हालैका वर्षहरूमा अवसरको खोजीमा विदेश पलायन हुने युवाको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । बर्सेनि लाखौँ युवा जनशक्तिले देश छाड्ने यो प्रवृत्तिको कारणबारे खोजबिन गर्ने बेला भइसकेको छ ।
पछिल्लो एक दशकमा अवसरको खोजी गर्दै विदेश गएका नेपाली युवाको संख्यामा आश्चर्यजनक वृद्धि भएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सन् २०१५ मा चार लाख २९ हजार नेपाली रोजगारीका लागि विदेशिएकोमा यो संख्या सन् २०२० मा पाँच लाख ९७ हजार पुगेको थियो । ताजा तथ्याङ्क हेर्ने हो भने, सन् २०२२ मा करिब पाँच लाख नेपाली काम गर्न वा अध्ययनका लागि विदेश गए । सन् २०१० मा करिब २ लाख नेपाली देश छोडेर विदेशमा अवसर खोज्न गएका थिए ।
अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा, युरोपेली राष्ट्रहरू, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, दक्षिण कोरिया र जापान जस्ता देश अवसरको खोजीमा रहेका नेपाली युवाहरूका लागि प्रमुख गन्तव्य हुन् । यी देशमा रोजगारीका अवसर, गुणस्तरीय शिक्षा र उच्च जीवनस्तरको सम्भावना देखेका हुन्छन् हाम्रा युवा युवतीहरूले ।
विदेश जाने उद्देश्य
नेपाली युवाहरू मुख्य रूपमा तीन कारणले विदेश जान्छन् : शिक्षा, रोजगारी र अन्य उद्देश्यका लागि । उच्च माध्यमिक शिक्षा, अर्थात् कक्षा १२ पास गरेका अधिकांश नेपाली विद्यार्थी प्रतिष्ठित अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरूमा उच्च शिक्षा हासिल गर्न चाहन्छन् । गुणस्तरीय शिक्षा प्राप्त गर्नु र विश्वव्यापी ज्ञानको सञ्जालमा 'एक्सपोजर' पाउनु यस्ता विद्यार्थीको उद्देश्य हुने गरेको पाइन्छ ।
उपयुक्त रोजगारीका अवसरहरूको अभाव, सीमित वृत्ति विकासको सम्भावना र नेपालभित्र तुलनात्मक रूपमा कम पारिश्रमिक पाउने हुनाले प्राय युवाहरू विदेशमा राम्रो तलब पाइने रोजगारी खोज्छन् । उच्च शिक्षा र रोजगारीका अतिरिक्त नेपाली युवाहरू सीप विकास, उद्यमशीलता, आफू र आफ्नो परिवारको लागि सम्पन्न जीवनका अवसर र सांस्कृतिक आदान-प्रदानका लागि पनि विदेशिन्छन् ।
बर्सेनि लाखौँ नेपाली युवा विदेशिनुका पछाडि विभिन्न कारणहरू छन् । व्यक्तिलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणले यसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विश्वस्तरको शिक्षा हासिल गर्दा वा विदेशमा रोजगारी गरेर पैसा कमाउने व्यक्तिको प्रतिष्ठा समाजमा बढ्छ । कतिपय अविभावकको 'मेरो छोरो वा छोरी अमेरिकामा छ । कार किनेको छ,' जस्ता रवाफले पनि अधिकांश नेपालीलाई प्रभावित गरेको छ । आफू पनि त्यस्तै सम्पन्न बन्ने लालशाले युवाहरूलाई लोभ्याउँछ । साथीहरूको प्रभाव, आर्थिक रूपमा सम्पन्न बन्ने पारिवारिक अपेक्षा र सफल व्यक्ति बन्ने सामाजिक दबाबले पनि नेपाली युवामा विदेश जाने आकर्षण बढाएको छ ।
राजनीतिक अस्थिरता, पटक–पटक सरकार परिवर्तन र प्रभावकारी शासन व्यवस्थाको अभावले धेरै नेपालीलाई निराश बनाएको छ । व्यवसायका लागि अनुकूल वातावरणको अभाव, व्यापक भ्रष्टाचार, कर्मचारीतन्त्रले खडा गर्ने अनेक व्यवधान र यी समस्या समाधान गर्ने राजनीतिक इच्छाशक्तिको अभावले नेपाली युवाहरूलाई अन्यत्र स्थिरता र अवसर खोज्ने चाहनालाई बढाइराखेको छ ।
उच्च बेरोजगारी दर, रोजगारीका सीमित अवसर, रोजगारी पाए पनि न्यून पारिश्रमिक र आयमा असमानता जस्ता आर्थिक चुनौतीले धेरै नेपाली युवालाई विदेशमा राम्रो आर्थिक सम्भावनाको खोजी गर्न उत्प्रेरित गर्छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले पठाएको विप्रेषण उनीहरूका परिवारका लागि आय आर्जनको महत्वपूर्ण स्रोत बनेको छ । लाखौँ नेपाली कामदारले विदेशबाट पठाउने विप्रेषणले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइराखेको छ । सन् २०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान करिब २४ प्रतिशत रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक रूपमा उपलब्ध छ । यो तथ्याङ्कले मुलुकको आर्थिक स्थायित्वका लागि वैदेशिक रोजगारी कति महत्वपूर्ण छ भन्ने प्रष्ट पार्छ ।
प्रविधिको क्षेत्रमा भइराखेको प्रगतिले अवसरको विशाल क्षितिज खोलेको छ । आजका शिक्षित तथा प्रविधिमा दक्ष युवालाई घरमै बसेर टाढाको काम गर्ने, सूचना प्रविधि, सफ्टवेयर विकास, डिजिटल मार्केटिङजस्ता उदीयमान क्षेत्रहरूमा राम्रो कमाइ हुने 'करियर' खोज्न सक्ने बनाएको छ । पर्याप्त प्राविधिक पूर्वाधारको अभाव, प्रविधि क्षेत्रमा सीमित रोजगारीका अवसर र विश्वव्यापी डिजिटल जनशक्तिमा जोडिने चाहनाले नेपाली युवाहरूलाई विदेशमा अवसर खोज्न उत्प्रेरित गर्छ ।
राष्ट्र र समाजमा पर्ने प्रभाव
ठूलो संख्यामा नेपाली युवाको बहिर्गमनले देश भित्रका विभिन्न क्षेत्रमा ठूलो प्रभाव पारिराखेको छ । नेपाली युवाको विदेश पलायनले नेपालमा सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव देखिन्छ ।
सकारात्मक प्रभाव
• विप्रेषण : वैदेशिक रोजगारीमा गएका लाखौँ नेपाली कामदारले प्रत्येक वर्ष दशौँ अर्व रुपैयाँ नेपालमा रहेका आफ्ना परिवारलाई पठाउँछन् । आप्रवासी कामदारले पठाएको यो विप्रेषणले लाखौँ परिवारका लागि जीवन स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसरी नेपाल भित्रिने विप्रेषणले गरिबी न्यूनीकरण र जीवनस्तर सुधारमा योगदान पुर्याउँछ । तर दूरगामी हिसाबले हेर्दा, विप्रेषणमा अत्यधिक निर्भरताले देशका लागि आर्थिक कमजोरी सिर्जना गर्न सक्छ, किनकि देश आयको बाह्य स्रोतहरूमा निर्भर हुन जान्छ ।
• सीप र ज्ञान : उच्च शिक्षा हासिन गर्न होस् वा कामदारका रूपमा विदेश गएका हुन्, नेपाली आप्रवासीले नेपाल फर्कँदा त्यहाँ सिकेका नयाँ सीप र ज्ञान पनि सँगै लिएर आउँछन् । यस्तो सीप र ज्ञानले अर्थ व्यवस्था सुधार गर्न र देशको विकास गर्न मद्दत गर्न सक्छ ।
• नयाँ संस्कृतिसँग साक्षात्कार : विदेशमा पढेर वा रोजगारी गरेर स्वदेश फर्केका नेपाली आप्रवासीहरूले आफ्ना अनुभव अरूलाई सुनाउँछन्, जसले सामाजिक सहिष्णुता र विविध संस्कृतिबीच घुलमिल गर्न मद्दत पुग्छ ।
नकारात्मक प्रभाव
• प्रतिभा पलायन : ठूलो संख्यामा युवाको बसाइसराइले प्रतिभा पलायनको समस्या निम्त्याउँछ । यसो हुँदा मुलुक दक्ष जनशक्ति र भविष्यका नेतृत्वकर्ताबाट वञ्चित हुन्छ । शिक्षित र प्रतिभाशाली व्यक्तिहरूको अनुपस्थितिले देशभित्रको सामाजिक विकास र नवप्रवर्तनमा बाधा पुर्याउन सक्छ ।
• जनशक्तिको अभाव : काम गर्ने उमेरका लाखौँ युवा विदेश पलायन हुँदा मुलुकमा श्रमशक्तिको अभाव हुन सक्छ । दक्ष कामदार र पेसाकर्मीको अभावले स्वास्थ्य सेवा, इञ्जिनियरिङ, शिक्षा लगायतका महत्वपूर्ण क्षेत्रमा जनशक्तिको अभाव हुन सक्छ । दक्ष जनशक्तिको यो अभावले नेपालको विकासमा बाधा उत्पन्न हुन सक्छ । त्यसै गरी दक्ष जनशक्तिको अभावले सामाजिक चुनौतीहरूलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्ने हाम्रो क्षमतामा ह्रास ल्याउन सक्छ ।
• सामाजिक समस्यामा वृद्धि : लाखौँ युवा विदेश पलायन हुँदा पारिवारिक वियोग, अपराधमा वृद्धि, लागुपदार्थ दुर्व्यसन जस्ता सामाजिक समस्याहरू वढ्ने जोखिम उच्च हुन सक्छ ।
कसरी रोक्ने त युवालाई विदेश पलायन हुनबाट ?
नेपाली युवाहरूलाई स्वदेशमै टिकाइ राख्न र उनीहरूको क्षमता र दक्षतालाई देश भित्रै सदुपयोग गर्न विभिन्न सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ :
• सरकार : सरकारले नयाँ-नयाँ रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्छ । व्यवसाय गर्न सजिलो हुने खालको अनुकूल वातावरण सिर्जना गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने, सीप विकास कार्यक्रममा लगानी गर्ने, सुशासनको प्रत्याभूति जस्ता कामहरू सरकारले अविलम्ब थालिहाल्नु पर्छ । युवा विदेशिने यो विकराल समस्या सम्बोधन गर्न र उनीहरूलाई देशभित्रै काम गर्न प्रोत्साहन गरी युवा पुस्तालाई राष्ट्रको विकासमा योगदान पुर्याउन प्रेरित गर्ने नीति निर्माण गरी त्यस्ता नीतिको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।
• शैक्षिक संस्था : शैक्षिक संस्थाहरूले शिक्षाको गुणस्तर वृद्धि गर्ने, बदलिँदो परिवेश अनुरूपको सान्दर्भिक र बजारलाई चाहिने दक्षता सिकाउने प्रकारका पाठ्यक्रमहरू लागू गर्ने, अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी गर्ने र अनुसन्धान तथा नवीनताका लागि अवसरहरू सिर्जना गर्ने जस्ता काम गर्नु आवश्यक छ । यसो गर्न सकियो भने हाम्रा प्रतिभाशाली विद्यार्थीहरूलाई देशभित्रै बसेर काम गर्न प्रेरित गर्नेछ ।
• समाज : परिवार, समुदाय र सामाजिक संस्थाहरूले स्थानीय प्रतिभालाई प्रोत्साहन र कदर गर्ने मानसिकता अपनाउनुपर्छ । अर्काको देखासिखी नगर्ने र आफ्नै बलबुताले केही गर्ने मानसिकता परिवार र समाजमा विकास गर्न सकियो भने युवा पुस्तालाई स्वदेशमै बसेर काम गर्न प्रेरित गर्न सकिन्छ ।
• गैरसरकारी तथा व्यापरिक क्षेत्र : निजी उद्योग, व्यापारिक कम्पनी, गैरसरकारी संस्था तथा संगठनहरूले युवा विकास कार्यक्रमहरूमा लगानी गर्नुपर्छ । प्रतिस्पर्धी रोजगारीका अवसरहरू प्रदान गर्ने, विकास, नवीनता र नेतृत्वलाई प्रोत्साहन दिने संस्कृतिको विकास गरिनु महत्वपूर्ण हुन्छ । यस्ता संस्थाहरूले कलेज र विश्वविद्यालयहरूसँग सहकार्य गरेर शैक्षिक पाठ्यक्रम र उद्योगका आवश्यकताबीचको खाडल पुर्न मद्दत गर्न सक्छन् ।
माथि उल्लेखित उपायहरूका अतिरिक्त, सरकारले नेपाली युवाहरूलाई देशमै बस्ने वातावरण निर्माण गर्न अन्य कदमहरू पनि चाल्न सक्छ, जस्तै :
• युवालाई नेपालमा अध्ययन गर्न र काम गर्न सजिलो बनाउने : सरकारले आर्थिक सहयोग, छात्रवृत्ति र अन्य सहयोग उपलब्ध गराएर नेपाली युवालाई नेपालमा अध्ययन गर्न र काम गर्न सहज बनाउन सक्छ । यसले नेपाली युवालाई स्वदेशमै बसेर देश विकासमा योगदान पुर्यासउन थप आकर्षक बनाउनेछ ।
• सामाजिक र आर्थिक समानताको प्रवर्द्धन : सरकारले शिक्षा, स्वास्थ्य सेवा र अन्य सामाजिक कार्यक्रमहरूमा लगानी गरेर सामाजिक र आर्थिक समानतालाई बढावा दिन सक्छ । यसले न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न मद्दत गर्नेछ, जसले गर्दा नेपाली युवाहरूको आफ्नै देशमा उज्ज्वल भविष्य हुने सम्भावना बढी हुनेछ ।
विदेशमा अवसरको खोजी गर्ने नेपाली युवाहरूको चाहनालाई सामाजिक, राजनीतिक, आर्थिक र प्राविधिक कारकहरूको परिणामका रूपमा लिन सकिन्छ । यो प्रवृत्तिले नेपालमा पार्ने प्रभाव गम्भीर छ । यो प्रवृत्तिले विभिन्न क्षेत्रमा प्रभाव पारेको छ । बर्सेनि बढ्दै गएको यो समस्यालाई सम्बोधन गर्न सजिलो छैन । तथापि, युवाहरूको विदेश पलायनका अन्तर्निहित कारणहरूलाई सम्बोधन गर्ने उपायहरू लागू गरेर र युवाहरूको उन्नयनका लागि अनुकूल वातावरण सिर्जना गरेर नेपालले आफ्ना प्रतिभाशाली युवाहरूलाई स्वदेशमै बस्न प्रेरित गर्न र उनीहरूको क्षमतालाई राष्ट्र निर्माणमा परिचालन गर्न सक्छ । यसका लागि युवाहरूका लागि स्वदेशमै आशाजनक भविष्य निर्माण गर्न सरकार, शैक्षिक संस्था, समाजलगायत सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक छ ।
abinashgajurel3@gmail.com
(एनिमेशनमा रुचि राख्ने लेखक स्नातकका विद्यार्थी हुन् ।)
प्रकाशित मिति: आइतबार, असार १७, २०८० ०७:३७