बराहक्षेत्र मन्दिर छेउबाट कोशीमा मिसिने नाम चलेको खोला हो, कोकाह । हिन्दु धार्मिक मिथक अनुसार कोकाहलाई पृथ्वीकै पहिलो नदीका रूपमा समेत व्याख्या गरिन्छ । वैदिक परम्परा अनुसार पितृ उद्धारको कर्म गर्न होस या धार्मिक स्नानमा समेत कोकाह कहलिएको नाम हो ।
धार्मिक हिसाबमा कहलिएको कोकाह पछिल्लो समय पानी राजनीतिको कारण चर्चामा छ । खानेपानी राजनीतिमार्फत धरानका मेयर निर्वाचित भएका हर्क साम्पाङ केही समयअघि खानेपानीका लागि कोकाह खोलामा पुगे । केही, समय हजारौँको संख्यामा मान्छे बोलाएर व्यापक जनश्रमदानसमेत चलाए ।
झाडी फाँड्ने, पाइप बोक्न हजारौँको संख्यामा मान्छेहरूसमेत भेला भए । स्थानीयहरूको निजी जग्गामा लगाएको खेतीसमेत मासेर पाइप बिछ्याएका थिए । तर, साम्पाङले श्रमदान चलाएको त्यो इलाका बराहक्षेत्र नगरपालिकाको थियो । धरानको भूगोल पार गरेर बराहक्षेत्र पुगेका साम्पाङले त्यहाँ कसैसँग समन्वय गरेनन् । न त पाइप बिछ्याइएको निजी जग्गाका प्रभावित न त बराहक्षेत्र नगरपालिकालाई नै ।
कुनै थाहा पत्तोबिना आफ्नो जग्गामा खन्दै पाइप राख्ने थालेपछि स्थानीयहरूले प्रतिवादसमेत गरेका थिए । बराहक्षेत्र १ चावाचाका स्थानीयहरूले विरोध गरेपछि बराहक्षेत्र नगरपालिकाले समेत चासो व्यक्त गरेको छ । दुई पालिकाबीच औपचारिक कुनै निर्णय नभई खानेपानीको परियोजना सुरु भएर विवाद भएको विषयमा बराहक्षेत्र नगरले धरानको ध्यानाकर्षण गराएको हो ।
बराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले तत्काल खानेपानीको काम रोकेर संस्थागत समन्वय गर्न धरान उपमहानगरलाई पत्र पठाउने निर्णय गरेको छ । निर्णय अनुसार साम्पाङले कोकाह खोलाको पानी धरान ल्याउन चलाएको अभियानका लागि कार्यपालिकाको निर्णयसहितको प्रस्ताव गर्नुपर्ने सर्तअगाडि सारेको हो ।
'खानेपानी दिने कुरामा कुनै समस्या छैन । र, हैन पनि । तर, एउटा नगरपालिकाले अर्को नगरपालिकाको स्रोत प्रयोग गर्दा कम्तीमा संस्थागत समन्वय र सहकार्य हुनुपर्छ भनेका हौँ,' बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले शिलापत्रसँग भने, ‘हामीले धरान उपमहानगरपालिकाको संस्थागत निर्णय मागेका हौँ । त्यसपछि वातावरणीय परीक्षण गरेर हामीभन्दा माथिल्लो निकाय जिल्ला समन्वय समितिसमेतको रोहवरमा सम्झौता गर्ने प्रक्रिया अगाडि बढ्छ ।’
धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा पछिल्लो समय बराहक्षेत्र-१, सूर्यकुण्ड हुँदै चावाचासम्म पाइप ल्याएको छ । तर, स्थानीयहरूसँग विवाद भएपछि भने सो काम तत्कालका लागि रोकिएको छ ।
बस्न नसकेको धरान कार्यपालिका
हुन त कोकाहको पानी धरान लग्न बराहक्षेत्र नगरपालिका उत्रो ठूलो अवरोध सिर्जना गरेको छैन । अन्तरपालिका समन्वय गरेर मात्र पानी दिने सर्त बराहक्षेत्रको छ । तर, धरानको आन्तरिक कारणले भने कोकाहको पानी धरान नआउने हो कि भन्ने संशय भने देखिन्छ ।
बराहक्षेत्र नगरपालिकाले संस्थागत निर्णय नाम दिएर कार्यपालिकाको बैठकको निर्णयसहित समन्वय गर्नुपर्ने भन्ने सर्तले भने साम्पाङलाई समस्या पर्ने देखिन्छ । किनकि गत चैत १ गतेदेखि धरान उपमहानगरको कार्यपालिका बैठक बस्न सकेको छैन । वडाध्यक्ष र मेयर साम्पाङबीचको विवादले चैत यता बोलाइएको कार्यपालिका बैठक बस्न नसकेको हो ।
खानेपानी प्रबन्धको अभियानलाई कार्यपालिकामार्फत समन्वय गरेर अभियान चलाउनुपर्ने वडाध्यक्षहरूले माग राख्दै आए पनि साम्पाङले भने व्यक्तिगत रूपमा मात्र अभियानलाई अगाडि लाग्दै आएका थिए । बराहक्षेत्रले संस्थागत समन्वय भनेर कार्यपालिकासहितको निर्णय माग गरेपछि अब भने साम्पाङ र वडाध्यक्षहरूबीच सहमति गर्नुपर्ने स्थिति सिर्जना भएको देखिन्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १५:३०