नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न २३ औँ महाधिवेशनबाट नरेश रोकाया महासचिव निर्वाचित भए ।
बाजुराका रोकायाको राजनीतिक साइनो पोखरासँग जोडिएको छ । उनको विद्यार्थी राजनीतिको धेरै समय पोखरामा बितेको मात्र छैन, उदय पनि पोखराबाटै भएको हो । पढ्नलाई २०६० सालतिर नरेश पोखराको पृथ्वीनारायण क्याम्पस आएका थिए ।
पोखरा आएपछि नरेश २०६१ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी सदस्य भएका थिए । तर, त्योभन्दा अगाडि नै उनी २०५६ सालमै अनेरास्ववियुसँग जोडिएका थिए । स्ववियु पृथ्वीनारायण क्याम्पसको चुनावमा २०६३ सालमा पदम गिरी सभापति हुँदा नरेश सदस्य निर्वाचित भएका थिए । २०६४-६५ सालतिर उनी अनेरास्ववियुको पीएन क्याम्पसको उपाध्यक्ष भए ।
तल्लो कमिटीबाट यात्रा सुरु गरेर अहिले महासचिव बनेका रोकाया भाग्यमानीहरू मध्येका एक हुन् । नरेशलाई चिनेकाहरू भन्छन्, ‘मर्यो भनेर माओवादीले सेती खोँचमा फालेको मान्छे । भाग्यमानी रहेछन् ।’ यो भनाइबारे बुझ्न २०६६ सालतिर फर्कनुपर्छ । माओवादीनिकट विद्यार्थीहरूसँग विवाद, झडप भइरहन्थ्यो ।

पुसको एक रात पृथ्वीनारायण क्याम्पसको छात्रबासमै थिए । विवाद झाँगिदा २०६६ साल पुस पहिलो हप्ता माओवादीनिकट विद्यार्थीले उनलाई छात्रबासमै पुगेर मरणासन्न हुने गरेर कुटेका थिए । त्यसपछि क्याम्पस पछाडिपट्टि बग्ने सेती खोंचमा फालिदिए । टाउको र खुट्टामा चोट लागेका नरेशलाई अर्धचेत अवस्थामा उद्दार गरेर अस्पताल लगिएको थियो ।
‘क्याम्पस पछाडिको सेती खोंचको झाडीमा उनलाई माओवादी कार्यकर्ताले मर्यो भनेर फालेका थिए,’ घटना हुँदा अनेरास्ववियु कास्की सहसचिव रहेका विवेक देवकोटा सम्झन्छन्, ‘मनिष हमाल, चन्द्र बुढाले ज्यान जोगाउन सफल भए । नरेशलाई घेरा हालेर कुटेका थिए ।’
पोखरामा उपचार सम्भव नभएपछि त्यतिबेला नरेशलाई काठमाडौं रेफर गरिएको थियो । नरेशलाई काठमाडौं लगियो तर क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीचको विवाद झनै बढ्यो । यही घटनाले त्यतिबेला पृथ्वीनारायण क्याम्पस महिना दिनसम्म तनावग्रस्त रहिरह्यो । ‘घटनाको भोलिपल्ट क्याम्पस जाँदा मसहित साथीहरू प्रकाश आचार्य, मनकुमार श्रेष्ठमाथि पनि धाकधम्की आइरह्यो,’ हाल कास्कीको अन्नपूर्ण गाउँपालिकाको पार्टी अध्यक्ष रहेका देवकोटाले सुनाए, ‘घटनापछि एक महिना जति क्याम्पस रणभूमिजस्तै बनेको थियो ।’
काठमाडौंमा ८ महिना उपचार गरेर फर्किएपछि नरेश फेरि अनेरास्ववियुका गतिविधिमा संलग्न भए । त्यतिबेला उनलाई माओवादीले खोंचमा फालेर पनि बाँचेको भनेर विद्यार्थीमाझ निकै चर्चा थियो । घटना भएको अर्को वर्ष २०६७ सालको अनेरास्ववियुको २०औँ महाधिवेशन भयो । माधव ढुंगेल अध्यक्ष बन्दा नरेश केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २१औँ महाधिवेशनमार्फत दोस्रोपटक केन्द्रीय सदस्य बने ।
२२औँ सम्मेलनमा सचिवालय सदस्य बनेका उनी बीचमा भएको आन्तरिक जिम्मेवारी बाँडफाँटमा उपमहासचिव भएका थिए । यसपटक नरेश महासचिवका ५ जना उम्मेदवारमध्ये लोकप्रिय मत ल्याएर निर्वाचित भएका छन् । रोकायाले ७३३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भाष्कर खनालले ३२२ मत पाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९ १६:२९