नेपाल शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवरले शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलन अझ सशक्त हुने बताएका छन् । सरकारले शिक्षकहरूलाई हेपेकाले आफ्ना कुरा भन्न काठमाडौं आएको उनले बताए ।
शिलापत्रसँग भिडियो कुराकानीमा उपाध्यक्ष कुँवरले सरकारले ल्याएको विधेयकले आफूहरूलाई मर्माहत बनाएको बताए । संविधानमा शिक्षा स्थानीय सरकारलाई जिम्मा दिए पनि स्रोतसाधन अभावले आफूहरू अभिभावकविहीन भएको उनको भनाइ छ । ‘जिल्ला शिक्षा कार्यालय र काठमाडौं धाउनुपर्ने बाध्यता हटेर वडा पालिकाबाटै शिक्षाको काम हुने भएपछि हामी उत्साहित नै थियौँ । तर, स्थानीय सरकार त स्रोतसाधनविहीन भन्दै पन्छिन थाल्यो,’ उनले भने ।
सरकारले ल्याएको विधेयकमा ट्रेड युनियनको अधिकार कटौती गर्दै आफूहरू संगठित हुन पाउने संवैधानिक अधिकार नै खोस्न खोजेको उनले आरोप लगाए । हामी विद्धत वर्गलाई नै राजनीतिक अधिकारबाट कटौती गर्ने हो भने स्थानीयस्तरमा खबरदारी कसले गर्छ ? उनको प्रश्न थियो । शिक्षकहरूले राजनीति गर्दा शिक्षा सुध्रिन्छ र ? भन्ने प्रश्नमा उनले भने, ‘कक्षा बहिष्कार गरेर राजनीति गर्छौं भनेका छौँ र ? पेशागत हकहितका लागि संघसंगठन खोल्ने अधिकार पनि कटौती गर्ने यो कस्तो लोकतन्त्र हो ?’
शिक्षकहरू कक्षामा भन्दा राजनीतिक पार्टी कार्यालय र कार्यक्रममा भेटिन्छन् अनि यही गर्न पाउनुपर्छ भन्ने पनि आन्दोलन हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘तपाईंले भनेको जस्तो विगतमा भयो होला । अब त्यस्ता शिक्षक भेटिए कारबाही गर्छौं । तर, शिक्षकहरू पनि बधुवा मजदुर होइनन्, उनीहरूको पनि ट्रेड युनियन अधिकार हुन्छ ।’
हेर्नुस् भिडियो अन्तर्वार्ता:
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १३:३६