करिब साढे ६ दशक पुरानो नेपालको आधुनिक उच्च शिक्षा अहिले अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ । एक दर्जनभन्दा बढी विश्वविद्यालय खुलिसक्दा पनि उच्च शिक्षाको गुणस्तर निरन्तर ओरालो लागिरहेको छ– शिक्षण सिकाइ, शिक्षक-विद्यार्थी सम्बन्ध र पाठ्यक्रमका हिसाबले ।
विश्वविद्यालय अनुदान आयोगको एक प्रतिवेदनअनुसार, उच्च शिक्षा अध्ययन गर्ने अधिकांश विद्यार्थी (करिब ७६ प्रतिशत) त्रिभुवन विश्वविद्यालयमा पढ्छन् । त्रिविले उच्च शिक्षाको ठूलो हिस्सा 'केटर' गर्छ । त्यसैले उच्च शिक्षाको बेथिति एक हिसाबले त्रिविमा भइरहेको बेथिति हो । जसमा सुधार ल्याउन सके हाम्रो उच्च शिक्षामा धेरै हदसम्म सुधार आउनेछ ।
हाम्रो शैक्षिक क्षेत्र राजनीतिले अतिक्रमित छ । शिक्षाक्षेत्रले संविधान, कानुन, नीति आदिमा उल्लेखित उद्देश्य हासिल गर्न नसकेको कुरा कसैबाट लुकेको छैन । अध्यापक, विद्यार्थी र कर्मचारी विश्वविद्यालयका प्रमुख कर्ताहरू हुन् । यिनले पेसागत उत्कृष्टता (professional excellence) भन्दा राजनीतिक पहिचान (political identity) बनाउन प्रश्रय (incentive) पाउँदा आज प्राज्ञिक अनुष्ठान लथालिङ्ग भइरहेको छ ।
प्रमुख राजनीतिक दल, जसका विद्यार्थी सङ्गठनहरू विश्वविद्यालयमा क्रियाशील छन्, उनीहरू सम्बद्ध संसदीय दलका नेताको औसत उमेर ५० वर्षभन्दा माथि छ । यसरी हेर्दा यी संगठन निर्ममतापूर्वक प्रयोगका माध्यम भएका छन् । कारिन्दा, दस्ता र झ्यानगार्डजस्ता ।
इन्टरनेटमा उपलब्ध lyndgoh कमिटीको रिपोर्टअनुसार, क्याम्पस परिसरभित्र सांगठनिक राजनीतिक गतिविधि हुनु हुँदैन । भारतमा केरेला र तामिलनाडु राज्यका क्याम्पस तथा विश्वविद्यालयमा यस्ताे अभ्यास भएको पाइन्छ ।प्रश्न उठिरहन्छ- एउटा व्यक्ति, जो पूर्ण संरचनाबाट स्वायत्त भएर आफ्ना लागि निर्णय लिन सक्छ, उसलाई कुनै दलको सिद्धान्तबाट निर्देशित किन हुनुपर्यो ? तर, यो प्रश्न अहिले भइरहेको सांगठनिक राजनीतिको गुणस्तरप्रतिको आवेगयुक्त प्रतिक्रिया होजस्तो लाग्छ । किनकि राजनीति सिद्धान्तत: फरक कुरा हो ।
राजनीति समाजमा रहेका समस्या विश्लेषण गर्ने विज्ञान र समाधान गर्ने कला हो । एउटा व्यक्ति स्वयम्ले जटिल समस्याहरू समाधान गर्न सक्षम हुँदैन, जबकि राजनीति, समस्या सामाधान गर्ने सामूहिक यत्न हो । भिन्ना-भिन्नै संगठनले समस्या समाधानका बहुविकल्प दिन सक्छन् ।
यदि राजनीतिक संगठनको स्तर निम्छरो भएको छ भने कसले हो त त्यसलाई सही दिशा निर्देश गर्ने ? वयष्क विद्यार्थी जोसँग ऊर्जा हुन्छ, रचनात्मकता र कल्पनाशीलता हुन्छ, जो आफ्नो भविष्यलाई लिएर हर बखत चिन्तन गर्छ, यदि यो जमातलाई नै राजनीतिक प्रक्रियाबाट विमुख राख्ने हो भने कसरी आकार लिन्छ देशको भविष्यले ?
तर, यसो भन्दैगर्दा अहिलेको वर्तमान परिस्थितिलाई नकार्न भने सकिँदैन । यिनै मुख्य कर्ताहरू राजनीतिक दलका दास कार्यकर्ता भइदिँदा र सधैँ आफ्नो आपसी विवाद र पूर्वाग्रहमा उत्रिँदा शिक्षा क्षेत्रको प्रशासन कमजोर भएको छ । रचनात्मकता र कौतुहलतामा ध्यान आकृष्ट गर्नुपर्ने विद्यार्थी ताल्चा लगाइदिने, शिक्षक- प्रशासकलाई धम्क्याउने, निर्घात कुट्ने, कागजपत्र च्यात्ने आदि गर्दै छन् । यी सबै अनधिकृत र अनैतिक गतिविधिहरू राजनीतिक दलका आडमा भइरहेका छन् । त्रिवि उपकुलपतिलाई विनियमावलीअनुसार सञ्चालित हुन होइन, विद्यार्थी नेतासँग मिलेर काम गर्ने आदेश आउँछ । जसले व्यवस्थापनको जिम्मा पाएका व्यक्तिलाई मामुली कारिन्दासरह बनाउँछ ।
प्राध्यापकलाई साङ्घातिक आक्रमण गर्ने, वर्षदिनभरि ताल्चा लगाउने विद्यार्थी नेताले उन्मुक्ति पाउँछन, अदालतमा लिएको मुद्दा फिर्ता हुन्छ र प्रश्रय पाउँछ त सिर्फ अनैतिक र अराजकताले ।
यसरी हेर्दा सजिलै भन्न सकिन्छ कि विद्यार्थी, शिक्षक र कर्मचारीले विश्वविद्यालयको अपनत्व ग्रहण गरेका छैनन् । उनीहरूको अनुराग, पेसा र आस्था नै राजनीतिक दल र तिनका नेताप्रति छ । विश्वविद्यालयको प्रशासन आफ्ना दल र नेताका कारिन्दासरह हुन् भन्ने पूर्ण विश्वास विद्यार्थी, शिक्षक र कर्मचारीलाई छ । यसले विश्वविद्यालयको प्राज्ञिकता र सामान्य सौहार्दतासमेतमा घात पुर्याइरहेको छ ।
राजनीतिक दलका नेतृत्वले घोत्लिनुपर्ने हो, उनीहरू स्वायत्त र आफैँ विचार गर्न सक्ने नागरिक उत्पादनको पक्षमा छन् कि कालान्तरमा आफैँले व्यवस्थापन गर्नुपर्ने अराजक झुण्डको निर्माणमा । व्यावसायिक निपूणता सक्षम र सरल नागरिक चाहिने हो भने, वर्तमान सांगठनिक परिपाटी सुधार्नैपर्छ ।
सिद्धान्ततः लोकतन्त्रका लागि दलीय व्यवस्था आवश्यक हो तर हामीलाई यो पनि चाहिएको होइन कि यसले हाम्रो जीवन, शिक्षास्थल, कार्यस्थल जताततै यो हदसम्मको हस्तक्षेप गराेस् । मानौँ, यो देश र जनता फगत दलहरूकै निमित्त जन्मेहुर्केका हुन् । यसरी एउटा राष्ट्रमा सबैभन्दा महत्त्वपूर्ण विश्वविद्यालयहरूको अस्मिताहरण भइरहेको छ, कालान्तरमा यसले विनाश निम्त्याउने पक्का छ । मुलुक व्यावसायिक उत्कृष्टतामा नगएर दलीय अखडामा परिवर्तन हुँदै छ ।
फेरि मानिस उसको स्वभावले नै परिश्रमभन्दा रवाफ र इज्जतमा आकर्षित हुन्छ । कुनै कालखण्डमा सामाजिक न्याय र स्वतन्त्रताका लागि सङ्गठित भएका र सार्थक भूमिका निर्वाह गरेका शिक्षक, विद्यार्थीको राजनीतिक भूमिकामा बन्देज त होइन तर प्याराडाइम-सिफ्ट गराउन भने आवश्यक छ । त्यसैले यो समस्याको समाधान गर्न विद्यार्थी, कर्मचारी, शिक्षक र सिङ्गो व्यवस्थापकीय संरचनाको सांगठनिक पुनसंरचना अत्यन्त आवश्यक छ । यसका लागि सबै कर्ताहरू संलग्न संगठनको उद्देश्य शुद्ध व्यावसायिक दायराभित्र खुम्चनुपर्छ । जसका लागि यी प्रमुख कर्ता र विश्वविद्यालयको उद्देश्य संगम (align) हुन जरुरी छ । आफू सम्बन्धित विश्वविद्यालयको हुर्काइ, बढाइ र गहिराइमा यिनलाई केन्द्रित गराएर कर्ताहरू स्वयम्को व्यावसायिक उत्कृटतालाई बढावा दिने खालको ढाँचा निमार्ण हुनुपर्छ ।
यी सङ्गठनहरू प्रत्येक मुद्दामा आन्दोलित हुन आवश्यक छैन । बहस-पैरवी गर्ने, सोध-अन्वेषण गर्ने र आवश्यक सुधारका लागि शिष्ट र तयारीयुक्त प्रशासनिक एवं राजनीतिक पहल गर्ने । समाजलाई सही कुरा सु-सूचित गर्न समालोचक बन्नुपर्छ विद्यार्थीहरू । विपक्षीलाई टोक्ने अरिङ्गाल र आफ्नो स्वविवेक प्रयोग गर्न नसक्ने परतन्त्री होइन, नयाँ तथा अर्थपूर्ण परिवर्तनका लागि समर्पित हुनुपर्छ । विषयगत सहकार्य गर्ने सांस्कृतिक, साहित्यिक, खेल र समसामयिक मुद्दाका संवादी समूह बन्नुपर्छ । प्राज्ञिक र प्राविधिक क्षेत्रमा संगठनहरू अग्रसर कहिले हुने ? विद्यार्थी ऋण सुविधाका लागि उठ्यो त आवाज ?
विद्यार्थी नेताहरू व्यवसाय, उद्यम, शिक्षण र अनुसन्धानमा कहिले लाग्ने ? कानुन, जनस्वास्थ्य, कृषि, अर्थतन्त्रमा घनघोर संवाद चलाएर निष्कर्ष निकालेको खै ? विद्यार्थी युनियनको नेतृत्वले शैक्षिक गुणस्तर खोज्छ, अनुसन्धानलाई संस्थागत गर्छ, सर्जक बन्छ, समालोचक बन्छ । हामी शालीन ढंगले प्रश्न राख्ने बन्नुपर्छ, विचार राख्ने बन्नुपर्छ । अब्बल शिक्षाको वकालत गरौँ, एउटै कुरालाई बहुआँखाबाट हेरौँ । अनुसन्धान कलामा पारङ्गत बनौँ । विद्यार्थीलाई जीवनपर्यन्त आवश्यक कला र सीप सिकाऔँ, भविष्यका लागि विभिन्न पेसाका नेतृत्वहरू तयार गराऔँ । अबको हाम्रो विश्वास संवाद र संकथनमा हुनेछ, विचारको खण्डन र सम्मानमा हुनेछ । आफूलाई चिन्ने, आफ्नो स्वधर्म पत्ता लगाउने चिन्तनमा हुनेछ ।
यी सङ्गठनहरूलाई जन्म दिएका राजनीतिक दलहरूले बुझ्नुपर्छ कि यस हिसाबको दलीयतन्त्रले शिक्षाक्षेत्रको पतन हुँदै गइरहेको छ र सोबमोजिम नीतिगत, प्रशासकीय र वित्तीय प्रयास अविलम्ब चाल्नुपर्छ । यो परिपाटीले स्वायत्त विचारक निर्माण गर्दैन, बरु नागरिकत्व अपहरण गरी rent-seeking मनोवृत्तिका अनुत्पादक नागरिक निर्माण गर्छ । अब ब्रह्म बोल्नुपर्छ । किनकि यस सत्यलाई उहाँहरू पनि नबुझेको अभिनय गर्दै हुनुहुन्छ ।
एकपटक सोचौँ, हामी हाम्रा विश्वविद्यालयलाई ज्ञान सीपको समालोचना नवप्रवर्तन, उत्कृष्ट प्राज्ञिकता, खोज, अन्वेषण, रचनात्मकताको केन्द्र बनाउन चाहन्छौँ कि दलीय स्वार्थको प्रयोगशाला ?
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० ०७:१०