दुरुत्साहनको मुद्दा लागेपछि कैलालीमा बुवा–छोरीले आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले सल्पास (विषादी) खाएर आत्महत्या गरेका हुन् । उनले आफू मर्नुअघि तीन वर्षीय छोरी अनुष्कालाई पनि सल्पास खुवाएर मारेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार १६ वैशाखमा रामबहादुरकी श्रीमती सरिता कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । सरितालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा रामबहादुरविरुद्ध उनका ससुराली पक्षले मुद्दा दर्ता गराएका थिए ।
२६ जेठमा जिल्ला अदालत कैलालीले रामबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । २२ साउनमा अदालतको इजलासले निर्दोष ठहर गरेपछि उनी छुटेका थिए । आइतबार उनले छोरीलाई पनि विष खुवाएर आफूले आत्महत्या गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६ ०२:२४