राप्रपा चितवन ३ मा तुलनात्मक रूपमा त्यति बलियो पार्टी होइन । राप्रपा बलियो भनिएको माडी नगरपालिकामा राप्रपाले गत स्थानीय तह निर्वाचनमा दुईवटा वडा मात्रै जित्यो भने भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकामा खाता पनि खोल्न सकेन । यही क्षेत्रमा पर्ने चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे भारी मतले प्रतिनिधिसभा सदस्यमा विजयी भए ।
पाण्डे निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका डा भोजराज अधिकारीलाई ९ हजार २ सय ३६ मतान्तरले पराजित गर्दै विजयी भए । पाण्डेले ३५ हजार ६० मत ल्याए भने अधिकारीले २५ हजार ८ सय २४, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ८ सय ४३ र स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २ सय ७५ मत ल्याए ।
पाण्डे २०७० सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्रनम्बर ५मा विजयी बनेका थिए । चितवनमा निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा अहिले यो क्षेत्र नम्बर ३ मा पर्छ । निर्वाचन क्षेत्र पुनर्संरचनापछि २०७४ मा उनी कांग्रेसको सहयोगमा चुनाव लडेका थिए । उनलाई एमालेको समर्थन पाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ९ हजार ३४१ मतान्तरले हराएका थिए ।
प्रचण्डले ४८ हजार २७६ र पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । २०७४ मा कांग्रेसको सहयोगमा पनि जित्न नसकेका पाण्डेले याेपटक नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनमोर्चा र लोसपाका साझा उम्मेदवार डा भोजराज अधिकारीलाई भारी मतले हराए ।
चितवन ३ तुलनात्मक रुपमा कांग्रेस बलियो रहेकाे क्षेत्र हो । २०७० को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला सुरक्षित क्षेत्र खोज्दै जादाँ चितवन ४ आइपुगेका थिए । जुन अहिले चितवन ३ मा पर्छ ।
यो क्षेत्रमा गठबन्धनका कारण लामाे समयदेखि नेपाली कांग्रेसका कार्यकर्ताले रुखमा भोट हाल्न पाएका छैनन् । यहाँका असन्तुष्ट कांग्रेसले गठबन्धनलाई नसघाई कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई १२ हजार २ सय ७५ मत दिए । यो मत भोजराजका लागि घातक र पाण्डेका लागि फाइदाजनक बन्न पुग्यो ।
त्यस्तै, पुराना दलहरूबाट फ्रस्टेटेड मत रास्वपाकी जिता बरालले पाइन् । उनले १४ हजार ८ सय ४३ मत पाउदाँ पाण्डे त्यसकाे फाइदा पनि पाण्डेलाई भयाे । उसो त, पाण्डे पनि यो क्षेत्रमा राम्रो 'हैसियत' बनाएका व्यक्ति हुन् । उनले व्यक्तिगत रूपमा पनि माडी लगायतका क्षेत्रमा विभिन्न समाज सेवाका कामहरू गरेका छन् ।
चितवन ३ मा कांग्रेसले रुखमा भोट हाल्न नपाउनु, कोही हेभिवेट नेता नउठ्नु, न्युट्रल मत स्वतन्त्र पार्टीमा जानु र कांग्रेसको मत दिनेश कोइरालामा जानु पाण्डेका लागि अनुकूल भयाे । त्यसमाथि आफ्नो लोकप्रियताले उनलाई चुनाव जित्न सहज भएको विश्लेषण गरिएकाे छ ।
पाण्डे आफ्नै बलबुताले विजयी भएको राप्रपाका भरतपुर महानगरपालिकाका सचिव सुलव सिग्देल बताउँछन् । अहिले यो क्षेत्रमा प्रचण्ड नै उठेको भए पनि पाण्डेले जित्ने उनको दाबी । ‘कसैले भोट काटेर उहाँले जित्नुभएको होइन । यसअघि उहाले गर्नुभएको विकासका कामले जनताले जिताएका हुन् । उहाँको व्यक्तित्वले गर्दा जित्नुभएको हो,’ उनले भने ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १८:५६