आकाश छुन्छु भनेर
बढ्दै गरेका बाँस त झुके
पहाड नै सबै लैजान्छु भन्ने
खहरे खोलाहरू सुके ।
जीवनका कठिन यात्रा
अनि मोडहरू पार गर्दै गर्दा
हजार सपनाहरू हिँड्दाहिँड्दै
बाटैमा कति चुके ।
गन्तव्य यही हो भनी
पहिल्याउन कति गाह्रो भयो
आहा भन्ने चीजहरू
कति पटक थुके ।
मान्छे चिन्न कति गाह्रो भयो
गन्तव्यहीन यात्रामा
एकल मनहरू
कति दुखे ।
बहारसँगै
खुसी पनि आउँदै छ जिन्दगीमा
आशा अनि भरोसा आई बस्दै गर्दा
जिन्दगी यात्राका
कैयौँ रेलहरू छुटे ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० ०६:१०