरिकाबीच बढिरहेको मनोमालिन्य र द्वन्द्व कम गर्न चीन पठाएको थियो । विश्व राजनीतिमा फेरि एकपटक युद्वका बादलहरू मडारिएका छन् । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन युद्व जारी छ । हिजो अमेरिकाले आफ्नो बलले दबाएका युद्वहरू फेरि अनेक ठाउँमा सुरु हुन सक्ने सम्भावनालाई नकार्न सकिने स्थिति छैन । मध्यपूर्वको लडाइँ रुस र युक्रेन युद्वको ‘बाइप्रोडक्ट’ हो भन्दा अतिरन्जित नहोला । कहाँ-कहाँ युद्व छेडिन सक्छ, यसै भन्न सकिन्न ।
यतिबेला विश्वलाई युद्वको भूमरीबाट निकाल्न सक्ने कूटनीतिज्ञ र राजनेताहरूको खाँचो देखिन्छ । तर, त्यस्तो सम्भावना निकै कम देखिन्छ । हेनरी किसिन्जरलाई अविश्राम नेता मान्नेहरू अहिले उनलाई सम्झिँदै छन् । हेनरी किसिन्जर विश्वकै सबैभन्दा शक्तिशाली कूटनीतिज्ञ थिए, अनि रोल मोडल पनि । सँगै विवादित पात्रका रूपमा पनि उनलाई लिइन्छ ।
जर्मनीबाट अमेरिका पुगेको त्यो केटो
विश्व दुई ध्रुबमा बाँडिएको अवस्था थियो त्यो । एउटा खेमाको नेतृत्व संयुक्त राज्य अमेरिकाले गर्थ्यो भने अर्काे खेमाको नेतृत्व सोभियत संघले गर्दथ्यो । विशेषगरी द्वितीय विश्व युद्वपछि अर्थात् सन् १९४५ देखि १९९० सम्म यो अवधि कायम रह्यो । दुई महाशक्तिले आ-आफ्ना सहयोगी देशका साथ अर्को खेमाविरुद्व गरिएको राजनीतिक तनाव र प्रतिद्वन्द्विताको कालखण्ड थियो, त्यो । अमेरिकी खेमाको पुँजीवादी लोकतन्त्र र सोभियत संघको साम्यवादी सिद्धान्त नै त्यतिबेलाको मतभेदको एउटा प्रमुख कारण थियो । यसका अलावा यी दुवै देश परमाणु हतियारको निर्माण र भण्डारणको होडमा थिए ।
युरोप, दक्षिण पूर्वी एसिया तथा विश्वका धेरै देशमा कम्युनिस्ट व्यवस्थाको लहर जबर्जस्त चलिरहेको अवस्था थियो । सोभियत संघ विश्वभर कम्युनिस्ट सिद्धान्त विस्तार गर्न चाहन्थ्यो । अमेरिका कम्युनिस्टहरूको बढ्दो प्रभाव रोक्न मैदानमा उत्रिएको थियो । ऊ हर हालतमा प्रतिकारमा उत्रिएको थियो । यसैको परिणाम थियो, कोरिया प्रायद्विपको कोरिया युद्व ।
जिन्दगीको अन्तिम पलसम्म सक्रिय रहेका किसिन्जरले आफूलाई विश्व राजनीतिको एउटा कालखण्डको महत्त्वपूर्ण पात्रका रूपमा उभ्याए । उनले पाएको उचाइ जोसुकैका लागि लोभलाग्दो छ ।
अर्को युद्व भियतनाममा चलिरहेको थियो । अमेरिका दुवै युद्वमा सहभागी थियो । युद्वको अर्को खेमामा रुस र चीन थिए । भियतनाम युद्वमा निकै अमेरिकी सैनिक मारिएका थिए । अमेरिकाले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको थियो । सन् १९७० तिर सोभियत संघ र भारतको सम्बन्ध राम्रो थियो । ठीक त्यहीबेला अमेरिकाको सम्बन्ध पाकिस्तानसँग राम्रो थियो । भियतनाममा युद्व जारी थियो । तत्कालीन अवस्थामा अमेरिकाका राष्ट्रपति थिए, रिचर्ड निक्सन । सन् १९७१ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर राजनीतिक भ्रमण क्रममा पाकिस्तान पुगेका थिए । त्यतिबेला पाकिस्तानमा सैनिक शासन थियो । सैनिक राष्ट्रपति थिए, यमिन खाँ । हेनरी किसिन्जर अमेरिकी विमानबाट झर्नेबित्तिकै पेट दुखेको बहाना गरे । दूतावासबाट स्वास्थ्य जाँच गराएर औषधि लिएको अभिनय गरे । रावलपिन्डीको गर्मीले आफूलाई ह्युमिडिटी भएको कुरा राखे । पाकिस्तानले उत्तरी चिसो भागमा आराम गर्ने सल्लाह भयो । पत्रकारलाई किसिन्जर बिरामी छन् र आराम गर्न चाहन्छन् भनियो । रावलपिन्डीको गर्मीबाट छुटकारा पाउन उनी उत्तरी पाकिस्तानको पहाडी क्षेत्रमा जाँदैछन् भनियो । अमेरिकी झन्डासहित विदेशमन्त्री चढ्ने गाडी लावालस्करसहित उत्तरतिर हानियो ।
अमेरिकी विदेशमन्त्री उत्तरतिर गएका थिएनन् । उनी त अर्कै गाडी चढेर विमानस्थलतिर लागेका थिए । उनी आफ्नो विमान नचढेर अर्को विमानबाट चीनको लागि उडे । यो १० जुलाई १९७१ कुरा हो । चीनमा उनले प्रधानमन्त्री चाउएन लाइसँग भेट गरे । चाउ एन लाइसँग घन्टौँ कुरा भयो । हेनरी किसिन्जर जुन उद्देश्यले चीन गएका थिए, त्यो काम फत्ते गरेर फेरि पाकिस्तान पुगे । विमानस्थलबाट झरेर उनी उत्तरी पाकिस्तानतिर गए, जहाँ अमेरिकी विदेशमन्त्रीले आराम गरिरहेको भ्रम पत्रकारहरूलाइ बाँडिएको थियो । हेनेरी किसिन्जर उत्तरबाट फर्किए र सोही साँझ अमेरिका फर्किए । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन बेचैनिका साथ किसिन्जरको मुखबाट शुभ समाचार सुन्ने प्रतीक्षामा थिए ।
अमेरिका र चीन, कोरियन र भियतनाम युद्वमा लडिरहेका थिए । कट्टर दुश्मन दुई देशबीच दुश्मनी त्यागेर मित्रताको हात बढाउने माहौल सिर्जना भएको थियो । यो सबै काममा सफलता पाएका थिए, हेनरी किसिन्जरले । अमेरिकी प्रशासनले अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन भ्रमणमा जाने समाचार मात्र सार्वजनिक गरेको थियो । उनी अमेरिका फर्किएपछि मात्र रिचर्ड निक्सनको चीन यात्राको कुरा सार्वजनिक गरियो । १९७२ फेब्रुअरी २१ मा रिचर्ड निक्सन चीन गएका थिए । निक्सनले चीनमा उच्च तहका गुप्त वार्ता गरे । फलस्वरुपः २९ मार्च १९७३ बाट अमेरिका भियतनाम युद्वबाट अलग भयो ।
किसिन्जरले अमेरिकाको चीनसँग सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । त्यस्तै, अमेरिकालाई भियतनाम युद्वबाट अलग गर्न महत्त्वपूर्ण भूमिका निभाएकाले उनलाई सन् १९७३ को शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । अमेरिकाको स्वार्थका लागि काम गर्ने व्यक्तिलाई नोबेल पुरस्कार दिइएपछि समितिकै दुई जनाले राजीनामा दिए । अमेरिकाको शत्रु हुन गाह्रो छ, मित्र हुन पनि सजिलो छैन भन्ने तिनै किसिन्जर हुन् । किसिन्जरलाई नोबेल पुरस्कार दिने निर्णय आलोचनामुक्त रहन सकेन । नोबेल पुरस्कारको इतिहासकै विवादित निर्णय रह्यो । कतिले नोबेल शान्ति पुरस्कार नभनेर युद्व पुरस्कार भन्दै व्यंग्यसमेत गरेका थिए । यसरी किसिन्जर कतै आफैँ विवादित बने त कतै विश्व राजनीतिका अनेक विवादलाई उचाइबाट पनि हेरे ।
को हुन् हेनरी किसिन्जर ?
किसिन्जर अमेरिकाका ५६औँ अमेरिकी विदेश सचिव थिए । उनको कार्यकाल १९७३-७७ थियो । सरकारी जागिरबाट निवृत्त भएपछि उनले किसिन्जर एसोसिएट्स खोले, जसले अमेरिकी सरकार र विभिन्न संघसंस्थालाई कूटनीतिक सुझाव/सल्लाह दिन्थ्यो । अमेरिकी विदेश नीतिबारे धेरै लेख र दर्जन बढी पुस्तक पनि उनले लेखेका छन् ।
खासमा हेनरी किसिन्जर एक जना सफल कूटनीतिज्ञ, राजनीतिज्ञ र लेखक थिए । उनको जन्म सन् १९२३ मा जर्मनीमा भएको थियो । उनी यहुदी थिए र नाजी जर्मनीले यहुदी समुदायमाथि बर्बर हिंसा गरेको थियो । यहुदी शरणार्थीका रूपमा उनको परिवार जर्मनीबाट विस्थापित भएर अमेरिकामा शरण लिएको थियो । अमेरिकामा उनी आप्रवासी थिए । द्वितीय विश्व युद्वपछि अमेरिका विश्व रंगमञ्चमा महशक्तिका रूपमा उदाएको थियो । उनी १९४३ मा अमेरिकी नागरिक र सेनामा भर्ती भएर केही वर्ष काम गरे । हार्वर्ड कलेजबाट पढाइ अघि बढाएका उनले १९५४ मा पीएचडी गरे ।
हेनरी किसिन्जरले दुईवटा बिहे गरे । १९४९ मा एन फ्लेसरसँग विवाह सफल नभएपछि दोस्री श्रीमतीका रूपमा उनको जीवनमा न्यान्सी म्यागिनेस आइन् । उनी रिपब्लिकन पार्टीसँग आवद्व थिए । उनले दुई राष्ट्रपति रिचर्ड निक्सन र गेरल्ड फोर्डसँग काम गर्ने मौका पाए । किसिन्जर १९७३ देखि ७७ सम्म विदेशमन्त्री र १९६९ देखि १९७५ सम्म राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । उनी अमेरिकाका सातौँ राष्ट्रिय सुरक्षा सल्लाहकार थिए ।
किसिन्जरको सबैभन्दा महत्त्वपूर्ण काम भनेको उनले अमेरिकी विदेश नीतिलाई एउटा ठोस आकार दिएका थिए । त्यसैले शीतयुद्वकालका सर्वाधिक सफल र प्रभावशाली कूटनीतिज्ञका रूपमा उनको नाम आउँछ । एउटा यहुदी आप्रवासी कालान्तरमा अमेरिकी नीतिलाई नै प्रभावित गर्ने उचाइमा पुग्नु सामान्य कुरा थिएन । उनले कूटनीतिक इतिहास र अन्तर्राष्ट्रिय राजनीतिबारे अनेकन पुस्तक लेखेका छन् । डिप्लोमेसी उनको सबैभन्दा धेरै पढिने पुस्तकमा पर्छ । अन चाइना (२०११) , वर्ल्ड अर्डर (२०१४), डिप्लोमेसी (१९९४), ह्वाइट हाउस (१९७९), न्यूक्लिएर वेपन एन्ड फरेन पोलिसी इन्डिङ द भियतनाम वार (२००३) आदि उनका महत्त्वपूर्ण पुस्तक हुन् ।
किसिन्जरको सबैभन्दा महत्त्वपूर्ण काम भनेको उनले अमेरिकी विदेश नीतिलाई एउटा ठोस आकार दिएका थिए । त्यसैले शीतयुद्वकालका सर्वाधिक सफल र प्रभावशाली कूटनीतिज्ञका रूपमा उनको नाम आउँछ ।
हेनरी किसिन्जर शीतयुद्वकालका महत्त्वपूर्ण अमेरिकी कूटनीतिज्ञ थिए । भियतनाम युद्व रोक्न, सोभियतसँग आणविक निशस्त्रीकरण सन्धि गर्न, मध्यपूर्वको संकट कम गर्न, चीनसँग सम्बन्ध विस्तार गर्न उनले महत्त्वपूर्ण सफलता पाएका थिए । उनले एक कालखण्डमा हार्वर्ड विश्वविद्यालयमा अध्यापन पनि गरेका थिए ।
जीवनको पछिल्लो कालखण्डसम्म पनि उनी अमेरिकी विदेश नीतिका अभिभावक र मार्गनिर्देशक थिए । उनी एक जना कूटनीतिज्ञका रूपमा अमेरिकामा सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन् । अमेरिकाको उथलपुथल पूर्ण इतिहास देखेका र भोगेका किसिन्जरले शीतयुद्वकालमा निभाएको भूमिका इतिहासकै महत्त्वपूर्ण घटना थिए । व्यक्तिगत रूपमा एउटा किशोर जो जर्मनीमा जन्मेर पनि अमेरिका जान बाध्य भयो । अमेरिकाले पनि किसिन्जरजस्तो चतुर कर्मचारी पायो, जसले अमेरिकालाई विश्व राजनीतिको एउटा अहम् र कुटिल राज्यका रूपमा स्थापना गर्न महत्त्वपूर्ण भूमिका निभाए ।
अमेरिकी जनता उनलाई निकै सम्मानित व्यक्तित्वका रूपमा हेर्छन् । उनको सिंगो जीवनमा पनि अनेक आरोह अवरोह आए । कतै वाहवाही पाए, कतै गालीसमेत खाए । जिन्दगीको अन्तिम पलसम्म सक्रिय रहेका किसिन्जरले आफूलाई विश्व राजनीतिको एउटा कालखण्डको महत्त्वपूर्ण पात्रका रूपमा उभ्याए । उनले पाएको उचाइ जोसुकैका लागि लोभलाग्दो छ ।
दिवंगत कूटनीतिज्ञ किसिन्जरप्रति हार्दिक श्रद्धाञ्जली ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० १३:१५