प्रायः स्कुल एसेम्ब्लीमा विद्यार्थीलाई 'अबदेखि राम्ररी पढ, यदि पढेनौ भने तिमीहरूकाे प्राक्टिकल मार्क्समा असर पर्नेछ । स्कुल टाइममा आएनौ भने ठ्याक्कै १० बजे गेटमा ताला लाग्छ र तिमीहरूको हाजिरी गर्दैनौँ । तिमीहरूको अभिभावकलाई बोलाएर के गर्नुपर्ने हो, उपचार गर्छु' लगायतका नकारात्मक टिप्पणी कति त्यही बारम्बार विद्यार्थीले सुन्ने के ?
अब त 'के भन्न लागे' भनेर पनि थाहा हुने के विद्यार्थीहरूलाई । 'आज पनि त सधैँजस्तो भाषण नै सुनाउने हो' भनेर सुस्तरी विद्यार्थीहरूले एकअर्कालाई भनिरहेको सुनिएकै छ सधैँ ।
मलाईचाहिँ विद्यार्थीलाई होच्याएर बोलेको, उनीहरूलाई गाली गरेको, पिटेको पटक्कै मन पर्दैन । साह्रै रिस उठेर आउँछ त्यस्ता शिक्षकहरूसँग ।
हो, कोहीकोही विद्यार्थीहरू फोहोर भएर आउँछन् । नङ ठूलै हुन्छ । कपाल मिलेको हुँदैन । कपडा सानो हुन थालेको हुन्छ शरीरमा । नयाँ किन्न सकिरहेका हुँदैनन् । खुट्टामा मोजा जुत्ता हुँदैन । तर, मायाले सम्झाउन त सक्छन् नि– सफा सुग्घर भएर आउनुपर्छ । किन कपाल छोटो अथवा मिलाएर आउनुपर्छ । खुट्टामा मोजा जुत्ता लगाएन भने के हुन्छ भनेर ।
जुत्ता लगाएन भने खुट्टा ठोक्किन सक्छ, घाउ हुन सक्छ । त्यसले झन् उपचार खर्च बढ्छ । दुख्छ । परिवारलाई आर्थिक तथा मानसिक भार पर्न सक्छ भनेर बुझायौँ भने कसले बुझ्दैन होला के ? सम्झाउने पनि तरिका हुन्छ नि । तर कति शिक्षकलाई त बोल्ने शिष्टाचार पनि नआएको देख्दा उदेक लागेर आउँछ ।
मेरो आग्रह आफ्ना विद्यार्थीको हौसला बढाउनुस् एसेम्ब्लीमा । धेरैको गर्न नसके एक दुई जना विद्यार्थीको राम्रो पक्षको तारिफ गरिदिनुस् हरेक दिन । उनीहरूको मनोबललाई उच्च बनाउने तरिका सोच्नुस् । एसेम्ब्लीलाई रोचक बनाउनुस् । विभिन्न शैक्षिक खेल खेलाउन सक्नुहुन्छ । गीत प्रस्तुत गर्न लगाउन सक्नुहुन्छ ।
अभिभावकको मन जित्ने काम कुनचाहिँ स्कुलले गरेको छ ? जति बेला नि अभिभावकलाई उनका छोराछोरीकाे नकारात्मक कुरा भन्दाभन्दा काे आउन चाहन्छ र स्कुलमा ? हाम्रो नेपाली समाजमा सकारात्मक कुरा गर्ने चलन नै कहिल्यै सिकाइएन । खालि नकारात्मक मात्रै ।
विभिन्न शिक्षकलाई जिम्मेवारी दिई उहाँहरूलाई खुला छोडिदिनुस्, केही सानो २/४ मिनेटकाे रमाइलो कार्यक्रम गराउनलाई, रोटेस्नल तरिकामा । अथवा शहर, गाउँठाउँको महत्वपूर्ण व्यक्ति अग्रजलाई बोलाएर उहाँहरूको दक्षता ज्ञान भन्न लगाउनुस् । अथवा कुनै विद्यार्थीलाई अन्तर्वार्ता लिन सिकाएर त्यस्तो महत्त्वपूर्ण व्यक्तिको सानो ४/५ वटा प्रश्न सोध्न लाएर अन्तर्वार्ता लिन सिकाउनुस् । बरु महिनामा एकचोटि 'बेस्ट अभिभावक' भनेर कुनै अभिभावकलाई प्रोत्साहनस्वरूप सम्मान गर्नुस् । अनि कसरी अभिभावकले चासो राख्दैन स्कुलप्रति, हामी पनि हेरौँ न । खालि टिप्पणी गरेको छ– अभिभावकले चासै दिँदैन भनेर ।
अभिभावकको मन जित्ने काम कुनचाहिँ स्कुलले गरेको छ ? जति बेला नि अभिभावकलाई उनका छोराछोरीकाे नकारात्मक कुरा भन्दाभन्दा काे आउन चाहन्छ र स्कुलमा ? हाम्रो नेपाली समाजमा सकारात्मक कुरा गर्ने चलन नै कहिल्यै सिकाइएन । खालि नकारात्मक मात्रै । अनि सबैले नकारात्मक कुरा गरेपछि कसले राम्रो कुरा बोल्ने र देख्ने ?
कति धेरै कुरा गर्न र सिकाउन सकिन्छ विद्यार्थीलाई स्कुलको एसेम्ब्लीमा । स्कुलको एसेम्ब्लीलाई कति रोचक बनाउन सकिन्छ । अनि एसेम्ब्लीमा त धेरै कुरा सिक्ने सिकाउने थलो हो सबै जनालाई एकैचोटि । शिक्षक होस् वा विद्यार्थी, सबका लागि ठाउँ समान भएकाले सबैको हित हुने कार्यक्रम गराउने कस्तो गजबकाे पो ठाउँ हो । न कि विद्यार्थीलाई धम्क्याउन र गाली गर्न ।
कुनै दिन मैले स्कुलको नेतृत्व सम्हाल्ने मौका पाए मेरो स्कुलका शिक्षक, विद्यार्थीलगायत वरिपरिका समुदायलाई हरदिन सशक्त बनाउनेछु । त्यो गर्न खासै गाह्रो पनि त छैन । बस् चाहिने भनेको इच्छा, चाहना र अलिकति जोश र जाँगर त हो ।
अधिकांश प्रधानाध्यापक र सह–प्रधानाध्यापकज्यूहरूले यत्ति पनि नबुझेको देख्दा धेरै प्रश्न उठ्छ मन मस्तिष्कमा । किन यहाँहरू त्यस्तो के ? (लेखक टिच फर नेपालको अलुम्नाई हुन् । उनी हाल रूपान्तरणमुखी सिकाइ सहजकर्ताको भूमिकामा उत्तरी धादिङ्गको गंगाजमुना गाउँपालिकास्थित तामाङखर्क मावि र वडा ३ र ४ मा रहेको फिडर स्कुलमा कार्यरत छन् ।)
०००
(माेइन उद्दिनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहाेस्)
प्रकाशित मिति: शनिबार, असार ९, २०८० ०८:२४