कैलालीको गोदावरी नगरपालिका ११ की ४५ वर्षिया ‘ए’ (नाम परिवर्तित) का श्रीमानको एचआईभी संक्रमणका कारण मृत्यु भयो । भारतमा रोजगारीमा गएर फर्केका श्रीमानका कारण उनी पनि एचआईभी संक्रमित भइन् ।
एचआईभी संक्रमण र श्रीमानको मृत्युपश्चात दैनिक जीविकोपार्जनमा समस्या भइरहेको उनी बताउँछिन् । भन्छिन्, ‘एचआईभी संक्रमण भएपछि सरकारबाट निःशुल्क औषधि उपचार पाइरहेको छु । तर, घरमा खाना, लुगा कपडालगायतको व्यवस्था गर्न समस्या रहेको छ ।’ श्रीमानको कमाइबाटै घरखर्च चलाउँदै आएकी उनी एचआईभी संक्रमणका कारण पीडितसँगै वेरोजगार हुँदा समस्यामा छिन् ।
‘रोजगारी पनि छैन । खानलाई गाह्रो छ । संक्रमणका कारण भारी काम गर्न सकिँदैन’, उनले बालबालिकाको पढाइको व्यवस्थासँगै आफूहरूले गर्न सक्ने कामका लागि सरकार गम्भीर हुनुपर्ने बताइन् । उनी मात्र होइनन् पछिल्लो समय कैलालीका एचआईभी संक्रमित परिवारका बालबालिकालाई शिक्षाको व्यवस्थासँगै घरमा खाद्यान्न, लुगा कपडालगायतको व्यवस्थापन गर्न समस्या भइरहेको उनीहरू गुनासो गर्छन् । उनीहरू भन्छन्, ‘औषधिले मात्रै धेरै कमजोर बनाएको हुन्छ । पोषण नपुगेर पनि संक्रमितहरूले ज्यान गुमाइरहेका छन् ।’
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले एचआईभीबाट जोखिममा रहेका समुदायलाई आयोगले हेर्ने गरेको बताए । उनले पछिल्लो समय संक्रमितको अवस्था र यसले राज्यमा परेको अवस्थाका बारेमा मानवअधिकार आयोग संवेदनशील बनेको बताए । ‘तीन तहका सरकारले आफ्नो क्षेत्र अधिकारभित्र रहेर काम गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि तीनै तहले समन्वय गर्न जरुरी छ ।’ उनले स्थानीय सरकारले भारत जानेहरूको अध्ययन अनुसन्धान र उनीहरूका लागि रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।
सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख हेमराज खडकाले आफ्नो हक अधिकारका लागि सम्बन्धित निकायसम्म संक्रमितलाई पुग्न आग्रह गरे । ‘पछिल्लो समय संक्रमितहरू जागरुक भइसकेको भए पनि केही मानिसहरू लुकेर बसेका कारण सेवाबाट बञ्चित भइरहेका छन्’ उनले भने ।
सेती प्रादेशिक अस्पतालका एआरटी प्रमुख लोकराज पनेरुले पछिल्लो समय एचआईभीको क्षेत्रमा सुधार आएको बताए । ‘जहाँ एचआईभी संक्रमित छन् । त्यहाँका पालिकाहरूले बजेट छुट्याएको छ’ उनले भने, ‘संक्रमित आफूले पनि चासो देखाएर जानुपर्यो ।’ उनले संक्रमितको स्वास्थ्य परीक्षणदेखि विभिन्न किसिमका सुविधा अस्पतालले दिँदै आएको बताए ।
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले तीनै तहको सरकारले एचआईभी संक्रमितहरूका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए । उनले राज्यले गरेका नीतिहरूका कार्यान्वय भए नभएको बारे सबै सजग हुनुपर्ने बताए । ‘सुदूरपश्चिम एचआईभी एड्समा एकदमै भयावह स्थितिमा गइसकेको बेला यसलाई नियन्त्रण गर्न गाह्रो थियो । तर, पछिल्लो समय नियन्त्रणमा आएको छ र सुधार भएको छ’ उनले भने ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १७:४३