गण्डकी प्रदेशसभाका लागि समानुपातिकबाट चयन गरिएका सांसदको विषयले नेकपा एमालेभित्र असन्तुष्टि देखिएको छ ।
एमालेले १० जना सांसद छनोट गर्दा कास्कीका प्रकाशबहादुर केसीलाई ल्याएको छ । उनी खसआर्यको दोस्रो नम्बरमा थिए । तर, खस आर्यको बाहुल्य हुँदाहुँदै आदिवासी जनजाति क्लष्टरका प्रेमबहादुर गुरुङलाई छुटाएपछि असन्तुष्टि बढेको हो । एमाले गोरखा जिल्ला अध्यक्ष गुरुङ आदिवासी जनजाति क्लष्टरको दोस्रो नम्बरमा थिए ।
प्रत्यक्षमा खसआर्य धेरै हुँदाहुँदै जनजातिलाई छोडेर खसआर्यकै सांसद चयन गरेको भन्दै गोरखाका एमाले नेता–कार्यकर्ता असन्तुष्ट छन् । कास्कीले मात्र एमालेबाट प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरेर ८ सांसद पाएको छ । तर, सांगठनिक हिसाबले कमजोर गोरखाले प्रत्यक्षमा जित्न त सकेन । त्यहीमाथि समानुपातिकमा पनि चलखेल गरेर गोरखालाई ‘शून्य’ बनाएको भन्दै त्यहाँका नेता–कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।
जिल्लाका ११ वटै पालिकाका पार्टी अध्यक्ष, जिल्लाका जनवर्गीय संगठनका अध्यक्षहरू सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । अध्यक्ष ओलीले केही कमजोरी भएकाले आगामी दिनमा त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यसलाई छुटेको भन्दा पनि छुटाइएको भन्नुपर्यो । जिल्लाका साथीहरू काठमाडौँ जानुभयो । अध्यक्ष कमरेडले त्रुटि भएको भन्नुभएको जानकारी छ,’ उम्मेदवार गुरुङले शिलापत्रसँग भने ।
गण्डकीमा प्रत्यक्षमा एमालेले १२ र समानुपातिकमा १० सांसद जितेको छ । प्रत्यक्षमा ८ जना खस आर्यका थिए । समानुपातिकबाट पनि दुई पुरुषसहित चार जना ल्याइएको छ । प्रत्यक्षमा आदिवासी जनजातिका ३ जना निर्वाचित भएका थिए । समानुपातिकबाट चार जना ल्याइएको छ । त्यसमा एक जना पुरुष हुन् । महिलाको संख्या पुर्याउनुपर्ने भएकाले आदिवासी जनजाति क्लष्टरबाट तीन जना महिला ल्याइएको हो ।
जनजाति कम हुँदाहुँदै उक्त क्लष्टरको दोस्रो नम्बरको उम्मेदवार गुरुङ अटाएनन् । निर्वाचितमै बाहुल्यता रहेको खसआर्यको दोस्रो नम्बरको उम्मेदवार केसी भने सांसद बनेका छन् ।
समानुपातिकबाट सांसद निर्वाचित कास्कीका केसी एमालेको राजनीतिमा त्यति पुरानो अनुहार होइन । उनलाई २०७० सालतिर नेताहरू खगराज अधिकारी, रवीन्द्र अधिकारी, कृष्णबहादुर थापाले एमाले ल्याएका थिए । केसी राष्ट्रिय प्रजातन्त्र पार्टी पृष्ठभूमिका हुन् । पोखरा–१२ बस्ने उनी ‘आर्थिक सम्पन्नता’ले गर्दा नेताहरूको रोजाइमा परेको स्थानीय नेता बताउँछन् । केसी एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीनिकट हुन् । अधिकारीकै जोडबलमा केसी समानुपातिक सूचीमा अटाएका थिए ।
गोरखामा एमाले निकै कमजोर मानिन्छ । अहिले जत्तिको संगठनात्मक अवस्था विकास भएको छ, त्यसमा अहिले उम्मेदवार रहेका गुरुङको पनि हात छ । २०४८ सालबाट एमालेको राजनीति सुरु गरेका गुरुङ अहिले संगठन विभाग प्रमुख अधिकारीले कस्केली नेता च्याप्दा पाखा लगाइएका छन् । गुरुङ आफूलाई नियतवश छुटाइएको गुनासो पोख्छन् । ‘२५–३० वर्षको पार्टी आन्दोलनमा मेरो निरन्तरता रह्यो, अझै रहन्छ । तर, सांसद छान्दा उहाँ र मेरो उस्तै–उस्तै नहुनुपर्ने हो ।’ गुरुङ पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट हुन् ।
सामाजिक सञ्जालमा एमालेकै विद्यार्थी संगठनमा रहेकाहरूले केसीलाई सांसद बनाएकोमा विरोध जनाइरहेका छन् । अनेरास्ववियु अध्यक्ष प्रकाश पौडेल र सचिव रमाकान्त पोखरेलले खुलेरै विरोध गरेका छन् ।
अखिल प्रदेश अध्यक्ष पौडेलले एमालेमा केसीको राजनीतिक योगदानबारे प्रश्न गरेका छन् । ‘प्रदेश समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनाइएका प्रकाश केसी को हुन् ? उहाँको सामाजिक र राजनीतिक योगदान के हो ?’ पौडेलले भनेका छन्, ‘जसको कारण एमालेले आफ्ना नेता पाखा लगाएर उनलाई सदन पुर्याउन बाध्य बनायो ? यो स्वार्थको भण्डाफोर गरिने छ । चुप बसिने छैन ।’
गण्डकी प्रदेशसभामा एमालेबाट समानुपातिकमार्फत यशोदा रिमाल (लमजुङ), देवका पहारी त्रिपाठी (कास्की), कृष्णप्रसाद पाठक (बागलुङ), प्रकाशबहादुर केसी (कास्की), बिनाकुमारी थापा (बागलुङ), निर्मला थापा (स्याङ्जा), राजकुमारी भुजेल (कास्की), लिलाबहादुर थापा मगर (बागलुङ), नन्दकला दमै (कास्की), गोविन्दबहादुर नेपाली (बागलुङ) संसद् छिर्दैछन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १९:३८