कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टीले अलग हुने निर्णय गरेको छ र समर्थन पनि फिर्ता लिएको छ । बुधबार इटहरीमा बसेको जसपा प्रदेश समितिको बैठकले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
जसपाले एमाले नेतृत्वमा रहेको कोशी प्रदेशको समर्थन फिर्ता लिएपछि अब सरकार के हुन्छ भन्ने चर्चा सुरु भएको छ । गत पुस २४ मा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की एमाले, नेकपा माओवादी, राप्रपा र जसपाका कुल ६० सांसदहरूको समर्थन मुख्यमन्त्री नियुक्त भएका थिए ।
संघीय सरकारमा एमालेले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको पृष्ठभूमिमा माओवादीले कार्कीलाई समर्थन गरेको थियो । त्यतिबेला देशभरका सातमध्ये चारवटा प्रदेशमा एमाले, दुईमा माओवादी र एउटा प्रदेशको मुख्यमन्त्री जसपालाई दिने सहमति बनेको थियो ।
संघीय सरकारमा माओवादीसँग एमालेको खटपटपछि भने प्रदेशको नेतृत्व फेरबदल भएको थियो । त्यतिबेलै चारमध्ये तीनवटा प्रदेशबाट एमालेले मुख्यमन्त्रीबाट हात धुनुपरेकोथियो । तर, कोशी सरकारमा भने प्रादेशिक आवश्यकता भनेर माओवादीले एमालेलाई दिएको आफ्नो समर्थन कायम राखेको छ ।
प्रादेशिक आवश्यकता बताउँदै एमाले सरकारलाई समर्थन निरन्तर दिएको माओवादीले जसपाले सरकार छाडेसँगै के गर्ला भन्ने विषयलाई चासोका साथ हेरिएको छ । जसपाले सरकारको समर्थन छोड्दा अहिले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा ५९ जना सांसदको समर्थन भने अझै रहेको देखिन्छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत ४७ सांसद आवश्यकता पर्छ । यदि माओवादीका १३ (सभामुख सहित) सरकारको समर्थन छाड्दा भने कार्की नेतृत्वको सरकार अल्पमतमा पर्छ । अर्थात्, मुख्यमन्त्री हिक्मत कार्कीको पक्षमा एमाले ४० र राप्रपा ६ गरी ४६ सांसदको मात्र समर्थन साथमा रहन्छ ।
यता माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताउँछन् । वैकल्पिक सरकार बनाउन ४६ जना राप्रपा र एमालेबाहेक ४६ सांसद मात्र पुग्ने सङ्केत गर्दै आङ्बोले हालकै सरकारलाई निरन्तरता दिने बताए ।
‘अहिले तत्काल हामी सरकार छाड्दैनौँ । यही सरकारलाई समर्थन छ,’ केन्द्रीय गठबन्धनअनुसार सरकार परिवर्तन हुन लाग्या हो ? भन्ने शिलापत्रको प्रश्नमा आङ्बोले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणपछि केन्द्रीय गठबन्धनमा प्रदेश सरकारको विषयमा कसरी स्पष्ट धारणा आउँछ सोहीअनुसार गर्छौं ।’
हुन त अहिले केन्द्रीय गठबन्धनकै मोडेलअनुसार कोशी प्रदेशमा एमाले र राप्रपालाई बाहिर राखेर सरकार बनाउन सक्ने स्थिति भने छैन । केन्द्रीय गठबन्धनअनुसार कोशी प्रदेशमा अहिले कांग्रेसको २९, माओवादीको १२ (सभामुख बाहेक), एसको ४ र जसपाको १ सांसद गरी यो गठबन्धनमा ४६ सांसद छन् ।
त्यसैगरी, गठबन्धन इतर मोर्चामा समेत ४६ जना सांसद रहेका छन् । एमाले ४० र राप्रपाको ६ जना गरी जम्मा ४६ जना इतर मोर्चामा छन् । अहिले दुवै मोर्चामा नदेखिने सांसद सङ्ख्या भने १ छ । अर्थात्, सभामुख । सभामुख यी दुवै मोर्चामा खुलेर देखिन मिल्दैन । सदनमा कुनै विषयमा मत बराबर भए अन्तिम मतदानमा मात्र भाग लिन पाउँछन् ।
त्यसैले प्रदेशको चार दलीय गठबन्धनले समेत मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्ने आधार हुँदैन । राजनीतिक रूपमा ४७ सांसद रहे पनि सभामुख तटस्थ हुने भएकाले प्राविधिक हिसाबमा चारदलीय गठबन्धनमा ४६ सांसद मात्र रहन्छन् । सभामुख दलको सदस्य नहुनाले चार दलीय गठबन्धनले प्रदेश प्रमुखसमक्ष ४७ को दाबी पेस गर्न सक्ने आधारसमेत देखिँदैन ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १५:२९