दुई वर्षको मलेसिया बसाइपछि नेपाल फर्किंदा कृष्णराज तिमल्सिनाले ४/५ लाख जम्मा गरेका थिए । उनको उद्देश्य नै त्यो पैसा व्यवसायमा लगाउने थियो । कृष्ण पसल खोज्न थाले । २०६३ सालमा उनी मलेसिया जानुअघि ७/८ लाख पर्ने पसलको मूल्य १८/२० लाख पुगिसकेको रहेछ । उनीसँग ऋण खोज्नुको विकल्प थिएन ।
‘त्यो बेलामा भने मैले आफन्तबाट ऋण पाएँ । सायद विदेश बसेर आएपछि म्याचुअर्ड सोच्नुभएर होला,’ उनले भने ।आफूसँग भएको पैसामा ऋण गरेको पैसा थपेर उनले असनमा कपडाको रिटेल पसल खोले । २०६५ सालमा सामान्य रिटेल पसलबाट सुरु भएको उनको व्यावसायिक यात्रा अहिले आफ्नै कम्पनी ‘थ्रेड गार्मेन्ट’सम्म पुगेको छ ।
उक्त कम्पनीबाट थ्रेड, कोफी, लिमिटेड एडिसन, डीआरजे, सीएम, फ्लाई, जेन्टल म्यान, केटी जिन्स, अर्वान आउटफिटर्स, राइज गरी १० वटा ब्रान्डका तयारी पोशाक उत्पादन हुन्छन् । यी ब्रान्डमा बच्चा, युवा, महिलादेखि वृद्धसम्मका पोशाक बन्छन् ।

ललितपुर र इटहरीका दुई कम्पनीमा करिब ६ सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । थ्रेड गार्मेन्टमा काम गर्नेहरू पनि राम्रो कमाइ गरिरहेका छन् ।
‘सिलाइको काम गर्नेले नै महिनामा ३० देखि ६० हजार रुपैयाँसम्म कमाउनुहुन्छ । आइरन गर्नेले ९० हजार र डिजाइन गर्नेको कमाइ १ देखि डेढ लाखसम्म हुन्छ,’ उनले भने । उनको कम्पनीले दैनिक ६ हजारभन्दा बढी थान तयारी पोशाक उत्पादन गर्छन् ।
विगत ४ वर्षदेखि प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, स्काउटका कपडा, विभिन्न संस्थाका ड्रेसहरू पनि उनले उत्पादन गर्ने गरेका छन् । विगत ६ महिनादेखि कृष्णले दुबई, मलेसिया र कतारमा पनि पनि ‘मेड इन नेपाल’ तयारी पोशाक निर्यात गर्न थालेका छन् । उनको सफलता जति लोभलाग्दो छ, संघर्ष पनि त्योभन्दा कम भने छैन ।
२०४४ सालमा रामेछापमा जन्मिएका कृष्ण एसएलसी दिएपछि उच्च शिक्षाका लागि २०६१ वैशाखमा काठमाडौं हानिए । प्लस टु पढ्दै गर्दा आफ्नो खर्च जुटाउन सुन्धाराको एउटा कपडा पसलमा काम गरे ।
‘तलब महिनाको १२ सय थियो । जसोतसो खर्च पुर्याउनुपर्थ्यो । कहिलेकाहीँ किराना पसलमा बाँकी हुँदा बाटो मोडेर पनि हिँडिन्थ्यो । भाडा समयमा तिर्न नसक्दा घरबेटीले पानी बन्द गरिदिएका कारण बेलुका पानी चोरेर काम चलाएको पनि अनुभव छ,’ उनले भने ।
कपडा पसलमा काम गर्दै जाँदा उनलाई ५/७ लाख जोहो गर्न सके आफ्नै व्यवसाय गर्न सकिन्छजस्तो लाग्यो । त्यसपछि उनी ऋण खोज्न थाले । तर दुर्भाग्य, उनलाई कसैले पत्याएन । त्यसपछि उनलाई व्यवसाय गर्नै भए पनि विदेश नगई सुखै भएन ।
‘२०६३ सालमा म मलेसिया गएँ । त्यहाँ म सर्जिकल ग्लोब बनाउने फ्याक्ट्रीमा काम गरे र केही रकम जम्मा भएपछि व्यवसाय गर्छु भनेर नेपाल फर्किएँ,’ उनले भने ।

नेपाल फर्किएर ऋण गरेर पसल राखेपछि उनले कहिल्यै पनि पछि फर्केर हेर्नुपरेन । उनले पसल सुरु गरेपछि यति सफलता मिल्यो कि उनले पसल नै सातवटासम्म बनाए । पसल बढ्दै गएपछि सामानको संख्या पनि धेरै आवश्यक पर्यो । उनी सिधै विदेशबाट कपडा ल्याउन थाले र स्टोरसँगै होलसेल नै राखे । कपडा ल्याउने क्रममा उनी भारत, बंगलादेश, भियतनाम, चीनलगायतका देश गइरहन्थे ।
‘चीनको एउटा कपडा कम्पनी राम्रोसँग हेर्ने अवसर पाए । कसैले रोल बोकिरहेको, प्याकिङ गरिरहेको, सिलाइरहेको देखे । त्यो हेर्दा आफूले विदेशमा गरेको दु:ख सम्झे,’ उनले भने, ‘यो देख्दा म पनि नेपालमै कम्पनी खोल्न सक्छु भन्ने सोचेँ । नेपालमै कम्पनी खोलेँ । धेरैलाई रोजगारी दिन सकिन्छ र नाफा पनि राम्रै हुन्छजस्तो लागेर कम्पनी खोल्ने योजना बनाएँ ।’
त्यसको ठीक एक वर्षपछि उनले आफ्नै घरमा सातवटा मेसिन राखेर 'थ्रेड गार्मेन्ट' सुरु गरे ।
यसमा उनले सफलता पाउँदै गए । त्यतिले माग धानेन । त्यसपछि ५०/६० वटा मेसिन थपे । त्यसले पनि माग धान्न छाड्यो । त्यसपछि अर्को ठाउँमा जग्गा भाडामा लिएर फेरि ६०/७० वटा मेसिन हाले । फेरि पनि माग बढिरह्यो ।

त्यसपछि उनले पाँच वर्षअघि इमाडोलमा जग्गा भाडामा लिएर ठूलो फ्याक्ट्री बनाए र केही समयअघि इटहरीमा पनि कम्पनी सुरु गरे । धेरै व्यवसायलाई समस्या परेको लकडाउनमा पनि उनले काम रोकेनन् ।
चैत ११ मा लकडाउन भए पनि घरमा बसेका उनी मोबाइल चलाउँदै गर्दा महावीर पुनको एउटा स्टाटस देखे । पुनले पीपीई सिलाउने व्यक्ति वा कम्पनी चाहियो भनेर स्ट्याटस लेखेका रहेछन् । कसरी बनाउनेरहेछ भनेर उनले गुगलमा सर्च गरे ।
उनीसँगै भएको मेसिनले पीपीई सिलाउन मिल्नेरहेछ । उनले पुनलाई फोन गरे र म बनाइदिन सक्छु भने । २ हजार थान नि:शुल्क दिने प्रतिबद्धतासमेत उनले जनाए । त्यसपछि पीपीईको माग ह्वात्तै बढ्यो । ‘मैले अस्पताल, आयल निगम, टेलिकम, फोहोर व्यवस्थापन सबैलाई पीपीई उपलब्ध गराएँ । त्यो बेलामा ८० हजारभन्दा धेरै पीपीई र लाखौँ मास्क बनाएँ,’ उनले भने ।
कोभिडको महामारी कम हुँदै गए पनि नाका खुलेको थिएन । त्यो बेलामा नेपालकै सामानको माग उच्च भयो । ‘कोभिडपछिको १८ महिना चाडबाड, मौसम परिवर्तन हुँदा अति धेरै माग आयो । मलाई धान्नै मुस्किल भयो,’ कृष्णले शिलापत्रसँग भने ।
उनी पैसा कमाएकोमा भन्दा रोजगारी दिन सकेकोमा खुसी छन् । भन्छन्, ‘यति धेरै मान्छेलाई काम दिएको छु, समयमा पारिश्रमिक दिन सकेको छु । यही नै मेरो कमाइ हो ।’
कृष्णले सकेसम्म कच्चा पदार्थ नेपालकै प्रयोग गर्छन् । उनको कम्पनीमा उत्पादन हुने कपडामध्ये २० प्रतिशत नेपालकै हुने गरेको उनी बताउँछन् । संसारका सबै शहरका स्टोरमा नेपाली कपडा भएको हेर्ने उनको रहर छ ।
‘१५ वर्ष लाग्ला, २० वर्ष लाग्ला तर न्यूयोर्क, सांघाई, टोकियो, पेरिसका हरेक स्टोरमा नेपालमा बनेको सामान देख्न पाऊँ भन्ने सपना छ,’ उनले भने ।

नेपालमै कपडा उत्पादन गर्दा आयात गरेको भन्दा सस्तो पर्ने उनको दाबी छ । ‘एउटा कपडा चीनको गोन्जाउबाट नेपाल आउँदा ट्रान्सपोर्टेसन शुल्क मात्र २ सय रुपैयाँ पर्छ, १ सय ५० रुपैयाँ त भन्सार नै लाग्छ । ३ सय ५० रुपैयाँ त्यहीँ बढी पर्यो । त्यो हिसाबले ८ सयको सर्टको ११ सय ५० पर्न गयो,’ उनले भने ‘त्यही सामान फेब्रिक ल्याएर यहीँ बनाउने हो भने फेब्रिकको भन्सार शुल्क सस्तो छ । ८ सय ५० मा दिन सकिन्छ ।’
उस्तै गुणस्तरको सामान नेपालमा बनाउँदा २५ देखि ३० प्रतिशत सस्तो पर्ने उनको अनुभव छ । नेपालको समग्र अर्थतन्त्रको विकासका लागि पनि तयारी कपडा नेपालमै उत्पादन गर्नुपर्ने उनी बताउँछन् । ‘ग्राहकले सामान किन्न जाँदा नेपाली सामान छ कि छैन भनेर सोध्यो भने व्यापारी पनि नेपाली सामान राख्न बाध्य हुन्छन् र हामी आफैँ आत्मनिर्भर हुन्छौँ,’ उनले भने ।
उनको अबको योजना ५ वर्षभित्र सातवटै प्रदेशमा कम्पनी खोल्नेछ । ‘अहिले दुईवटा प्रदेशमा मेरा कम्पनी सञ्चालनमा छन् । पाँच वर्षभित्र अरु पाँचवटा प्रदेशमा पनि कम्पनी खोलेर ३ हजार जनालाई रोजगारी दिने मेरो सपना छ,’ उनले भने ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ ०६:३१