सुनसान शहर । ओछ्यानभरि छरिएका किताब । निदाउन नसकेर छुटपटिएको शरीर । टिकटिक बजिरहेको घडी हेर्छु, रातको १२ बजेछ । आँखा पोलिरहेको छ, शरीर उस्तै थाकेको । तर निद्रा छैन, नयन भिजेका छन् । दिमाग सोच्दासोच्दै थकित । यता पल्टिन्छु, उता पटिल्छु, निदाउन सक्दिनँ । धेरै सोचेँ, सोचिरहेँ, र पनि निष्कर्षमा पुग्न सकिनँ । खै किनकिन चाहिनेभन्दा धेरै नै सोचेर पो हो कि ! ह्या जेसुकै होस्, अब केही पनि सोच्दिनँ भन्दाभन्दै पनि फेरि अनेक थरी सोच्न आउँछन् ।
ल सोच्न छोडेर एकछिन आफ्ना गन्थन सुनाउँछु ।
उमेर भन्ने हाे भने म २०५५ साले, खै कत्रो भएँ भनम् ? सबै कुरा बुझिसकेजस्तो लाग्छ, अनि फेरि एकैछिनमा केही थाहा छैनजस्तो । म लेखक भएको भए यस्तै कुरा घुमाएर धेरै कुरा रमाइलो पारामा लेख्थेँ होला ।
आफ्नो मनले भनेको कुरालाई जोडेर दिनलाई दोष लगाउन त नहुने तर शरीरमा आलस्यता बढेपछि भने दिन नै अल्छीलाग्दो भएको छ । गर्नैपर्ने अत्यावश्यक काम केही नभएपछि जाँगरिलो हुनु पनि परेन । त्यसैले अपार्टमेन्टको कामधन्दा सकेपछि अल्छी मान्दै कफी बनाएँ । लिभिङरूममा चुस्की लिँदै आँखी झ्यालजस्तै देखिने झ्यालबाट बाहिर हेरेँ । आज हिजोको जस्तो मुर्ख्याइँ गर्न मन लाएन ।
हिजो घरभित्रै मात्र कति बस्नु भनेर बाहिर हिँड्न गएँ । मूल ढोका खोल्नेबित्तिकै भित्र पसेको तातो हावालाई बेवास्ता गरी कालो चस्मा र काउबोय ह्याट लगाएर तातो थाम्न सक्छु भन्ने आँट गरेको थिएँ । गर्मी पनि कति हुन सकेको, बाहिर निस्कनै गाह्रो । अनि बिनाकाम घरभित्र बसेर दिन बिताउन झन् गाह्रो । सुरुसुरुमा त केही था'छैन भन्ने बहाना थियो । अब थाहा भएर नि गाह्रो ।
घरबाहिर निस्कनै नसकिने यी गर्मीका दिनहरू वास्तवमै उराठलाग्दा, विरक्तलाग्दा छन् । झ्यालबाट बाहिर हेर्दा मनलाई आनन्द दिने कुनै दृश्य छैनन् । मनको कुरा नि के गर्नु, मनका कुराहरू पनि पोख्न साथी नहुँदा मोबाइलको क्यामेरासँग कुरा गर्दै बसेको क्षण, खोज्यो भने अझै पनि थुप्रै भिडियो छन् ।
इजरायलका देख्दै नदेखेको, उस्तैउस्तै लाग्ने गल्लीहरू । निश्चित नभएका भोलिका लागि सम्भावनाको खोजी गर्दै तिनै गल्लीहरूमा भौँतारिँदै हिँडेको । कति पटक हिँड्दाहिँड्दै आफूभित्रैबाट टुक्रिएर भक्कानिएर रोएको छु । ऐनामा हेरेर आफूलाई हेर्दै ‘तँ पनि यसरी भावनामा बग्छस् ? बिर्सिइस्, तेरो सपना ? सुखदु:ख, हाँसो रोदन आउने र जाने प्रक्रिया हो’ भन्दै आफूले आफैँलाई सम्झाएका पलहरू पनि छन ।
परिवारमा इजरायलमा लिडर भएर गएको छोरो भन्ने महत्त्वाकांक्षी अपेक्षा एकातिर छ । अर्कातिर साथीभाइको मेरो साथी इजरायलमा मोज गर्दै छ, खत्रा घुम्दै हिँड्छ भन्ने भ्रम । मोज नभएको पनि हैन, नपुग्दो केही छैन । अपार्टमेन्ट छ, सुविधा र सुख दिने सम्पूर्ण चीज छन्, त्यो पनि स- ससम्मान । बेलाबेला केही चाहिएको छ, दु:ख छ कि छैन भन्ने मान्छेदेखि कर्म गर्नी सानो अफिस, हुनु पर्नी सबथोक छन् । तर... वास्तविक जीवन अर्कै छ । अन्धाधुन्ध कस्तो मिसमास जिन्दगी ? न त अरुले सोचेजस्तो, न आफूले रोजेजस्तो नै, जीवनमा कहिल्यै एक्लो नबसेको यो मन परदेशमा आएर एक्लिनुपर्दाको पीडा ।
दालभात खान छोडेको छैन, पाउरोटीमा अझै मुख लाग्दैन, म कसरी विदेशी ? तीज एउटा कोठामा भए पनि मानेकै छु । सिट्ठी लगाएर भात, दाल र तरकारी खाएर नेपालको पहिचान दिएकै छु । अनि म कसरी इजरायली भएँ ?
साथीभाइ सबै एउटा सर्कल थियो । फुर्सद हुनेबित्तिकै जमघट भैहाल्ने । दुःख बिमार पर्दा समाधान भए नभए पनि मन खोलेर आफ्नै भाषामा त समस्या भन्न पाइन्थ्यो ।
परदेशको यो रहरको शहरमा त्यो कुरा भन्न पनि छुट छैन । मान्छेको जीवन ३० काटेपछि ओरालो लाग्ने हो, बढ्ने होइन । म भने २५ पुग्दा पनि बल्ल कागज बन्ला र नयाँ भविष्य खोज्ने यात्रा गर्दै छु ।
के पाएँ, के गुमाएँ ?
एउटा पहिलो विश्व अनुभव गर्न पाएँ तर जीवनका धेरै रङहरू गुमाएँ । नेपाल हुँदाका हजारौँ साथीहरू, आफन्त अनि बाआमा गुमाएँ, जो म परदेशिएपछि उनीहरूका अर्कै साथीभाइ अनि बाआमालाई मबिना बानी बस्यो |
इजरायलको सुन्दर शहर नेटिबोटमा छु तर म हिँडेको गल्ली, दोबाटो र खेलेको आँगन बिर्सन सक्दिनँ । न त ती खोला, पहाड र भञ्ज्याङहरू बिर्सन सक्छु, न त्यो, ढुङ्गाको धारा बिर्सन सक्छु । दाउरा, घाँस, आँप र अम्बा खाएर हिँडेका क्षण मेरो मनमस्तिष्कमा सदा रहन्छन् ।
मेरो हातमा एउटा रातो विदेशी छाप भएको पासपोर्ट मात्र छ । तर, मेरा केही चिनेजानेका, आफन्त र साथीहरू 'यो त विदेशी भइसक्यो, इजरायली भइसक्यो' भन्छन् ।
दालभात खान छोडेको छैन, पाउरोटीमा अझै मुख लाग्दैन, म कसरी विदेशी ? तीज एउटा कोठामा भए पनि मानेकै छु । सिट्ठी लगाएर भात, दाल र तरकारी खाएर नेपालको पहिचान दिएकै छु । अनि म कसरी इजरायली भएँ ?
दौरा, सुरुवाल, टोपी अझै पनि मेरो लागि परदेशमा सम्मानित पोशाक छ, म कसरी इजरायली भएँ र ?
बिहान जुरुक्क उठेपछि फेसबुक खोल्दा हेर्ने भनेको नेपालतिर त हो ।
विदेशी चाड एकछिन नयाँ देखेर रमाइलोले हेरिएला तर मादल, झ्याली र स्पिकरमा झ्यामझ्याम दोहोरी, सालैजो, कौडा र पन्चेबाजा नाचेको जस्तो जोश आउँदैन । मलाई परदेशको गल्लीगल्ली थाहा छ । कतै केही घटना भयो भने यहाँ ‘हो र ? ल’ भन्यो हिँड्यो । आफ्नो देशतिर केही भयो भने मन चुँडिएर आउँछ । अनि कसरी भइयो र इजरायली ?
न त चाडबाडमा दिदीहरू छन्, न भाञ्जाभाञ्जी, न फुपू न दाइ भाइ नै । न ठूलोबुवाको जाम भन्नु, न फुपूकोमा नै । चाड माने पनि त्यसको रङ स्वाद आउँदैन । न त हाम्रो रमाइलोमा यिनीहरू रमाउँछन्, न यिनका रमाइलोमा हामी रमाउन सक्छौँ ।
अनि एउटा ३२ पेजको कागजमा नाम दर्ता गर्दैमा विदशी कसरी भइँदो रहेछ र ? भौतिक उपस्थिति मात्र यहाँ हो, तनमन भने अझै उतै छ भन्न गाह्रो होला र ? न देश छोड्नु गलत भो भन्न सकिन्छ, न त परदेश आउनु सही भयो भन्न सकिन्छ । खै कस्तो यात्रा हो कुन्नि ?
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० ०७:१५