अल्पमतमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गतेसम्म सरकार छोड्नुपर्ने अवस्था छ । तर, कार्यकालको अन्तिमतिर आइपुग्दा अधिकारीलाई कैँची र रिबन मोह निकै जागेको छ ।
मुख्यमन्त्री अधिकारीले पाँच दिनको अन्तरालमा दुई दिन लगाएर कास्कीकै १० वटा मोटरेबल पुल उद्घाटन गरेका छन् । मुख्यमन्त्री अधिकारीले बिहीबार पोखरा महानगरपालिकाभित्रका ४ वटा र माछापुच्छ्रे गाउँपालिकाको एउटा पुल उद्घाटन गरे । पछिल्लो ५ दिनमा उद्घाटन गरिएका जति पनि पुल छन्, ती हालसालै निर्माण सकिएका नभई एक वर्षअघि नै निर्माण सकिएर सञ्चालनमा आइसकेका हुन् ।
मुख्यमन्त्री अधिकारीले बिहीबार पोखरा १३ र २६ जोड्ने ढल्के झौरीखेत पुल, पोखरा–७ कै रत्नचोक–मासबास–जिरोबीचमा पर्ने फिर्के खोलाको पुल, पोखरा–२३ को पामे खोला र खहरे खोला र माछापुच्छ्रे गाउँपालिका–५ रिभानको खहरे खोलामा बनेको पुल एकपछि अर्को गर्दै उद्घाटन गरे । पछिल्लो ५ दिनमा मुख्यमन्त्रीले उद्घाटन गरेका पुल ११ महिनादेखि १९ महिनाअघि नै निर्माण सकिएका हुन् ।
पूर्वाधार विकास कार्यालय, कास्कीकाअनुसार रिभान खहरे खोलाको पुल १९ महिनाअघि नै २०७८ साल भदौमा निर्माण सकिएको हो । त्यो पुलको रंग पनि खुइलिसकेको छ । पामे खोलाको पुल पनि २०७८ सालको असोजमा बनेको हो । रत्नचोक–मासबार–जिरोबीचमा पर्ने फिर्के खोलाको पुल २०७८ सालको पुसमा, पोखरा १३ र २६ जोड्ने ढल्के झौरिखेत पुल २०७८ सालकै चैतमा सकिएको हो । पामेको खहरे खोलाको एउटामात्र पुल यो वर्ष वैशाखमा निर्माण सकिएको हो ।
अन्य दिनजसरी नै सवारी आवतजावत गरेको पुलमा सवारी रोकेर, रिबन राखेर मुख्यमन्त्रीले उद्घाटन गरे । मुख्यमन्त्री अधिकारी प्रदेश संरचनाविरुद्ध सुनिने आवाजलाई मत्थर पार्ने गरी आफू सक्रिय भएको बताउँछन् । ‘प्रदेश चाहिँदैन भनेर बेलाबेला घण्टी–लौरो बजेका छन् । यही पुलले देखायो चाहिन्छ चाहिँदैन,’ माछापुच्छ्रे गाउँपालिकाको रिभान खहरे खोलाको पुल उद्घाटनपछि उनले भने, ‘हामी २०५१ सालदेखि नै कराएको करायै थियौं । प्यासी’जी (नेता सोमनाथ प्यासी) २०४३ सालदेखि नै कराउनुभयो । केन्द्रले जम्मै ठाउँमा आँखा पुर्याउन सक्दो रहेन छ नि ।’


पुल उद्घाटन गर्न कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दामोदर पौडेल बैरागी, कास्की निर्वाचन क्षेत्र नम्बर २ (क)बाट निर्वाचित भीमबहादुर कार्की पनि साथमै थिए । माछापुच्छ्रे–५ को रिभानस्थित खहरे खोला पुल उद्घाटन गर्न पुगेका मुख्यमन्त्रीलाई स्थानीयले अर्को मर्दी खोलामा पुल बनाउन बजेट थपिदिन र सडक कालोपत्रे गर्न बजेट छुट्याइदिन आग्रह गरे । ‘समेबगर–रिभान–सैँतीघट्टको बाटो पिच गर्न आवश्यक छ । यो कामको लागि प्रदेश सरकार र कर्मचारी साथीहरूलाई अनुरोध गर्छु,’ खोलापारिको कालोपत्रे सडकतिर देखाउँदै माछापुच्छ्रे–५ का पूर्व वडाध्यक्ष जुमबहादुर गुरूङले भने, ‘बहुवर्षीय योजनामा यसलाई पार्नपर्यो । पाँच वर्षभित्र हाम्रो बाटो पनि उताको जस्तै पिच हुनपर्यो ।’
मुख्यमन्त्री अधिकारीले चैत २५ गते मादी गाउँपालिकाको मकै खोला, इदी खोला, वार्दी खोला, घुम्ले खोला र पोखराको खुदी खोला पुल गरेर एकैदिन पाँच वटा पुलको उद्घाटन गरेका थिए । इदी खोलाको पुल गत असारमा सकिए पनि अरू पुल २०७८ सालमै निर्माण सकिएका हुन् ।
चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा छन् । उनले वैशाख ९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । २२ सांसदमात्र भएकाले ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले बहुमत ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन । तर, पदमुक्त हुनुअघि पुल उद्घाटनको गति भने निकै द्रुत गतिमा बढेको हो ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ २०:२१