यदाकदा म गम खान्छु– व्यक्ति–व्यक्तिका जीवनको लगभग अमूर्त र धूमिल मार्गचित्रको रेखाङ्कन केले गर्दो हो ?
निजत्वयुक्त एवं पृथक् अन्य मानवहरूको कुरा अर्कै होला, त्यो म जान्दिनँ । मलाईचाहिँ ठूलठूला असन्तुष्टि र ससाना सन्तुष्टिहरूको सङ्गमबाट जीवन–पथको रेखाङ्कन हुँदो हो भन्ने लाग्छ ।
असन्तुष्टिको चाङमा प्रायः सन्तुष्टिका मधुरा झिल्काहरू दृष्टिगोचर हुन्छन् । यी त्यस्ता जीवनदायी झिल्का हुन्, जसले जिउन र जीवन–प्रकाशका लागि लड्न मानिसलाई सतत् प्रेरित गर्छन् । म परेँ मर्त्यलोकको असाधारण विशेषताविहीन एक साधारण जीव । त्यसैले होला सायद, यी ससाना सन्तुष्टिहरूले जीवनको कठिन उकाली आरोहण गरिरहन मलाई ऊर्जा, उमङ्ग र आँट प्रदान गरिरहन्छन् ।
चित्तको कुरो नढाँटी भन्दा सुन्नेका नजरमा म सानो देखिऊँला कि भनी मान्छे मुलालाई डर लाग्छ । तर जे सत्य हो, त्यो जब्बर तत्त्वले पाखण्डका किर्ते आवरण च्यातेर यस्सो उज्यालो चियाउन खोजिहाल्छ । शब्दजालको खेलमा कुशल जिब्रोले जेसुकै भनोस्, प्रत्येक लेखक आफ्नो लेखनीको वृक्षमा प्रशंसा र पुरस्कारको फल लागेको देख्न सदैव लालायित हुन्छ । प्रायः प्रशंसाले प्रसन्न र निन्दाले खिन्न हुने एक सांसारिक मनुवा म । यो माम्लोमा म मात्र कसरी अपवाद होऊँ र ? तर, प्रशंसा र पुरस्कारको परिभाषा मेरो आफ्नै छ । हुनलाई रुद्रघण्टीभन्दा माथिबाट गरिने प्रशंसा पनि प्रशंसै हो । ठगी र लुटबाट सञ्चित कालो धनलाई सेतो धनमा फेर्न अथवा आफ्नो असामाजिक अनुहारमा लेखकको सामाजिक अनुहारको जलप लगाएर लोकदृष्टिमा सुन्दर देखिन जाल थापिने पुरस्कार पनि पुरस्कारै हो । यस्तो प्रशंसा र पुरस्कारप्रति मलाई फिटिक्कै रुचि छैन । किन ? किनकि यो स्वाँगे प्रशंसा हो, र यो हो जाली पुरस्कार । यी दुई दूषित तत्त्व मेरा ससाना सन्तुष्टिका मुहान किमार्थ होइनन् ।
सडकपेटीमा आफ्नै धुनमा लुखुर–लुखुर हिँडिरहँदा कहिलेकाहीँ अपरिचित किशोर–किशोरी वा युवा टक्क अडिएर कौतुकमय दृष्टिले मलाई एक टकले हेर्छन् । ती आफूले कतै देखेको तस्वीरसँग मेरो अनुहारलाई रुजु गर्न खोज्ने मेरा भुईं तहका पाठक हुन् । तिनका निश्छल नजरमा प्रशंसा र कृतज्ञताभावजस्तो केही चीज देख्छु म । र, म लख काट्छु– शायद मेरा कतिपय शब्दले तिनका खुलदुलीयुक्त मानसमा जीवनको उज्यालो र अर्थ खोज्ने सपनाका फिलुङ्गाहरू सञ्चार गरिदिए हुनन् । कहिलेकाहीँ ती सङ्कोच मान्दै मतिर कापी तेर्स्याएर अटो माग्छन् । अथवा मेरो कुनै कृतिमा सही गरिमाग्छन् । तिनका आँखाको भाव हेर्दै किञ्चित् प्रसन्नतासाथ म गम खान्छु, आफ्ना शब्दहरूमार्फत म तिनको हंसमा केही अर्थपूर्ण क्षणहरू बाँचेछु । यहाँनेर म एक पल ससानो सन्तुष्टिको सास फेर्छु ।
जीवनको बक्ररेखामा हिँड्दा–हिँड्दै मलाई हठात् प्राप्त हुने यस्ता ससाना प्रशंसा र पुरस्कार अनेक छन् । तरकारी, फलफूल वा अन्य चीज किन्न जाँदा कतिपय ससाना साहु–साहुनी मलाई सधैँ ससाना छुट दिन्छन् । खल्तीमा पुग्दो पैसा नहुँदा ती मलाई उधारो पत्याउँछन् । यी सबै मेरा पाठक नहुन सक्छन् । यीमध्ये कोही मेरा पाठकका आमा–बा होलान् । कसैले मेरो छायाछवि बिजुली पर्दामा देखेका होलान् । अरु कसैले अरु कसैबाट मेरोबारे केही सुनेका होलान् । यिनले गर्ने मेरो मौन प्रशंसा र मलाई दिने मसिना पुरस्कारमा निहित स्वार्थको गन्ध आउँदैन । त्यो निष्काम प्रशंसा वा पुरस्कार हो, जसबाट मलाई जहिल्यै अलिकता आत्म–गौरव र अलिकता सन्तुष्टि प्राप्त हुन्छ ।
लेखन कर्ममा होस् वा कोठे विमर्शमा वा सडक लमक्मा, म आफ्नो दुर्वल सामर्थ्यले आवाजविहीन एव वञ्चित जनहरूका छेउमा उभिने चेष्टा गर्छु । तिनका आवाज हरण गर्ने र तिनलाई वञ्चनाको सिकार तुल्याउनेहरूमाथि उत्ताल आवेगसाथ जाइलाग्छु म । आवाजविहीन दलित र वादी, कमैया र हलैया, बोक्सी र अछुतको आरोपमा प्रताडित जन एवं बहिष्कृत मधेसी एवं वञ्चित जनजाति जब मेरा निम्छरा शब्दहरूको मुखर पक्षधरताबाट उत्साहित भएको छनक पाउँछु, लेखनको शक्ति र सार्थकताप्रति मेरो विश्वास हलक्कै बढ्छ ।
शब्दकर्म न त तटस्थ हुन्छ, न सर्वप्रिय नै । यदाकदा मेरो लेखनले पृथक् स्वार्थ भएका पाठकमाझ गरमागरम बहस छेडिदिन्छ । कहिलेकाहीँ हात लाग्ने मेरा शब्दको सार्थकताको गरिमामय क्षण हो त्यो । त्यो दुर्लभ क्षण जब आउँछ, जीवन–प्रवाहको डिलमा उभिएर रमिता हेर्न मलाई खुब मजा लाग्छ ।
मेरो यो पक्षधरता कुनै उदार कर्म वा त्यागको द्योतक किमार्थ होइन । यो त केवल मेरो सामाजिक कर्तव्य हो । यो त फगत मेरो जातका शासकले सहदेशवासीहरूमाथि गरेको शोषण र दोहनप्रति मेरो पश्चात्तापको अभिव्यक्ति हो । यो त जो पीडित छन्, आफ्ना पीडक पुर्खाको तर्फबाट तीसँग मैले गरेको क्षमायाचना मात्र हो । यो म स्वयम्को मानवीकरणको एउटा सानो प्रयास हो । र, हो यो स्वयम्को पीडा विरेचनको एउटा सानो जुक्ति पनि ।
जीवनमा उच्चाटलाग्दो दुश्चक्रमा फन्को मारिरहने राजनीतिका उकाली–ओरालीमा के मात्रै भोगिएन ? प्रजातन्त्र र राष्ट्रवादका छलकारी ध्वजामुनि तालतालका सङ्कटकाल भोगिए । हेर्दाहेर्दै, आँखैअगाडि स्वतन्त्रता र स्वाभिमानप्रेमी थुप्रो नागरिक सङ्कटकालको सिकार बने । निम्छरै भए पनि मसँग एउटा सानो शब्दास्त्र थियो । त्यो हो, मेरो साप्ताहिक स्तम्भ । आफ्नो स्तम्भमा मैले कतै अज्ञात दुलामा कोचिएका बेखबर नागरिकका दर्दनाक खबर लिपिबद्ध गरेँ । एकबारको जुनी पूरा जिउन पाउने तिनको हकको मैले हाकाहाकी पैरवी गरेँ । सङ्गीनको घातक छायामुनि मुर्दा शान्ति व्याप्त थियो । अन्धकारबाट आएको मौन चीत्कारले मुखर भावले भन्यो– भित्र कतै एकलासमा कोही मारिँदैछन् । गहन सन्नाटायुक्त सघन अन्धकारमा, लोकका आँखा र कान छलेर, सुटुक्क ! लोकदृष्टिमा पर्ने ठोस प्रमाणको नामनिशानै नरहने गरी ! को हुन् ती, जो मारिँदैछन् ? प्रश्नको तुमुल ध्वनिले आकाश थर्क्यो । यत्रतत्र डुलिबस्ने चतुर कौवाले बिजुलीको लट्ठाबाट खुसुक्क नाम भन्यो । रामनाथ मैनाली, पीबी दियाली, पूर्णविराम, विजयराज आचार्य....। तल ठोस धरतीमा फौजी ताण्डवको जगजगी थियो । माथि शून्य आकाशमा, निराकार अक्षरमा, मूक सूचनापाटीमा टाँगिएका थिए यी नामहरू । यी मारिँदै छन्, थाहा भयो । तर कहाँ ? अत्तोपत्तो छैन । थाहा पाउने कसरी ? उपाय केही छैन । सोध्ने कसलाई ? कोही छैन । गुहार माग्ने कोसँग ? कतै कोही देखिँदैन । फौजी बुट, सङ्गीन र गोलीले समस्त वातावरण भयाक्रान्त छ, र सिङ्गो राजधानी शहर स्तब्ध छ । मूर्ख बन्दुके शिकारीलाई थाहा छैन, मान्छे मारेर मान्छे सकिँदैन ! विचार–वाहक बागीलाई बध गरेर विचारको बध हुँदैन ! तथापि कसैगरी मार्न ऊ कटिबद्ध छ ।
वायुमण्डलमा कोण–कोणबाट उठेको विरोध र भर्त्सनाको अग्निज्वाला दन्क्यो । गर्धनमाथि तरबार झुन्डिएका जो थिए, अन्धकारको थुनाबाट ती उज्यालोमा प्रकट भए । चरम् यातनाले ती गलित थिए, ती थकित थिए, ती वक्शून्य थिए, र थिए ती लगभग संज्ञाशून्य पनि ।
कृतज्ञतायुक्त साउतीको भाकामा तिनले मलाई भने, ‘तिम्रा शब्दहरू धन्य हुन्, खगेन्, जसको शक्तिले हामीले पुनर्जीवन पायौँ ।’ ती जिउँदै छुट्नुमा मेरो दुर्वल हस्तक्षेपको कति प्रभाव पर्यो, म जान्दिनँ । यो अमूर्त प्रभावको मापन गर्ने मूर्त माध्यम मसँग छैन । तथापि तिनका विनयशील र गुणग्राही वचन सुन्दा मेरो छाती ढक्क फुल्यो । सोचेँ– न्यायका सहस्र स्वरमा मेरो सानो स्वरले थोरै भए पनि दम थपेछ क्यार । जो मारिँदै थिए, ती बचे । बुरुक्क उफ्रिँदै मलाई भन्न मन लाग्यो– ‘सत्यवादी शब्द–शक्तिको सतत् जय होस् !’
सार्थक लेखन बौद्धिक विमर्शको सशक्त माध्यम हो । स्वार्थमा विभाजित समाजमा लेखन सर्वप्रिय एवं सर्व–स्वीकार्य कदापि हुँदैन । ‘हुन्छ’ भन्नु आफैँलाई ढाँट्नु हो । ‘हुन्छ’ भन्नु खुट्टाको सट्टा मुन्टो टेकेर उभिनु हो । शब्दको तीरले चोरलाई तारो हान्दा साधु प्रसन्न हुन्छ । साधु शब्दको निशाना बन्दा चोर पुलकित हुन्छ । त्यसैले शब्दकर्म न त तटस्थ हुन्छ, न सर्वप्रिय नै । यदाकदा मेरो लेखनले पृथक् स्वार्थ भएका पाठकमाझ गरमागरम बहस छेडिदिन्छ । कहिलेकाहीँ हात लाग्ने मेरा शब्दको सार्थकताको गरिमामय क्षण हो त्यो । त्यो दुर्लभ क्षण जब आउँछ, जीवन–प्रवाहको डिलमा उभिएर रमिता हेर्न मलाई खुब मजा लाग्छ ।
जिब्रोले जाँगरिलो, कर्मले अल्छी छु म । भान्सामा मेरो योगदान कुल भान्सा–कर्मको नाथे ५ प्रतिशत पनि नहोला । तर, भान्सामा ससाना काम सघाउँदा श्रीमतीजीबाट म ठूलो स्याबासी पाउँछु । गजप छ बा ! काम धुलीकणजत्रो, स्याबासी सुमेरु पर्वतजत्रो ! छोराछोरीलाई रहर लागेका ससाना चीज किनिदिँदा तिनका अनुहारमा जब प्रसन्नताको प्रकाश छाउँछ, म दङ्ग पर्छु । प्रसन्नताको त्यो निश्छल प्रकाश मैले पाउने अर्को स्याबासी हो । फेरि पनि काम धुलीकणजत्रो, स्याबासी सुमेरु पर्वतजत्रो ! यी हुन्, मेरो ससाना सन्तुष्टिको शृङ्खलाका बहुविध कडीहरू । यी ससाना सन्तुष्टिको विराट् अर्थ बुझ्नु मात्र पर्छ, जीवन खुबै रोचक र सुन्दर लाग्छ ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ ०७:२६