बेलुका भएपछि भट्टीतिर लस्किनी लट्ठीरामले उज्यालो रङको फोटोसहितको पर्चा ल्याएर साइँला बाजेलाई देखाउँदै भन्यो, '(को साइँला बाजे भन्दा २०७७-१०-१७ गते शिलापत्रमा प्रकाशित ‘साइँला बाजेको समाजवाद’ का साइँला बाजे) । उहाँ त साह्रै राम्रो मान्छे हो नि । भोट त उहाँलाई नै दिनुपर्छ है साइँला बाजे !'
साइँला बाजेले पर्चा समातेर पर्चाभित्रको फोटो हेरे । फोटो हेर्दा यस्तो देखिन्छ कि संसारभरको अमरत्व यही फोटोले पाएजस्तो, क्या खुसी, क्या उज्यालो अनुहार, सिकर्मीले भर्खर रन्दा दलेर मिलाएजस्ता कोदालीपाते दाँत कस्तो सुहाएका । मुखभित्र अजिबको मुस्कान पसेर त झनै राम्रा । मात्र यत्ति हो र, फेरि कतिसम्म नम्र हुन जानेका ! विचराले दशऔँलीलाई कतै टेढो बाङ्गो नगराईकन लपक्क औँलामा औँलाको जडान मिलाएर नमस्कार गर्या छ । यस्तो दुर्लभ तरिकाको नम्रपना अरु कोसँग हुन सक्ला ?
साइँला बाजे एकछिन तस्वीरलाई हेरेको हेर्यै भए । लट्ठीराम फेरि भन्छ, 'उहाँ त साह्रै राम्रो मान्छे ।'
साइँला बाजेले तस्वीर हेर्दाहेर्दै त्यहाँ अरु पनि मान्छे जम्मा भए । छैउमै खड्गप्रसाद बाहुन पनि आइपुगे । खड्गप्रसाद बाहुन र साइँला बाजेको दोस्ती राम्रो छ । बेलाबेलामा ख्यालठट्टा तँतँ मम चल्छ । पर्चाको फोटो हेर्दै गरेका साइँला बाजेलाई खड्गप्रसादले पनि भने, 'ए उहाँ त साह्रै राम्रो मान्छे, यसपालिको भोट त उहाँलाई नै दिनुपर्छ ।'
'ल.... खड्गप्रसाद बाहुनले पनि उहाँ त साह्रै राम्रो मान्छे, भोट त उहाँलाई नै दिनुपर्छ' भनेपछि साइँला बाजेका कान हल्लिए । दिमाग रन्फनियो । हैन के भयो खड्गेलाई आज ? अस्तिअस्ति त 'भोट हाल्नलाई मेरा औँला अब मरिकाटे जाँदैनन् ! के कामले हाल्छु म भोट ? भोट हाल्न जानुको साटो त तालुमा तेल दलेर आनन्दले घाममा सुकाएर बस्छु । गाडिएको चिसो त हराऊला बरु । भोट ! भोट ! कति हाल्नु भोट' भन्दै थियो । आज फेरि यस्तो कुरा गर्छ । कुरो सुन्दा साइँला बाजेलाई नजर घुमाएर एक वाक्य दनक दिऊँजस्तो लाग्यो ।
'ओए खड्गे, तेरो दैलाभित्र पसेर तँलाई कसले गुलियो चटायो कि पिरो, लु भन् त ? एकै राममा तँ ता आरनबाट निकालेको कैँचीजस्तो भैछस् त । कसरी राम्रो मान्छे हो उहाँ, लु राम्रो मान्छेका बारेमा १० वटा राम्रा कुरा बता ।'
साइँला बाजेको कुरा सुनेपछि खड्गप्रसादले भर्खरै लतपतिएको अमिलो धादस खोजे जसरी लिब्रिक्क ओठमुनि जिब्रो पुर्याए । उनले पनि 'उहाँ त साह्रै राम्रो मान्छे' भनेको मात्र सुनेको हो । त्यही सुनेको कुरो भन्या हो । अरु त एउटै कुरा थाहा छैन । १० वटा कुरा कहाँ पाएर भन्नु । एकछिन त उनलाई के भन्नु के भन्नुजस्तो भयो । यहीबीचमा साइँला बाजे फेरि रन्किहाले, 'बता न राम्रो मान्छेको राम्रो कुरा ? के अर्थमा उहाँ राम्रो मान्छे हो ? म पनि बुझौँ । अनि म पनि उहाँ त साह्रै राम्रो मान्छे हो, भोट उहाँलाई नै दिनुपर्छ भनेर भनम् । तिमीहरू मात्रै उहाँ त राम्रो मान्छे हो भन्ने, मैलेचाहिँ भन्न नपाउने ? यो नेताको आँखा राम्रो भएर राम्रो मान्छे भन्या हो कि, गाला राम्रो भएर राम्रो मान्छे भन्या हो कि, कि अनुहार राम्रो भएर राम्रो मान्छे भन्या हो ?'
कानमाथिको घुस्यानजस्तो घुम्री परेको मैलो कपाल कन्याउँदै खड्गप्रसाद बोले, 'खै मलाई पनि के था, गाउँभरिका मान्छेहरू उहाँ त साह्रै राम्रो मान्छे भनेर हल्ला पिट्दै भोट माग्छन्, अस्ति मलाई पनि पसलमा उनकै तर्फबाट हो भनेर एउटा खुट्टी (फ्रुटी) किनेर दिएका थिए । म जाबो कन्दराको मान्छेलाई खुट्टी सम्झिएछन् । राम्रै मान्छे होलान्जस्तो लाग्यो । ठूलो कान्छाको छोराले पनि दुईवटा बुलबुल (रेडबुल) खायो । खाइसकेपछि 'गाँठे, मेरा त गाला नै चिल्ला भएर आए’ भन्दै गाला मुसार्थ्यो । आफूलाई पनि खुट्टी खाएपछि घाँटीबाट सलल शीतलहुँदै आन्द्राभुँडीतिर घुमेजस्तो लाग्यो । अरु कुरा म के जान्नु दाजु, मैले बुझेको कुरा यत्ति हो ।'
साइँला बाजेको दु:खी पारालाई नियालिरहेको धर्मकिस्नेले मुसुमुसु हाँस्दै भन्यो– यो लोकतन्त्रको खप्पर हो बाजे, लोकतन्त्र मीठो चीज त हो नि, मासु जति कल्ले खान्छ कल्ले, अब यही हड्डी चबाऊ, कुरो बुझिराख
खड्गप्रसादले यति भनेपछि यस कुराको ठेगान लगाउन साइँला बाजेको ओठभित्र जिब्रो सकसकाउँदै थियो तर मान्छे जम्मा भएको जत्थाबाट अरुहरूको मुखबाट पनि उही कुरा आइरहेको थियो:
'भोट त उहाँलाई नै हो । उहाँ भनेको उहाँ नै हो नि । के उहाँ कम्ता राम्रो मान्छे हो...?'
यही आवाजतिर सबका कानहरू लम्पसार परिरहेका थिए । उचित वातावरणको प्रतीक्षामा साइँला बाजेले ओठभित्रको कुरो भित्रै घुसारे ।
उष्ण मदिराको नशालु वाफ, अँगेनोमाथिको भाँडाबाट फुसफुस उडेजसरी गाउँभरि चुनावको वाफ उडिरहेको थियो । मान्छेहरू कानकानमा कुरा फुकिरहेका थिए । यसलाई हराउनुपर्छ । उसलाई जिताउनुपर्छ । धेरैजसोको सल्लाह साउती एउटै थियो । जिताउँदा उहाँलाई नै जिताउने । तिनै जिताउनुपर्ने मान्छे आउने दिन रहेछ आज । त्यही भएर अकलनाथको आँगनमा बाक्लै गरी मान्छे सकसकाउँदै थिए ।
आँगनको कुनामा अस्थायी रूपमा स्थापना गरेको चुलिढुंगामाथि एक खड्कउँलो पानी पनि उम्लिरहेको थियो । अकलनाथ त्यसैको वरिपरि कोही कसैलाई केही कुरा अह्राइरहेका थिए । आज निकै चटारोको दिन छ । नेताको नामबाट बक्सिसस्वरुप दुईवटा खसी गम्रङ्गै लडाउनुपर्ने थियो । मृत्युको पर्खाइमा उभिएका जोले खसी दुई दाजुभाइजस्ता देखिन्थे । पशुवाक्य बुझ्ने जोतिषीले तिनका कानमा मृत्युको खबर सुनाइदिएजस्तो त्यसैत्यसै ती खसी मृत्युको भयले त्रसित भएजस्ता देखिन्थे ।
'हामीलाई बचाउ, नमार न मनुष्य हो' भनेजसरी मान्छेका मुखमा हेर्दै म्याँ...म्याँ... गर्थे तर तिनका गर्धनमा धसिने खुकुरीनजिकै थियो ।
साइँला बाजेले हेर्दाहेर्दै बोलिभियाको जंगलबाट चेग्वोभाराका लालसेना शहर घेर्नलाई आएजसरी गाडीका गाडी नेता कार्यकर्ता आए । नेता कर्यकर्ताको फाइँफुर्ती यस्तो देखिन्थ्यो कि जाबो यो संसार त के हो र ? जुरेलीको पुच्छरजस्तो पनि छैन । चिरिप्प समातेपछि आफ्नै काबुमा । हाम्रो पन्जाबाट को उम्किन सक्छ भनेजसरी छात्ती फुलाउँदै ज्यान तन्काए ।
हेर्दाहेर्दै सभाको आसन सुरु भयो । सभाले भन्यो, 'यो चुनावबाट यो देशमा अब कुनै मुलाका बानको केही हुतिकार चल्दैन । हुतिकार चल्छ त हाम्रै पार्टीको चल्छ, हाम्रै चल्छ अनि देश बन्छ ।'
साइँला बाजेका कान अन्त कतै नबिराईकन माइकको टुटीतिरै छन् । आँखाले नेताको ताजुब शैलीलाई खिचिरहेका छन् । नेताको यस्तो चमत्कारी पाराको झिल्के शैली मिलाइदिनी दाता को होला ? सुखशान्ति, समृद्धि ल्याउने ठेक्का म र मेरो पार्टीको भयो भन्छ । क्या आनन्दको कुरा बोल्यो नेताले । 'यस्तो जाबो कुरा त कुन ठूलो कुरा भयो र, छ्यास्स एक झ्याल फर्सी रोपेपछि त्यसकै पातपातमा फलिहाल्छ नि सुख र शान्ति' भनेजस्तो पो बोल्छ बा ! कुरो सुन्दा साइँला बाजेको कन्पारोमा अलिकति अकबरेको धुलो पसेजसरी सकसकाउँछ ।
सुख प्राप्त गर्ने आधार के ? त्यसका लागि सबै मिलेर प्रयत्न गर्नुपर्ने कि नपर्ने ? नेता, कार्यकर्ता, जनता सबमा बुद्धिको भकारी अलि ठूलो हुनुपर्ने कि नपर्ने । केही चिन्ता गर्नुपर्दैन, हाम्रो देश हिमालै हिमालले घेरिएको देश हो भन्यो नेताले । के हिमालमा हिउँ छ भनेर हिउँकै डल्ला ल्याएर भान्सा गर्ने हो र ? गरिबहरूको गरिबी हटेन भने त्यो गरिबका लागि हिमाल सेतो हुनु र कालो हुनुमा के फरक छ ।
हाम्रो देशमा पानी नै पानी छ । पानीले धनी छौँ... भन्यो नेताले । ठीक छ पानीले ‘मानी’ घुमाएर उन्नति गर्न सकियो भने पो पानी भएको ठीक भयो त । पानीसँगै बुद्धि पनि सललल बग्दै पारि तरेर गयो भने पानी मात्रै भएर के गर्नु । नेताले हाम्रो देशमा सुन फल्छ भन्यो । पहाडमा बाँदरले चार गेडा अन्न फलाउन नदिएर गरिबले एक मुट्ठी पखालाको पिचिकिरी हान्न नसक्ने अवस्था आइसक्यो । कहाँ फल्ने रहेछ सुन ? मान्छे अरब पुगेर खुन बगाउँदा पनि आफ्नो गरिबीको पुर्पुरो सुधारेर तेल घस्न सकेका छैनन् ।
सुन फल्छ मात्रै भनेर हुन्छ ? विकास र उन्नतिका निम्ति हामी सब जागरुक मानिस भएर निस्किनुपर्छ । आ–आफ्नो हैसियतअनुसारको जिम्मेवारी बाँडौँ भनेर भन्नुपर्ने ठाउँमा नेताले किन चिप्लो कुरा गरेको ? र पनि कतिपय गाउँलेहरूले उसै ताली पड्काए । साइँला बाजेलाई चित्त बुझेन । तर के गर्नु ? उहाँलाई जिताउनुपर्छ भनेर भुरोसम्म कन्दनी कसेर लागेपछि हैन कुरो यसोचाहिँ हो भनेर भन्न पनि गाह्रो । यही समाज र यहीँको राजनीतिसँग घुलमिल हुँदै जीवनभर सँगालेको अनुभूतिले उनको मुटु कुटुकुटु खान लाग्यो । साइँला बाजेले हेर्दाहेर्दै भाषण सकियो । फोटो खिचियो । तातो आलु खेल खेलेजस्तो चुनावी भाषणको कर्मकाण्ड सकियो ।
उता मासु र भातको रमझम सुरु भयो । खानी खाँदै छन् । माग्नी माग्दैछन् । एउटा भन्छ– मेरो भागमा हाड आयो । अर्को भन्छ– छाला आयो । झन् अर्को भन्छ– भुत्लो आयो । त्यहाँभन्दा अर्को भन्छ– एउटा सुत्लो आन्द्रो आयो ।
यता छेउ लाएर गालामा हात लगाउँदै साइँला बाजे घोत्लिन्छन् । प्रजातन्त्रको कुराउनी मीठो हुन्छ भनेर नेताको लैलैमा लाग्दा बित्थामा जेल बस्नुपर्यो । उनी बिस्तारै आफ्नो विगत सम्झँदै आउँछन् । लौ ! हुनी हुनामी ठीकै भएको थियो भने त जेल बस्दाको कुरालाई सन्तोष नै मानिन्थ्यो ।
प्रजातन्त्रको खोकिलाबाट गज्जबको समाजवाद आउँछ भन्थे नेताले, त्यो पनि नापियो । यस जिल्लामा घुम्ने नेताका खोपडीमा के जातका सुसुल्का घुम्छन् कुन्नि । कम्तीमा चुनाव जितिसकेपछि अब म यस जिल्लावासीको खबर सरकारका कानमा पुर्याउने कटुवाल भएँ भनेर त बुझ्नु नि । चुनाव जितेपछि अत्तोपत्तो छैन । कतै बसेर पाडाको साँप्रो त पक्कै कन्याउँदैनन् होला । गर्छन् चाहिँ के फेरि ? मैले उसै चुनाव जितेको हो र ? चुनाव जितेपछि झसङ्ग भएर सोच्नुपर्दैन ? जिताउनका लागि आकाशबाट कागले भोट खसालिदिएको त पक्कै हैन नि, जनताले नै भोट हालेर जिताइदिएको हो ।
प्रजातन्त्रको खोकिलाबाट गज्जबको समाजवाद आउँछ भन्थे नेताले, त्यो पनि नापियो । यस जिल्लामा घुम्ने नेताका खोपडीमा के जातका सुसुल्का घुम्छन् कुन्नि । कम्तीमा चुनाव जितिसकेपछि अब म यस जिल्लावासीको खबर सरकारका कानमा पुर्याउने कटुवाल भएँ भनेर त बुझ्नु नि । चुनाव जितेपछि अत्तोपत्तो छैन ।
'यत्ति कुरालाई निधार चाउरी पारेर खोपडीभित्र घुसाउनुपर्दैन । गाउँकी ती बुढी आमोईले, बुढा बाले लौरो टेक्दैटेक्दै एक बिहानको बाटो हिँडेर मलाई भोट हाले, अनि मैले जितेको हो । गाउँको ठूलो कान्छो, सानो कान्छो, जेठो, माइलो, साइँली, माइली सबै लागेर भोट मागिदिए अनि पो मैले जितेको । मेरा विरोधीसँग मुकाबला गर्न अरुकै पाखुरी कस्सिए, अनि पो मैले जितेको, त्यसै जितेको हो र ? त्यसैले गर्दा मैले जनताको कुरा राम्रोसँग सुन्नुपर्छ । सरकारबाट पाइने आड भरोसा सबै दिलाइनुपर्छ । जनताको सुख दु:खको राम्रो चौकीदारी गर्नुपर्छ भन्ने नेता कहिले निस्कने हो ?...,' साइँला बाजे अरु निकै कुरा सोच्दै थिए । तर, बीचमै कोही आएर पछाडिबाट च्याप्पै पाखुरी समाउँदै भन्यो, 'ल ! के पारा हो साइँला बाजे ? यस्तो प्रीति भोजमा बसेर जुठो मुख गर्नुपरेन ? विचरा हाम्रा नेताले हाम्रो लागि भनेर कति खर्च गरेका छन्, त्यो कुरालाई स्वागत गर्नुपर्यो नि साइँला बाजे ।' यति भन्दै उसले मुन्ट्याएर भतेरको लाइनमा लिएर गयो ।
'ठीकै छ नि यो पनि अरुको कुरा सुन्ने राम्रो मौका हो' भन्दै साइँला बाजेले पलेँटी कसे । ढुंगामाथि घाममा सुकाएर पकाएको जस्तो अररो न अररो दुई चोइली भातको बीचबाट खसीको खप्परे हाडले साइँला बाजेलाई नमस्कार गरेजस्तो लाग्यो । बुढा हेरेको हेर्यै भए । नजिकै बसेको धर्मकिस्नेले बुढाको दु:खी पारालाई नियालिरहेको थियो । ऊ मुसुमुसु हाँस्दै पनि थियो, र भन्यो, 'यो लोकतन्त्रको खप्पर हो बाजे, लोकतन्त्र मीठो चीज त हो नि, मासु जति कल्ले खान्छ कल्ले, अब यही हड्डी चबाऊ, कुरो बुझिराख ।'
साइँला बाजेले बसेपछि यसो दायाँबायाँ पनि हेरे, कसैको भागमा त राम्रै मासु पनि परेको थियो । यिनीहरू मस्तसँगले चोक्टा लुछीलुछी भनिरहेका थिए:
'भोट त उहाँलाई नै दिने हो ।'
'उहाँको कम्ता गुन छ मलाई, मेरो छोरालाई क्याम्पस पढाउँदा फिक्रीमा पढाइदिएका छन् ।'
'अनि मलाई नि उपचार गर्न अस्पताल बसेको बेलामा कहिल्यै तिर्न नपर्ने गरी ५ हजार रुपैयाँ दिएका छन् ।'
'उहाँले नगरिदिएको भएदेखि सुकेको डाँडामाथि मेरो घरमा मरिकाटे पानी आउँदैनथ्यो ।'
'भोट त उहाँलाईनै दिने हो...।'
व्यक्तिगत रूपमा कुनै दु:खी गरिबले सहयोग पाउनु ठीक कुरा हो तर यही कुरा सम्पूर्ण रूपमा ठीक होइन । नेताले एकादुई मान्छे रिझाउनका लागि कानमा साउती गर्दै सहयोग गरेको छु भनेर भोटको बाली उठाँउदै हिँड्नु लोकतन्त्रभित्रको ठूलो बेइमानी हो । साइँला बाजेलाई यही कुरा चित्त बुझ्दैन ।
चुनाव सकियो, भोटको परिणाम के आउने हो भन्दै साइँला बाजे बिहानबेलुकै कानमा रेडियो पुर्याउँथे । अर्को दिन दिउँसो रेडियोले फुकेको खबर यो थियो कि चुनाव त उहाँले नै जित्नुभएछ ।
गाउँका धेरैजसो मान्छेहरूको जिब्रोमा पर्नुभएका उहाँका लागि अब हुतिकारले भ्याए मन्त्री हुने बाटो खुल्यो तर साइँला बाजे भन्छन्, 'जनतासँग विकासमुखी नीतिगत मायाप्रीति गाँस्न नजान्ने नेताले चुनाव जित्न नहुने थियो । दुनियाँको के पारा हो यो ? देशैभरि यस्तै नेता उठ्या भा त सक्किगो नि । एकादुई अलिक राम्रा पनि छन् कि !
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ ०६:१२