गण्डकी प्रदेशसभाका ३६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये ३४ ठाउँको नतिजा आउँदा कांग्रेस ठूलो दल बन्ने निश्चित भएको छ । हालसम्म कांग्रेसका १६, एमालेका १२, माओवादी केन्द्रका ४, नेपाल समाजवादी पार्टीका एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । २४ समानुपातिक सिट रहेको ६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ३१ सांसद चाहिन्छ । गण्डकीमा कुनै पनि दलको एकल सरकार बन्ने स्थिति छैन । गण्डकीमा सरकार निर्माणमा नेकपा माओवादी केन्द्र निर्णायक शक्ति हो । हालकै गठबन्धन कायम रहेमा कांग्रेसले प्रदेशको नेतृत्व गर्छ । तर, राजनीतिक समीकरण फेरिएको अवस्थामा एमाले, माओवादी र राप्रपा सरकारमा जाने पनि देखिन्छ । कास्की १ 'क' बाट निर्वाचित एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी गण्डकी प्रदेशमा मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् । उनै नेता अधिकारीसँग हालैको चुनाव र अबको राजनीतिमा केन्द्रित रहेर शिलापत्रकर्मी अनुप पौडेलले गरेको कुराकानीको सम्पादित अंश:
प्रतिनिधिसभामा लड्दै आउनु भएको मान्छे प्रदेशसभा आउनुभयो । पाँच दलीय गठबन्धनविरुद्ध लडेर जित निकाल्नु भएको छ । चुनावी समीक्षा कसरी गर्नुभएको छ ?
हामीले संविधानमा समाजवाद उन्मुख भनेका छौँ । सत्ता स्वार्थ, व्यक्तिगत इच्छा, आकांक्षाका कारणले समाजवाद निर्माणतर्फ हामी इमानदार भएनौँ । त्यसकारण गठबन्धनहरू बने । सैद्धान्तिक आधारमा बनेनन् । त्यसले स्वाभाविकभन्दा अस्वाभाविक परिणाम देखिए ।
सरकारी स्रोत-साधन गम्भीर, सूक्ष्म रूपमा र कतिपय शान्त रूपमा प्रयोग भए । त्यसले गर्दा परिणामहरू फरक खालका आए । यो परिणामले देशलाई कता लैजान्छ चिन्ता त्यो हो । हामी समीक्षा गर्दैछौँ । एउटा निष्कर्षमा हामी पुगौँला । मैले व्यक्तिगत समीक्षामा रुचि राख्दिनँ ।
प्रदेशमा एमालेको एकल सरकार बन्ने भएन । अब एमाले प्रतिपक्षमा बस्ने हो ?
समानुपातिकतर्फ धेरै हाम्रो नै हुन्छ । त्यसपछि कांग्रेस र माओवादीको हुन्छ । अरु साना दललाई पनि सिट जान सक्छ । एक जना स्वतन्त्र (राजीव गुरुङ) पनि हुनुहुन्छ । मलाई पार्टीले किन प्रदेशमा पठायो ? अरुले आकलन गर्दा मुख्यमन्त्री बनाउने भनिरहेका छन् । म आफैँले न हिजो भनेँ न आज भनिरहेको छु । तर, मसँग केन्द्रीय सरकारमा रहेर काम गरेको अनुभव छ । संसदीय पदाधिकारी भएको अनुभव पनि छ । त्यसले प्रदेशको सभा सञ्चालनमा मेरो थोरै भए पनि योगदान होला ।
पार्टीले मलाई यहाँ पठायो, म इमानदारपूर्वक आएँ । नउठ्न पनि तयार थिएँ । हो, गणीतको हिसाबले सरकार बन्ने स्पष्ट छैन । गठबन्धनको सरकार बन्यो भने हामी स्वाभाविक प्रतिपक्षमा हुन्छौँ । गठबन्धनभित्रै इमानदारिता त देखिएन । हिजो एमाले र माओवादीले वाम गठबन्धन गर्दा पार्टीगत इमानदारिता थियो । मतदाताले पनि इमानदार भएर सहज ढंगले मत हालेका थिए । अहिले पार्टीभित्रै इमानदारिता भयो-भएन त्यो उहाँहरूले मूल्यांकन गर्ने कुरा हो । अर्कोतर्फ मतदाताले अहिलेको गठबन्धनलाई मत हाल्न त्यति रुचि राखेको देखिएन ।
नेपाली जनता सचेत हुनुहुन्छ । जनतालाई अवमूल्यन गर्दा फरक खालको परिणामा आउँछ । काठमाडौंमै त्यस्तो परिणाम आउला भनेर कसैले सोचेको थिएन । निर्णायक भूमिका खेले त्यो (राष्ट्रिय स्वतन्त्र पार्टी) पनि एउटा शक्ति हुन्छ । भूमिका खेल्न सक्नु हुन्छ-हुँदैन उहाँहरूको कुरा हो किनभने राजनीति विचार, सिद्धान्त, दृष्टिकोण, आदर्श, त्याग, समर्पण र गन्तव्य सबैसँग जोडिएको हुन्छ ।
भ्रष्टाचार रोक्छु, सुशासन दिन्छु भन्ने कुरा छ त्यो राम्रो हो । तर, आमूल परिवर्तन सुधारले मात्र हुँदैन । आमूल परिवर्तनको सुरुवात सिद्धान्तले गर्छ । राजनीतिक दलले सिद्धान्तलाई आत्मसात् गरेनन् भन्ने जनगुनासो हो । एउटा ठाउँ थियो त्यसमा युवाहरू जोसका साथ आउनुभएको छ त्यसले पनि केन्द्रीय सत्तामा के प्रभाव पार्छ, त्यसको प्रभाव प्रदेशमा पनि रहन्छ ।
मुस्ताङ, मनाङ, लमजुङमा एमालेले चुनाव जित्ने अनुमान गरेको थियो । तर, कतै केही नजित्ने, कतै संघ जित्ने प्रदेश नजित्ने भयो । नतिजालाई कसरी हेर्नुभएको छ ?
मुस्ताङमा हामी ‘ओभर कन्फिडेन्ट’ भयौँ । लमजुङको सुक्ष्म विश्लेषण गर्न बाँकी छ । मनाङमा एक सिट जित्छौँ भन्ने थियो । चुनावको प्रभाव, असर के-कस्तो हुन्छ भन्ने गहिरो ज्ञान, संरक्षण र निर्देशनको अभाव मनाङमा देखियो ।मुस्ताङमा हाम्रो प्रतिनिधिसभाको उम्मेदवार को हुने भन्ने उम्मेदवारी दिनुभन्दा आधा घण्टा अगाडिसम्म अन्योल रह्यो त्यसको परिणाम हो । जे भयो एउटा परिणाम आएको छ त्यसलाई स्वीकार्न पर्छ ।
प्रदेश संरचनाप्रति नै जनतालाई आकर्षित गराउनुपर्ने छ । प्रतिपक्षमा बस्नुपरेको खण्डमा यो व्यवस्था बलियो बनाउन तपाईंसहित एमालेको कस्तो भूमिका रहन्छ ?
म २०५१ र २०७४ सालमा प्रतिनिधिसभामा गएँ । म संसदमा पदाधिकारी पनि भएँ । हामी संविधानको दायराभित्र रहेर अधिकतम रूपमा जनहितका लागि काम गर्न कोसिस गर्छौं । सरकारमा भए कार्यान्वयन गर्ने, सरकार बाहिर भए सरकारलाई त्यस दिशातर्फ सचेत गराउने काम गर्छौं ।
एमालेको पनि केही पार्टीसँग गठबन्धनमा छ । कांग्रेससहित अरु पार्टी पनि मिलेका छन् । यसरी अबको संसद, राजनीति र नयाँ दलको उदयले देशको भविष्य कता जाने देख्नुहुन्छ ?
एमालेको गठबन्धन थिएन । स्थानीय स्तरको तालमेल थियो । केही ठाउँमा केन्द्रको अनुरोध थियो होला तर मूलतः स्थानीय स्तरबाटै तालमेल थियो । भोलि सत्तामा सँगै जाऊँला भनेर त्यो गरेको होइन । स्वाभाविक रूपमा हामीसँग जसको सहकार्य भयो इमानदारितापूर्वक भएको छ । परिणाम पनि आएका छन् । त्यसकारण राष्ट्रिय मुद्दामा हामी एकै ठाउँमा हुन सक्छौँ । हामीसँग मिलेको पार्टी बलियो शक्तिका रूपमा उपस्थित छ । नयाँ जो आउनुभएको छ उहाँहरू ठीक ढंगले जानुभएन भने अस्थिरताको कारण यिनीहरू नै हुन् भन्ने पर्न सक्छ । युवा जोस र केही बनाऔँ भन्ने आँट छ । त्यो आँटलाई उहाँहरूले सही ठाउँमा प्रयोग गर्नुहोला भन्ने अपेक्षा गरौँ । जनताले उहाँहरूलाई म्यान्डेट दिनुभएकै छ । तर, मूल प्रवृत्ति एमाले र कांग्रेसमा देखियो । यिनीहरूमा संगठन सञ्चालन, जन उत्तरदायित्व, जनसरोकारका विषयमा दिनुपर्ने चासोमा जति गम्भीरता हुनुपर्थ्यो त्यो भएन भन्ने भएको छ ।
एमाले जत्तिको सर्वाधिक लोकप्रिय पार्टी रहेन । आत्मरति कुरा गरेको गरेको होइन, सत्य कुरा यही हो । समानुपातिकमा एमालेले नै अग्रता लियो नि । त्यसकारण एमाले, कांग्रेसले जुन मत समानुपातिकमा पाएका छन्, मूल प्रवृत्ति परिवर्तन भएको छैन । राजनीतिक नेताको वैयक्तिक जीवनशैली, जनसरोकार र संवादको जुन प्रक्रिया छन् त्यसमा गम्भीर प्रश्न उठेको छ । आफूलाई जबर्जस्ती स्थापित गर्न खोजेका वामपन्थी भनिएका तर वामपन्थीभन्दा अरुसँग सहकार्यमा रमाएका शक्तिलाई गठबन्धनले केही लाभ मिले पनि समानुपातिकमा उहाँहरूको गतिविधिलाई जनताले नरुचाएको देखियो ।
एमाले माओवादीसँग मिलेर जान्छ कि भन्ने पनि सुनिन्छ । सम्भावना छ ?
सुनिएका कुरा सबै सत्य हुँदैनन् । सबै सत्य कुरा बाहिर सुनिँदैनन् । सुनिएका सबै कुरा असत्य पनि हुँदैनन् । शीर्ष तहमा के छ थाहा छैन । जनतामा एमाले र माओवादी सहकार्य गरेको भए देशको निकास पाउँथ्यो भन्ने छ । संविधानका केही पक्षमा परिवर्तनमा पनि यिनीहरू नै सही थिए, संविधानसभाले गर्न नसकेको काम एमाले र माओवादी सरकारमा हुँदा केपी ओलीको नेतृत्वमा देशको सीमा र विदेशीले हस्तक्षेप गरेको कुरालाई संविधानमा समावेश गर्न सकियो ।
अहिले ८ सय प्रतिशत महँगी बढेको छ । मलबिउँ पाइँदैन । यस्तो अवस्था हाम्रो सरकार हुँदा थिएन । डेंगी नियन्त्रण गर्न नसकेर मान्छे मरेका छन् । कोभिड-१९ नयाँ रोग थियो तर त्यसविरुद्ध सामना गर्दै गएका थियौँ । विकास निर्माणका काम पनि त्यहीबेला भएका थिए । उहिले राजा महेन्द्रको कुरा गर्थे, त्यसपछि केपी ओलीकै पालामा काम भएको हो । विमानस्थल र सडक बन्ने, सुरुङ युगमा प्रवेश गरेका कुरा, एक घर एक धारा, उज्यालो नेपाल जुन भए त्यो केपी ओलीको नेतृत्वमै सम्भव भए ।
अहिले संरचनाले हामी पाँच वर्ष जान सक्छौँ-सक्दैनौँ ? अनेकौँ दाउपेच गरेर ७६ (६) को सरकार बनाउने अनि त्यसपछि फरक खालका गतिविधि गर्ने, हाम्रो देशमा रुचि राख्ने अन्तर्राष्ट्रिय शक्तिलाई सहज बनाउने सम्भावना छ । स्थिरताको विकल्प सुस्थिर स्थितरता हो, अस्थिरता होइन । तर, संसदको संरचनाले हामीलाई त्यस दिशा (स्थिरता) तर्फ जान दिन्छ त ? गम्भीर प्रश्न उठेको छ । कसैलाई आशंका गर्नुपरेन, तर संरचनाले त्यही भन्छ । त्यसकारण गम्भीर विश्लेषण गरेर, हातेमालो गरेर जनतामा विकर्षण नहुने गरेर जाऔँ ।
सरकार गठनमा एमाले-माओवादी मिल्छन् वा मिल्दैनन् भन्ने जिज्ञासा छ । यसमा यहाँको धारणा के छ ? माओवादीसँग मिल्दा गण्डकीमा पनि सरकार बन्न सक्छ नि ?
मैले त्यतातिर अहिले गृहकार्य गरेको छैन । समानुपातिक मतको परिणामपछि प्रदेशमा गठबन्धनकै सरकार बन्ने अवस्था आयो भने उसैको कुरा भयो । नत्र सरकार बन्न नसक्ने, अस्थिरताको कारक रहँदैनौँ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १७:३८