दक्षिण एसियामै विशाल मानिने नेपालको सत्तारूढ ‘कम्युनिस्ट पार्टी’भित्र विश्वकै सर्वाधिक ठूलो सत्तारूढ चिनियाँ ‘कम्युनिस्ट पार्टी’को अन्तर्राष्ट्रिय विभागका प्रमुखलगायतका उच्च पदाधिकारीहरू आएर ‘सी जिन पिङ विचार’ बारे प्रशिक्षण दिएपछि देशमा खैलाबैला मच्चिएको छ ।
नेपाल र छिमेकको राजनीतिक परिचर्चाको दहमा आठ स्केलको तरंग फैलिएको छ । कतिपयले यसलाई नेकपाभित्र चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव निकै बढ्न खोजेको रूपमा अथ्र्याएका छन् । अझ केहीले त नेकपा अब चीनपन्थ तथा सी जिन पिङ विचारतिरै लहसिने भयो भनेर समेत आशंका व्यक्त गरेका छन् ।
भूपि शेरचनले २०२० को दशकमै एउटा प्रसिद्घ कवितामा नेपाललाई ‘हल्लै हल्लाको देश’ भनेका थिए । त्यो बेलाभन्दा अहिले नेपालको राजनीतिक भूगोल धेरै बदलिएको छ । आम नागरिकको शैक्षिक तह तथा राजनीतिक चेतनास्तरको पहाड पनि निकै उँचो भएको छ । तर, नेपाल भने हल्लैहल्लाको देश हुन छाडेको देखिँदैन ।
नेकपा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध हालसालैको होइन, त्यो धेरै पुरानो हो । पछिल्लो समयमा त्यो सम्बन्धमा थोरै शिथिलता निश्चय पनि आएको थियो । त्यसको सापेक्षतामा माओवादी शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादी र चीकपाबीचको सम्बन्ध निकै बाक्लिएको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको पहिलेदेखिको एउटा मूल परराष्ट्र नीति जुनसुकै मुलुकको र नेपालको पनि राजनीतिक शक्ति सन्तुलनको सबैभन्दा गहकिलो र ठूलो ढुंगालाई दरिलोसित समातिराख्ने थियो ।
यही परिप्रेक्ष्यमा उसले नेपालको राजतन्त्रसित निकै मजबुत सम्बन्ध कायम गरेको थियो । तर, राजतन्त्र एकाएक ढलेपछि नेपालको सम्भावित सबैभन्दा महत्त्वपूर्ण राजनीतिक ढुंगा ठानेर चीनले सिंगो माओवादी दल र माओवादीका शीर्ष नेतालाई सत्तामा नहुँदासमेत सत्तामा भएका शीर्ष नेतासरह रातो कार्पेट बिछ्याएर चीनमा स्वागत गरेको बेलाबेलामा देखिएकै हो ।
त्यसमा केही समययता मलिनोपन नदेखिएको होइन । तर, भारतीय नाकाबन्दी र त्यस दौरानमा लिएको ‘राष्ट्रवादी’ अडानका कारण एमाले नेता केपी ओली र उनको दल पछिल्लो समयमा पुनः चीनको रोजाइमा पर्न थालेको जगजाहेर छ ।
एमाले र माओवादी मिलेर विशाल एकीकृत पार्टी होस् भन्ने चाहना खाली नेपाली सर्वसाधारणको मात्र थिएन, चीकपाको पनि त्यत्तिकै देखिएको थियो ।
त्यो चाहना साकार भएपछि र दुई तिहाइको बहुमतसहित त्यो एकीकृत कम्युनिस्ट पार्टी सत्तामा आएपछि चीनको आफ्नै पुरानो विदेश नीतिमुताबिक नेपाली राजनीतिको सबैभन्दा ठूलो ढुंगासित असल र विशेष मैत्रीपूर्ण सम्बन्ध बनाउन चिनियाँ राजनीतिक नेतृत्वले खोज्नु र त्यस हैसियतले विभिन्न स्तरमा भ्रमण, अध्ययन भ्रमण, अनुभव तथा सहयोग आदानप्रदान गर्नु कुनै अनौठो र अस्वाभाविक कुरो होइन ।
बरू अस्वाभाविक र अनुचित कुरोचाहिँ यसबाट पैदा भएको अन्धाधुन्ध हल्लाखल्ला र राजनीतिक तरंग हो । दुई भाइचारा पार्टीबीच विचार अन्तक्र्रिया गर्ने यो प्रचलन अस्वाभाविक र अनुचित नभए पनि चिनियाँ सन्दर्भमा नौलो भने पक्कै हो ।
चीकपाको अन्तरराष्ट्रिय विभागको प्रमुख नै नेपालमा आएर यसरी प्रत्यक्ष रूपमा आफ्नो देशको आधिकारिक निर्देशक विचार प्रस्तुत गर्र्न क्रियाशील भएको यो इतिहासमै पहिलो पटक हो ।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टी जे गथ्र्यो, आन्तरिक र गुपचुप रूपमा गथ्र्यो । सक्रिय रूपमा बाहिर देखिने गरी कहीँ प्रस्तुत हुँदैनथ्यो ।
अहिलेको प्रशिक्षणको घटना ठूलो नभए पनि यो उदाउँदो महाशक्ति चीनको बदलिएको परराष्ट्र नीति, प्रवृत्ति र नयाँ पार्टी नीतिको परिचायक हो । यो अबको चीन पहिलेको जस्तो हुने छैन भन्ने कुराको दरिलो संकेत हो ।
बदलिएको चीन र उसको नीति
माओकालीन चीनको विदेश नीति चीनले आफूलाई कहिल्यै पनि महाशक्ति राष्ट्रका रूपमा प्रस्तुत नगर्ने, कसैको आन्तरिक मामिलामा पनि हस्तक्षेप नगर्ने भन्ने थियो । चीनको संविधानमै आधिकारिक रूपमा उल्लेख थियोः ‘चीन कहिल्यै महाशक्ति राष्ट्र हुने छैन’; ‘चीनले कसैमाथि आफ्नो प्रभुत्व लाद्ने छैन’ ।
देङ सियाओपिङले माओकालीन अर्थनीति र राजनीतिमा धेरै कुरा फेरबदल गरे । माओले गठन गरेका समुदायवादी कम्युनहरू उनले देशभरि भंग गरे । चीनलाई पुँजीवादी खुला बजार अर्थतन्त्रतिर लगे ।
१९८० को दशकमा उनले एकपटक पार्टी र सरकारलाई अलग्याउने धारणा पनि ल्याए । तर, जब सन् १९८९ मा तियानएनमेन स्क्वाएरमा पुँजीवादी स्वतन्त्रताका लागि आन्दोलन चल्यो र रक्तपातपूर्ण घटना भयो, तब उनले आफ्नो पुरानो विचारलाई तत्काल सच्याए । देङले यसरी माओकालीन थुप्रै नीतिहरू बदल्दा पनि विदेश नीति भने बदलेनन् ।
उनले ‘आफ्नो सामथ्र्य लुकाउने, समयअनुसार चल्ने र विनम्र रूपमा विश्वसामु पेश हुने’ विदेश नीति अख्तियार गरे । उनका उत्तराधिकारी जियाङ जेमिन र हु जिन्ताओले पनि अधिकांश कुरामा उनकै नीति अनुसरण गर्दै रहे ।
तर विगत ७० वर्षको अवधिमा चीनको आर्थिक वस्तुस्थिति र सामथ्र्यमा धेरै ठूलो परिवर्तन आयो । जापानको चार दशक लामो वर्चस्वलाई उछिनेर चीन सन् २०११ मा विश्वकै दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्यो ।
यही दरमा आर्थिक वृद्घि भइरह्यो भने उसले कुल गार्हस्थ्य उत्पादनमा संयुक्त राज्य अमेरिकालाई समेत आउँदो एघार–बाह्र वर्षमा उछिन्ने पक्कापक्की देखियो । अझ अन्तरराष्ट्रिय मुद्रा कोषले त क्रेय क्षमताको तुलनाका आधारमा चीन सन् २०१८ मै विश्वको पहिलो सबैभन्दा ठूलो आर्थिक महाशक्ति भइसकेको घोषणा गरेको छ ।
यति मात्र नभएर संसारको सबैभन्दा बढी कृषि उत्पादन गर्ने देश पनि चीन नै भएको छ । विश्वको सबैभन्दा विशाल वस्तु निर्माणकर्ता अर्थतन्त्र र सौर्यशक्तिको सबैभन्दा ठूलो उत्पादनकर्ता मुलुक पनि चीन नै हुन पुगेको छ ।
चीनको औद्यौगिक उत्पादन वृद्घिसँगै तैयारी सामानको निर्यात यति चर्को गतिले वृद्घि भयो कि सन् २०१७ मा पुगेर फेरि एक पटक चीन विश्वमा सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक बनेको स्थिति छ ।
उसले वार्षिक २.२ खर्ब अमेरिकी डलरबराबरको त वस्तु निर्यात मात्र गर्छ । विश्वमा चीन त्यस्तो मुलुक हो, जसको अमेरिका र यूरोपेली संघजस्तो अति विकसित मुलुकसितको व्यापारसमेत सुविधाजनक बचतमा चलिरहेको छ ।
आजको विश्वमा सबैभन्दा ज्यादा विदेशी मुद्राको सञ्चिती पनि चीनसँगै रहेको छ । चीनको केन्द्रीय बैंकको ताजा आँकडाअनुसार गएको अगस्त २०१९ मा ऊसित ३.१०७ खर्ब अमेरिकी डलरबराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ जुन विश्वको कुनै पनि मुलुकको भन्दा ज्यादा हो ।
अचम्मको अर्को तथ्य के हो भने चीनसित अमेरिकाको भीषण व्यापार युद्घ चलिरहे पनि अमेरिकी सरकारको सबैभन्दा ज्यादा सेक्युरिटिज किन्ने विदेशी मुलुक पनि चीन नै रहेको छ । गएको मे २०१९ सम्ममा चीनसित यस्तो सेक्युरिटिज १.११ खर्ब अमेरिकी डलरबराबरको छ ।
यस हिसाबले चीन अमेरिकाको सबैभन्दा ठूलो ऋणदाता साहु तथा बैंकर मुलुक हो । अहिले चीनले बेल्ट एण्ड रोड इनिसियटिभ भनेर अहिलेसम्मकै सबैभन्दा ठूलो बहुआयामिक भौतिक पूर्वाधार निर्माणमा लगानी गर्ने घोषणा गरेको त्यो चीनले अहिलेसम्म आर्जित आर्थिक सामथ्र्य, प्रविधि र विज्ञानमा अभूतपूर्व विकास र औद्योगिक विकासको संयुक्त प्रतिफल हो ।
विश्वमा निकै अनौठो परिदृश्य र प्रवृत्ति के देखिँदैछ भने २०औं शताब्दीमा खुला बजार अर्थतन्त्रको मुख्य प्रवक्ता अमेरिका यतिखेर २१औं शताब्दीमा राष्ट्रिय संरक्षणवादको वकालतकर्ता हुन पुगेको छ । पहिले समाजवादी अर्थतन्त्रको वकालत गर्ने चीन अहिले खुला बजार अर्थतन्त्रको विश्वनाइके हुन पुगेको छ ।
आर्थिक सामथ्र्यको वृद्घिसँगै चीनले आफ्नो मुलुकमा रहेको गरिबी पनि तीव्र गतिले निवारण गर्दैछ । चीनमा सन् २००० सम्म ४९.८ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि थिए ।
यो नेपालको भन्दा पनि धेरै ज्यादा र गम्भीर गरिबीको स्थिति हो । परन्तु चीनले सन् २०१० मा पुग्दा गरिबीको प्रतिशतलाई १७.२ प्रतिशतमा ओराल्न समर्थ भयो । अझ सन् २०१७ को अन्त्यमा पुग्दा त गरिबीको रेखामुनिका जनता ३.१ प्रतिशत मात्र बाँकी रहेका छन्, जसलाई सन् २०२० सम्ममा शून्यमा ओराल्ने चिनियाँ नेतृत्वको लक्ष्य छ ।
उनीहरूले विगत ४० वर्षमा ७७ करोड गरिबलाई गरिबीको स्थितिबाट मुक्त गरिसकेको सगौरव दाबी गरेका छन् ।
घर निर्माण÷पुनर्निर्माण तथा सहज स्थानमा बस्ती स्थानान्तरणमा सहयोग, गरिब बस्तीमा औद्योगिक विकास तथा रोजगारी, शिक्षामा गरिबको पहुँच पुर्याउन सहयोग, स्वास्थ्य बीमा तथा सहकारी स्वास्थ्य बीमामार्फत स्वास्थ्य उपचारमा गरिबको पहुँच, गरिब बस्तीमा सडक र अत्याधुनिक सञ्चार सुविधाको विस्तारमार्फत द्रुत गतिमा गरिबी निवारणको चिनियाँ विधि संसारभरि आश्चर्यका आँखाले हेरिँदैछ, जसबाट संयुक्त राष्ट्र संघ र विश्व बैंकसमेत प्रभावित र आश्चर्यचकित भएको स्थिति छ ।
आफ्नै राष्ट्रिय बुतामा यति छोटो अवधिमा यति धेरै गरिबी यति प्रभावकारी तरिकाले कहीँ पनि निवारण गरिएको रेकर्ड छैन । सी जिन पिङ विचारभित्र गरिबी निवारण पनि एउटा अंगको रूपमा आउँछ ।
नेपालले पनि चीनको गरिबी निवारणको यो अनुभवबाट धेरै कुरा सिक्न सक्ने सम्भावना छ । तर आर्थिक सामथ्र्यले व्यक्तिको वर्ग परिवर्तन गरेजस्तै मुलुकको पनि वर्ग परिवर्तन गर्छ ।
अनि वर्ग परिवर्तनले विचार परिवर्तनतिर हरेक व्यक्ति र मुलुकलाई अनिवार्य रूपमा डोहोर्याउछ । चीनको हकमा पनि यही भएको छ र भविष्यमा अरु प्रखर रूपमा यही हुनेवाला छ ।
यही परिप्रेक्ष्यमा अक्टोबर १९१७ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनमा पुगेपछि महासचिव सी जिन पिङले यसअघि चीनले अख्तियार गरेका कतिपय नीति परिवर्तन गरेका छन् ।
उनले त्यस महाधिवेशनबाट ‘चीनलाई एकचोटि फेरि महान् बनाउने’ नयाँ नारा र नीति पारित गरेका छन् । चीनलाई फेरि महान् बनाउने भनेको अर्थतन्त्रमा मात्र होइन, अत्याधुनिक प्रविधिमा र विश्वका लागि अनुकरणीय चिनियाँ समाजवाद मोडेल र विचार–सिद्घान्तसमेत हो भनेर उनले खुलेआम ऐलान गरेका छन् ।
यसले के देखाउँछ भने अबको चीन हिजोको जस्तो शान्त र अहस्तक्षेपकारी कूटनीति अख्तियार गर्ने खालको हुने छैन । कहिल्यै महाशक्ति राष्ट्रजस्तो भएर प्रस्तुत नहुने र कहिल्यै कसैमाथि प्रभुत्व नलाद्ने माओ र देङकालीन विदेश नीति पनि अब ढिलो–छिटो चीनबाट विलोप हुनेछ ।
त्यसको सट्टामा जुन देशमा चीनको जति ज्यादा आर्थिक, व्यावसायिक वा सामरिक चासो वा संलग्नता रहनेछ । त्यस्तो हरेक देशको अर्थतन्त्र र राजनीतिमा ऊ पहिलेभन्दा ज्यादा मुखर, सक्रिय र हस्तक्षेपकारी भएर देखा पर्ने घटना देखा पर्न थाल्नेछ । चीन पनि विश्वमा वर्चस्व स्थापित गर्न क्रियाशील भएर देखा पर्नेछ ।
अमेरिका र चीनको व्यापार युद्घ बाहिरबाट हेर्दा अमेरिकाको चीनसितको विशाल व्यापारघाटाका कारण हो भन्ने देखिन्छ । तर, यथार्थमा त्यो मूलतः वर्चस्व र प्रभुत्वको लडाइँ हो ।
अहिलेसम्म अर्थतन्त्र र अत्याधुनिक प्रविधिमा अमेरिकाको एकलौटी वर्चस्व रहेको थियो । आर्थिक र प्राविधिक वर्चस्वका कारण नै अमेरिकाले जताततै सामरिक र राजनीतिक प्रभुत्व लाद्न सम्भव भएको थियो ।
अब अमेरिकाको त्यो आर्थिक र प्राविधिक वर्चस्व समाप्त हुन लाग्यो; अमेरिकालाई विज्ञान, प्रविधि र अर्थतन्त्र–तीनवटै क्षेत्रमा चीनले उछिन्ने भयो । यी क्षेत्रमा चीनले उछिनेपछि सामरिक र राजनीतिक प्रभुत्वको क्षेत्रमा पनि उसैले उछिन्ने भयो भन्ने छटपटी नै अमेरिका–चीन व्यापार युद्घको सार हो ।
चीन अमेरिकाजत्तिकै आक्रामक र प्रभुत्वशाली हुन्छ कि हुँदैन, त्यो अहिल्यै भन्न कठिन छ । तर एउटा कुरा निश्चितताका साथ भन्न सकिन्छ– अबको एक/दुई दशकपछिको विश्वमा अमेरिकाको ठाउँमा चीनको प्राथमिक वर्चस्व कायम हुनेछ ।
चीनको वर्चस्व विश्वमा जति बढ्नेछ ऊ त्यत्तिकै मुखर, हस्तक्षेपकारी र सक्रिय भएर राजनीतिमा देखा पर्नेछ । चीन जति वर्चस्वशाली भएर प्रकट हुनेछ, विश्वमा पुरानो र नयाँ वर्चस्वको लडाइँ घरिघरि भइरहनेछ ।
वर्चस्वको लडाइँको त्यो घानमा कतै नेपाल पर्ने त होइन ? होशियार र गम्भीर हुन आवश्यक छ । किनभने दुई बलिया साँढे आपसमा लडे भने नोक्सान खेतको धान र गहुँकै हुन्छ ।
अतः नेपालले आफ्नो विदेश नीतिमा अहिले नै त्यहीबमोजिम निखार ल्याउन आवश्यक छ । चीनलाई एकचोटि फेरि पहिलेजस्तै महान् बनाउनका लागि लामो समयसम्म नेतृत्वको निरन्तरताको खाँचो परेको चीनको कम्युनिस्ट पार्टीले महसुस गर्यो ।
यही कारण पार्टी महाधिवेशन सम्पन्न भएको ५ महीनापछि भएको चिनियाँ जनप्रतिनिधिसभा–राष्ट्रिय जनकांग्रेसले दुई पटक मात्र कुनै व्यक्ति राष्ट्रपति हुन पाउने प्रावधान हटाएर जतिसुकै पटक पनि राष्ट्रपति हुन सक्ने बनायो ।
संविधान नै संशोधन गरेर त्यसमा सी जिन पिङ विचारलाई पनि माओ जेदोङ विचारसरह निर्देशक विचार बनायो । चिनियाँ कम्युनिस्ट पार्टीले चीनको आर्थिक–राजनीतिक प्रणाली, सी जिन पिङ विचारको श्रेष्ठतालाई विश्वभर प्रचार गर्ने निर्णय पनि गर्यो । चीनको समाजवादी मोडेल श्रेष्ठतालाई विश्वव्यापीकरण गर्ने निर्णयसमेत गर्यो ।
अहिले नेपालमा भइरहेको सी जिन पिङ विचारसम्बन्धी प्रवचन कार्यक्रम चीनको त्यही आर्थिक, राजनीतिक र वैचारिक श्रेष्ठतालाई र चीनको समाजवादी मोडेललाई विश्वभर बताउने प्रारम्भिक प्रयास हो ।
यो चीनलाई फेरि महान् बनाउने महायोजनाकै एउटा हिस्सा हो । यस्तो कक्षा वा प्रशिक्षण चीकपाले विश्वभर गर्दैछ र नेपालमा पनि अरू ज्यादा गर्नेवाला छ । त्यसबाट आत्तिइहाल्नुपर्ने कुरा केही छैन ।
सी जिन पिङको बहुप्रतीक्षित नेपाल भ्रमणको ठीक अघि यो प्रशिक्षण भएको छ । अहिले यही समयमा उसले सी जिन पिङ विचारबारे प्रशिक्षण दिएको चाहिँ भ्रमणको अनुकूलता/प्रतिकूलताका सन्दर्भमा नेपाली कम्युनिस्ट नेताहरूको नाडी छाम्नका लागि हुन सक्छ ।
दोहोरो मापदण्ड
नेपालको सन्दर्भमा चीन अहिले नै हस्तक्षेपकारी र प्रभुत्ववादी भइसकेको छैन । तर जुन लाइन उसले महाधिवेशनबाट पास गरेको छ र जुन आर्थिक सामथ्र्यमा ऊ पुगेको छ, त्यसलाई मिहीन ढंगले अध्ययन गर्दा होशियार हुनुपर्ने खण्डचाहिँ के छ भने अबको चीन पहिलेको जस्तो नभएर नेपालको राजनीतिमा झन्झन् सक्रिय, मुखर र प्रभुत्वकारी भएर प्रस्तुत हुन थाल्नेछ ।
उसको बानी धेरै नबिग्रँदै त्यस्तो नहुन उसलाई हामी सुरूदेखि नै खबरदारी गर्न सक्नुपर्छ । नेपाली राजनीतिमा विदेशी सक्रियता, मुखरता र हस्तक्षेप अमेरिका र भारतको भए नराम्रो, चीनको भए राम्रो भन्ने हुँदैन ।
दक्षिणपन्थी दलको भए नराम्रो, कम्युनिस्ट पार्टीको भए राम्रो भन्ने पनि हुँदैन । खराब कुरा जसले गरे पनि खराब नै हो । यसमा दोहोरो मापदण्ड हुनु हुँदैन ।
प्रवचनको पूर्वसन्ध्यामा दुई पार्टीका बीचमा जुन तामझामका साथ लिखित समझदारी भयो, त्यो हुन आवश्यक थिएन । त्यसले चीनको क्रियाशिलताबाट उत्तिकै झस्किएका पश्चिमा मुलुक र दक्षिणी छिमेकीलाई अरू ज्यादा सशंकित मात्र बनाएको छ ।
नेपालको राजनीति र आम सञ्चारमाध्यममा दक्षिणपन्थ र वामपन्थका लागि एउटै कुरामा पनि दुईवटा फरक–फरक मापदण्ड स्पष्ट रूपमा देखिन्छ । नेपालका दक्षिणपन्थी दलहरूसित कुनै पश्चिमा मुलुक वा दक्षिणी छिमेकका ठूला नेता आएर भेटघाट गर्याे, वैचारिक सैद्घान्तिक अन्तक्र्रिया गर्यो, प्रवचन नै दियो भने पनि त्यो हल्लीखल्लीको विषय बन्दैन ।
तर, त्यही मापदण्ड चीनका कम्युनिस्ट पार्टीका नेता नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा आएर प्रवचन दिँदा भएको देखिँदैन । यस्तो दोहोरो मापदण्ड हुनु जायज कुरा होइन ।
वामपन्थ होस् वा दक्षिणपन्थ, सबैलाई मूल्यांकन गर्ने छडी वा मापदण्ड एउटै हुनुपर्छ । गलत जतातिरबाट भए पनि गलत हुनुपर्छ, सही जताबाट भए पनि सही ।
चीनका दुई÷चार जना नेता आएर सि जिन पिङ विचारबारे एउटा लेक्चर दिँदैमा नेपालका नेताहरू सर्लक्कै बदलिएर सि जिन पिङ विचारको अनुयायी र चीनपन्थी हुन पुग्लान् भन्ने जुन अनुमान र आशंका गरिएको छ, त्यो ज्यादै बचपना र अयथार्थवादी देखिन्छ ।
नेताको वा कुनै व्यक्तिको पनि बदलाहटको प्रक्रिया यति सरल, सिधा र छोटो कहिल्यै पनि र कहीँ पनि हुँदैन । त्यो एउटा जटिल, लामो र कष्टपद प्रक्रिया हुन्छ । यदि एउटै प्रवचनले नेपालका नेताहरू त्यति सजिलै बदल्न सम्भव भए त नेताहरू बदल्ने कार्य ज्यादै सहज र सजिलो कुरो हुने थियो ।
नेता बदल्ने त्यति सरल र सजिलो कार्य हुने भएको भए देश बदल्न यति कठिन र जटिल काम कदापि हुने थिएन ।
सी जिन पिङ विचार वर्तमान चीनको अभूतपूर्व आर्थिक सामथ्र्यमा आधारित उदाउँदो महाशक्ति चीनका लागि अघि सारिएको विचार हो ।
सी जिन पिङ विचार निम्न पाँचवटा तत्त्वको संयुक्त योगफल हो:
१) माओकाे चीनलाई कसैले हेप्न नसक्ने गरी फेरि महान् बनाउने चिन्तन
२) देङ सियाओपिङको व्यवहारवाद र खुलापन
३) लिउ साओचीको पार्टी संगठनमा दरिलो पकडमार्फत राजनीतिक क्षेत्र, सैन्य क्षेत्र, नागरिक क्षेत्र र बौद्घिक क्षेत्रमा हावी हुने सोच
४) कन्फ्युसियसको नेता तथा शासक स्वयम्को उच्च नैतिकता र स्वअनुशासनमा आधारित सुशासनसम्बन्धी सोच, र
५) सी स्वयम्को चीनलाई गरिबीमुक्त बनाउँदै, नयाँ बहुआयामिक सिल्करोडमार्फत विश्वबजारसित जोड्दै अत्याधुनिक प्रविधिमा विश्वमै सर्वाधिक अब्बल भएर चीनलाई आविष्कारकहरूको देशमा रूपान्तरित गर्ने विचार ।
उनले यी पाँचवटै सोचलाई संश्लेषण र सम्मिश्रण गरेर सी विचारको विकास गरेको देखिन्छ ।
पहिलो कुरो, नेपालसित उदाउँदो महाशक्ति चीनको जस्तो आर्थिक सामथ्र्य नै विद्यमान छैन ।
दोस्रो, नेकपाको नेतृत्वसित व्यवहारवादबाहेक सी जिन पिङ विचारका अरू कुनै अंगहरूप्रति कुनै दिलचस्पी र प्राथमिकता देखिँदैन । अतः नेकपाको नेतृत्व सी जिन पिङ विचारतिर लहसिने थोरै पनि सम्भावना देखिँदैन ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६ ०२:४२