मैले पहिलोपटक जनताका बीचमा प्रत्यक्ष जाने मौका पाएँ । पार्टीले मलाई विश्वास गर्यो । अत्यन्त कठिन परिस्थितिमा हामीले चुनाव लड्यौँ । मैले आफ्नो चुनावको अनुभव राख्दा, कस्तो स्थितिको सामना गर्नुपर्यो भने टिकट पाउनेबित्तिकै त्यहाँ एउटा ठूलो तप्का चुनाव कसरी जिताउने भन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अप्ठ्यारो पार्ने खालका गतिविधि भए । मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्काे विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा कांग्रेसकै केही साथीहरू प्रत्यक्ष संलग्न भए । यसका प्रमाण निर्वाचनकै बेला छरपष्ट भइसकेका छन् ।
मैले निर्वाचनका बेला अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरेँ । धेरैले मेरोजस्तै अनुभव गरेको मैले पाएको छु । पार्टी संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो र उनीहरूलाई पार्टीको उद्देश्यप्रति जिम्मेवार बनाउन नसक्ने हो भने पार्टी पार्टीका रूपमा रहन सक्दैन ।
अहिले नयाँ-नयाँ पार्टी जुन रूपमा सलबलाइरहेका छन्, स्थानीय तहमा गतिविधि गरिरहेका छन् । नाम नै नसुनेका उम्मेदवार उठ्दा पनि हजारौँ भोट पाउँछन् । खासगरी युवा पंक्ति, नयाँ पढेलेखेका, देशबाहिर रहेका युवाले आफ्नो परिवार, पार्टीकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुस्, पुराना पार्टीका कारण हामी विदेशिएका हौँ भनेर नयाँलाई मतदान गर्न भनेर परिवारका सदस्यमा दबाब दिइरहेको अवस्थामा हामी एकढिक्का हुनुको साँटो आफ्नै पार्टीका कतिपय नेताबाट असहयोग हुनुले स्थिति झनै गम्भीर छ । पार्टीले यसबारे अत्यन्तै गम्भीरताका साथ त्यस्ता मानसिकता भएका तथाकथित व्यक्ति जो आफूबाहेक अरु हुनुहुँदैन भन्छन् । त्यस्ता व्यक्तिलाई समयमै पन्छाउन सकेनौँ भने त्यसले झन् आगामी दिन कठिन हुने कुरा निश्चित छ ।
नयाँ पार्टीले ठूलो संख्यामा मेम्बरसिप वितरण गरिरहेका छन् । उनीहरूले मान्छेमात्र परिचालन गरेका छैनन्, आर्थिक स्रोत पनि परिचालन गरिरहेका छन् । अनलाइन र टेक्नोलोजीको माध्यमबाट उनीहरू संगठन विस्तारमा छन् । यो कुरा दिनहुँ जानकारीमा आइरहेका छन् । मैले यो विषय यहाँ राख्नैपर्छ ।
अर्काेतर्फ विभिन्न विकास निर्माण, आर्थिक विकास, निजी क्षेत्रसँग सम्बन्धित मुद्दामा, लगानीको मुद्दामा, अर्थतन्त्र संकूचित भएको स्थिति, बैंकमा भएको तरलता लगानी गर्न नसकेको अवस्था, चलिरहेका उद्योग बन्द गर्नुपर्ने परिस्थिति, यस्तो अवस्थामा हामीले तत्काल अर्काे वातावरण बनाउन सकेनौँ भने अहिले देखिएको चुनौतीलाई झन् गम्भीर बनाउने कुरा पनि निश्चित छ ।
अहिले पनि राजश्व उठ्नेक्रम, साधारण र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनौती आफ्नै ठाउँमा छन् । हुन त, मौद्रिक नीति आउन बाँकी छ । मौद्रिक नीतिमार्फत् धेरै विषयको सम्बोधन हुने कुरा अर्थमन्त्रीज्यूले बताउनुभएको छ । म आशावादी छु ।
अर्काे कुरा, अत्यन्तै गम्भीर चुनौतीको विषय रोजगारी सिर्जना नहुनु हो । अहिले पनि दैनिक दुई हजारभन्दा बढी मानिस रोजगारीका लागि विदेशिनु चुनौतीको विषय हो । मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्काे गम्भीर चुनौती हो । जसले नेपालको राजनीति र स्थापित पार्टीप्रतिको दृष्टिकोणमा बदलाव ल्याउन पनि भूमिका खेल्ने गरेको छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।
समाजमा असल छवि भएका, राम्रो अनुभव भएका र राम्रो पृष्ठभूमि बोकेका व्यक्तिलाई अगाडि सार्न सकेनौँ । पार्टीका प्रतिनिधि पात्रका रूपमा, पार्टीका सकारात्मक पात्रका रूपमा र पार्टीका प्रचारका रूपमा हामीले उभ्याउन सकेनौँ भने अहिले जे-जस्ता नयाँ राजनीतिक परिदृष्य देखिएका छन्, आगामी दिनमा त्यसलाई चिर्न सजिलो हुनेछैन ।


यी कुरामा पार्टीले ध्यान दिनुपर्छ । हामी आन्तरिक खिचातानीमा अल्मलिने होइन । पार्टी सभापतिले अत्यन्तै कठिन परिस्थितिमा चुनावमा गठबन्धनका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला पनि सुझबुझपूर्ण रूपमा कांग्रेसलाई ठूलो पार्टीका रूपमा स्थापित गराउनुभयो । स्थानीय तह, प्रदेश हुँदै संघमा पनि ठूलो पार्टी बनाउन सफल हुनुभयो । केन्द्रमा सरकारको महत्त्वपूर्ण भूमिका छ । प्रदेश र स्थानीय तहमा पनि महत्त्वपूर्ण हैसियतमा छ । आगामी दिनमा पार्टीलाई थप संगठित र सशक्त बनाउन पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउँदै असन्तुष्टिलाई सम्बोधन गर्दै हामी एकसूत्रमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ । मैले उठाएका विषयलाई सम्बोधन गर्न सबैले अनुभूति गर्ने गरी ठोस रणनीति बनाउन जरुरी छ । कांग्रेसको जारी केन्द्रीय समिति बैठक यसतर्फ अग्रसर हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
-कांग्रेस केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले केन्द्रीय कार्यसमिति बैठकमा राखेको धारणा ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १३:१७