सामान्यतया नेपालमा असारको सुरूबाट मनसुन सुरू हुन्छ । त्यसपछि मध्यवर्षाको सिजन सुरू हुन्छ । अनि असोजको पहिलो सातासम्ममा यो वर्षा क्रमशः कम हुँदै जान्छ र असोजको मध्यसम्ममा पानी पर्ने क्रम रोकिन्छ ।
तर विगत केही वर्षदेखि मौसम अनुमान नै गर्न नसकिने गरी फेरिएको छ । कहिले ठूलो पानी पर्छ त, कहिले पर्दै पर्दैन । २०७५ सालको चैतमा बारामा आएको हुरी पनि अनपेक्षित नै थियो । जल तथा मौसम पूर्वानुमान महाशाखामा पत्रकार सम्मेलन गरी भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्वीर, स्थलगत अवलोकन र भिडियोको सूचना अध्ययनले त्यो दिनको हावाहुरी टोर्नाडो भएको पुष्टि भएको जनाएको थियो ।
काठमाडौं उपत्यकाआससास पछिल्लो एक सातादेखि वर्षा भइरहेको छ । राम्रोसँग घाम लाग्न सकेको छैन । दशैंको मुखमा यसरी पानी परिरहँदा पहाडी क्षेत्रमा जनजीवन प्रभावित भइरहेको छ । यस्तो किन भइरहेको छ त ? आउनुस्, यसबारे चर्चा गरौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८, ९ र १० गते देशभरि आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै, देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, महाशाखाले देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध पनि गरेको छ । तर, महाशाखाले अहिले भइरहेको वर्षाबारे आधिकारिक धारणा व्यक्त गरेको छैन । भदौको अन्तिम साताबाट नै बिग्रेको मौसमबारे महाशाखा मौन छ ।
अल इन्डिया वेदर फोरकास्टका अनुसार हिमालय पर्वतको भूभागमा अझै एक साता वर्षा कायम रहनेछ । मौसम नेपालमा मात्र नभएर विगत एक महिनादेखि भारतमा पनि अप्रत्याशित रूपले घटबढ भइरहेको छ ।
भारतका उच्च पहाडी क्षेत्रमा पनि वर्षाको मात्रा बढेको छ । भारतीय मौसम विभागका अनुसार वायुको गति उच्च हुँदै तिब्बती पठारतर्फ बहिरहेको छ । जसका कारण उच्च हिमाली क्षेत्रभन्दा मुनिका स्थानमा वर्षा भएको हो ।
आज वायुको आद्र्रता १४ मिलिमिटर छ भने तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । यही अवस्था केही दिनसम्म कायम रहेमा देशैभरि बादल लागी वर्षा हुन सक्ने सम्भावना रहन्छ ।


प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६ ०४:५३