संघीय लोकतान्त्रिक गणतन्त्रले १५ वर्ष पूरा गर्दैगर्दा आमनागरिकले भने खासै नयाँ अनुभूति गर्न पाइरहेका छैनन् । आज पनि समाजको तल्लो वर्गले निःशुल्क शिक्षा पाउन सकेको छैन, लैंगिक असमानता र जातीय छुवाछुत जीवितै छ । गरिखाने वर्गलाई हातमुख जोड्न धौ–धौ भइरहेकै छ । सामान्य रोगको समेत उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थिति छ । स्वदेशमा राेजगारी नपाएर विदेशिनेकाे संख्या लाखौँ छ । बेथिति र भ्रष्टाचारले सीमा नाघेको छ । सार्वजनिक संस्थाहरूको साख गिर्दो छ । यस्तोमा दल, नेता र राजनीतिप्रति एकखाले वितृष्णा हुर्कंदो छ ।
किन यस्तो भयो ? नेपाली राजनीति कहाँ चुक्यो ? शिलापत्रले लेखक, प्राध्यापक एवं बृहत् नागरिक आन्दोलनका अगुवा डा. सञ्जीव उप्रेतीसँग भिडियो संवाद गरेको छ ।
नेपालमा गणतन्त्र आएको १५ वर्ष पुग्यो । गणतन्त्रको महसुस शीतल निवासमा राष्ट्रपति देखिनु मात्र त पक्कै हैन होला ? हाम्रो गणतन्त्र सही दिशातर्फ हिँडिरहेको छ ?
दिशा त त्यतै जानुपर्ने हो तर, सही बाटो भएर गइरहेको छैन । इतिहासको दिशा फर्काउन सकिन्न । हामी गणतन्त्रमै जाने हो । फङसनिङ लोकतन्त्र बनाउने हो । वास्तविक गणतन्त्रको अभ्यासलाई अवरुद्ध गर्ने, गणतन्त्रलाई अवरोध गर्ने जे भइरहेको छ, त्यो बाधा पार गरेर जानुपर्छ ।
गणतन्त्र एउटा संस्कृति हो । सोपानतन्त्रलाई खत्तम गर्नुपर्छ । सकिँदैन भने जतिसक्दो न्यून गरेर जानुपर्छ । राजतन्त्रमा राजा हुन्छ, भारदार, मन्त्री हुन्छ, आसेपासे हुन्छ, रैती, दास हुन्छन् । एउटा हाइर्याकी हुन्छ । भर्याङ बनाउँछ । गणतन्त्रको संस्कृतिमा सोपानहरू भत्किनुपर्छ जतिसक्दो । किनभने, यसले नागरिक सर्वोच्चताको कुरा गर्छ । त्यो भनेको नागरिक एउटै सतहमा हुनुपर्यो । तर, त्यो सोपानतन्त्र भत्किन सकिरहेको छैन । हाम्रो समाजमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि अहिले कोहीचाँहि विशिष्ट, कोही निकृष्ट । कोही भीआईपी, कोही आममान्छे ।
हिजो जनताले जे सोचेर गणतन्त्रको नारा लगाए, त्यो सपना किन पूरा भएन ?
२०६२/२०६३ को त्यो धेरै ठूलो आन्दोलन थियो । गुरुकुलमा हुँदा म आफैँ कुटपिटमा परेको थिएँ । गणतन्त्र आउनुपर्छ, नागरिक सर्वोच्चता हुनुपर्छ भनेर त्यतिबेला नारा लागेका थिए । एक किसिमको उत्साह, आदर्श थियो । अहिले त्यतिबेलाको आदर्श पातलिँदै गएझैँ लागेको छ । यत्रो जनयुद्ध, जनआन्दोलन केका लागि थियो भन्ने एक किसिमको निराशा बढेको छ । किनभने, गणतन्त्रको अभ्यास सही भएको छैन । भ्रष्टाचारसहितको लोकतन्त्र, सोपानतन्त्रसहितको गणतन्त्र जो छ, त्यो परिवर्तन गर्नुपर्छ । अब पनि राजा भनेर अहिलेको जमानामा नागरिक रैती भएर बस्न सक्दैन ।
संघीयता छ, प्रदेशप्रति चर्को असन्तुष्टि छ । लोकतन्त्र छ, पार्टी र नेताप्रति वितृष्णा बढ्दो छ । गणतन्त्र छ, तर जनताले अनुभूति गर्न पाइरहेका छैनन् । किन यस्तो भयो ?
भ्रष्टाचार सबैतिर व्याप्त छ । आमनागरिक नागरिकता बनाउन जान्छन्, परिचयपत्र लिन जान्छन् । घण्टौँ लाइनमा बस्छन् । उनीहरूले देख्छन्, छेउमा एउटा मान्छे आउँछ । जसको पहुँच छ, उसले दुई घण्टामै पाइरहेको हुन्छ । पासपोर्ट पनि तुरुन्तै बन्छ उसको । त्यसपछि उसलाई यो देशमा जो लोकतन्त्र भनियो, गणतन्त्र भनियो, त्यो मेरो लागि हैन रै'छ भन्ने महसुस हुन थाल्छ ।
२०७९ वैशाखको स्थानीय चुनाव, ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा चुनाव र १० वैशाख २०८० को उपनिर्वाचनमा जनताले केही पार्टी, नयाँ अनुहारप्रति आशा जनाए । पुरानो पार्टीबाट आशा गर्न छाडेको संकेत हो ?
यो स्वाभाविक हो । पुराना पार्टीहरूले यत्रो वर्षदेखि सरकार चलाउने मौका पाए । तर, केही गरेनन् । त्यसैले 'नो नट अगेन' भन्ने नारा नै उठ्यो । कतिचोटि हेर्ने ? एउटै मान्छेलाई बारम्बार मौका दिइसके । (शेरबहादुर) देउवा पाँचपटक भइसक्नुभयो । कांग्रेस, एमाले, माओवादी सरकारमा यिनै छन् । बारम्बार पठाउँदा पनि डेलिभरी गर्न सकेका छैनन् । एक किसिमको असन्तुष्टि हुनु स्वाभाविक हो । त्यो असन्तुष्टिले एउटा धरातल बनाएको छ । त्यसमा रास्वपा आएको छ, अरु दल आएका छन् । त्यसलाई म सकारात्मक रूपमा लिन्छु ।
पुराना दलहरूलाई झट्का दिन आवश्यक थियो, त्यो झट्का अहिले लागेको छ । नयाँले पनि के गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ । तैपनि नयाँ दलमा युवाहरू आइरहेका छन् त्यो पनि सकारात्मक हो ।
तर, पुराना दलका नेताहरू त आउटडेटेड भइसक्नुभयोजस्तो लागेको छ । प्रविधि पनि धेरै परिवर्तन भइसक्यो नि । १०/१५ वर्षमा संसारको प्राविधिक क्षितिज नै परिवर्तन भइसकेको छ । त्यसमा उहाँहरू कत्तिको अपडेटेड हुनुहुन्छ ? नयाँ पार्टी, नयाँ मान्छे, नयाँ जोस र नयाँ शक्ति राजनीतिको मूलधारमा आएको खराब हैन, त्यो राम्रै हो ।
गणतन्त्रमा दलभित्रै लोकतन्त्र छैन । सामान्तवाद हाबी छ । देश चलाउने नेताहरू पार्टी चलाउनसमेत नसकेको जस्तो लाग्दैन ?
समानान्तर भूमिमा बसेर मान्छेहरू छलफल गरिरहेका छन् भने त्यो लोकतन्त्रिक अभ्यास हो । एउटा माथि आसनमा बस्छ, अर्को तल बसेर हेर्छ भने त्यो सामान्तवादी संस्कृतिमा हुने कुरा हो । गणतन्त्रमा त्यो परिवर्तन हुनुपर्छ ।
हाम्रा राजनीतिक दलको संरचना हेर्दा गणतन्त्रमा त आउनुभो, उहाँहरू लोकतन्त्रको पनि कुरा गर्नुहुन्छ । संविधानमा समाजवाद नै लेखिएको छ । अभ्यास हेर्दा सामन्ती संस्कृतिजस्तो, एउटा माथि बसेर अभिभावक बन्ने । उसले युवाहरूको कुरा नसुन्ने । युवाहरूलाई त्यही पार्टीमा आउन पनि कैयौँ वर्ष संघर्ष गर्नुपर्ने । युवानेता भन्दाभन्दै गगन थापा, विश्वप्रकाश नै अधबैँसे हुँदै वृद्धावस्थातिर लागिसक्नुभयो । त्यो आफैँ सामान्तवादी संरचना देखिन्छ । पार्टीको विधानमा जे लेखे पनि मनमै सामन्तवाद छ भने त्यो व्यवहारमा देखिन्छ ।
चुनावबाट नयाँ दलहरू स्वतन्त्र नेताहरू, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, नागरिक उन्मुक्ति पार्टीहरू उदाए । यो तत्कालीन असन्तुष्टिको परिणाम मात्र हो कि यसले राजनीतिको कोर्स नै करेक्सन गर्नेवाला छ ?
नयाँ पार्टीहरूमा युवाहरूमा आएकोमा म खुसी छु । तर, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दर्शन स्पष्ट छैन । राप्रपाकै बाटोमा हिँड्छ कि ? भूराजनीतिक असरले पनि काम गर्छ । मोदी आएपछि भारतमा असहिष्णु हिन्दुत्वको संस्कृति बनेको छ । त्यसको बाछिटा नेपालमा पनि आउन सक्छ । दक्षितपन्थको यात्रातर्फ नयाँ पार्टी लाग्ने त हैनन् ? निर्णय गर्ने ठाउँमा पुगेर काम गर्न थालेपछि पनि यो सबै प्रस्ट होला । तर, अहिलेलाई आशा पनि गर्न सकिन्छ । उनीहरूलाई शंकाको सुविधा दिन सकिन्छ । तर, उहाँहरू आउँदैमा वास्तविक लोकतन्त्र, वास्तविक गणतन्त्र आउने भने होइन ।
विस्तृत भिडियो संवादः
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० २१:०५