कसैसँग नभएको चीज उनीसित छ
कमैसँग भएको जाँगर उनीसित छ
उमेरले उठाइसक्यो ८१ को पहाड
छिचोलेर दौडिने तागत उनीसित छ ।
०००

वरिष्ठ फोटो पत्रकार ८१ वर्षे श्याम चित्रकार गत असोजमा नवौँ राष्ट्रिय खेलकुदको फोटो खिच्न पोखरा जाने तरखरमा थिए । उनका अनुसार स्वयम् मन्त्री महेश्वर गहतराजले नै फोन गरेर ‘श्याम दाइ, तपाईं जसरी पनि आउनुपर्छ है’ भनेका थिए । त्यही बेला डेंगी लागेर चित्रकार थला परे ।
उनी पोखरा त जान पाएनन् तर नवौँ राष्ट्रिय खेलकुदलाई पूर्णतः छुट्न दिएनन् । काठमाडौंमा भएको सुटिङ (महिला/पुरुष) र क्रिकेट (पुरुष) मा सकी नसकी उनले फोटो खिचेरै छाडे । त्यसैले त खेलकुद पदाधिकारीहरू उनलाई भन्ने गर्छन्, ‘कमैसँग भएको तागत श्याम दाइसित छ ।’
२०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद खिच्दा चित्रकार ४० वर्षका थिए । नवौँ खेलकुदसम्म आइपुग्दा उनको उमेर ८१ पुगेको छ । तर, सक्रियता झण्डै उस्तै छ, जस्तो कि उनी ४० वर्ष वा त्योभन्दा अगाडि थिए । नेपाली खेलकुदका लागि उनी आफैँ एक इतिहास हुन् । सँगै उनले केही इतिहास पनि भावी पुस्ताका लागि बचाइदिएका छन् । सरकार वा तालुकदार निकाय कसैसँग पनि नभएका ऐतिहासिक रेकर्डहरू उनीसित छन् । २०२० सालयता नेपालमा भएका महत्त्वपूर्ण खेलकुद प्रतियोगितादेखि दिग्गज खेलाडीहरूको रेकर्डसम्म उनले सुरक्षित राखेका छन् ।
अझ रोचक के भने, सक्रियताका हिसाबले उनी युवाझैँ लाग्छन् नै । अरुले गरिदिने सम्बोधनले पनि उनलाई ‘जवान छु’झैँ बनाइदिन्छ रे ! पाँच दशकयता खेलकुद फोटो पत्रकारितामा सक्रिय चित्रकारलाई ‘नाति पुस्ताका फोटोग्राफरले पनि ‘श्याम दाइ’ भनेर सम्बोधन गर्छन् । खेलाडी, पदाधिकारीले पनि ‘श्याम दाइ’ नै भनेर बोलाउँछन् । ‘बाजे, बुबादेखि नातिसम्मको दाइ म’, चित्रकार हाँस्दै सुनाउँछन्, ‘तीन पुस्तासित उसैगरी मिलेर काम गर्न पाउनु पनि भाग्यकै कुरा हो ।’
कुराकानीका लागि हामी श्याम चित्रकारको घर पुग्यौँ । उनले हामीलाई घरको एउटा कोठामा लगे, जहाँ सम्मानपत्र, कदरपत्र, मायाको चिनो, नयाँ–पुराना तस्वीर, क्यामेरा सजाइएका थिए । ती सबै चीजले श्याम चित्रकारको लामो जीवनयात्रा दर्शारहेका थिए ।
खेलकुदको इतिहास
उनले देशविदेश घुमेर धेरै खालका फोटो खिचे । तर, पहिचान र सम्मान खेलकुद फोटो पत्रकारिताबाट पाए । यसो हुनु संयोगचाहिँ होइन, उनको रुचि र पृष्ठभूमि हो । २७ वर्षको उमेरसम्म श्याम चित्रकार स्वयम् खेलाडी थिए । तन्नेरी हुँदा फुटबलमा नाम कमाएका उनले केही समय ‘ए डिभिजन’ क्लबबाट राष्ट्रिय प्रतियोगिता खेलेका थिए । २०२० सालदेखि लगातार ७ वर्ष महावीर क्लबबाट खेलेर उनले केही महत्त्वपूर्ण उपाधि जिताएका थिए । एक वर्ष उनले एनआरटी क्लबबाट पनि खेले । एथलेटिक्समा समेत पोख्त चित्रकारले मेडलहरू पनि हात पारेका थिए । २७ वर्षको उमेरमा उनले खेलजीवनबाट सन्न्यास लिएका थिए ।
‘राम्रै खेलाडी हुनुहुन्थ्यो, खेल्न किन छोड्नुभयो ?’
केही बेर घोत्लिएर उनले भने, ‘कारण धेरै थिएन । थोरै कारणमध्ये एक मेरो आफ्नै अनुभूति थियो । मैले कस्तो खेलिरहेको छु ? खेल्दा म कस्तो देखिन्छु ? मेरो कमजोरी के रहेछ ? दर्शकले मलाई के भनिरहेका छन्जस्ता जिज्ञासा खेलाडीमा हुने गर्छ । म मैदानमा हुँदा यस्तै सोच्थेँ । यस्तो जिज्ञासा तब मात्र मेटिन्थ्यो, जब म आफूले खेलिरहेको देख्न पाउँछु । मेरोबारेमा दर्शकले भनेका कुरा सुन्न पाउँछु ।’
खेलाडीलाई प्रोत्साहन गर्ने हेतुले खेलमैदान छोडेर क्यामेरा समातेको चित्रकार बताउँछन् । ‘मैले खिचेका फोटो र भिडियो मिडियामा आएपछि खेलाडीहरू खुब खुसी हुन्थे । उनीहरूको खुसीले मलाई झन् खुसी पार्थ्यो’, उनी सुनाउँछन् । चित्रकारसँग वि.सं. २०२० सालमा भएको युवा महोत्सवदेखि २०७९ सालको राष्ट्रिय खेलकुदअन्तर्गतका केही खेलका रेकर्ड सङ्गृहीत छन् ।
चियापसलदेखि ग्राफिक्स आर्टसम्म

हात्तीपाटीमा उनका बुबा चियापसल चलाउँथे । दाजुभाइको तुलनामा श्याम असाध्यै चकचके थिए रे ! पढ्नमा पनि खासै जाँगर नलाउने, फिल्म हेर्न भनेपछि हुरुक्कै हुने । ‘भाइहरू चैँ पढ्नमा रुचि राख्थे, जान्ने पनि थिए । तर, म मन नगर्ने भएकाले बुबाले बिहान झिसमिसेमै मलार्ई आफूसँगै पसलमा लैजानुहुन्थ्यो’, वरिष्ठ फोटो पत्रकार चित्रकार सम्झिन्छन्, ‘१३/१४ वर्षको उमेरदेखि नै पसलमा बुबालाई सघाउन थालेँ । म क्यामेरा चलाउन मात्र होइन, जेरी, हलुवा, सेल, रसवरीजस्ता पकवानमा पनि सिपालु छु । त्यही बेला सिकेको हुँ ।’
किशोरावस्थाको चञ्चलेपनबारे उनी बडो जोसका साथ सुनाउँछन् । ‘पसलबाट बुबा खाना खान गएको बेला १/२ रुपैयाँ लुकाइहाल्थेँ । नजिकैको विश्वज्योति हलमा फिल्म लाग्नुअघि गीत बजाइन्थ्यो, जुन सुनेपछि मेरा खुट्टा रोकिँदैनथे’, उनी सम्झिन्छन्, ‘कहिले भक्तपुरतिर जाने बसका ड्राइभरलाई पैसा दिएर गाडी चलाउन सिक्थेँ’, उनी सम्झिन्छन् । यही उपद्रोका कारण चित्रकारले घरमा सबैभन्दा बढी पिटाइ खान्थे ।
सानैदेखि फिल्म, साइक्लिङ, ड्राइभिङजस्तो मस्तीमा रमाउने चित्रकारलाई पढाइ भनेपछि जिउमा बुरुर्र काँडा उम्रिन्थ्यो रे ! त्यसैले स्कुलमा भर्ना गरेको १/२ महिनामै उनी भागिहाल्थे । ‘मद्मोदय र दरबार हाई स्कुलमा भर्ना भएको २ महिना पनि नहुँदै भागेको याद छ’, चित्रकार भन्छन् । उनले विद्या सदनबाट प्राथमिक शिक्षा हासिल गरे ।
तास खेलिरहेका बेला उनलाई एक साथीले भनेछ, ‘साहुजीको छोरा भएर सरकारी स्कुल पढ्छस् ? अरु साहुका छोरालाई हेर् त, कति राम्राराम्रा भएर बोर्डिङ जान्छन् !’ अब उनलाई बोर्डिङ स्कुलमै पढ्ने हुटहुटी जाग्यो । यो कुरा उनले घरमा भने तर बुबाले मानेनन् । चित्रकार १६ वर्षका भइसकेका थिए ।
‘म रोकिनेवाला थिइनँ । पसलमा दूध ल्याउने मान्छेलाई हरेक दिन पैसा चोरेर राख्न दिन्थेँ । केही दिनमै ३ सय रुपैयाँ जम्मा भयो । त्यही पैसाले फर्पिङस्थित त्रिभुवन आदर्श विद्यालयमा कक्षा ६ मा भर्ना भएँ’, उनले सम्झिए ।
तर, बोर्डिङ स्कुल उनले बाहिरबाट देखेजस्तो सजिलो कहाँ थियो र ! आन्तरिक परीक्षा उनका लागि फलामको चिउराजस्तो बन्यो । कहिल्यै पास नहुने । उनले आफैँले बनाए– घरपछिको अर्को कुटाइ खाने थलो । ‘पिटेर मात्र साध्य नलाग्ला भन्ने लागेर हुनुपर्छ, प्रिन्सिपलले स्कुलबाटै निकालिदिने चेतावनी दिनुभयो’, चित्रकार सम्झिन्छन् ।
उमेर बढ्दै जाँदा धेरै कुरा छुट्दै पनि जान्छन् । उनको चकचके बानी छुट्दै गयो । पढिएन भने पछि परिन्छ भन्ने चेतले एक दिन चित्रकारको मनको ढ्याङ्ग्रो ठटायो । त्यसैले उनी मिहिनेतसाथ पढ्न थाले । नभन्दै ७ कक्षामा पुग्दा उनी तेस्रो भए । स्कुल पढ्दैखेरि उनी खेल प्रतियोगिताहरूमा भाग लिन्थे । खेलकै कारण विद्यालयमा उनी चर्चित भइसकेका थिए ।
फर्पिङ जान टाढा परेपछि उनी ९ कक्षामा त्रिभुवन प्रौढ शिक्षा निकेतनमा भर्ना भए । एसएलसी पास गर्न उनलाई सानोतिनो सकस परेन । बारम्बार दिएर भए पनि उनले एसएलसी कटाए । उनले त्रिचन्द कलेजबाट आइकमसम्म अध्ययन गरे ।
फोटो पत्रकारिता जीवन

२७ वर्षको उमेरदेखि उनले खेल्न छोडिदिए । त्यसअघि पनि उनी फोटोचाहिँ खिच्थे । जस्तो कि २०२० सालमा भएको युवा महोत्सवमा समेत उनले फोटो खिचेका थिए ।
श्याम चित्रकारका भिनाजु बखतबहादुर चित्रकार भारतबाट सिनेमाटोग्राफी सिकेर आउने पहिलो नेपाली थिए । उनी काठमाडौंमै फ्ल्यास स्टुडियो चलाउँथे । भिनाजुको स्टुडियोमा चित्रकारको आउजाउ बाक्लै हुन्थ्यो । भिनाजुको काम देखेर उनी प्रभावित भए । र, आफूलाई पनि सिकाइदिन आग्रह गरे । भिनाजुबाट तालिम लिएपछि चित्रकार क्यामेरा बोकेर निस्कन थाले ।
२०२३ सालतिर भिनाजुसँग मिलेर उनले ‘ग्राफिक्स आर्ट’ स्थापना गरे । फोटोग्राफीसम्बन्धी प्राय: सबै काम गर्ने ग्राफिक्स आर्ट आज पनि सञ्चालनमा छ ।
२०३१ सालमा बर्माका तत्कालीन प्रधानमन्त्री यु सिन विङ राजा वीरेन्द्रको राज्याभिषेकमा सहभागी हुन आएका थिए । यही मौकामा उनी लुम्बिनी जाने भए । ४८ वर्षअगाडि भिनाजुसितै सिकेर श्याम चित्रकारले सुपर ८ क्यामेराबाट भ्रमणको मुभि खिचेका थिए ।
२०३७ सालमा त्यसबेलाका जल्दाबल्दा फोटो पत्रकारहरू मिलेर फोटोग्राफर संघ गठन गरे । श्याम चित्रकारलाई कोषाध्यक्ष बनाइएको थियो । सोही संस्थाको तर्फबाट उनले २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको फोटो, भिडियो खिचेका थिए । राष्ट्रिय खेलकुदअगाडि भएको एन्फा कपको भिडियोसमेत चित्रकारले नै खिचेका थिए । ‘एन्फा कप खिच्न मेहन्द्रपुत्र धीरेन्द्रले क्यामेरा दिनुभयो । नेसनल गेम खिच्न थाइल्यान्डबाट रिल ल्याएका थियौँ,’ उनी सम्झिन्छन् ।
फोटो र भिडियो दुवै विधामा सक्रिय रहेकाले उनको चर्चा फैलिँदो थियो । खासगरी खेलक्षेत्रका महत्त्वपूर्ण कार्यक्रम, प्रतियोगिता उनी छुटाउँदैनथे । २०४० सालमा राष्ट्रिय परिषद्ले चित्रकारलाई फोटोग्राफर पदका लागि जागिरको प्रस्ताव गर्यो । त्यो बेला उनले आफ्नै ग्राफिक्स आर्ट्सका लागि बढी समय दिनुपर्थ्यो । त्यसैले १०–५ को जागिर गर्न नभ्याउने निचोड सुनाए । राखेपले चित्रकारकै चाहअनुसार काम परेका बेला उपस्थित हुनेगरी नियुक्ति दियो । एक वर्षपछि नै राखेपले उनलाई वरिष्ठ फोटोग्राफर पदमा बढुवा गरिदियो । त्यहाँ १३ वर्ष जागिर गरेका चित्रकारले २०५१ सालमा स्वैच्छिक अवकाश लिएका थिए ।
राखेपबाट एनटीभी
श्याम चित्रकार सरकारी नेपाल टेलिभिजनका पहिलो ‘क्यामेरा पर्सन’ हुन् । एनटीभीमा उनलाई जोड्ने काम निर शाहले गरेका थिए । टेलिभिजन परियोजना सुरु गर्न समिति गठन भएपछि एक दिन निर शाहले चित्रकारलाई ग्राफिक्स आर्ट्समै पुगेर भनेछन्– श्याम दाइ, नेपाल टेलिभिजन परियोजनाको सुरुवात गर्ने भइयो । तर, क्यामेरा पनि छैन, खिच्ने मान्छे पनि छैन, अहिले पैसा पनि छैन । तर, भोलि राम्रो हुन्छ, यो सम्भावना ज्यादै छ ।’
‘मैले सकेको सहयोग गर्छु’ भनेर चित्रकारले वचन दिए । केही समयपछि गोकर्णमा ज्ञानेन्द्र शाह 'कि स्पिकर' रहेको कार्यक्रममा उनले एकघण्टे भाषण खिचे, त्यो पनि बिनाट्राइपट । ‘हातमा क्यामेरा बोकेर खिचिरहेको मैले नहल्लाईकन एक घण्टा खिचेँ’, उनी भन्छन् । पछि त्यो नेपाल टेलिभिजनबाट प्रसारण गरिएको थियो ।

२०४१ सालमा नेपाल टेलिभिजन सुरु भएपछि उनलाई निर शाहले ‘चिफ क्यामेरा पर्सन’ पदमा बस्न प्रस्ताव गरे । तर, राखेपका पदाधिकारीको विश्वास उनले तोड्न चाहेनन् । उता निर शाहलाई पनि निराश बनाउन चाहँदैनथे चित्रकार । त्यसैले स्ट्रिन्जरका रूपमा काम गर्ने वचन दिए । फोटो र भिडियोग्राफीकै कारण उनी दरबारसँग निकै नजिकिएका थिए ।
२०४१ सालमै तत्कालीन राजा वीरेन्द्र अस्ट्रेलिया भ्रमणमा नेपालबाट सञ्चारमाध्यमको प्रतिनिधित्व गरेर जाने पहिलो क्यामेरा पर्सन पनि उनै हुन् । त्यो टोलीमा निर शाह, क्यामेरामा चित्रकार र संवाददातामा दुर्गानाथ शर्मा गएका अस्ट्रेलिया थिए । ‘सेतो दौरासुरुवाल, कालो कोट, टोपी लगाएका, क्यामेरा बोकेका हामीलाई देखेर अस्ट्रेलियनहरू ‘फन्नी म्यान’ भन्दै हाँसेका थिए,’ त्यो किस्सा सुनाउँदै चित्रकार पनि हाँस्छन् । त्यो बेलाका रोचक किस्सा उनले यही स्टोरीको मुनि राखिएको भिडियोमा सुनाएका छन् ।
गोपाल चित्रकार एक्ला होइनन्
नेपालमा फोटोग्राफीको विकास र विस्तारमा काठमाडौंका दीर्घमान चित्रकार र उनको परिवारको महत्त्वपूर्ण भूमिका छ । दीर्घमानको परिवारसँग श्याम चित्रकारको परिवारको साइनो छ । श्यामका भाइ गोपालको ससुराली खाल हुन् भीमसेनगोलाका चित्रकार परिवार । त्यसैले दुवै परिवारको फोटोग्राफी पारम्परिक पेसाजस्तै लाग्छ ।
याे पनि..
श्याम चित्रकारका जम्मा ६ जना दाजुभाइ– जेठा स्व. राम चित्रकार । माइला श्याम, साइँला गोविन्द, काइँला गोपाल, ठाइँला रोशन र कान्छा सुदर्शन । उनका चार भाइमध्ये गोपाल चित्रकार र सुदर्शन चित्रकारले फोटो पत्रकारितामै नाम कमाए । श्यामका भाइ गोविन्दका छोरा नभेष विदेशी मिडियाले समेत पत्याएका फोटो पत्रकार हुन् । हाल उनी रोयटर्सका लागि काम गर्छन् । ‘मभन्दा अब्बल मेरा भाइहरू छन्’, श्याम चित्रकार भन्छन् ।
अझै खिच्न निस्कन्छन्
उमेरले ८१ वसन्तलाई पछि पारिसकेका चित्रकार अहिले पनि खेलकुदसम्बन्धी ठूला कार्यक्रममा क्यामेरा बोकेर पुगिहाल्छन् । केही महिनायता उनी पूर्ण स्वस्थ छैनन्– पहिला डेंगी, त्यसपछि चिसो । खेलकुदका कार्यक्रमतिर हिँड्न लाग्दा श्रीमतीले भन्छिन् रे– बुढो भइसकेको मान्छे अब कति दौडिनुपरेको ?’

तर, चित्रकारसित यसको रेडिमेड जवाफ छ, ‘फोटो खिच्न गएँ भने म फ्रेस हुन्छु, घरमा बसेँ भने बेकारमा ढाड दुख्छ ।’ उनी हातगोडाले काम गरेसम्म यसैगरी फोटो खिचिरहने बताउँछन् ।
खुसी
फोटो पत्रकारिता र यसबाट पाएको सम्मानप्रति उनी सन्तुष्ट छन् । ‘बाजेदेखि नातिपुस्तासम्म काम गरेँ । सबैले श्याम दाइ भन्छन् । खेल पदाधिकारीले पनि सम्मान गर्छन् । जीवनमा यस्तै होइन र कमाइ भनेको ?’, उनी खुसी छन् ।
चाहना
उनले आफूसँग भएका खेलसम्बन्धी सबुत प्रमाणहरू सरकारलाई बुझाउन चाहन्छन्, जो उनीबाहेक अरु कोहीसँग छैन । ‘सरकारले यसको साटो मेरो कामलाई सम्मान मिल्ने गरी केही दिएर लगोस्, संरक्षण गरेर राखोस् भन्ने चाहना छ’, उनी भन्छन्, ‘मैले जोगाएर राखिदिएका चीजहरू राज्यले भावी पुस्ताका लागि जोगाइदेओस् ।’
नयाँलाई सुझाव
फोटो पत्रकारिता वा फोटोग्राफीमा आएका, आउन चाहने नयाँ पुस्तालाई उनको मूल सुझाव नै धैर्य हुने र निरन्तर खट्ने हो । उनी भन्छन्, ‘तपाईं अब्बल क्षमताको हुनुहुन्छ तर धैर्य हुनुहुन्न, आफ्नो कामलाई निरन्तरता दिनुहुन्न भने तपाईंको क्षमता काम लाग्दैन । खासगरी फोटोग्राफीमा अहिलेको भरे रिजल्ट आउँदैन । केही समय कुर्नुपर्छ । पछिको नतिजाले दिने सन्तुष्टि बेग्लै खालको हुन्छ ।’
भिडियाे हेर्नुहाेस् :
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९ ०८:०१