नेपाली युवायुवती मनग्य पैसा कमाउने प्रलोभनमा परेर युरोप-अमेरिका जान खोज्दा बीच बाटोमै अलपत्र पर्नेदेखि तस्करबाट ठगिने र बन्धक हुने गरेका घटना नौला होइनन् ।
तर, पछिल्लो समय नेपालीहरूलाई म्यानमार, थाइल्यान्ड र कम्बोडियामा पनि बन्धक बनाइएको नयाँ तथ्य फेला परेको छ । प्रहरीको मानव तस्कर रोकथाम नियन्त्रण ब्युरोमा १५ जना नेपालीले आफूहरू थाइल्यान्ड, कम्बोडिया र म्यानमारमा बन्धक भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
ब्युरोका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले उजुरी आएको पुष्टि गर्दै ब्युरोको टोली अनुसन्धानमा खटिएको बताए । ‘म्यानमारमा केही नेपाली बन्धक बनेको सूचना हामीलाई आएको छ । केही व्यक्ति भागेर नेपाल फर्किएका छन् । हामीले अनुसन्धान गर्दैछौँ,’ एसपी पंगेनीले भने ।
अनुसन्धान भइरहेकाले धेरै कुरा अहिले नै भन्न नमिल्ने उनले बताए । ब्युरो स्रोतका अनुसार चीनसँग सीमा जोडिएका थाइल्यान्ड र म्यानमारको भू-भागमा नेपालीहरूलाई बन्धक बनाइएको छ ।
ब्युरो स्रोतले भन्यो, ‘प्रारम्भिक अनुसन्धानबाट नेपालीहरूलाई चिनियाँ नागरिकले बन्धक बनाएको खुलेको छ । उनीहरू म्यानमार सरकार र थाइल्यान्ड सरकारको समेत नियन्त्रणबाहिर रहेको भूमिमा बन्धक भएको भन्ने छ । बन्धक बनाइएकाहरू आईटीसम्बन्धी जानकार युवाहरू छन् । थप अनुसन्धान गर्दैछौँ ।’
कसरी पुगे चीनको सीमासम्म ?
प्रहरीलाई प्राप्त उजुरीअनुसार बन्धक बनाइएका अधिकांश नेपाली युवा आईटी इन्जिनियरहरू छन् । उनीहरूलाई चिनियाँ नागरिकले ठूलो आर्थिक प्रलोभनमा पारेर थाइल्यान्डदेखि म्यानमार पुर्याएका हुन् । नेपाल फर्किन सफल केही युवालाई नेपालीकै सहयोगमा चिनियाँ नागरिकले आईटी कार्यालयका लागि भन्दै महिनाको १ लाख अमेरिकी डलर तलब हुने प्रलोभनमा पारेर त्यहाँ पुर्याएका थिए ।
त्यसका लागि ठमेलका विभिन्न होटलमा चिनियाँले आईटीसम्बन्धी परीक्षासमेत लिएको खुलेको छ । यसरी चिनियाँले लिएको परीक्षामा पास हुनेलाई दुबईहुँदै म्यानमार र थाइल्यान्ड पुर्याएका हुन् । म्यानमार र थाइल्यान्डमा पुर्याएपछि भने चिनियाँहरूले विभिन्न व्यक्तिलाई क्रिप्टो करेन्सी कारोबारको नाममा लगानी गर्न लगाएर ठगी गर्न लगाउनेदेखि विभिन्न मुलुकका बैंक ह्याक गर्ने काममा खटाउने गरेको खुलेको छ ।
त्यसरी पुग्ने नेपालीलाई बन्धक बनाएर काममा लगाउनेदेखि काम गर्न नसक्नेमाथि शारीरिक यातनासमेत दिने गरेको खुलेको छ । रोजगारीका लागि दुबई पुगेका केही नेपालीहरूसमेत त्यहीँबाट म्यानमार र थाइल्यान्ड पुगेका छन् । बन्धक बनाइएका अधिकांशका परिवार प्रहरीको सम्पर्कमा पुग्न थालेका छन् ।
नेपालीबाहेक चिनियाँहरूले अन्य देशका नागरिकलाई समेत बन्धक बनाएर ह्याकरका रूपमा प्रयोग गरेका छन् । केही भारतीय र केही नेपालीलाई भने म्यानमारको वा-स्टेट प्रहरीले उद्धार गरेर फर्काएको छ ।
शिलापत्रलाई प्राप्त भिडियोमा म्यानमारबाट नेपालीलाई सडक यात्रादेखि जंगलको जोखिमपूर्ण यात्रामार्फत त्यहाँ पुर्याएको देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १२:०१