फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम चढ्नुभन्दा अघि नेपालका हिमालको कुनै प्रचार थिएन । सन् १९५० मा हर्जोगको टोलीले आरोहण गरेपछि नेपालको हिमाल पर्यटन उकालो लाग्यो । सन् १९६५ पछि कास्कीका लान्द्रुक, घान्द्रुक, धम्पुसजस्ता गाउँका गोरेटो बाटोमा पर्यटकको चहलपहल देखिन थाल्यो ।
सन् १९७३ (२०३० साल) तिर लान्द्रुकका मोतीबहादुर गुरुङ गाउँमै थिए । गाउँमा पर्यटक देख्न थालेपछि उनलाई पैसा कमाउने रहर लाग्यो । त्यसपछि लान्द्रुकमा उनले खाजा पसल चलाए । निकै विकट गाउँको गोरेटो बाटो हुँदै एकाध पर्यटक अन्नपूर्ण बेसक्याम्पतिर जान थालेका थिए । ‘म भारतबाट फर्किएपछि पर्यटक हिँड्न सुरु भएको रहेछ । त्यतिबेला किराना पसल, रेष्टुरेन्ट, होटल केही थिएन,’ ७२ वर्षीय मोती सुनाउँछन्, ‘पर्यटक हिँडेको देखेपछि मैले सामान्य चिया पानी र खाजा पाउने रेष्टुरेन्ट खोलेको थिएँ ।’
रेष्टुरेन्टमात्रै होइन मोती ४९ वर्षअघि लान्द्रुकमा गाउँकै पहिलो होटल चलाएका व्यक्ति हुन् । त्यो होटल उनी आफैँले बनाएका भने थिएनन् । नाताले मामा पर्ने क्याप्टेन जयबहादुर गुरुङले लगानी गरेका थिए । त्यतिबेला रेष्टुरेन्ट चलाइरहेकाले होटल लालीगुराँस चलाउने जिम्मा मोतीले पाएका थिए ।
लान्द्रुक कास्कीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्छ । होटल नखुल्दासम्म बास बस्ने ठाउँ नहुँदा पर्यटक लान्द्रुक बस्थेनन् । कोहीकोही गाउँकै खेतमा टेन्ट हालेर बस्थे । जब गाउँमा होटल खुल्यो त्यसपछि पर्यटकको बसाइँ लान्द्रुकमा बाक्लिन थाल्यो । होटलको क्षमताभन्दा पर्यटक बढी हुन थाले । त्यसो हुँदा पर्यटक टेन्टमै बस्थे । ‘त्योबेला होटल एउटा-दुईवटा थियो । होटलको सुविधा नहुँदा पर्यटकले टेन्ट ल्याउनुपर्थ्यो । त्यसकारण यहाँ क्याम्पिङ चल्थ्यो । खेत–खेतमा टेन्ट लगाएर पर्यटक बस्थे,’ उनी सुनाउँछन् । एकैदिनमा ९० जनासम्म पर्यटकलाई व्यवस्थापन गरेको मोतीको अनुभव छ ।
मामाले दिएको गाउँले शैलीको होटल चलाएको ५-७ वर्षपछि मोती आफैँले गाउँमा गेष्ट हाउस खोलेका थिए । उनी अहिले पनि करिब ४५ वर्षअघि खोलेको ‘मुनलाइट गेष्ट हाउस’मा पर्यटकलाई सेवा गरिरहेको भेटिन्छन् । मोतीलाई पर्यटक स्याहारेर गाउँमै पैसा कमाइएला भन्ने थिएन । उनी त लाहुरे बन्न गाउँ छोडेर भारत हुँदै भुटानसम्म पुगेका थिए । गाउँमा विदेशबाट दाइ-काका आएको देख्दा मोतीबहादुर पनि विदेश गएर पैसा कमाउने सोच्थे । विदेश पठाउन आमाबुवाले मानेनन् । त्यसपछि २० वर्षको उमेर भागेर आफू भारत पुगेको मोती सुनाउँछन् ।
एक दिन हिँडेर पोखरा पुगे । पोखराबाट राम्दीको पुलसम्म बस पाइन्थ्यो । सन् १९६४ (२०२० साल) देखि पोखरा–सुनौलीको सिद्धार्थ राजमार्ग निर्माण सुरु भएको थियो । २०२५ सालमा मोती घर छोडेर भारत पस्न लाग्दा बाटो निर्माणकै चरणमा थियो । राम्दीमा सवारी आवागमन गर्ने पक्की पुल थिएन । अहिले स्याङ्जा र पाल्पा जोड्ने पक्की पुल भएकै ठाउँमा झोलुंगे पुल भएको मोतीलाई सम्झना छ । पोखराबाट जाने बसले राम्दीमा यात्रु ओराल्थे । बुटवलबाट आउने पनि त्यहाँ झरेर पुल तरेर पोखराको बस चढ्थे । राम्दी तरेर मोती पाल्पा, बुटवल हुँदै गोरखपुर पुगे । ‘गोरखपुर पुगेपछि भुटान लैजान ६५ जना खोजेको थाहा भयो । त्यसपछि मसँग बीच बाटोमा भेटिएकाहरू पनि काम गर्न जाने निधो गर्यौँ,’ मोतीले सम्झिए ।
२०२५ सालमा मोती भुटान पुगे । त्यहाँ बस्दा उनले डुक्पाहरूको संस्कृति बुझ्ने अवसर पनि पाए । तर, कलिलो उमेरमै कामको भार बढी भए पनि उनलाई त्यतै बस्न मन लागेन । तीन वर्ष भुटानी कम्पनीमा काम गरेपछि लान्द्रुक फर्किए । ‘कम्पनीमा खाली काम नै गर्नुपर्ने । त्यो भएपछि अरु साथीलाई पनि जाऊँ भनेर त्यहाँँबाट पनि भागियो,’ मोती हाँस्छन् ।
गाउँ फर्किंदा पर्यटक छिटपुट आउजाउ गर्न थालेका थिए । त्यसपछि उनलाई व्यवसाय गर्ने सोच पलाएको थियो । भुटानमा बचाएको पैसा लगानी गरेर उनले ५ दशकअघि रेष्टुरेन्ट खोलेका थिए । मोतीले रेष्टुरेन्ट र होटल सुरु गर्दा अन्नपूर्ण पदमार्गमात्रै चल्तीमा थियो । आफ्नै गाउँको बाटो भएर पर्यटक हिँड्ने भएपछि आम्दानी पनि राम्रै हुने गरेको मोती बताउँछन् ।
पछिल्लो एक दशकदेखि मर्दी हिमाल जाने पदयात्री पनि बढ्दो छन् । तर, लान्द्रुकमा पदयात्री पर्यटकको संख्या भने घटेको छ । स्थानीयकै अनुसार लान्द्रुक पछाडि पर्नुको मुख्य कारण सडक हो । पहिलो पदमार्गमा सडक बनेर दुरी छोटिँदा, दोस्रो गाउँ पुग्ने सडकको दुरावस्थाले लान्द्रुकसम्म पदयात्री पुग्दैनन् । कोरोना कालपछि अहिले अन्नपूर्ण बेसक्याम्पको झिनुसम्म सडक पुगेको छ । त्यसो हुँदा अन्नपूर्ण बेसक्याम्प जाने पर्यटकले लान्द्रुकको बाटो प्रयोग गर्न छोडेका छन् ।
लान्द्रुकबाट मर्दी हिमाल बेसक्याम्प जान केही सहज छ । काँडेबाट पाँच घण्टा लाग्ने फरेष्ट क्याम्प डेढ घण्टामा पुगिन्छ । तर, गाडीमा गाउँसम्म आउने सडकको दुरावस्था र पर्याप्त प्रचार नगर्दा लान्द्रुकबाट निकै कम पर्यटक मर्दी जाने गरेका छन् । लान्द्रुकमा १२ वटा होटल र ६ वटा होमस्टे छन् । लान्द्रुकको रुट कम प्रयोग हुँदा पर्यटकको आवागमन कम हुँदा कुनै समय निकै चलेका ती होटल र होमस्टे आजकल पाहुना कुरेर बस्नुपरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९ ११:४९