श्रमबार उर्फ शनिबार, २०८० वैशाख २३
समय : बिहान ८ बजे
घाम बिस्तारै चर्किन थालेको छ । धरानको धनकुटे रोडमा भेला भएकाहरू पटनाली खोला पार गरेर बराहक्षेत्रको भूमिमा छिरिसकेका छन् । कोही ठूला सार्वजनिक गाडीमा छन् । कोही निजी कार त केही मोटरसाइकल र स्कुटरमा ।
खानेपानीको लागि श्रममा आउनेको उमेर अनि पहिरनमा पनि विविधता छ । आफ्नै शैली र जोसमा छन् सबै । श्रम गर्न आउनेमा वृद्धहरू छन्, युवा छन्, अधबैँसे छन्, किशोर किशोरी पनि छन् । उनीहरूको पृष्ठभूमि फरक छ, आर्थिक अवस्था पनि फरक छ । तर, उद्देश्य एउटै छ- कोकाहको पानी धरानसम्म पुर्याउनु ।
चुरेको फेदबाट धरान उपमहानगर हुँदै मदन भण्डारी राजमार्ग बराहक्षेत्र नगर छिर्छ । धरान र बराहक्षेत्रलाई मदन भण्डारी राजमार्गले जोड्दै गर्दा पटनाली खोलाले भने यिनीहरूलाई छुट्याउँछ । त्यही पटनाली खोलादेखि अलि पश्चिममा रहेको बगुवा खोला किनारमा केही हप्तादेखि श्रमदान चलिरहेको छ ।

'पानी राजनीति’मार्फत उदाएर धरानको मेयर बनेका हर्क साम्पाङले शनिबारलाई 'श्रमबार’ बनाएका छन् । श्रमबारको दिन साम्पाङको आह्वानमा केही हप्तादेखि मानिसहरू कोकाहको पानी धरान ल्याउन श्रमदान गरिरहेका छन् ।
साम्पाङको नेतृत्वमा यसअघि पकुवा, सर्दु, खर्दु, निशानेलगायतका स्थानीय खहरे खोलाको पानी श्रमदानमार्फतै धरानको खानेपानी वितरण प्रणालीमा जोडियो । बर्खायाममा पानी कुद्ने ती खोलामा चैतदेखि जेठसम्म पानी भेट्न भने मुस्किल पर्छ । खहरे खोलाहरूको 'प्रोजेक्ट'पछि पछिल्लो समय साम्पाङले बाह्रमास पानी बग्ने कोकाहको पानी धरान ल्याउन श्रमदान अभियान सुरु गरेका हुन् ।
'फागु पूर्णिमाको दिन हो क्यार,' नजिक रहेका अर्का श्रमदातातिर हेर्दै कोकाहको पानी धरान ल्याउने हर्क साम्पाङको योजनाका 'प्रोजेक्टहेड’ दत्तकुमार लिम्बूले शिलापत्रलाई आयोजनाका बारेमा भने, 'हो फागु पूर्णिमादेखि नै सुरु भयो । अरूतिर रङ खेल्दै थिए, हामीले कोकाह अभियान सुरु गर्यौँ, त्यही दिन ।’
अभियानमा श्रमदान गर्न आउनेहरूलाई आयोजकले सामान्य व्यवस्थापन गर्ने गर्छ । धरानदेखि कार्यस्थलसम्म आउजाउ गर्ने गाडी । दिउँसो खाना । खाजामा चाउचाउ र पानीको व्यवस्था श्रम अभियानमा गर्ने गरिन्छ । खाना पकाउने काम पनि फिल्डमै हुन्छ । श्रमदानमा जानेमध्येको एउटा समूह खाना पकाउन जुट्ने गर्दछ ।
'श्रमबार'को टन्टलापुर घाममा केहीको सङ्ख्या साकेला नाच्दै बगुवा बगरमा खाना पकाउँदै थिए । स्वतःस्फूर्त श्रम गर्न आउनेहरूलाई खाना खुवाउने मेसो चल्दै थियो । साकेला पूर्णिमाको भोलिपल्ट साकेला नाच्दै श्रमदानमा सहभागी भएका थिए । मध्याह्न १२ बजेतिर भने श्रमदाताहरू बगुवा किनारमा भेला हुन थाले । बिस्तारै खाना खाने लाइन लाग्यो त्यहाँ । खाना खाइसकेपछि कतिपय घर फर्किन थाले भने कतिपयचाहिँ फेरि पाइप तान्न उकालो जङ्गलतिर लागे ।

'धरान २० मा रहेको कोकाहको मुहानबाट बराहक्षेत्र नगरपालिकाहुँदै धरानमा पाइप बिछ्याउने काम अहिले जारी छ । ३० किलोमिटर पाइप बिछ्याउनुपर्ने यो परियोजनाको लागत अनुमान ४ करोडको छ । अहिलेसम्म करिबकरिब २ करोड खर्च भइसक्यो । काम पनि आधा भइसक्यो । अझै २ करोड जति लाग्छ होला,’ लिम्बूले भने ।
श्रमदानसँगै खानेपानी आयोजनाको लागि रकम सङ्कलनसमेत राम्रै गतिमा छ । श्रमदान गर्न आउन नसक्नेहरूले पाइप र पैसा दिने गरेका छन् । श्रमदान गर्न आउनेहरूले पनि आफ्नो गच्छेअनुसारको रकम त कसैले पाइप दिने गरेका गर्छन् । यसरी दिएको नगद र जिन्सीको अभिलेख दत्तकुमार लिम्बूले नै राख्ने गर्छन् । लिम्बूका अनुसार नगद र जिन्सी गरी करिब साढे ९ करोड सङ्कलन भएको छ ।
०००
राणाकालीन समयमा धरानको जनसङ्ख्या उत्रो थिएन । भएका मानिसहरूलाई खोल्साको पानी सङ्कलन गरेर धारा वितरण गरिएको थियो । पछि वि.सं. २०१० आसपासमा धरानमा ब्रिटिस क्याम्प बनेपछि भने धरानको जनसङ्ख्या बढ्दै गयो । पुरानो पद्धतिले खानेपानी प्रणालीले चलिरहेको धरानमा २०३६ पछि भने खानेपानी संस्थान आयो । संस्थानले सर्दु जलाधार क्षेत्रबाट पाइपमार्फत सङ्कलन गरेको पानी धरानको धारासम्म पुर्याउँथ्यो ।
धरानमा बिस्तारै जनसङ्ख्या बढ्दै गयो । धरानलाई पानी अपुग हुँदै गयो । पानी आपूर्ति सहज गर्न २०६९ सालमा नयाँ खानेपानी परियोजना सुरु भयो । चारकोसे जङ्गलमा डिप बोरिङ गरेर धरानमा पानी ल्याउन एसियाली विकास बैङ्क (एडीबी) ले ऋण तथा अनुदान सहयोगमा गर्ने भयो । काम पनि सुरु भयो ।

तर, पछिल्लो परियोजनाले समेत धरानको खानेपानीको माग भने धानेन । 'धरानमा अहिले नियमित ३ करोड पानीको माग छ,’ खानेपानी बोर्डका सदस्यसमेत रहेका धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले भने, 'तर यो सिजनमा प्रत्येक दिन १ करोडभन्दा केही माथि मात्र सङ्कलन हुन्छ ।’
खडेरीको समयमा एक तिहाई मात्र खानेपानी आपूर्ति भएको यो समयमा कोकाहबाट करिब ४० लाख लिटर दैनिक पानी ल्याउने अनुमान हर्क साम्पाङको छ । ४० लाख लिटर पानी कोकाहबाट आए पनि तत्काल धरानको खानेपानी समस्या निराकरण भने हुँदैन । तर, धेरै सहज भने हुन्छ ।
तत्काल खानेपानी समस्या समाधान नभए पनि धरानेहरू हर्क साम्पाङले पानी ल्याएर खुवाउँछन् भन्ने विषयमा भने आशावादी छन् । 'हाम्रो घरमा अहिले पानी पुग नपुग चलाइरहेका छौँ । तर, हाम्रा मेयरसा'पले कोकाह पानी लागेपछि धेरै सजिलो हुन्छ,’ तेस्रोपटक श्रमदानका लागि बगुवा बगरछेउमा भेटिएका धरान ११ मङ्गलबारेका दिल्लीकुमार श्रेष्ठले आशा व्यक्त गर्दै भने, 'कोकाहको यो अभियान अब २ हप्ताको श्रमदानले सकिन्छ होला । त्यसपछि कोशीको पानी खुवाउन लाग्ने रे मेयरसा'पले ।’
धराने जनताको खानेपानी समस्या अन्त्यको अन्तिम योजना नै कोशीको पानी ल्याउने विषयमा मेयर हर्क साम्पाङसमेत कन्भिन्स छन् । साना खोलाको पानी जनश्रमदानमार्फत ल्याए पनि कोशीको पानी ल्याउन सङ्घीय सरकारले बजेट विनियोजन गर्नुपर्ने तर्क साम्पाङले दिँदै आएका छन् ।
'यो दीर्घकालीन खानेपानीको समस्याको समाधान हैन तर, यसले धेरै धराने जनतालाई राहत भने हुन्छ,’ साम्पाङ भन्छन्, 'सप्तकोशीको पानी ल्याएपछि मात्र हाम्रो धरानको खानेपानी समस्या समाधान हुन्छ ।’
जनसङ्ख्याको तीव्र वृद्धिले खानेपानीमा समस्या पर्दै गएको धरानमा खानेपानीको ठूलो प्रोजेक्टको लागि उपमेयर आइन्द्रविक्रम बेघासहित मेयर साम्पाङको टोली चैतको दोस्रो साता काठमाडौंसमेत पुगेको थियो । टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'समेतलाई भेटेर कोशीको पानी धरान ल्याउनुपर्ने माग राखेको थियो ।

समन्वयमा चुकेका साम्पाङ
नेकपा एमालेको तर्फबाट २०७४ सालको निर्वाचनमा तारा सुब्बा धरानको मेयरमा निर्वाचित भए । निर्वाचित भएको एक वर्ष नपुग्दै सुब्बाको २०७५ साउनमा निधन भयो । २०७६ मङ्सिरमा कांग्रेसका तिलक राई मेयरमा निर्वाचित भए । राईको जित धरानको इतिहासमा गैर वामपन्थीहरूको पहिलो जित थियो ।
गैरवामपन्थीलाई धरानको मेयर जिताएर इतिहास बनाएको २०७६ को उपनिर्वाचनमा हर्क साम्पाङसमेत प्रतिस्पर्धी थिए । तर, उनको निर्वाचनमा हैसियत भने उत्रो थिएन, त्यतिबेला । तिलक राईले मेयर जितेको त्यो बेला स्वतन्त्र रूपमा उठेका हर्क साम्पाङले ४२२ मत मात्र ल्याएका थिए ।
तिलक राई मेयर निर्वाचित हुँदा उनको प्रमुख एजेन्डा धरानको खानेपानी समस्याको समाधान नै थियो । त्यही मुद्दालाई कांग्रेसले जुरुक्क बोक्यो । खानेपानीको आसमा मत परिवर्तन गरेका धराने जनतालाई तिलकले समेत उत्रो विश्वास जगाउन सकेनन् । राईकै पालामा एडीबीको ऋण सहयोगमा खानेपानी परियोजना सञ्चालनमा आए पनि धरानको खानेपानी समस्या समाधान भने भएन ।
तिलक राई मेयर रहेको त्यही मुद्दालाई सडकमा लिएर साम्पाङ जाने गर्थे । २०७६ देखि २०७८ सम्मको अवधिमा साम्पाङले खानेपानीको मुद्दालाई जोडतोडले उठाउँदै गए । त्यसैले उपनिर्वाचनमा ४२२ मत ल्याएर पाँचौँ भएका साम्पाङ २०७९ को निर्वाचनसम्म आइपुग्दा भने पहिलो बने ।
पानीको मुद्दाले जनतामा अनुमोदित भएका साम्पाङसँग अहिले धराने जनताले धेरै आस गरेका छन् । तीमध्येका एक हुन महेन्द्र बहुमुखी क्याम्पसका पूर्वसहप्राध्यापक राजेन्द्र शर्मा । 'धरानले धेरै नेताहरूलाई हेर्यो । धेरै समय राजनीतिक दलका नेतृत्वहरूले नै पानी ल्याउँछन् भन्ने आसमा हेर्यो । तर, सबैले धोका दिए,’ शर्मा भन्छन्, 'अहिले धरानेले हर्क साम्पाङलाई पत्याएका छन् । पत्याउने गरेको काम पनि उनी गर्दै छन् । जनतालाई आस छ– यो मान्छेले पानी खुवाउँछ ।’
साम्पाङको खानेपानी परियोजनाले गर्ने कामको प्रक्रियामा भने प्रश्न सतहमा छ । वडाध्यक्षहरूले पटकपटक साम्पाङमाथि प्रश्न उठाएका छन् । तर, समर्थकको आडमा साम्पाङले प्रक्रियाको फलो भने गरेका छैनन् । यो विषयलाई साम्पाङ स्वयम्समेत हाकाहाकी भन्छन्, 'प्रकिया चाहिएको कि पानी ?’
साम्पाङलाई कार्यपालिका सदस्यहरूले भने पटकपटक खानेपानी परियोजनाको काम उपमहानगरबाट हुनुपर्ने माग राख्दै आएका छन् । तर, साम्पाङ उनीहरूको कुरा सुन्न तयार नै छैनन् । 'हर्क साम्पाङ निर्वाचित नभएर अर्को मान्छे निर्वाचित भएको भए पनि पानी ल्याउनुपर्ने आवश्यकता धरानको हो । यसमा हाम्रो कसैको विमति पनि हैन पनि । तर, बाहिर भने हामीले पानी खुवाउने कुराको विरोध गर्यौँ भन्ने हल्ला चलाइएको छ,' धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले शिलापत्रसँग भने, 'हामीले भनेका के हौँ भने खानेपानीको श्रम अभियानलाई संस्थागत बनाऔँ । नियम, कानुन, पद्धतिअनुसार गरौँ भनेको हो । यसले हामी सबैको स्वामित्व बढ्छ ।'
कार्यपालिका सदस्यहरूसँग मात्र हैन, साम्पाङको द्वन्द्व बराहक्षेत्र नगरपालिकासँग पनि चल्यो । बराहक्षेत्र नगरपालिकाले आफ्नो भूमिमा नसोधी पाइप बिछ्याउन थालेपछि केही समय खानेपानी आयोजनाको कामसमेत रोकिदिएको थियो । धरानको भूगोल पार गरेर बराहक्षेत्र पुगेका साम्पाङले त्यहाँ न त पाइप बिछ्याइएको निजी जग्गाका प्रभावित, न बराहक्षेत्र नगरपालिका, कसैसँग पनि समन्वय गरेका थिएनन् । कुनै थाहा पत्तोबिना आफ्नो जग्गामा खन्दै पाइप राख्न थालेपछि स्थानीयहरूले प्रतिवादसमेत गरेका थिए ।

विवाद पनि उस्तै
मेयर साम्पाङसँग आस गरेका पूर्वसहप्राध्यापक राजेन्द्र शर्माको एउटा गुनासो पनि छ । शर्मालाई लाग्छ– 'हर्कले जहाँ पायो त्यही । जे पायो त्यही नबोल्दिऊन् । अलि कम प्रतिक्रिया दिऊन् । अरू कुरा ठीक छ ।’
प्राध्यापक शर्मा मात्र हैन, शनिबारको श्रमदानमा आएका धरान १७ का शंखर राई पनि साम्पाङले फेसबुकमा अलि कम बोल्दिए हुन्थ्यो भन्ने चाहन्छन् । 'खानेपानीको विषयमा सब ठीक छ मेयरको काम, अलि फेसबुकतिर कम बोल्दिए सबै साम्य हुन्थ्यो,’ राईले भने ।
खानेपानीको विषयमा सकारात्मक प्रतिक्रियासँगै साम्पाङको आलोचनाको मात्रा पनि पछिल्लो समय बढ्दै गएको छ । फेसबुकमा अनावश्यक प्रतिक्रिया दिने । अरूको सम्मान गर्न नसक्ने । दलितलाई होच्याएर बोलेको भन्ने कैयौँ विषयमा साम्पाङको आलोचना भयो । विवाद भयो । केही समाधान भए । तर, पछिल्लो समय सल्टिन नसकेको एउटा विवाद छ, कार्यपालिका सदस्यहरूसँगको विवाद ।
‘कसैले म बैठकमा बस्दिनँ भन्न पाइँदैन । त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्नेजति सबैले नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आमधरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ,’ यही शब्द प्रयोग गर्दै हर्क साम्पाङले गत चैतको पहिलो हप्ता विज्ञप्ति निकाले ।
वडाध्यक्षहरूलाई ‘असक्षम’ भन्दै राजीनामा दिएर बाटो प्रशस्त गर्न विज्ञप्तिमार्फत निर्देशनात्मक अनुरोध थिए । चैत १ को कार्यपालिका बैठकमा लफडा चलेपछि मेयर साम्पाङले बोलाएको बैठकमा पछिल्लो एक महिनाभन्दा बढी समयदेखि कार्यपालिका सदस्यहरू उपस्थित छैनन् ।
साम्पाङ र कार्यपालिका सदस्यहरूबीचको पछिल्लो द्वन्द्व पहिलो भने हैन । न त अन्तिम नै हुने छाँटकाँट छ । मेयर र कार्यपालिका सदस्यहरूको नोकझोकको अवस्था हेर्दा अझै द्वन्द्व चल्ने देखिन्छ । हुन त दलीय राजनीतिबाहिर बसेर स्वतन्त्र रूपमा निर्वाचित हर्क साम्पाङ र दलीय आबद्धता रहेका कार्यपालिका सदस्यको विवाद शपथदेखि नै सुरु भएको देखिन्छ । शपथपछि बसेको पहिलो कार्यपालिका बैठकदेखि नै मेयर साम्पाङ र कार्यपालिका सदस्यहरूबीच रस्साकस्सी चलेको थियो ।
पहिलो कार्यपालिका बैठकमा खोलाको ढुङ्गा, गिट्टी ठेक्का लगाउने वा नलगाउने विषयमा रस्साकस्सी चलेको थियो । शपथपछिको पहिलो कार्यपालिका बैठकमा साम्पाङले खोला ठेक्का नलगाउने पैरवी गरिरहँदा वडाध्यक्षहरू भने उपमहानगरको आन्तरिक आय निकै कमजोर भएकाले नियमित अनुगमन गरेर खोला ठेक्कामा लगाउनुपर्ने पक्षमा थिए ।
बैठकमा गरमागरम छलफल चल्यो । अन्त्यमा खोला ठेक्का नलगाउने सहमति भयो र यो च्याप्टर क्लोज भयो । तर, मेयर साम्पाङ भर्सेस कार्यपालिकाका सदस्यहरूको जुँगाको लडाइँ भने त्यही दिनदेखि सुरु भयो । एक वर्षको बीचमा दुवै पक्षका आआफ्नै ‘हर्कत’ कार्यपालिकामा देखिन्थ्यो । मेयर साम्पाङ आफ्नो एजेन्डालाई जबर्जस्त घुसाएर ठाडो पास गर्न खोज्ने मुडमा हुन्थे भने वडाध्यक्षहरू मेयरले कुनै प्रस्ताव पनि छलफल नगरी ल्याउने गरेको भन्दै साम्पाङको प्रस्तावलाई कडा आलोचना गर्दै इन्कार गर्ने क्रम चल्दै आएको छ ।
कार्यपालिका सदस्य र मेयरबीचको विवाद अहिलेसमेत उत्कर्षमा छ । मेयर साम्पाङले गैरकानुनी ढङ्गले वडाध्यक्षलाई स्पष्टीकरण सोधेको, स्वकीय सचिवलाई पत्र काट्न लगाएको, राजीनामा मागेको विषयले अहिले विवाद उत्कर्षमा छ । आउने आर्थिक वर्षको बजेट बनाउने बेला भई सक्दासमेत कार्यपालिका बैठक बस्न नसक्नु भनेको धरान विकासमा पछाडि पर्ने सङ्केत रहेको धरानका उपप्रमुख आइन्द्रविक्रम बेघा बताउँछन् ।
'मैले त भनेको छु । मेयर सा’पका पनि केही कमजोरीहरू छन् । कार्यपालिका सदस्य साथीहरूको पनि केही समस्या छन्,’ शिलापत्रसँग उपप्रमुख बेघाले भने, 'मैले सहमतिका लागि आह्वान गरेको छु । दुवै पक्षलाई मिलाएर बैठक राख्ने मध्यस्थताको प्रयास गरिरहेको छु ।’
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० २१:१७