गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताभित्र सरकारलाई पूर्णता दिने योजनामा छन् ।
पाण्डे कांग्रेस र माओवादी केन्द्रका सांसदमात्रै सहभागी हुने गरी सरकारलाई पूर्णता दिन चाहिरहेका छन् । उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङ)ले पनि मन्त्रीको दाबी छोडेका छैनन् ।
पाण्डेलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २७, माओवादीका ७ र मनाङेले साथ दिएका छन् ।
गण्डकीमा सात सदस्यीय मन्त्रिमण्डल बनाउन सकिन्छ । कांग्रेस आफूले पाँचवटा मन्त्रालय राखेर माओवादीलाई दुई मन्त्रालय दिन खोजिरहेको छ । त्यसो हुँदा मनाङे सरकारमा जान पाउँदैनन् । विवादित छवि र मनाङेकै कारणले सरकारमा कुनै असर नपर्ने भएकाले मुख्यमन्त्री पाण्डे उनलाई सरकारमा नलैजाने योजनामा छन् ।
गत वर्ष मंसिर १९ गते मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, उनी प्रवेश गरेको जानकारी पार्टीले संसद सचिवालयलाई दिएको छैन । त्यसैले संसदमा उनको हैसियत अझै दलविहीन छ ।
मनाङे भने आफू गठबन्धनमै रहेको र सरकारमा जाने विषयमा छलफल भइरहेको बताउँछन् । सरकारमा जाने–नजाने विषय पोखरामा नभई केन्द्रमै छलफल हुने भएकाले मुख्यमन्त्रीको इच्छाले नहुने उनको भनाइ छ । ‘नर्मल बैठकमा बोलाएको छैन । यहाँ कांग्रेस र माओवादी छलफल गरेर केही हुँदैन,’ उनले शिलापत्रसँग भने, ‘केन्द्रमा नै हुने कुरा हो ।’
.jpg)
पोखरामा गठबन्धनको बैठक बस्दा पनि मनाङेलाई खबर हुँदैन । सरकारमा दाबी गर्नुअघि कांग्रेस र माओवादी केन्द्रको संयुक्त बैठक पोखराको होटल ग्राण्डमा बसेको थियो । त्यहाँ मनाङे र उनी प्रवेश गरेको भनिएको पार्टीलाई बोलाइएको थिएन । बैठक भएको सुइँको पाएपछि मनाङे पार्टी स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङलाई लिएर उक्त होटल पुगेका थिए ।
मनाङेले आफू गठबन्धन दलकै सदस्य भएको बताएपछि सरकारमा दाबी गर्न जाँदा आफ्नो पनि समर्थन रहने बताए । त्यसपछि उनी पाण्डेसँगै प्रदेश प्रमुखको निवास पुगेका थिए ।
एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य श्रीनाथ बराल सरकारमा जाने विषयमा छलफल भइरहेको बताउँछन् । ‘छलफल भइरहेको छ । हाम्रो दलको प्रतिनिधित्व सरकारमा हुन्छ,’ उनले शिलापत्रसँग भने ।
सामाजिक विकास चाहन्छन् मनाङे
मनाङे यसअघिको प्रदेश सरकारको कार्यकालमा ४५ दिनमै तीनपटक युवा तथा खेलकुद मन्त्री बनिसकेका छन् । निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय संख्या १२ बाट ७ मा झारेका छन् ।
यसअघिको युवा तथा खेलकुद मन्त्रालयको कार्यभार अहिले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा छ । मनाङे सरकारमा जाँदा आफू त्यही मन्त्रालय लिने बताउँछन् । ‘मन्त्रालय पनि गठबन्धनमै मिल्ने कुरा हो । तर, समाजको काम गर्न पाइने भएर सामाजिक नै राम्रो हो,’ उनले भने ।
२०७८ साल वैशाख १६ मा तत्कालीन पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारमा उनी पहिलोपटक मन्त्री बनेका थिए । मुख्यमन्त्री गुरूङले वैशाख २६ मा राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त भएका थिए । वैशाख २९ मा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले शपथ लिएपछि पुरानै मन्त्रीलाई निरन्तरता दिएका थिए ।
जेठ ९ मा मनाङे फेरि सोही मन्त्रालयमा दोहोरिए । कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङेले २०७८ साल असार अन्तिममा गठबन्धन सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी पाएका थिए । मनाङे मनाङ ‘ख’बाट सर्वसम्मत निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १७:५१