हरेक दिन नयाँ हुन्छन् । बगेको नदी र बिताइएको समय फर्कन्न । आज विक्रमी नयाँ साल २०८० को पहिलो दिन । विगत फर्केर हेर्दा मात्र आगतको कल्पना, योजना बनाउन सकिन्छ । सपनाका चित्र कोर्न सकिन्छ । आउनुस् प्रियजन, दिल खोलेर, मुटु छताछुल्ल पारेर, संकोच नमानी खुलस्त दिमागले नयाँ सालमा केही न केही नौला र नयाँ बात मारौँ ।
पात्रोका कथा
संसारमा गेग्रोइन (इस्वी), यहुदी, इस्लामिक (हिजरी), भारतीय (विक्रमी र शाके) र जुलियन मुख्यतया ६ पात्रो चलनचल्तीमा छन् । कोरियन, थाई र जापानिज पात्रो पनि तत् मुलुकमा सक्रिय छन् । नेपालमा पहिले शाके संवत् चले पनि अहिले विक्रमी (२०८०) र नेपाल संवत् (११४३) चल्छ । संसारकै पुरानो पात्रोमा मेसोपोटामियाको २१ सय इसापूर्व चन्द्रमास आधारित सुमेरयिन पात्रो हो । हिजरी, गेग्रियन, लोसार, शाके, विक्रमी, ड्राइगन, माघी र नेपाल संवत् क्यालेन्डरले न्यु दया भिन्तुना भनिसके । राजनीतिक नक्साले पात्रोको भूगोल निर्धारण गर्दैन । खगोलशास्त्रीय अध्ययन मात्रै नभई पात्राहरू समयको मानक, सभ्यता, संस्कृति र पहिचान पनि हुन् । विश्वमा अनेकौँ जाति, भाषा, संस्कृति र भूगोलमा दिनहुँ नयाँ वर्ष पर्दै जान्छन्, अर्थात् हरेक दिन ह्याप्पी न्यु इयर, न्यु दया भिन्तुना ।
नयाँ सोच, नयाँ संकल्प
खाना र बच्चा कोरल्नेबारे मात्रै कति गाला बजाउने ? आफैँले धान्नु नपर्ने आदर्श छाँटेर लय मिलाउँदै अरुलाई किन सराप्ने ? आफैँले नगरेका, नथेगेको, पहल नगरिएका कुरामा अर्कालाई दोष दिँदै किन उम्कने ? जगले सबैलाई नियालिरहेको हुन्छ । भोलि कहिल्यै आउँदैन । छलफल गरौँ, बिताएका दिनबारे । केही त खुला दिमागले बात मारौँ । साँच्चिकै नयाँ विषयमा कुरा गरौँ । कम्तीमा पनि सनातनी जिन्दगीका तालिका भत्काइदिऊँ । जेले र जसले विलासिता भोक जगाउँदै, लालसा र आग्रहको मलजल गर्दै बन्धनमा जकडेको हुन्छ, ती अदृश्य शक्तिशाली पर्खाललाई गर्ल्यामगुर्लम्मै भत्काइदिऊँ । मर्नुपर्छ भन्ने सार्वभौम चेतलाई भुलाएर मायावी संसारको दास बनाइरहेको छ, त्यस अदृश्य चक्रव्यूहलाई जे पर्लापर्ला, भेदन गरौँ ।
आफ्नै स्वत्वका विरुद्ध नारा घन्काउँदै आफैँलाई ऐना हेर्दै मुर्दावाद भन्न सक्छौँ ? आफ्ना अन्तरनिहित क्षमता र सपना देख्न सक्ने इच्छाशक्तिलाई बजारमै कैद हुन नदिऊँ । तथ्यसहित तर्क जोडेर विज्ञानका भाषामा प्रकृतिसँग धित मार्दै बात मारौँ । सनातनी साेच भताभुङ्ग पारी केही त नयाँ गरौँ ।
अब अति भयो– आग्रह र निन्दा रसमा रमाएका वा रमाउने कुराहरू । थोत्रा भए । इतिहासका सन्देशमूलक शिक्षालाई जीवन व्यवहारमा फेरौँ । धेरै गर्यौँन– फाल्तुु गन्थन । नक्कली शत्रु तयार गरेर सक्कली जीवन लतार्यौँई पनि । सुदूर आशामा वर्तमानलाई नगिज्याएका पनि त हैनौँ । व्यवहारवादी बन्नेका नाममा आदर्शका पाइन लगाउन खल्ली खाँदै हाम फाल्नेलाई कतिले जिस्क्याउँदै तटस्थताको सुख भोगेको जाति पनि हाम्रै हो । नयाँ आविष्कारक र सामाजिक हस्तक्षेपकारीलाई हाम्रै युगले बौलाहा नभनेको पनि कहाँ हो र ! केही नयाँ सिर्जनामा लागिरहने, नित्य नयाँ बनाउने मानवतावादी, आफैँ जलेर उज्यालो छर्ने पनि त हामीसँगै थिए । के बिर्सन सक्छौँ ? पाउँछौँ ? इतिहास बिर्से पनि इतिहासले हामीलाई बिर्सिने छैन । हाम्रो युग प्रलयकारी हो । तर, आग्रहका दास बन्दा हाम्रो वंशजले यसलाई आत्मसात् गर्न सकेन । आग्रही नभई विद्यार्थी बनेर इतिहासका पाना पात्रो पल्टाएझैँ पढौँ ।
अझै प्रलयका दिन आएका छैनन् । सपनामा खिया लाग्न नदिऊँ । कसका लागि आँसु बगाउँछौँ ? आँसुलाई शक्तिका लालमोहर लागेर बलवान् देखिनेका उपहास बन्न दिनु हुँदैन । शक्ति पछुवा बनाउन मात्र जान्दछ । घुमाउन, खेलाउन, रिङ्ग्याउन र थर्काउन सिपालु छ । छातीमै चुप्पी धस्न पनि हिचकिचाउँदैन । त्यस्तालाई पिच्च थुकिदिएर समयकालसँगै अघि बढौँ ।
कुण्ठा चेतनाको महादुस्मन र सिर्जनाको वैरी हो । कुण्ठामा रमाउने छुट कसैलाई पनि हुँदैन । मैदान बदलिन्छन्, योद्धा फेरिन्छन् । योग्यता, क्षमता र दक्षताका परिभाषा हेरफेर हुन्छन् । आफ्नै असक्षमता लुकाउने बहानामा आदर्शको गीत गाउनेलाई 'इस्' भनौँ । युगलाई डोर्याउन सक्ने योग्यता, क्षमता र कलाको झन् विकास गर्नैपर्छ । चेतलाई अर्जापेर जागृत यात्रा गर्नुपर्छ ।
हामीले पालेका वासनाका छिद्र हुर्काइरहेका दुस्मन हुन् । हाम्रो गौरवमा धमिरा लगाएको साक्षी हाम्रै अवस्था हो । नयाँ पात्रो २०८० सँगै ऐना पनि आइसक्यो । त्यसैले नयाँ पात्रो पल्टाउनुअघि ऐनामा आफ्नै अनुहार हेर्ने कि ?
युगका स्वप्नद्रष्टा र सग्ला मान्छेका कथा पढेका छौँ, संगत गरेका थियौँ । कसैले मूर्ख र लम्पट भने पनि हाकाहाकी भन्न सक्नुपर्छ– समय बुझ्न नसक्नेहरूलाई महानताको सम्मान गर्न सकिँदैन । पाल्सी जीवन बिताइरहँदा डुङडुङ्ती गनाएका, पतित, दुष्ट, घृणित मान्छेलाई नबेहोरेका पनि हैनौँ नि । उनीहरूका चिहानमा मिल्काइदिऊँ, जे पर्ला त... ।
मित्र र बिमित्रसँग नयाँ सालमा सिधा भाषामा स्पष्ट कुरा गरौँ । भनौँ– भावनारहित मान्छे हुँदैन । कसैको भावनामा चोट पुर्याउने छुट बहस, भूमिका र निर्णयमा हुनु हुँदैन । हाम्रो समयले शक्तिलाई सलाम बजारेर आत्मिक दासताको शिला कहिल्यै खोजेन । घृणा गर्दै भनिदिऊँ– यस प्रवृत्तिलाई गिज्यायो, लल्कार्यो र समानताको दुन्दुभी बजायो । तर, कति धान्न सक्यौँ, प्रश्न बरु बन्यो ।
असल मान्छेले सोच्ने ठेक्कापट्टा अरुलाई सुम्पेर लुरुलुरु डोरिने, खुरुखुरु आज्ञापालक मात्र बन्दैनन् आदर्शवादी समाज खोजेर मात्र पाइने रहेनछ । अहिले घटना, चिन्तन, सोच, सपना, विमर्श उपभोक्ताकरण हुँदैछ । अझै सग्ला मान्छेलाई उन्माद भर्ने, विवेकहीनतामा फसाउने, प्रतिशोधमा उकास्ने, जातीय वर्चस्व र उन्माद फैलाउने खेलमा झेल हुँदैछन् । परपीडन र निन्दारसमा रमाउने छुत रोग फैलिनुका कारण यिनै हुन ।
अर्कालाई सरापेर सन्तुष्टि लिनेको कहाँ पो कमी हुन्थ्यो ! कहिले दिलले रजाइँ गर्छ, कहिले मस्तिष्कले नचाउँछ । मान्छे विवेक र आवेगपुञ्ज प्राणी हो । फेरि दोहोर्याउँछु– नेचर, कल्चर र सिग्नेचर बदल्न गाह्रो हुन्छ । तर, केही त पुरानालाई त्याग्न र नयाँलाई स्वीकार्न छलफल गरौँ । नयाँ छलफलमा समय र सन्दर्भसँग जोडिएको विवेक, विश्लेषण र तर्क चाहियो । तर्क बलले यथार्थलाई शक्ति दिन्छ र सार्थक हस्तक्षेप गर्न सक्छ पनि ।
सँघार काट्नु चानचुने आत्मबलले सकिँदैन । संघर्ष, घृणा र रिसमा मान्छेले विवेक र प्रेमजस्ता शब्द ख्याल राख्नै सक्दैन । नयाँ छलफल र नूतन यात्रामा मानवीय भूमिका बिर्सनु हुँदैन । उपदेशजस्तो लाग्न सके पनि नयाँ बात मारेको मात्र हो । कन्फ्युजनमा रहेको समाज र अज्ञानतामा फसेको मान्छेले विवेकका वाणी र नयाँ विचार आफैँसँग र अन्तरविरोधमा पनि छ भन्ने कुरै पत्तै लाउन सक्दैन । विलासिता र ऐयासीको जागृत भोक नै सदाचार र स्वप्नमय मानवतावादका विरोधी बन्छन् । हामीले पालेका वासनाका छिद्र हुर्काइरहेका दुस्मन हुन् । हाम्रो गौरवमा धमिरा लगाएको साक्षी हाम्रै अवस्था हो । नयाँ पात्रो २०८० सँगै ऐना पनि आइसक्यो । त्यसैले नयाँ पात्रो पल्टाउनुअघि ऐनामा आफ्नै अनुहार हेर्ने कि ?
संवेदनशीलताको अर्थ नरहने राजनीति एउटा निर्मम खेल रहेछ । तर, के गर्ने ? हरेक विषयको केन्द्र त फेरि पनि राजनीति नै हो । आउनुस्, राजनीतिलाई पुस्तकबाट समाजमा अनुवादित, विचारलाई मानवीकरण र सामाजिकीकरण गर्न पनि नयाँ बहसको थालनी गरौँ । विचारलाई केन्द्रमा राखे पनि दिमाग भने खुलै राख्न सक्नुपर्छ ।
समयसँगै नेता, राजनीति, समाज, आस्था, पत्रकारिता, आदर्श संकल्प प्रतिबद्धता सरोकार फेरिए । विश्वास फेरिए । पुरानालाई नयाँ त बनाउन सकिँदैन तर त्यसै आधारमा खडा भएर नयाँ निर्माण गर्न भने सकिन्छ । बहादुर र कायरता त एक रौँबराबरको अन्तर भएझैँ नायक र खलनायक पनि कुन बेला कहाँ पुग्छन् भन्न सकिँदैन । चिन्न आँखा भएर मात्रै पुग्दैन, आँखामा दृष्टिकोण भरिएको दृष्टि अनिवार्य हुन्छ । नयाँ वर्षमा नयाँ चस्मा लगाऊँ ।
कुनै आन्दोलन, आन्दोलन नरहेपछि विचारहीन भिडमा संगठन फेरिएर मिथक संस्कृति बनेर धर्म बन्दोरहेछ । मिथक इतिहास बन्दोरहेछ अनि, इतिहास मिथक बन्दोरहेछ । अन्धविश्वास र आवेगको ठाउँमा तर्क, विवेकले लिए वैदिक साहित्यलाई असल विद्यार्थीले झैँ अध्ययन गर्थ्यो भने त्यसले जीवन फेर्थ्यो । विज्ञानका ठूला विद्वान् पनि अवैज्ञानिक बाटो समात्दैनथे । बृहस्पति, बुद्ध, धन्वन्तरी, विश्वकर्मा, आर्यभट्टजस्ता अनेकौँ लोकायतका दार्शनिक र वैज्ञानिकलाई देउता बनाउँदैनथे । कृत्रिम भय र आशक्तिले अदृश्य र काल्पनिक शक्तिको भयको शरणस्थलीमा पुर्याउँदोरहेछ ।
गरिमा धान्न नसकेका 'नायक'का कारण सपना ध्वस्त भएपछि जनमत निराश हुँदै गयो । नागरिकलाई प्रजा र जनतालाई भिडमा फेर्ने कसरत भए । तर्कशीलभन्दा अन्धविश्वास बढ्दै गयो । लोकप्रियतावाद हावी भएर राजनीतिक र सामाजिक नेता बनेर चटकेहरूको उदय हुँदै गयो । निराशको उपचार चटकेहरू हुँदैनन् । चटकेहरू खहरे हुन् । खहरेको नियति या त सुक्नुपर्छ या नदीमा मिसिनुपर्छ । नयाँ वर्षमा निराशाको विरुद्ध आशाको खेती गर्न, तर्क र तथ्य उमारौँ । लोकप्रियतावाद घातक छ, जोगिऔँ । नयाँ साल २०८० मा नयाँ सोच्न, नयाँ गर्न, नयाँ हुन र नयाँ जोखिम उठाऊँ ।
नयाँ वर्षको सबैलाई शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८० ०६:५२